भर्खरै :

अस्ट्रेलिया मेलवर्नको यात्रा संस्मरण

यात्राले सङ्घर्षमय जीवनलाई थप ऊर्जा दिन्छ । यही अभिप्रायले जीवनमा फरक अनुभूति र अनुभव सँगाल्न छोरी चण्डिका र ज्वाइँ उत्सव सुवालको निमन्त्रणालाई हार्दिकताका साथ स्वीकार्दै अस्ट्रेलियाको भ्रमण गर्ने पक्का गरेँ । अस्ट्रेलियाको जनजीवन, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय स्थल र राजनैतिक पृष्ठभूमिलाई नजिकबाट नियाल्ने मौका पाउँदा मनमा अनेकौँ कौतुहलता र उत्साह पलायो ।
२२ नोभेम्बरदेखि अस्ट्रेलिया जान टिकट लिएर अघिल्लो दिन नै सबै सामानको प्याकिङ्ग भइसकेको थियो । हामी (म र मेरी श्रीमती पुनकेशरी दुवाल) पर्यटक भिसामा भ्रमणको लागि तयारीमा जुट्यौँ । एयरपोर्टको नियमअनुसार ३ घण्टा पहिल्यै पुग्नुपर्ने भएकोले २२ तारिख बिहान १० बजेतिर कमलविनायकबाट थिमि पुरानो बाटो हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यौँ । बिदाइ गर्न आएका परिवारजन सबैलाई बिदाइका हात हल्लाउँदै हामी प्रस्थान कक्षभित्र छिर्याैँ । सानी छोरी मोनिका, हामीबाट पहिले कहिल्यै अलग भएकी थिइनन् । आँखाभरि आँसु लिई बिदाइको हात हल्लाउँदै थिइन् । हाम्रो मनले पनि छोड्न गा¥हो भइरहेको थियो । हामी पनि गहभरि आँसु लिई हात हल्लाउँदै भित्र पस्यौँ ।
ज्वाइँ सचेत प्रजापतिले पास लिएका कारण हामीसँगै भित्र आउनुभयो । लगेज तौलिन र बोर्डिङ्ग पास लिन उहाँले सघाउनुभयो । ज्वाइँसँग पनि बिदाबारी लिई हामी सुरक्षा जाँच पार गर्दै प्रतिक्षालयमा गएर थाइ विमान पर्खेर बस्यौँ । प्रतिक्षालयमा रहेको स्पीकरले आउने जाने विमानहरूबारे जानकारी दिइरहेको थियो । दिउँसो १ बजेतिर थाइ विमान उड्ने घोषणा भयो । हाम्रो लामो पर्खाइ टुङ्गियो । सबै हाते ब्यागहरू चेक जाँच गराएर हामी जहाजभित्र पस्यौँ । जहाजभित्र आ–आफ्नो सीट नम्बर खोजी सीट बेल्ट लगाएर बस्यौँ ।
यो हाम्रो पहिलो विदेश भ्रमण हो । जहाजभित्र एयर होस्टेसहरूको मित्रवत् व्यवहार र जहाजको प्रविधिलाई देखेर हामी दङ्ग पर्यौँ । मानवको मस्तिष्क कस्तो चमत्कार ¤ जहाजको एक–एक बनोटलाई नियालेर बस्यौँ । प्रत्येक सीट अगाडि टीभी स्क्रीन जोडिएको थियो । ती टच स्क्रिनहरूमा यात्रुहरूले सिनेमा, धारावाहिक नाटक, विभिन्न देशहरूको नक्सा अनि जहाज कति उचाइ र गतिमा कुन ठाउँ भएर उड्दै छ भन्नेसमेत हेर्न मिल्ने सुविधा थियो । हामीले जहाज कति माथि, कति तल र कस्तो अवस्थामा छ हेर्यौँ । कहिले समुन्द्र माथि, कहिले मरुभूमि माथि उड्दै गरेको त कहिले पहाड, बादल, हिमाल, ठूल–ठूला गगनचुम्बी भवन, खोला नाला, सडक पार गरेको र आफ्नो गन्तव्य पुग्न कति समय र माइल बाँकी छ भनेर पनि स्क्रीनमा हेर्दै गयौँ । हामीले जहाजको झ्यालबाट विभिन्न भौगोलिक रमणीय दृश्यहरू हेर्दै र आफ्नो मोबाइलमा ती दृश्यहरू कैद गर्दै गयौँ । हामी यति माथि उडिरहेका थियौँ कि चन्द्रमा पनि हाम्रै नजिक भएझैँ आभास भइरहेको थियो । जहाजको झ्यालबाट हात निकालेर चन्द्रमालाई आप्mनो हत्केलामा लिएर स्पर्श गर्ने कल्पना पनि नभएको होइन ।

सार्वजनिक पार्कमा व्यायाम गर्ने सामग्री


विमानभित्र एयर होस्टेजहरूले विशेष सत्कारका साथ यात्रुहरूका लागि रोजाइअनुसार एकजनालाई पुग्ने परिमाणमा खानेकुरा जस्तैः पानी, रोटी, जाम, खानाका साथै साना साना कुरालाई समेत ध्यानमा राखी चम्चा, काँटा, टिस्यु पेपर आदि राखेर प्याकिङ्ग गरी सर्भिस गरे । कुनै कारणवस एयर होस्टेजहरूलाई बोलाउन परे अगाडि भएको स्क्रीनमा स्विच थिच्नासाथ तिनीहरू मुसुमुसु हाँस्दै हजुरलाई के सेवा गरौँ भन्दै आइपुग्थे । विमान उडिरहेको आभास कति पनि हुँदैनथ्यो । विमान उड्दा र अवतरण हुँदामात्र हलचल हुने र कानमा केही अप्ठ्यारो भएको महसुस हुन्थ्यो । जे होस् विमानभित्रको यात्रा आरामदायी नै थियो ।
थाइल्यान्डको समयअनुसार बेलुकीको ६ः३० बजे थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण भयो । अविस्मरणीय त्यस क्षणलाई क्यामरामा कैद गर्दै लगेँ । बिहानै विमानबाट ओर्लंदा मेलवर्न जाने तीन जना नेपालीसँग भेट भयो । उहाँहरूको सामिप्यताले हामीलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ अनुभूति भयो । श्रीमतीलाई घुँडाको समस्या भएकोले व्हिलचियर र असिस्टेन्टको व्यवस्था गरेको थिएँ । त्यो सुविधा नै नलिई उहाँहरूसँगै लाग्यौँ । थाइल्यान्डको विमानस्थलभित्र मेलवर्न जाने छ ऋ नम्बरको गेट खोजेर प्रतिक्षालयमा बस्यौँ । त्यहाँ विभिन्न देशका पर्यटकहरू मेलवर्न जाने पर्खाइमा बसिरहेका थिए ।
थाइल्यान्डको सुवर्णभूमि एयरपोर्टभित्र एउटा सानो सहर नै बनेको जस्तो लाग्यो । यात्रुलाई चाहिने विभिन्न सामग्री जस्तैः उपहार, गरगहना, विभिन्न किसिमका मदिराजन्य पदार्थ, मिठाइ आदिका सपिङ्ग सेन्टरहरू दायाँ–बायाँ लहरै थिए । ठाउँ–ठाउँमा राखिएका भिडियो स्क्रीनहरूमा विभिन्न मुलुकका जहाजहरू आउने जानेबारे सम्पूर्ण जानकारी विभिन्न भाषाबाट दिइरहन्थ्यो । आराम गर्न ठाउँ–ठाउँमा मेचको बन्दोबस्त थियो । तल माथि गर्न विद्युतीय भ¥याङ्गहरू थिए । ठाउँ–ठाउँमा थरीथरीका बोटबिरुवा तथा आकर्षक फूलले विमानस्थल सजाइएको थियो । एयरपोर्टमा अरू पनि थुप्रै ठूला–साना जहाज, सामान बोक्ने मालवाहक गाडी तथा ठाउँ–ठाउँमा सजाएका विभिन्न किसिमका फूलबारी र हरियाली बगैँचाले गर्दा वातावरण नै मनमोहक बनेको थियो । विमानस्थलभित्र सम्पूर्ण बन्दोबस्तसहितको एउटा आकर्षक एवं सुन्दर सहर नै अटाएको भान भयो ।
करिब साढे पाँच घण्टाको लामो पर्खाइपश्चात् अस्ट्रेलिया मेलवर्नको लागि उड्ने जहाजसम्म पुग्ने हतारो र पर्खाइ समाप्त भयो । सामान्य चेक जाँच सकाएर ट्रामबाट २० मिनेट जतिको यात्रापछि उड्न तयार भएर बसिराखेको थाइ विमानभित्र प्रवेश गर्यौँ ।

मेलबर्नको पुस्तकालय


आ–आफ्नो सीटमा बसेर सीट बेल्ट लगायौँ । केही बेरपछि चिया नास्ता गर्यौँ । रातभर पानी परिरहेको थियो । सधैँ आकाशमा बिजुली चम्केको हेरिरहेका हामी, त्यो रात विमानबाट तल धर्तीमा बिजुली चम्केको देख्दा अनौठो अनुभव भयो । स्क्रीनमा हेर्दै गर्दा समुद्र धेरै पर गइसकेछ । दिउँसो विमानको झ्यालबाट हेर्दा सेता–सेता बादलहरू भुइँमै बस्न गएको जस्तो देखियो । सिङ्गो देश नै प्लानिङ्ग गरिएको ब्लकझैँ देखिन्थ्यो । राति पनि झिलिमिली सहर, सीधा–सीधा बाटाहरू…आहा ¤ एकदमै रमाइलो दृश्य थियो त्यो पलको । फोटो र भिडियो खिच्दै, विविध सुविधायुक्त थाइ विमानको निरन्तर १० घण्टाको यात्रापछि भोलिपल्ट मेलवर्न समयअनुसार दिउँसो ११ः५५ मा हामी अस्ट्रेलियाको मेलवर्न विमानस्थलमा ओर्लियौँ ।
असिस्टेन्टको सुविधा लिएको कारण एकजना असिस्टेन्टले सानो गाडीमा अरू तीन जना यात्रुसहित हामीलाई लिन आए । उनले हामीलाई एउटा फारम भर्न लगाए । हामीले आफ्नो नाम, पासपोर्ट नम्बर, नागरिकता नम्बर र आफ्नो लगेजमा रहेका सामानहरू भर्नुपथ्र्याे । कुनै पनि औषधि, पेय–पदार्थ, बीउबिजन, लागूपदार्थ जस्तैः चुरोट, गाँजा, तमाखु र हातहतियारहरू जस्तैः खुकुरी, चक्कु आदि छ कि छैन सबै चेक जाँच गरियो । अफिसरले सोधेका प्रश्नको असिस्टेन्टले हामीलाई हिन्दी भाषामा उल्था गरी बुझाउँथ्यो । हामीले पनि त्यहीँअनुसार उनलाई जवाफ फर्काउँथ्यौँ । यसरी असिस्टेन्टकोे सहयोगमा चेक जाँच सकियो । उनलाई धन्यवाद दिँदै हामी बाहिर निस्क्यौँ ।
बाहिर छोरी चण्डिका र ज्वाइँ उत्सव हामीलाई लिन २ घण्टा पहिले नै पुगेका रहेछन् । धेरै वर्षपछि छोरी र ज्वाइँ भेट्ने इच्छा पूरा भयो । छोरी र ज्वाइँलाई देखेर नेपालदेखि अस्ट्रेलियासम्म आउँदाको थकाइ, ज्वरो र घुँडाको दुखाइ नै सञ्चो भएको आभास भयो । हामीलाई देखेर उनीहरूको अनुहारमा पनि खुसीको चमक देखियो । छोरी र ज्वाइँले आफ्नै गाडीबाट गन्तव्यमा पु¥याए । छोरी त्यहाँको एउटा आदरनिकेतनमा काम गर्छिन् भने ज्वाइँ होटलमा काम गर्छन् । बाटोमा हामीलाई छोरीले त्यहाँको सामान्य नियम, कानुन, व्यवहारिकताबारे बताइन् । घर पुगेर खानपिन गरी विश्राम गर्यौँ । नेपाल र अस्ट्रेलियाको समयमा ५ः१५ घण्टा फरक भएको पाएँ । बेलुका ९ बजेपछि मात्र घाम अस्ताएको देख्दा अचम्मित भएँ । नेपालदेखि अस्ट्रेलिया मेलवर्नसम्मको यात्रा सम्झँदै भोलिको नयाँ बिहानीलाई पर्खँदै भुसुक्कै निदाएँ ।
अर्को दिन हामी मेलवर्न सहरको नौलो वातावरणमा निस्कियौँ । नेपालजस्तो मनमोहक, प्रकृति, कला र संस्कृतिले भरिपूर्ण सुन्दर देश त सायदै कहीँ होला । तर, पनि प्राकृतिक र कृत्रिमताले सुसज्जित स–साना चिटिक्क परेका घरहरू, कहीँ कतै फोहोर नदेखिएका चिल्ला सडकहरू, सँगै मुस्कुराइरहेका फूलका बोटहरू, ठाउँ–ठाउँमा खुला चउर र चउरमा बाल उद्यान, पिकनिक स्थलहरू जहाँ खुलारूपमा अटोमेटिक खाना पकाउने र तताउने ग्याँस चुलो, खान र हात खुट्टा धुन पानीको राम्रो व्यवस्था आदिमा त्यहाँको आधुनिकताको झल्को पाएँ । ठाउँ–ठाउँमा आराम गर्न कुर्सीहरू राखिएका थिए । बत्तीको झिलिमिली, फलफूलका बोटबिरुवा, रुख कटिङ गरी सहरलाई मन नै लोभ्याउने तरिकाले सजाइएको थियो ।
प्रत्येक बाल उद्यानमा घाँस नउम्रियोस् भनेर काठका स–साना टुक्राहरू भुइँभरि कार्पेटझैँ ओछ्याइएको थियो । यसले गर्दा वातावरण सफा र स्वच्छ देखिन्थ्यो । बालबालिकालाई अभिभावकहरूले साँझतिर घुमाउन र खेलाउन यहीँ ल्याउने रहेछन् । आ–आफ्नो घरपालुवा कुकुरहरू पनि चौरको एउटा कुनामा छोडी भकुण्डो खेलाई रमाइलो गर्नेरहेछन् । कुकुरले फोहर गरेमा मालिक स्वयम्ले सफा गरेर फोहरलाई आसपासमा राखिएका डस्टवीनहरूमा राख्थे । त्यसरी डुलाउन ल्याएका कुकुरले कसैलाई भुक्दैन । यदि भुकिहाले कानुन लाग्नेरहेछ । त्यसैले कुकुरलाई राम्रो तालिम दिएरमात्र बाहिर ल्याउने गर्दाेरहेछ । नेपालमा धेरै भुस्याहा कुकुरहरू छन् तर त्यहाँ एउटा पनि भुस्याहा कुकुर कहीँ कतै देखिनँ । तर, झिङ्गाले भने अति दुःख दिनेरहेछ । त्यसकारण स्वच्छ हावा चल्ने भए तापनि झिङ्गा धेरै आउने भएकोले र दिउँसो घामको किरण पनि एकदम कडा हुने भएकाले होला मानिसहरू बाहिर त्यति आवतजावत गरिएको देखिँदैन ।
हामी दिनदिनैजसो नजिकैको एउटा ठूलो कोबोर्ग पुस्तकालयमा जान्थ्यौँ । त्यहाँ विभिन्न देशका पुस्तक विभिन्न भाषा र विषयअनुसार अलगअलग गरी व्यवस्थितरूपमा राखिएको पाएँ । त्यहाँ राखिएका विभिन्न मुलुकका पुस्तकहरूमध्ये नेपाली पुस्तकहरू दुईदेखि तीन सयजति राखिएको पाइयो ।
दुई किनारामा मानिसहरू हिँड्ने पेटी, बीचमा फराकिलो सडक, अनि सेकेन्ड र मिनेटको महत्व राखेर मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ हातमा चियाकफीको क्यान बोक्दै दौडिरहे पनि अरूप्रतिको आदर सम्मान र सद्भाव राखी अरूलाई बाटो छोडेर आफू पछि हिँड्ने मानिसहरू देख्दा ज्यादै खुसी लाग्यो ।
ठाउँ–ठाउँमा निःशुल्क फराकिला पार्कहरू, सार्वजनिक शौचालयहरू, खुला खेल मैदान, ठूल–ठूला पार्किङ्गसहितका सुपरमार्केटहरू थिए । पार्किङ्ग स्थल छेउ–छाउ फोहर राख्न डस्टविन र ठूल–ठूला कन्टेनरहरू राखिएका थिए । जहाँ आफूसँग बढी भएका, कम लाग्ने–नलाग्ने सामानहरू, पुराना लुगाफाटा, भान्छाका सामान, फर्निचर, इलेक्ट्रोनिक सामान, शृङ्गारका सामान, किताब इत्यादि राखिएका हुन्छन् । त्यहाँका मानिसहरूले कुनै पनि सामान मर्मत गरी प्रयोग नगर्नेरहेछ । बिग्रेको बनाउनुभन्दा नयाँ किन्नु नै सस्तो हुने रहेछ । त्यसैले पुराना सामानहरू त्यसरी फालिने रहेछ । यी सामानहरू कसैलाई मनपर्यो वा चाहिए लिएर जाने गरिन्छ । नयाँ वर्षको आगमनमा त झन् यस्ता सामानहरू धेरै फालिएका हुन्छन् ।
भक्तपुरको बिस्केट जात्राको लिङ्गोजस्तै त्यहाँ बाटो बाटोमा ३५–४० फिट अग्लो काठका बिजुलीका पोलहरू ठड्याइएका थिए । घर पनि चिटिक्क परेका प्रायः १–२ तलाका मात्र थिए । घर बनाउँदा पनि भित्र काठको संरचना बनाएर काठलाई छोपी सेरामिक्स र इँटा राखिने गरेको पाइयो । त्यहाँका प्रत्येक घडेरीहरू करिब १ रोपनी जतिको थियो, जहाँ पार्किङ्ग, बगैँचा, खुला ठाउँको व्यवस्था गरिएको हुन्थ्यो । घरलाई आवश्यक बत्ती, चौबिसै घण्टा चिसो, तातो पानीजस्ता सुविधाको राम्रो व्यवस्था थियो । प्रत्येक घरमा अनिवार्यजस्तो आकाशे पानीको व्यवस्थापन गरिएको थियो । प्रायः घरको पर्खाल २ फिटभन्दा बढी नहुने भएकोले वातावरण अलि खुला भएको पाएँ । हरेक घरको गेटमा घर नम्बर, इमेल टाँगिएको हुन्थ्यो र गेट नजिकै एउटा पत्रमञ्जुषा र डस्टबिन राखिएको थियो । स्थानीय सरकारले एकदिन बिराएर फोहोर लिन आउँथ्यो । बिहान सबेरै ५ बजेतिर गाडीमै जोडेको भ्याकुम क्लिनरले सडक सफा गर्न आउँथ्यो । बाटोमा फोहोर भनेकै बोटबिरुवा र रुखका पात पतिङ्गरमात्र थियो ।
सायद चोरी चकारी नहुने भएकोले होला, प्रत्येक घरको मूल ढोकामा बाहेक घरका अरू कोठाहरू खुला नै हुन्थ्यो । आफ्ना महत्वपूर्ण सामान राख्नको लागि बनाइएका दराज र अरू त अरू शौचालयमा समेत पनि चुकुल नहुनेरहेछ । घरमा बस्ने प्रत्येक व्यक्तिले मूल ढोकाको मात्र साँचो बोकी हिँड्थे । बैठक कोठा र भान्छा एउटै कोठामा हुन्छ । एउटै घरमा एकभन्दा बढी परिवार बस्न परेमा भान्छा पनि पालैपालो प्रयोग गर्नेरहेछन् । कसैले कसैलाई कुनै प्रकारको डिस्टर्ब नगर्ने र चर्काे आवाजमा टेलिभिजन, सङ्गीत र रेडियो नबजाउने, ठूल–ठूलो आवाजमा कुराकानीसमेत नहुने भएकोले त्यहाँको जनजीवन अत्यन्तै अनुशासित, शान्त र व्यवस्थित लाग्यो । यी सबै हेर्दा अचम्म लाग्थ्यो ।
छोरी र ज्वाइँले आ–आफ्नो अफिसमा भ्रमणको लागि हप्तामा दुई दिन बिदा मिलाएर समय तालिका बनाई मेलवर्नका विभिन्न महत्वपूर्ण स्थानहरूमा अवलोकन गर्ने मौका पायौँ ः
-सहरको युरेका टावर (Eureka Tower_)
-समुन्द्री विश्व (एक्वेरियम) (SEA LIFE Melbourne Aquarium)
-क्यासिनो (Casino)
-विलियमस्टाउन बीच  (Williamstown Beach)
-वेरेबी जू (चिडियाखाना)(Werribee Zoo)
-रोज गार्डेन(Rose Garden)
-सेन्ट किल्दा बीच (St. Kilda beach)
-स्टेट लाइब्रेरी(State library)
-फिलिप आइसल्यान्ड(Phillip Island)
-वाइल्ड लाइफ रिजर्भ (Wild life Reserve)
-विल्सन प्रोमोन्टोरी नेशनल पार्क(Wilson promontory National Park)
-फेडेरेसन स्क्वायर Federation Square)
-जायन्त चियर (Gaint Chair / Danndenong Range)
-श्री दुर्गा मन्दिर (Rock Bank)
-आर्ट वो(Art Vo)
-डक्ल्यान्ड(Dockland)
-सेमोर (Seymour)
-चेरी हिल (Cherryhill Orchards)
-फेरीबाट यात्रा (Ferry ride from Williamstown)
-कोवोर्ग लेक (Coburg Lake)
-शिव विष्णु मन्दिर (Shri Shiva Vishnu Temple, Carrum Downs)
मेलवर्न सिटीका विभिन्न महत्वपूर्ण ठाउँहरू घुमेका मध्ये सन् २०१९ नाभेम्बर २५ तारिखका दिन मेलवर्न कोबोर्ग रेल स्टेसनबाट भूमिगत रेल चढेर ११० तलाको युरेका टावर अवलोकन गर्न गएको निकै स्मरणीय रह्यो । प्रतिव्यक्ति २५ डलर प्रवेश शुल्क तिरेर लिफ्टबाट युरेका टावरको ८९ तलामा पुग्यौँ । जहाँबाट मेलवर्न सिटीलाई चारैतिरबाट दृश्यावलोकन गर्न सकिन्थ्यो । पर परसम्मका दृश्यहरू हेर्न दूरबिनको व्यवस्था थियो । त्यहाँबाट समुन्द्रमा ठूला–साना जहाज आइरहेको र गइरहेको देखिन्थ्यो । फराकिला सडकमा गुडिरहेका गाडी, मानिसहरू आ–आफ्नो गन्तव्यमा गइरहेका थिए । त्यसैगरी रेलमार्ग, विश्वविद्यालय, स्कूल, खेल मैदान, मेट्रिक क्याम्प, खुला बगैँचा, ठूल–ठूला गगनचुम्बी घर, क्रिकेट रङ्गशाला, सुपर मार्केट, ठूल–ठूला होटेल, रेस्टुरेन्ट, सिनेमा हल, मस्जिदहरू, खुला पार्किङ्गहरू, कटिङ गरी सजाएर राखिएका रुख, बोटबिरुवा, फूल अनि क्रिसमस र नव वर्षको लागि तयार अवस्थामा रहेका कृतिम सजावटका श्रृङ्गारहरू पनि देख्न सकिन्थ्यो । त्यहाँबाट पूरै मेलवर्न सहरको गतिविधि र दृश्यहरू छर्लङ्ग देख्न सकिन्थ्यो । त्यो दृश्यले पूरै सहर घुमेको अनुभूति भइरहेको थियो । त्यो क्षणले मलाई नेपालको धरहरा र स्वयम्भूनाथको याद दिलायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *