भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
(१८१६ देखि १८३९ सम्मको नेपाल र नेपालीबारे लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry) को सङ्क्षिप्त अध्ययन)
विपक्षीको विकल्प ः
बडाकाजी अमरसिंह थापा मर्नुभन्दा अगाडि मकवानपुर गढीको पराजयले मर्माहत भएर सन्यास लिन गोसाइँकुण्ड गएको काठमाडौँमा हल्ला थियो । तर, उनी चिनियाँहरूलाई डाक्न त्यता गएको पछि मात्र बाहिर आयो । भीमसेन थापालाई यो विकल्पले त्यति तानेको थिएन । तर, मकवानपुर गढीको पीडाबाट मर्माहत पक्षलाई चुप लगाउनु पनि ठीक थिएन । त्यसैले उनले विपक्षीलाई विकल्प खोज्न छुट दिए । चिनियाँहरूले विदेशीको लडाइँ नलड्ने पक्का थियो र नेपालमा अङ्ग्रेजको आगमनले आफूलाई नोक्सान नहुने बुझेपछि उनीहरू पछाडि हट्ने नै थिए । भीमसेन थापाले यस कुराको पूर्वानुमान गरेका थिए । विपक्षीहरूको विकल्प गलत हुनुले दरबारमा उनलाई नै बलियो बनाउने थियो ।
भीमसेन थापाको विकल्प ः
भीमसेन थापा बिस्तारै दुवै देशले यथार्थ बुझून् भन्ने चाहन्थे । दुवै पक्षले स्थिति बुझ्दै जाँदा यथार्थ बुझ्ने निश्चित थियो । तिब्बतमा बेलायतको चासोबारे गरिएको बढाइचढाइ गलत थियो भनी नेपालले सम्झाउन पनि आवश्यक थिएन । बरु यसो गर्नु भीमसेन थापाको चरित्रभन्दा विपरीत थियो । बढी नै गरेमा दुवैले नेपाल र भीमसेनलाई तल्लो नजरले हेर्नसक्थे । तर, अन्तमा थोरै भए पनि नेपालकै भलो हुन्थ्यो र नेपालको फाइदामै भीमसेनलाई फाइदा थियो ।
चीन र बेलायतले अन्ततः
आफूलाई एकअर्काबाट खतरा नभएको बुझे भन्ने यस विषयका दस्तावेजहरूले देखाउँछन् । नेपाललाई अलिकति लाभ हुने भन्नुको अर्थ लिओ रोजको तात्पर्य यही थियो । तर, अन्य दस्तावेजहरूले अर्कै कथा भन्छन् । १८१६ को जुलाइ–अगष्टमा भीमसेन थापा वा उनका मान्छेले अङ्ग्रेज रेजिडेन्टसामु केही सूचना चुहाए । यसबाट रेजिडेन्टले नेपाल दरबारको स्थितिबारे जानकारी पाए । यसबीच रेजिडेन्ट र गभर्नर जनरलबीच बाक्लै पत्राचार भए । गभर्नर र उनका सल्लाहकारबीच लामा छलफलहरू भए । रेजिडेन्टलाई लामा पत्रहरू आए । यस्तै एउटा १०३ पृष्ठको निर्देशनमा गभर्नरले तीनवटा विकल्पबारे लेखेका थिए – चिनियाँहरूले रेजिडेन्सी हटाउन भने त्यसै गर्नू, चिनियाँहरूले नेपाल कब्जा गरे फिर्ता आउनू र स्थिति नियाल्नू, चिनियाँहरूले नेपालमा आधिपत्य जमाउने अङ्ग्रेजहरूको मनसाय छैन भनी बुझे भने काठमाडाँैमै बस्नू । यसबीच चिनियाँहरूले नेपालबाट आफ्ना बादशाहप्रति सम्मानमात्र चाहेको र नेपालको युद्ध लड्ने, सन्धि गर्ने र अन्य देशसँग स्वतन्त्र सम्बन्ध राख्न सक्ने स्पष्ट पारे । गभर्नर जनरलले रेजिडेन्टलाई एक गोप्य वक्तव्य पठाए । त्यसमा सुगौली सन्धिले नेपालको स्वाधीनता नमिचेको, नेपालमाथि बेलायतको आधिपत्य स्थापित नगरेको र नेपाल–चीन सम्बन्धमा भाँजो नहालेको स्पष्ट पारिएको थियो । काठमाडाँैस्थित अङ्ग्रेज रेजिडेन्सीको उद्देश्य त्यसो नभई दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध बढाउनु हो भन्नेमा जोड दिइएको थियो । नेपालको सन्दर्भमा कम्पनीको यस्तो स्पष्ट विचार आफँैमा महत्वपूर्ण थियो ।
तराई फिर्ता
नेपाल–चीन सम्बन्धबाट भीमसेन थापाले उपलब्धि पाएको भौतिक प्रमाण पनि छ । सुगौली सन्धिमा समस्त तराई गुम्ने भएपछि नेपालको चित्त बुझाउन अङ्ग्रेज गभर्नरले सालिन्दा २ लाख क्षतिपूर्ति दिने बताएका थिए । तर, यसबाट अङ्ग्रेजहरू आफूले हत्याएको भूभागको कर सङ्कलकजस्ता देखिन पुगेका थिए । लन्डनका उच्च अधिकारीले यस्तै बुझे । त्यसैले सन्धिमा सहमत भएको खण्डमा नेपाललाई तराईको केही भूभाग फिर्ता दिने अङ्ग्रेजहरूको सोच थियो । गार्डनर नयाँ रेजिडेन्ट भएर आएलगत्तै उनले यो प्रस्ताव नेपालसमक्ष राखे । तर, त्यसमा विवादअगाडिको उत्तरी रेखाभन्दा ४ माइलमाथिको तराईमात्र दिने बताइएको थियो । नेपाल दरबारले विवादअगाडिको दक्षिणी रेखाभन्दा ४ माइल माथिको तराई दिनुपर्ने कुरा राख्यो । गार्डनरले यसलाई गभर्नरको उपहार ठान्नुपर्ने र यसमा विवाद गर्न नमिल्ने बताए । उपहार भए २ लाख क्षतिपूर्ति किन नदिने भन्ने नेपालको प्रश्न थियो । साथै यस प्रस्तावबाट आउने तराईको मोल २ लाख पनि नहुने भएकोले बरु सालिन्दा २ लाख क्षतिपूर्ति उत्तम हुने नेपालको विचार थियो ।
यी सबै छलफल नेपाल–चीन आदानप्रदानबीच चलिरहेका थिए । यसले अङ्ग्रेज गभर्नरमाथि दबाब पर्दै थियो । उनले नेपालको जमिन हत्याउने अङ्ग्रेजहरूको उद्देश्य नरहेकोमा चिनियाँहरूलाई विश्वस्त तुल्याउनुपर्ने थियो । यसकारण उनले बुटवल र स्युराज क्षेत्रमा अलि बढी भूभागका साथै नेपालले गाभ्दै नगाभेको तराईको केही भूखण्ड पनि नेपाललाई दिन गभर्नर तयार भए । गभर्नरको यस निर्णयले समग्र युद्धलाई नै अर्थहीन तुल्याएको एक बेलायती इतिहासकारले आरोप लगाएका छन् । निश्चय नै यस निर्णयले युद्धलाई पेचिलो निष्कर्ष दिएको थियो । तर, नेपाल–चीन मामिलाको चापले नै उनलाई आफू र आफूपछिका गभर्नरको पक्षमा सो नीति लिन बाध्य पारेको थियो ।
काठमाडाँैमा षड्यन्त्र
गजराज मिश्र दरबारमा हरेक कुरा सर्वसम्मत हुने बताइरहन्थे । गार्डनर र गभर्नर दुवैले मिश्रका कुरा पत्याइदिए । गार्डनरले बारम्बार भीमसेन थापा नै दरबारमा सर्वेसर्वा हुन् भनी रिपोर्ट पठाएका थिए । यो नेपाली इतिहासको एउटा मिथक हो । भीमसेन थापाले यस्तो शक्तिको प्रयोग गरेकोमा शङ्का छ । कम्तीमा आफ्नो कार्यकालको पहिलो १५ वर्षसम्म उनले यसो गरेका थिएनन् । बहादुर शाह र राजेन्द्रलक्ष्मीको पालादेखि दरबारमा अनेक गुटहरू थिए । भीमसेन थापाले ती गुटलाई आफ्नो काम गर्न दिन्थे । तर, उनीहरू थाकेपछि आफू हावी हुन्थे । चीनसँगको कुराकानी र तराई फिर्ता आउँदा उनले यसै गरेका थिए । यस्तो गर्दा उनी विपक्षीहरूको नाडी छाम्न सक्थे ।
सन् १८१६ नोभेम्बरमा गीर्वाणयुद्ध शाहको निधन भयो । उनका शिशु छोरा राजेन्द्र विक्रम नयाँ राजा भए । गजराज मिश्रले राजेन्द्र विक्रमको रेखदेखको जिम्मा उनकी आमाले आफूलाई सुम्पिने कुरा गार्डनरलाई बताए । गद्दी आरोहणको दिन राजाकी आमाले शिशुलाई गजराज मिश्रको हातमा राखेर यसको जनाउ पनि दिइन् । वास्तवमा शिशुलाई रङ्गनाथ पण्डितको हातमा राख्नुपथ्र्यो । तर, गजराजको हातमा राखेर भीमसेन थापालाई बेवास्ता गरेको देखाउनु यसको आशय थियो । अङ्ग्रेज रेजिडेन्टकै सामु यसो गरिएकोले यस कार्यमा उनको पनि हात रहेको अर्थ लाग्छ । तर, अङ्ग्रेज गभर्नरले रेजिडेन्टलाई दरबारमा नखेल्न गोप्य पत्र पनि यसैबेला लेखेको हुँदा यो घटना यत्तिकै सामसुम भयो । त्यसैगरी महारानी र रङ्गनाथ मिलेर भीमसेनलाई हटाएर प्रशासन बदल्न चाहेको खबर पनि रेजिडेन्टले पाएका थिए । यसमा रेजिडेन्टको सहयोग मागिएको थियो । तर त्यसको तीन महिनापछि काठमाडाँैमा देशका विभिन्न स्थानबाट सेनाहरू आउन थाले । यसपालि पनि दरबारी तानाबाना यत्तिकै सेलायो ।
सत्ताको लागि सङ्घर्ष हुनु संसारभरका राजदरबारको विशेषता हो । तर, यहाँ भीमसेन थापाले सेनामार्फत आफ्नो शक्ति कायम गरेको विषयमा ध्यान दिन आवश्यक छ । नेपालको तत्कालीन स्थितिमा सेनाको ठूलो महत्व हुन्थ्यो । कमजोर राजा भएका देशमा भारदारहरू हावी हुनु स्वाभाविक थियो । त्यसमा पनि धेरै भारदार सैनिक नै थिए । भीमसेन थापाले सेनालाई हातमा लिए । सैनिक खर्चले कसरी नेपाललाई कमजोर बनाइरहेको थियो भनी चर्चा भइसकेको थियो । सुगौली सन्धिपछि सेनाको सङ्ख्या घटाउनुपर्ने परिस्थितिको माग थियो । तर भीमसेनले आफूलाई स्थापित गर्न सेनालाई ज्यूँका त्यूँ राख्न चाहे ।
सेनाको असन्तोष
सुगौली सन्धिपछि काम गुमाएको सेना कुनै न कुनै काम चाहन्थ्यो । भीमसेन थापाले टाढा सीमा क्षेत्रबाट सेनालाई राजधानीमा बोलाएर सानै भए पनि काम दिए । चलायमान सेना अनुशासित हुने सैनिक नियम पनि छ । तर, सेनाका अधिकारीहरू अरू पनि केही चाहन्थे किनभने उनीहरू आफैँ शासक खलकका थिए । आफ्नो ओहोदा घट्ने डरले उनीहरूलाई समातेको थियो । साथै उनीहरूको भविष्य पनि अन्योलमा थियो । भीमसेन थापालाई यो कुरा थाहा थियो । सेनाको सहयोग लिँदा सेनाको इच्छा पनि पु¥याउनु भीमसेनको दायित्व थियो । नत्र सेनाले उनलाई साथ दिनुपर्ने कारण थिएन । तर यसको लागि उनको शक्ति अटल हुन आवश्यक थियो । सेनालाई अनुशासनमा राख्नु र उसलाई निश्चित उद्देश्य दिन आवश्यक थियो । भीमसेनले यी दुवै काम गर्नसक्दैनथे । सत्तामा उनको पकड खुकुलो थियो र उनले सेनालाई उत्प्रेरणा पनि दिनसक्दैनथे ।
सिन्धियासँगको नेपालको सम्बन्ध
परिस्थिति उस्तै भएर हो वा भीमसेन थापाको चलाखीले हो, युद्धपछि घटनाक्रम उनको पक्षमा गयो । १८१६–१७ को सिन्धिया सम्बन्धले अन्ततः भीमसेनलाई उकास्यो ।
रणबहादुर शाह बनारसमा बस्दादेखि नै सिन्धियासँग नेपालको पत्राचार हुन्थ्यो । युद्धअघि यो सम्बन्ध बाक्लिएको थियो । भीमसेन थापाले सिन्धिया र पञ्जाबका रणजित सिंहसँग गठबन्धन बनाउने आस लिएका थिए । तर यसो हुन पाएन । सुगौली सन्धिले कागजीरूपमा भारतीय राज्यहरूसँगको नेपालको यस्तो सम्बन्धमा रोक लागेको थियो । तैपनि भित्रभित्रै सम्बन्ध कायम थियो । यसबाट केही हात नलाग्ने भीमसेन थापालाई थाहा थियो । मराठा नेतृत्वसँग अङ्ग्रेजहरूविरुद्ध लड्ने ह्याउ नभएको उनले बुझेका थिए । तैपनि दरबारमा यस्तो सम्बन्ध कायम राख्नुपर्ने विचारका भारदारहरू थिए । यस्ता कदमलाई चुप लागेर नियाल्नु भीमसेन थापाको स्वभाव थियो । पत्राचारहरू बाक्लिँदै जाँदा केही सन्देशहरू अङ्ग्रेजहरूका हातमा परे । उनीहरूले यसलाई हलुका रूपमा लिए । तर १८१७ मा पुनाका मराठी पेशवा बाजीराव द्वितीयले अङ्ग्रेजहरूविरुद्ध अपिल वितरण गर्न थालेपछि अङ्ग्रेजहरूले नेपाल र सिन्धियाबीचको पत्राचारबारे काठमाडाँैमा आधिकारिक स्पष्टीकरण मागे ।
१८१७ को नोभेम्बरमा पेशवाले अचानक अङ्ग्रेजहरूमाथि आक्रमण गरेर सोही दिन लडाइँ हा¥यो । त्यसपछि उसले पिन्डारीहरूसँग आइन्दा पत्राचार नगर्ने कबुल पनि ग¥यो । यससँगै नेपालको पत्राचार पनि अर्थहीन बन्न पुग्यो । यसले नेपाललाई झस्कायो । अङ्ग्रेजले नेपालमाथि पनि सिन्धियामाथि थोपरेजस्तै अपमानपूर्ण सन्धि थोपर्ने त होइन भनी डर फैलियो । सिन्धियासँग पत्राचार गरेकोले बडामहारानी ललित त्रिपुरासुन्दरी रङ्गनाथ पण्डितसँग रुष्ट थिइन् र सो पत्राचार आधिकारिक थिएन । यस्तै बेहोरा गार्डनरलाई नेपालले सुनायो । गार्डनरले गभर्नर जनरललाई पत्र लेखेर यसको जानकारी गराए ।
सिन्धिया घटनाले पनि भीमसेन थापाको शक्ति बढाइदियो । पुनाको लडाइँपछि फैलेको त्रासबीच अङ्ग्रेजहरूले अचानक आक्रमण गर्नसक्ने सम्भावना देखाएर भीमसेन थापाले सेनालाई सतर्क रहन भने । लडाइँको तयारी गरियो । यसबाट सेना भीमसेनको पकडमा पनि आयो । शक्ति हातमा आएसँगै उनको जिम्मेवारी पनि बढ्यो । उनले विद्यमान समस्याहरू हल गर्ने क्षमताका कारण शक्ति पाएका थिएनन् । बरु घरेलु राजनीतिको गहिरो अध्ययन र चलाखीले गर्दा पाएका थिए ।
निष्कर्ष
युद्धपछि भीमसेन थापाको उत्थानका तीन कारण थिए । एक, उनी भारदारहरूबीच खेल्न सिपालु थिए । उनले ती गुटलाई आफ्नो काम गर्न दिन्थे र उनीहरू गलत सावित भएपछि उनीहरूको कमजोरी औँल्याउँदै आफ्नो हात माथि पार्थे । दुई, भारदारी समूहले उनीमाथि औँला ठडाएपछि उनले सेनालाई धाप दिएर आफूलाई शक्तिशाली देखाए । तीन, अङ्ग्रेजले दरबारमाथि शङ्का गरेपछि उत्पन्न भएको सैन्य हमलाको खतरालाई उपयोग गर्दै सेनालाई काम दिए र आफ्नो शक्ति स्थापित गरे ।
पराजयको नेतृत्व गर्ने भीमसेन थापा कसरी युद्धपछि पनि सत्तामा रहिरहे ? किन उनले ग्रामीण नेपालका दुःखतिर ध्यान दिएनन् ? यी प्रश्न महत्वपूर्ण छन् । भीमसेन थापालाई ग्रामीण जनताको कष्टबारे थाहा थियो । यसको एउटै उपचार सेनाको सङ्ख्या घटाउनु हुन्थ्यो । तर, युद्धमा आफ्नो नेतृत्व क्षमताको असफलताका कारण दरबारमा उनी कमजोर बनेका थिए । अङ्ग्रेजहरूले नेपालमाथि आक्रमण गर्नसक्ने त्रासबीच उनले आफूलाई देशभक्त देखाउने मौका पाए । यसरी देशलाई हराउने व्यक्तिबाट उनी देशको स्वाधीनताका रक्षक बने । विपक्षीलाई चुप लगाउँदै उनी पुनः शक्तिमा आए ।
इतिहासका विद्यार्थीहरू राजाको साथकै कारण भीमसेन थापा शक्तिमा रहेको मान्छन् । तर, उनीहरू भारदारहरूको भूमिका न्यून ठान्छन् । उनलाई बडामहारानी त्रिपुरासुन्दरीको साथ रहे तापनि भारदारहरू त्यसबेलाको राजनीतिमा हाबी थिए । उनीहरू चर्को विवाद पनि गर्थे र आफ्नो सङ्घर्षमा कतिले बेलाबेला रेजिडेन्टलाई पनि सहभागी बनाउँथे । तैपनि भारदारहरूलाई एक ठाउँमा ल्याएर सरकारका गतिविधि सञ्चालन गर्न सक्ने क्षमताका कारण भीमसेन थापालाई नै दरबारले अघि बढायो ।
भीमसेन थापालाई हेर्ने दुई दृष्टिकोण नेपालमा प्रचलित छन् । दुवैले तत्कालीन नेपाली समाज र राष्ट्रको अध्ययनमा खासै योगदान दिँदैनन् । त्यसैले यहाँ विश्लेषणको बेग्लै तरिका अपनाउन आवश्यक छ ।
Leave a Reply