भर्खरै :

उपत्यकामा निषेधाज्ञाको अवधि एक साता थपियो

काठमाडौँ, १० भदौ (रासस) । काठमाडौँ उपत्यकामा निषेधाज्ञाको अवधि एक हप्ता थपिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुनेगरी निषेधको आदेश जारी गरिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी एक साताका लागि निषेधको आदेश थप गरिएको जनाएको छ । कार्यालयले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले निषेधको आदेशको पूर्ण कार्यान्वयन गर्न सबैमा आग्रह गरेको छ ।
यसअघि सोही विषयमा निर्णय गर्न मङ्गलबार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेको थियो । बैठकमा जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञा एकसाता लम्ब्याउन सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा एकसाताका लागि उक्त आदेश थपिएको हो । यसअघि भदौ ३ गते राती १२ बजेदेखि लागू हुनेगरी तीनै जिल्लाका प्रजिअसहितको बैठकले एक साताका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । उक्त आदेश आज राती १२ बजे सकिँदै छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले त्यसलाई रोक्न निषेधाज्ञाको समय थपिएको हो ।
निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन  । कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै उपत्यकासहित नेपालमा झण्डै ५० जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा सरकारको निर्देशनबमोजिम आदेश जारी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *