भर्खरै :

निर्माण र खरीदमा फजुल खर्चको हद

  • भाद्र १८, २०७७
  • –इन्द्रकुमार श्रेष्ठ, ओखलढुङ्गा
  • पाठक विचार

गरिब, दुःखी र श्रमजीवी मानिसहरूले बचत गर्न, फारोतिनो गर्न र काम चलाउनका लागि अनेक उपाय अपनाउन जानेका हुन्छन् । उनीहरू घुँडा फाटेको सुरुवाल, पिठ्यूँ फाटेको भोटो आफैंले टालेर लाउँछन् । भारी बोक्दाबोक्दा पछाडि फाटेको सर्ट÷गन्जीको भाग अगाडि पारेर लाउँछन् । फित्ता चुँडिएको चप्पल गाँसेर वा प्लास्टिक÷कपडाको डोरी प्वालमा घुसारेर पनि काम चलाउँछन् । निरन्तर घामपानीमा काम गर्नुपरेकोले उनीहरूका अनुहार काला भएका हुन्छन् । पाखुरा अररिएका र हत्केलामा ठेलैठेला । औँलाहरू बाङ्गाटिङ्गा भएर उचिरा गएका । पटपटी फुटेका कुर्कुच्चा र जताततै खिल पल्टेका पैताला देखाउँदै उनीहरू खाली खुट्टै हिँड्छन् । सुक्सुकाउँदा र राम्रा भएर विलासी जीवन बिताउने र सर्वहाराको पक्षमा भाषण दिने अल्छे, शिक्षित, धनी र विलासी ठूला नेताभन्दा तिनै श्रमजीवी, अशिक्षित, गरिब र अभावमा बाँच्न जानेका जनता कता हो कता महान् र आदर्श लाग्छन् । तिनैको श्रमका कारण अरूले खानलाउन, धनी हुन र मोजमज्जा गर्न पाएका छन् । यसरी उनीहरू नै मानवतावादी र राष्ट्रप्रेमी नागरिक हुन् ।
यता समाजवाद÷साम्यवादको नारा दिने कम्युनिस्ट सरकारको पालामा देखिएको तिनको आरामदायी र विलासी जीवन, फजुलखर्ची, सुरक्षा र तामझामको सवारी देख्दा उदेक लाग्छ । अनेक भ्रष्टाचार, काण्ड, अपचलन, दण्डहीनताको थुप्रो भइरहेकै बेलामा पछिल्लो समयमा गोकुल बाँस्कोटाजस्ता व्यक्तिलाई सफाइ दिइएको र खतिवडाजस्ता नेतापोषक अर्थमन्त्रीलाई अझै निरन्तरता दिइने कुरा सुन्दा आक्रोश जागेर आउँछ ।
कुनै पनि गाडी हाम्रो देशमा नबन्ने कुरा सबैलाई थाहै छ । चालू अवस्थाका र सामान्य मर्मत गरे काम चल्ने अवस्थाका गाडीहरू सिंहदरबारलगायत हरेक मन्त्रालयको ग्राउन्डमा कबाडीको रूपमा थन्किएका छन् । नेतागणलाई भने पहिला अर्कै चढेको गाडीका सट्टा नयाँ, महँगा र विशेष डिजाइनका गाडी चढ्ने रहर छ । अनि त्यस्तो रहर सबैको पूरा गरिएको छ । पहिलोपटक देख्नेलाई त्यस्तो ग्राउन्ड, ‘गाडीको कवाडखान’ लाग्दो हो । अब ‘प्रधानमन्त्री रोजगार’का नाममा, तिनै थुप्रिएका गाडीको सङ्ख्या टिपोट र यकिन गर्ने काम पनि कसैलाई दिइएला !
भूकम्पपछि पनि मर्मत गरेर काम चल्ने अवस्थाका विद्यालयहरू धमाधम भत्काएर नयाँ नयाँ बनाइए । पहिला कति खर्च र दुःख गरेर बनाइएका स्थानीय काठका फर्निचर सडाएर त्यहाँ रेडिमेड फर्निचर सजाइएको पाइन्छ । काम लाग्ने अवस्थाका कतिपय निर्माण सामग्रीहरू थुप्रिएर त्यत्तिकै खेर जाँदै छन् । करोडौँको लागतमा बनाइएका अनेक पुल, भवनहरूको अवस्था दयनीय छ । समुदायले टाढादेखि पानी बोकेर खानुपर्ने, बीसतीस जना विद्यार्थी भएको विद्यालयमा पर्याप्त शौचालय, भवन, हिलटेक पहिल्यै हुँदाहुँदै, बीसौँ लाखको लागतमा नयाँ नयाँ बनाउने काम भएको देखिन्छ ।
विकासको यो तरिकाले देशमा समृद्धि कहिले आउने होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *