भर्खरै :

“महामारीले संसारमा प्रणालीगत कमजोरी उजागर गरेको छ”

संयुक्त राष्ट्र सङ्घ, ३ सेप्टेम्बर । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजले विश्व नेताहरूलाई कोभिड–१९ को महामारी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि निर्णायक (गेम चेन्जर) भएको बताएका छन् ।
“शान्ति र सुरक्षामा कोभिड–१९ को प्रभावको हिसाबमा संसार एउटा नयाँ तरल र अस्थीर चरणमा प्रवेश गरेको छ”, संरा सङ्घका प्रमुखले विश्व नेताहरूसँगको भर्चुअएल बैठकमा भने ।
गेम चेन्जर
अकाबा प्रक्रियाकै सिलसिलाको रूपमा आतङ्कवाद र हिंसात्मक अतिवादविरुद्ध विश्व सहकार्य प्रवद्र्धन गर्न आयोजित अन्तर्राष्ट्रिय बैठकहरूमध्ये एउटा बैठकमा बोल्दै महासचिव गुटरेजले महामारी विश्वव्यापी स्वास्थ्य सङ्कट मात्र नभएको बताए ।
अकाबा प्रक्रिया सन् २०१५ मा जोर्डनका राजा अब्दुल्लाह द्वितीयले जोर्डन सहरबाट सुरु गरेको अभियान हो । हिंसात्मक अतिवाद र आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धन गर्नु नै यो अभियानको मूल ध्येय भएको बताइएको छ ।
“अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको लागि यो निर्णायक घटना हो”, राष्ट्र सङ्घका प्रमुखले महामारीमाथि जीत हासिल कसरी गर्ने भन्ने विषयमा ‘एकता प्रवद्र्धन गर्न र विचार निर्माणमा’ अकाबा प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिंदै भने ।
अनलाइन माध्यमबाट भएका बैठकहरूमा कोभिड–१९ महामारीको अवस्थामा बढ्दो सुरक्षा चुनौती र तिनका समाधानका उपायबारे चर्चा गरिएको थियो । आतङ्कवाद र अतिवादका खतरा प्रतिरोधमा सबै पक्षबीच एकीकृत र सङ्गठित प्रयासबारे बैठकमा छलफल भएको थियो ।
बुधबारको बैठकमा नाइजेरिया, फिलिपिन्स, केन्या र बुल्गेरियाका राष्ट्रपतिहरू सहभागी थिए । त्यस्तै क्यानाडा, बुल्गेरिया र अल्बानियाका प्रधानमन्त्रीहरू त्यसमा सहभागी थिए । त्यसबाहेक संरा सङ्घ, इन्टरपोलका महासचिव र नाटोका उपमहासचिव पनि सहभागी रहेको बताइएको छ ।
खतराको बत्ती
गुटरेजले भर्चुअल बैठकमा कोरोना भाइरसले मानिसको मूलभूत कमजोरीलाई उजागर गर्नुका साथै प्रणालीगत र अन्तरनिहीत असमानतालाई सतहमा ल्याएको बताए । उनले भूराजनीतिक चुनौती तथा सुरक्षाका खतरालाई पनि यो महामारीले बाहिर ल्याएको बताए ।
“खतराका बत्ती बलेका छन्”, भाइरसले मानिसका दुःख बढाउने, सामाजिक सद्भावलाई न्यूनाङ्कन गर्ने र द्वन्द्वलाई उजागर गरिरहेको भन्दै महासचिव गुटरेजले यस्तो परिस्थितिमा आतङ्कवाद र हिंसात्मक अतिवाद फैलिने जोखिम बढाएको बताए ।
आपूर्ति प्रणालीमा अवरोध, संरक्षणवाद र बढ्दो राष्ट्रवादले अन्तर्राष्ट्रिय तनाव बढाउनुका साथै बेरोजगारी, खाद्य असुरक्षा र जलवायु परिवर्तन बढाएको उनले बताए ।
विश्वव्यापी ऐक्यबद्धता
महामारीले जैविक आतङ्कवाद र संवेदनशील पूर्वाधारमाथि साइबर हमलाजस्ता खतरा बढाएको महासचिव गुटरेजले भने ।
“विश्व आज गम्भीर सुरक्षा चुनौती सामना गरिरहेको छ । यो चुनौती कुनै एउटा देश वा सङ्गठनले मात्र समाधान गर्न सक्दैन”, गुटरेजले भने, “यस्तो परिस्थितिमा विश्वव्यापी एकता र ऐक्यबद्धताको खाँचो छ ।”
जुलाईमा भएको संरा सङ्घीय भर्चुअल आतङ्कवादविरोधी सप्ताहको स्मरण गर्दै उनले सो कार्यक्रममा सहभागीहरूले आतङ्कवाद र हिंसात्मक आतङ्कवादको प्रतिरोधमा बहुपक्षीय ऐक्यबद्धता विस्तार गर्नेमा प्रतिबद्धता व्यक्त गरेको उनले भने ।
तथापि, महामारीको प्रतिरोधमा अन्तर्राष्ट्रिय सहकार्यमा कमी देखिनु भने ‘आश्चर्यजनक’ भएको उनले बताए । गुटरेजले राष्ट्रिय स्वार्थ, सूचना आदानप्रदानमा कञ्जुस्यार्इँ र प्राधिकारवादको विस्तार भएकोमा चिन्ता व्यक्त गरे ।
जनता नै पहिलो स्थानमा
संरा सङ्घीय प्रमुखले जनतालाई नै सबभन्दा पहिलो स्थानमा राख्नुपर्नेमा जोड दिंदै महामारीको मौका छोपेर आफ्नो हानिकारक लक्ष्य हासिल गर्नबाट आतङ्कवादीहरूलाई रोक लगाउन र अल्पकालीन लक्ष्यको लागि भन्दा दीर्घकालीन लक्ष्यको प्राप्तिको लागि सूचना आदानप्रदान र प्राविधिक सहकार्य प्रवद्र्धन गर्नु आवश्यक भएको बताए ।
“त्यसको निम्ति आतङ्कवादबाट शिकार भएकाहरूका अधिकार र आवश्यकता संरक्षण गर्नुका साथै आफ्नो देश फिर्ता भएका विदेशी आतङ्कवादी लडाकू विशेषतः महिला र बालबालिका र उनीहरूका आश्रितहरूलाई सुरक्षा गर्न आवश्यक छ”, उनले भने ।
कोभिड पछिको पुनःनिर्माण
अन्तर्राष्ट्रिय रोजगारदाता सङ्गठनको सयौँ सम्मेलनमा बोल्दै गुटरेजले कोभिडले ल्याएको परिवर्तन सामना गर्न निजी तथा सरकारी क्षेत्रले आपसमा कसरी सहकार्य गर्नसक्छन् भन्ने विषयमा सोच्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *