भर्खरै :

‘जब चीनले विश्वको नेतृत्व गर्नेछ’ बारे एक छलफल (खण्ड ५)

आधुनिकताको प्रतिस्पर्धा–२
पश्चिमाकरणको सीमा
एसियाली सडकमा राखिने साइनबोर्डमा अङ्ग्रेजी शब्दहरू, टेलिभिजनमा हेरिने खेलहरूमा बास्केटबल र बेसबल, सिनेमा हलमा हेरिने अधिकांश चलचित्रहरू हलिउड निर्मित, सपिङ्ग मलहरूमा राखिने फेसन मोडेलहरूमा ककेसियाली अनुहारहरू, विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीहरूको सपना – संरा अमेरिकी विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्ने वा अमेरिकी बहुराष्ट्रिय कम्पनीमा सेवा गर्ने, पर्यटकीय गन्तव्य मुलुकमा चीन वा जापान नभई अमेरिका युरोप, सडक गल्लीका चिया पसलदेखि बुटिकहरूमा बजाइने गीतहरूमा पश्चिमा पप गीत सङ्गीतको प्रभाव यत्रतत्र पाइन्छ । यतिसम्म कि एसिया शब्द आफैँ पनि युरोपेली खोज हो । यस महादेशको जुनसुकै कुनामा पश्चिमको उपस्थिति अनुभव गर्न सकिन्छ । पूर्वी एसियाको आधुनिकीकरणको एजेन्डा झन्डै दुई शताब्दीको लागि पश्चिमले नै तय गर्ने र परिमार्जन गर्ने कार्य ग¥यो । विगत र वर्तमान दुवैमा एसियाली मुलुकहरूले पश्चिमा शक्तिको प्रभाव र उपस्थितिसँग निरन्तर सामना गर्नुप¥यो । पहिला साम्राज्यवादको युग र दोस्रो विश्वयुद्धपछि संरा अमेरिकी प्रभुत्व
(अधिनायकत्व) नै पूर्वी एसिया र पश्चिमा आधुनिकताबीचको आधारभूत भिन्नता रह्यो ।
यसले दुई प्रश्न जन्माएको छ । पहिलो, पश्चिमा आधुनिकताले एसियाली मुलुकहरूमाथि कुन हदसम्म प्रभाव र आकार प्रदान गरेको छ ? दोस्रो, आधुनिकीकरणको प्रक्रियामा उनीहरूमा पश्चिमीकरण बढेको छ, घटेको छ वा दुवै एकसाथ भएको छ ? यस प्रश्नको जवाफ सरल छैन । एक समाज र अर्कोबीच भिन्न असर छ । सन् १५४२ मा स्पेनबाट र १८९९ देखि संरा अमेरिकी साम्राज्यवादबाट उपनिवेश भोगेको फिलिपिन्स, सन् १८४२ मा अफिम युद्ध हारेपछि बेलायतको उपनिवेश भोग्न बाध्य चीन र उपनिवेश भोग्नबाट बचेको जापानमा यसको सीमा भिन्न छ ।
पश्चिमको प्रभावको सीमाबारे अन्वेषणका लागि भाषा, शरीर (the body), खाना र राजनीति चार भिन्न उदाहरणहरूको अध्ययनबाट खोज्ने प्रयास गरियो ।
भाषा
भाषा सञ्चारको सामान्य माध्यममात्र होइन, यसले संस्कृतिलाई मूर्तरूप दिने र अभिव्यक्त गर्ने काम पनि गर्दछ । कुनै भाषा गुमाउनुको अर्थ त्योसँग गाँसिएको संस्कृति पनि गुमाउनु हो । पूर्वी एसिया आज संसारमा सबैभन्दा बढी बोलिने झन्डै २० भाषाको घर हो । युरोपेली भाषा अङ्ग्रेजी, स्पेनियाली वा पोर्टुगाली आदि विदेशमा विजयपछि फैलिएको हो । तर, पूर्वी एसियाली भाषाहरू जनसङ्ख्यकीय चलन र जमिनमा आधारित सीमा विस्तारको फलस्वरूप उच्च जनघनत्व रहेको, खाद्यान्न उत्पादन हुने खेतमा जैविकरूपमा विकास भएका हुन् ।

सन् १९४५ पछि विश्वमा संरा अमेरिकी प्रभावको विस्तारदेखि विश्वव्यापी फैलिएको अङ्गे्रजी भाषाले पनि पूर्वी एसियाली मुलुकमा त्यहाँको भाषालाई कमजोर बनाउन वा विस्थापित गर्न सकेन । विदेशी भाषाका शब्दहरूलाई आगन्तुकका रूपमा प्रयोग बढे पनि आफ्नो भाषाको आधारभूत गुदीलाई पूर्णतः अप्रभावित (untouched) राख्यो । ठूलो सङ्ख्यामा अङ्ग्रेजी भाषाका शिक्षकहरू तथा लामो समय अङ्ग्रेजी भाषालाई अनिवार्य विद्यालय शिक्षा बनाउनका बाबजुद पनि बहुसङ्ख्यक जापानीहरू अङ्ग्रेजी बोल्न असक्षम वा अनिच्छुक छन् । यस विपरीत चीनमा भने पछिल्ला दशकहरूमा युवाहरू अङ्ग्रेजी भाषाप्रति आकर्षित हुँदै छन् र आकर्षक प्रवाहमा बोल्न जान्ने भएका छन् । यसका बाबजुद पनि चिनियाँ भाषाप्रतिको मोहमा कति पनि कमी आएको छैन । जापानको तुलनामा चीनमा आगन्तुक शब्दको प्रयोग कम र भाषिक संरचनामा पनि कममात्र प्रभाव पारेको छ । दशकौँदेखि चिनियाँ अक्षरहरूलाई रोमन अक्षरले विस्थापित गर्न गरिएका प्रयासहरू बालुवामा पानी सरह भयो ।
करीब तीन हजार वर्षको लामो इतिहास भएको चिनियाँ भाषाको अक्षर लेख्ने प्रणाली ८० करोड जनसङ्ख्या (झन्डै ७० प्रतिशत चिनियाँ) ले प्रयोग गर्छन् । टेलिभिजन र शिक्षा प्रणालीको बढ्दो प्रभावसँगै यस भाषाको प्रयोगकर्ताको सङ्ख्या पनि बढ्दो छ । झन्डै सबै चिनियाँ भाषा र बोली (क्षेत्रीय भाषा) हरूले एउटै शब्द (अक्षर) प्रणालीको प्रयोग गर्ने हुँदा यसले चिनियाँ पहिचानको भावना बनाइराख्न अत्यन्त महत्वपूर्ण भूमिका खेलेको छ । इतिहासमा मङ्गोल र मञ्चुद्वारा लामो समय शासित हुँदा पनि चिनियाँ भाषा यथावत रहन सफल रह्यो । साथै, जापानी, कोरियाली र भियतनामी भाषामा समेत चिनियाँ प्रभाव यथेष्ट पार्न सक्षम रह्यो ।
पूर्वी एसियाली मुलुकहरूमा हङ्गकङ्ग र सिङ्गापुरमा अङ्गे्रजी भाषाले केन्द्रीय भूमिका पाउन सफल रह्यो । मलेसियामा अङ्ग्रेजीको व्यापक प्रयोग गरिने भए पनि आधिकारिक भाषा भने मलेसियाली नै हो । फिलिपिन्समा भने तागालोगसँगै अङ्ग्रेजीलाई पनि आधिकारिक (सरकारी) भाषाको मान्यता प्राप्त छ । उपनिवेशको समयमा इन्डोनेसियामा डच भाषा र भियतनाम, कम्बोडिया र लाओसमा फ्रेन्च भाषा औपचारिक भाषाको रूपमा प्रयोग गरिएको भए पनि स्वतन्त्रतासँगै त्यहाँ ती भाषाहरू बिलाउँदै गए ।
यसले अङ्ग्रेजी भाषालाई दीर्घकालीनरूपमा संसारकै दोस्रो रोजाइको भाषाका रूपमा स्थापित गर्न कति सफल रह्यो ? भन्ने प्रश्न जन्माएको छ । पूर्वी एसियासँगै सारा विश्वमा अङ्ग्रेजी भाषाको प्रभाव धेरथोर बढ्दै गएको देखिन्छ । यस क्षेत्रमा अङ्ग्रेजी भाषा सिक्ने ठूलो इच्छा सर्वत्र भेटिन्छ । अङ्ग्रेजी भाषाले आफूलाई संसारकै सञ्चारको बलियो भाषाको रूपमा स्थापित गरिसकेको छ र प्रभाव बढ्दो छ । संस्कृतिको मूल्य तथा मान्यताको प्रवद्र्धन तथा प्रसार गर्ने मुख्य साधन (गाडी) नै भाषा भएको हुँदा एन्जेलो–स्याक्सन (संरा अमेरिका, बेलायतलगायत अङ्ग्रेजी भाषा बोल्ने देशहरू) अङ्ग्रेजी भाषालाई नै अन्तर्राष्ट्रिय सम्पर्क भाषाको रूपमा स्थापित गर्ने स्वार्थ पाल्छन् । यसैको सहयोगमा आर्थिक, राजनैतिक र सांस्कृतिक क्षेत्रमा व्यापक फाइदा उठाउन चाहन्छन् ।
यद्यपि, अङ्गे्रजी भाषाले यस समयमा थुप्रै सहुलियत प्राप्त गरेको भए पनि, यो अभेद्य भने छैन । संरा अमेरिकामा नै चिनियाँ भाषाको बढ्दो प्रयोगले इन्टरनेटमा अङ्ग्रेजी भाषाको प्रभुत्वमा गहिरो चुनौती थपिएको छ । विश्व सञ्चार जगतमा अङ्गे्रजी भाषाको वर्चस्व कायम नै रहे पनि कतारमा आधारित अलजजिरा, भारतमा जी टीभी, पूर्वी एसियामा स्टार टीभी, चीनमा फिनिक्स टीभीजस्ता स्थानीय भाषालाई प्रवद्र्धन गर्ने च्यानलहरूको उदयसँगै यो अवस्थाको निरन्तरतामा प्रश्न उठ्न थालेको हो । तसर्थ विश्व सम्पर्क भाषाको रूपमा अङ्गे्रजीको स्थान क्षणिक घटनामात्र भएको पुष्टि हुनसक्छ ।
पूर्वी एसियामा चीनको प्रभाव बढेसँगै अन्य जाति तथा क्षेत्रमा समेत म्यान्डारिन भाषा प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य बढ्न सक्छ । थाइल्यान्ड, दक्षिण कोरियालगायतका देशहरूमा म्यान्डरिन भाषालाई विद्यालय शिक्षामा ऐच्छिक विषयको रूपमा पढाउन थालिएको पनि लामो समय भइसकेको छ ।
उत्तर अमेरिका र युरोपमा पनि यो प्रक्रिया विस्तारै सुरु भएको छ । पूर्वी एसियाको आर्थिक केन्द्रको रूपमा चीनको उदयसँगै जापानी, कोरियाली, भियतनामी, थाई, इन्डोनेसियाली र बर्मेलीहरूमाझ चिनियाँ भाषा बोल्नेको सङ्ख्या बढ्न थालेको हो । अबको पचास वर्षपछि अङ्ग्रेजीलाई चिनियाँ भाषाले अन्तर्राष्ट्रिय भाषाको रूपमा विस्थापित गर्नसक्छ । त्यसबेला भाषाको कसीमा पूर्वी एसियालाई बढ्दो पश्चिमाकरणको एकोहोरो चस्माबाट नियाल्नु गलत ठहरिनेछ । अङ्गे्रजीबाहेकका पुराना युरोपेली भाषाहरूको आज सीमित उपादेयतामात्र बाँकी छन् । चिनियाँ भाषाको बढ्दो प्रभावसँगै हाल सबैभन्दा प्रभावशाली दोस्रो भाषा बनेको अङ्ग्रेजीको वर्चस्व कायम रहनेमा शङ्का उत्पन्न भएको छ ।
शरीर (The Body
भौतिक विशेषताहरू (प्रमुखतः छालाको रङ्ग, पोशाकको शैलीसहित) को बारे भन्न खोजिएको हो । जसले भिन्न कथा बयान गर्छ । दक्षिण पूर्वी एसियाको तुलनामा उत्तर पूर्वी एसियामा यसको प्रभाव बढी पाइन्छ । जापान, दक्षिण कोरिया, चीन, थाइवान र हङ्गकङ्गमा दिनानुदिन लगाउने पहिरनमा निकै पश्चिमाकरण भएको देखिन्छ । चीनमा परम्परागत पहिरण विवाहलगायतका महत्वपूर्ण समारोहहरूमा मात्र सीमित हुन थालेको छ ।
जापानमा मेइजी पुनः स्थापना (Meiji Restoration) पछि मात्र पश्चिमा पहिरन भित्रिएको हो । सन् १९३०–१९४५ बीच युद्धको समयमा जापानी पहिरन ‘किमोनो’ लाई सरलीकृत (simplified) पहिरनले विस्थापित गरेको हो । सन् १९६० को दशकबाट बहुसङ्ख्यक जापानीहरू पश्चिमा पहिरनप्रति आकर्षित हुन थालेका हुन् । प्रत्येक आइतबारका दिन अहिले पनि जापानी महिलाहरू सडकमा किमोनो लगाएर हिँडेको देख्न पाइन्छ । अहिले यो पहिरन विवाह, समारोह, मलामीजस्ता रीतिरिवाज र रेष्टुराँ र होटल आदि कार्यथलोमा औपचारिक पहिरनमा सीमित भइसकेको छ ।
जापानीहरूको औसत कद कम भएका कारण पहिरनको रोजाइमा केही भिन्नता पाइन्छ । साथै पुरातन लैङ्गिक भूमिकाका आधारमा जापानी समाज सुहाउँदो पहिरन बनेका छन् । उदाहरणका लागि जापानी युवतीहरूले लगाउने पहिरनमा महिलावादी चिह्नहरू छापिएका हुन्छन् । सन् १९७० को दशकमा जापानमा पश्चिमा परम्परामा आधारित केही ठूला जापानी डिजाइन कम्पनीहरू प्रख्यात हुन थाले । तथापि तिनीहरू युरोप र अमेरिकी डिजाइनरका तुलनामा नितान्त भिन्न थिए । समग्रमा उनीहरूले विशिष्ट जापानी पहिरनको सुन्दरताको भद्र प्रतिनिधित्व गर्थे ।

यस सम्बन्धमा चिनियाँ प्रसङ्ग फरक बाटोबाट तर झन्डै उही स्थानमा टुङ्गिन्छ । हजारौँ वर्ष चीनमा प्रतिष्ठाका आधारमा पहिरनको वर्गिकरण हुन्थ्यो । सम्राटले पहेलो, उनका छोराले सुनौलो, विशिष्ट व्यक्तिहरूले कालोमा निलो पहिरन लगाउँथे । चीनमा सन् १९११ को क्रान्तिसँगै पहिरनमा पनि क्रान्तिको सुरुवात भयो । हजारौँ वर्ष चिनियाँ महिलाहरूको पाउ बाँड्ने (कसिलो जुत्ता) को प्रचलनसँगै मञ्चु राजको समयबाट सुरु भएको पुरुषहरूको लामो टुपी राख्ने चलन पनि हराउँदै गयो । अफिम युद्धपछि र नयाँ बन्दरगाहहरूको स्थापनासँगै चीनमा पश्चिमा पहिरनको प्रभाव बढ्न थाल्यो । तर, सन् १९११ को स्वतन्त्रता आन्दोलनपछि यो प्रभावमा केही कमी ल्यायो र वर्णशङ्कर (hybrid) पहिरनको जन्म भयो ।
सन् १९४९ मा सम्पन्न क्रान्तिपछि चीनमा सिलाइको नयाँ युगको सुरुवात भयो । पुरानो पहिरनलाई सामन्ती युगको प्रतीकको रूपमा लिएको कम्युनिस्ट सरकारले पहिरनमा समतावादी (egalitarian) दृष्टिकोण अङ्गाल्यो । सन् १९११ को क्रान्तिका नायक सन यात सेनको पहिरन जापानी, जर्मनी र सोभियत सैनिक पोशाकको वर्णशङ्कर थियो भने माओको पोशाक परम्परागत सुरुवाल (trouse) र चिनियाँ किसानहरूले लगाउने जुत्ताबाट प्रभावित थियो । सन् १९७८ पछि मात्र चिनियाँ सहरहरूमा पश्चिमा पहिरनको प्रभाव बढ्दै गएको हो । सन यात सेनको पोशाकजस्तै माओकालीन पोशाक पनि समयसँगै बिलाउँदै गयो र यसको स्थान पश्चिमा शुट (कोट) ले लिन थाल्यो । चिनियाँ ज्याकेट भने अहिलेसम्म प्रौढहरूको रोजाइमा पर्दछ । चिनियाँ परम्परागत वा आधुनिकीकरण गरिएका पहिरन त्यति प्रचलनमा पाइँदैन ।
कैयौं डिजाइनरहरू चिनियाँ पोशाक आधुनिक चिनियाँ बजारमा पुनः प्रस्तुत गर्ने कोसिस गर्दै छन् । पछिल्ला दशकमा विशिष्ट चिनियाँ शैलीका कलर (collor) र बटनहरू पश्चिमा महिलाहरूको पोशाकका डिजाइनमा देखिन थाले, जसले पश्चिमा चिनियाँ पोशाकको प्रभाव अनुभव गर्न सकिन्छ । साथै पूर्वी एसियाली बजारको बढ्दो महत्वले पनि पश्चिमा फेसनमा यस क्षेत्रको प्रभाव बढेको छ ।
आखिर जापान र चीनमा किन जनताले परम्परागत पहिरन लगाउन छोडे ? स्पष्ट छ, पश्चिमा आधुनिकीकरणको प्रभाव । यदि कसैलाई आधुनिक हुनु छ भने पश्चिमा पहिरन लगाउनु अनिवार्य बन्यो । यसको अर्को व्याख्या यसरी पनि गरियो, आधुनिक जीवनमा परम्परागत पहिरन अव्यवहारिक भयो ।
यस्तै पश्चिमा प्रभावका तस्वीर दक्षिण कोरिया र थाइवानलगायतका उत्तर पूर्वी एसियाको पनि छ । दक्षिण पूर्वी एसियामा पनि यही तस्वीर सत्य बनेको छ । मलेसिया र केही हदसम्म इन्डोनेसिया भने पृथक छ । अधिकांश मलेसियाली महिलाहरू ‘तुडुङ्ग’ (Tudung) लगाउँछन् र परम्परागत ‘बाजु कुरुङ्ग’ (Baju Kurung) लगाउँछन् । तीव्र सहरीकरण र उच्च बहुजातीय वातावरणमा यसले सांस्कृतिक पहिचानको बलियो प्रतिनिधित्व गर्दछ । एक हदसम्म यो शैली मलेसियाली परम्परातिर फिर्नु हो तर वास्तविकतामा यो विभिन्न इस्लाम परम्परातिरको बिनियोजन हो ।
चीन, जापान र अन्य क्षेत्रमा पश्चिमा पहिरनको व्यापक उपभोगका कारणमाथि उल्लेखित थिए भने भारतीय र मलेसियाली महिलाहरूका सम्बन्धमा किन भिन्नता भयो त ? दुवै देशमा परम्परागत पहिरन यथावत रहनुमा धर्मको विशेष भूमिका भएको देखिन्छ । जबकि चीन, जापान र उत्तर एसियाली मुलुकहरूमा व्यवस्थित धर्मको कुनै बलियो परम्परा देखिँदैन ।
टोक्योमा आयोजना हुने फेसन शोहरूमा धेरै गोरा कलाकार साथै जापानीहरू प्रयोग भएको पाउँछौँ तर गहुँगोरो (कालो) छालाको कोही देखिँदैन । हङ्गकङ्गमा पनि गोरो छालाका चिनियाँहरू देख्न पाउँछौँ तर कहिल्यै कालो वा गहुँगोरो वर्णका कलाकार देख्न पाइँदैन । तर, भारतमा भने ¥याम्पमा क्याटवाक गर्नेदेखि फेसन पत्रिकाहरूमा भारतीयहरू विशेषगरी गोरो वर्णका कलाकारहरूको वर्चस्व छ ।
चीन, जापान र कोरियाली महिलाहरूमा गोरोपन ल्याउने क्रिम वा उत्पादनको ठूलो माग छ । सन् २००१ मा मात्र जापानमा ५.६ अर्ब अमेरिकी डलर र चीनमा १.३ अर्ब अमेरिकी डलर बराबरको यस्ता सौन्दर्य सामग्रीको व्यापार भएको अनुमान छ । एसियाली महिलाहरूप्रति लक्षित प्रायः पश्चिमा सौन्दर्य सामग्री उत्पादक कम्पनीहरू आफ्ना विज्ञापनमा ‘कालो’ वा ‘पहेंलो’ वर्णको छाला गोरोभन्दा सुन्दरतामा निम्नकोटिको दर्शाउने तस्बिर र कथन उल्लेख गर्छन् । घमाइलो दिनहरूमा चीन, जापान, सिङ्गापुर र अन्य कतैका महिलाहरू छाताले आफूलाई छोपेर हिँडेको भेटिन्छन् । उनीहरू आफूलाई घामले डढाउन चाहँदैनन् ।
जापानीहरू आफूलाई पूर्वी एसियाका अन्य मुलुकका जनताभन्दा भिन्न देखाउन चाहन्छन् । विशेषगरी चिनियाँभन्दा फरक । चलचित्र वा कमिक्समा आफूलाई धेरै पश्चिमा शैलीमा प्रस्तुत गर्छन् । ठूला आँखा (कहिलेकाहीँ निलो), चम्किलो रङ्गको कपाल र गोरो छाला । चीन, जापान दुवै मुलुकमा कालो छालालाई नकारात्मक ढङ्गबाट लिने र काला मानिसलाई अपमानजनक दृृष्टिकोणमा प्रस्तुत गर्छन् । छालाको रङ्ग, खैरो कपाल, ठूला आँखा र उचाइ – पश्चिमा आकृतिले पूर्वी एसियाली समाजमा पछिल्ला दुई शताब्दीमा गहिरो र स्थायी प्रभाव पारेको छ । जापानीहरू ऐनामा हेर्दा आफूमा यही पश्चिमा आकृतिका गुणहरू देख्न चाहन्छन् । चिनियाँहरूमा पनि यही कुरा लागु हुन्छ । तर, जापानीहरूको तुलनामा निकै कम ।
पूर्वी एसियालीहरूमा गोरोपनप्रतिको यस्तो प्रगाढ इच्छा पश्चिमा प्रभावको मात्र प्रतिफलका रूपमा लिनु गलत हुनेछ । जापान र चीन दुवै देशमा गोरोपनाले गहिरो वर्गचरित्रको प्रतिनिधित्व गर्दछ । कालो हुनुको अर्थ जमिनसँग जोडिएको र तल्लो वर्गको भन्ने मान्यता गहिरोसँग राष्ट्रिय मानसपटलमा छापिएको छ । आधुनिकीकरण र सहरीकरणका प्रसङ्गमा, गोरो हुनुले सहरी जीवन र समृद्धि र खैरो हुनुले ग्रामीण र गरिबीको प्रतीकको रूपमा लिइयो । मेइजी पुनः स्थापनादेखि जापानीहरूले छालाको रङ्गबाट आफूलाई चिनियाँ र कोरियाली छिमेकीभन्दा भिन्न देखाउने काम ग¥यो ।
पूर्वी एसियाको सबै स्थानमा धेरथोर छालाको रङ्गले शक्तिशाली विचार, धारणा र पूर्वाग्रहका अत्यन्त संवेदनशील विषय बनेको छ र गोरोपनप्रति झन्डै विश्वव्यापी मोह जगाएको छ । पश्चिमा रङ्गभेदी मोडलले छालाको रङ्गसम्बन्धी लामो समयदेखि गहिरोसँग स्थापित भएर बसेको मौलिक दृष्टिकोणलाई मलजल गर्ने काम ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *