भर्खरै :

कस्ता मास्क कसरी लगाउने ?

काठमाडौँ, २१ भदौ । “कार्टुनलगायतका उनीहरूलाई रमाइलो लाग्ने चित्रहरू मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले भन्नुभयो ।
विश्वव्यापीरूपमा फैलिइरहेको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि मास्कको प्रयोग बढाउन व्यक्तिको उमेर, पेशा र रुचिअनुसारको मास्कको उत्पादनले सहयोग गर्ने डा. पाण्डेले बताउनुभयो । खेलप्रेमीका लागि खेलाडीको फोटो भएको त अरूका लागि सगरमाथा वा नेपालका सम्पदाको फोटो राखेको मास्क हुँदा उनीहरू खुसी हुनेछन् । ज्येष्ठ नागरिकलाई भगवानको फोटो हुँदा रुचिकर हुनसक्ने उहाँको तर्क छ ।
जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार सबैलाई रुचिअनुसार मास्क बजारमा उपलब्ध हुँदा यसको प्रयोग बढ्छ । कोभिड–१९ को सङ्क्रमण देशभरि बढिरहँदा मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने सबैभन्दा बलियो अस्त्रको रूपमा हेरिएको छ । बजारमा अहिले पनि सबै उमेरका लागि फरक आकारका मास्क नभएको उहाँको भनाइ छ । जुत्ता, कपडाजस्तै यो पनि फरक –फरक आकार र किसिमको हुनुपर्छ । उहाँले भन्नुभयो, “युवामा नै अलि दुब्लो मान्छेलाई समेत मिल्ने खालको मास्क पाइँदैन ।”
एन ९५ वा के ९५, सर्जिकल र कपडाको मास्क गरी अहिले बजारमा तीन किसिमका मास्क पाइन्छ । तीमध्ये एन ९५ मास्क भल्भ भएको र नभएको पनि बजारमा उपलब्ध हुने गरेको छ । सर्जिकल मास्कभन्दा कपडाको बढी प्रभावकारी हुन्छ । एन ९५ वा के ९५ अस्पतालको लागि डिजाइन गरिएको मास्क हो ।
अरु मास्कको तुलनामा महँगो पर्ने भएकोले आमनागरिकले एन ९५ लगाउन जरुरी नभएको डा. पाण्डेको भनाइ छ । यो धोएपछि कसिलो नहुने भएकोले धेरै धुन मिल्दैन । त्यस्तै, भल्भ भएको मास्क सास फेर्न र कुरा गर्न सजिलो भए पनि सङ्क्रमितले यो लगाउँदा अरुलाई सर्नसक्ने सम्भावना छ । उहाँले भन्नुभयो, “यस्तो मास्कको प्रयोग आमनागरिकले नगरेकै राम्रो हो ।”
कोभिड–१९ सङ्क्रमण भित्रिएसँगै विश्वमा नै मास्कको प्रयोग बढिरहेको देखिन्छ । सुरुमा विश्व स्वास्थ्य सङ्गठनले स्वस्थ व्यक्तिले लगाउनु पर्दैन र मास्क लगाउने भनेको सङ्क्रमितले हो भन्ने धारणा बनाएको थियो । कोरोना भाइरसको आकार सानो भएकोले प्वालबाट छिर्छ भन्ने धेरैको बुझाइ थियो । बिस्तारै, एक व्यक्तिबाट अर्काे व्यक्तिमा भाइरस मात्रै जाँदैन बोल्दा, खोक्दा, वा हाछ्युँ गर्दा त्यो कणसँगै जान्छ भन्ने अध्ययनले देखायो । त्यो कण आँखाले नदेखे पनि ठूलो आकारको हुन्छ । त्यो मास्कबाट छिर्दैन । त्यसले सङ्क्रमित भए वा नभए पनि मास्क लगाउनुपर्छ भन्ने धारणा आएको पाइन्छ ।
तीन किसिमका मास्कसँगै बजारमा रुमाल वा पछ्यौरा, सल, गलबन्दी प्रयोग पनि बढिरहेको देखिन्छ । पछिल्लो अनुसन्धानले एक दुई पचास, सय भाइरस प्रवेश गर्दैमा सङ्क्रमण हुँदैन र सङ्क्रमण हुन एकदेखि तीन हजार भाइरस आवश्यक पर्छ भन्ने देखाएको छ । त्यसैले पनि मास्क वा अरु कपडाको प्रयोग गरी नाक, मुख छोप्दा भाइरसको लोड कम हुने डा. पाण्डेको धारणा छ ।
आमनागरिकले दैनिक घरबाहिर निस्कँदा कपडाकै मास्क प्रयोग गर्नसक्ने उहाँको सुझाव छ । कटन वा मलमल कपडाको दुई तीन पत्र बनाएर सिलाएको मास्कले सङ्क्रमणबाट बच्न सघाउँछ । कतिपयले एकभन्दा बढी मास्क लगाएको पाइन्छ । सुरक्षाका हिसाबले एक तहको मास्क एकभन्दा बढी लगाउनु राम्रो भए पनि यसबाट सास फेर्न गाह्रो हुन्छ । बजारमा पाइने धेरै मास्कमा नाकको माथिल्लो भागमा च्याप्ने नभएको पाइएको छ । ती मास्कमा आफैँले पनि च्याप्ने कुरा हाल्न सकिने उहाँको धारणा छ । उहाँले भन्नुभयो, “नाक माथि च्यापेर गालाबाट हावा पस्न रोक्न सकिन्छ ।”
चिकित्सकले लामो समयसम्म लगाउनुपर्ने हुँदा दैनिक परिवर्तन गरिराखे पनि आमनागरिकले एन ९५ वा के ९५ मास्क केही दिनसम्म प्रयोग गर्नसक्छन् । यो मास्क वा कपडाको मास्क घर बाहिरबाट आएपछि घाममा सुकाउने र भोलिपल्ट लगाउने गरी प्रयोग गर्न सकिन्छ । सर्जिकल मास्क धोएर प्रयोग गर्न मिल्दैन भने अरु घाम वा हावामा झुण्ड्याएर तीनचार दिन प्रयोग गर्न सकिन्छ । मास्क धुँदा पनि सफा पानीमा भिजाएर हल्का मालिस गरे जसरी सफा गर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “ मास्कलाई पानीमा छोपलेर झिक्ने गर्दा त्यसबाट रेसा निस्कँदैन ।”
कस्तो मास्क लगाउने भन्नेसँगै कसरी मास्क लगाउने भन्ने कुराले पनि सङ्क्रमण रोक्न सकिन्छ । मास्क लगाउँदा कसिलो हुनुपर्छ र हावा छिर्ने हुनुहुँदैन । पातलो मान्छे वा अनुहार सानो अनुहार लगाउँदा आँखामुनिको भागबाट हावा छिर्ने सम्भावना हुने भएकोले त्यसमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
कोभड–१९ को रोकथामका लागि मास्क प्रयोगले सहयोग पुग्ने विभिन्न देशको प्रयोगको दरले देखिएको छ । चीन, जापान, कोरिया, कम्बोडिया, भुटान, सिङ्गापुरलगातका ९० प्रतिशत बढी जनसङ्ख्याले मास्क प्रयोग गर्ने देशमा कोभिड चाँडो नियन्त्रणमा आएको पाइएको छ । यी देशका नागरिकमा पहिलेदेखि नै विभिन्न भाइरसबाट बच्न मास्क लगाउने बानी थियो । अमेरिका, संयुक्त अधिराज्य र युरोपका देशहरूमा धेरैले मास्क लगाउनु सजाय ठान्छन् । अध्ययनहरूले सङ्क्रमण उच्च गतिमा फैलिरहँदा पनि यहाँका २५ प्रतिशतभन्दा कमले मास्क लगाएको पाइएको थियो । यी नै देशहरूमा पनि मास्कको प्रयोग भएका राज्यमा सङ्क्रमण चाँडो नियन्त्रणमा आएको पाइएको डा. पाण्डेले जानकारी दिनुभयो ।
मास्कको प्रयोग, साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने बानी बसाल्न सरकारले पनि नागरिकलाई अनुरोध गर्दै आएको छ । यीमध्ये पनि मास्कको प्रयोग नै सबैभन्दा प्रभावकारी रहेको अध्ययनले देखाएको छ । उहाँले भन्नुभयो, “समूहमा बस्दा पनि सबैले मास्क लगाउँदा सङ्क्रमणको जोखिम दुईतिहाइ घट्छ ।”
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मास्कको प्रयोग बढाउनैपर्छ । सरकारले कडा नियम बनाएर मास्कको प्रयोग बढाउन सक्ने डा. पाण्डेको तर्क छ । अहिले प्रशासनले मास्कको प्रयोग नगर्ने व्यक्तिलाई रु. एक सय जरिवाना गर्दै आएकोमा यसलाई बढाउनुपर्ने उहाँको सुझाव छ । मास्क नलगाएकालाई कुनै पनि सेवा नदिइने नीति अवलम्बन गर्न खाँचो छ । उहाँले भन्नुभयो, “बस चढ्न, कार्यालय प्रवेश, होटल प्रवेश, पसलेले सामान नदिने गरी नियम बनाउनुपर्छ ।”
मास्कको सही प्रयोग पनि यसको नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ । अचेल धेरैले अरूसँग कुराकानी गर्दा चिउँडोमा मास्क लगाएको देखिन्छ । सबैभन्दा बढी सङ्क्रमण नाकबाट फैलने हुँदा जुनसुकै समयमा नाक राम्ररी छोपिने खालको हुनुपर्छ । नाक छोपेपछि मुख पनि छोपिन्छ । उहाँले भन्नुभयो, “चिउँडो वा घाँटीमा मास्क राख्दा पछि नाकमा मास्क लगाउँदा सङ्क्रमण सर्नसक्छ ।”
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी अझै पनि कतिपयले मास्कको प्रयोगका विषयमा सचेत नभएको बताउनुभयो । कतिपयले भने जानकारी भए पनि हेलचेक्राइँ गरेको उहाँको भनाइ छ । घर बाहिर निस्कनुपर्दा अनिवार्यरूपमा नाक र मुख ढाकिने गरी मास्क लगाउनुपर्नै उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “मबाहेक अरु सबै सङ्क्रमित हो भन्ने सोचेर दूरी राख्ने र मास्कको प्रयोग गर्नुपर्छ ।”
मास्क कहाँ लगाउने ?
सामान्यरूपमा, मास्कको प्रयोग घरभित्र आफ्नो परिवार बस्दा लगाउनु पर्दैन । घरभित्र पनि जोखिम वर्ग ज्येष्ठ नागरिक वा दीर्घरोगी भएमा भने मास्क लगाउने र दूरी कायम गर्दा राम्रो हुने डा. पाण्डेको सुझाव छ । कतिपय व्यक्तिमा सङ्क्रमणको चिन्ताले घरभित्र वा बाहिर एक्लै हुँदा पनि मास्कको प्रयोग गरेको पाइन्छ । मान्छेबाट नै सङ्क्रमण सर्ने बढी सम्भावना भएकोले घर बाहिर पनि मान्छे नभएका ठाउँमा मास्क लगाउनु अनिवार्य हुँदैन । उहाँले भन्नुभयो, “बाहिर निस्कँदा पनि मास्क बोकेर हिँड्नुपर्छ र कोही आएको देख्नासाथ लगाउनुपर्छ ।”
देशभरमा कोरोना सङ्क्रमण बढिरहे पनि धेरैमा अहिले पनि यो त मेरो आफन्त वा सहकर्मी हो यसबाट कसरी सर्ला भन्ने रूपमा लिएको पाइन्छ । बाटो वा कार्यालयमा मास्क लगाउनुपर्छ । आफन्त, सहकर्मी जो कोही भए पनि सङ्क्रमित हुनसक्छ भन्ने सोच्नुपर्ने उहाँको सुझाव छ ।
मास्क प्रयोगका अरू पनि छन् फाइदा
कोभिड–१९ विश्वव्यापी भएसँगै प्रयोग बढेको मास्कको अरु फाइदा पनि छ । यसको प्रयोगले धुलो, धुँवा प्रदूषणबाट बचाउँछ । हावामा भएका अरु ब्याक्टेरिया भाइरस र धेरै रोगबाट बचाउन सघाउँछ । मास्कको प्रयोगले क्षयरोग, फ्लु, रुघाखोकी, स्वायन फ्लु, बर्ड फ्लुबाट बचाउँछ । हात नियमित धुँदा यो वर्ष वर्षामा देखिने गरेको टाइफाइड, झाडाबान्ता, हैजा फैलिएको छैन ।
तर यसका फाइदाहरू धेरै नै भए पनि मास्क लामो समय लगाउँदा श्वासप्रश्वासमा केही बाधा भने पुग्ने देखिएको छ । हामीले सास फेर्दा अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने सजिलो प्रक्रियामा केही बाधा यसले पु¥याउँछ । कतिपय देशमा मास्क फ्रि समय वा मास्क फ्रि जोन राखिएको हुन्छ । हामीले पनि कार्यालय एक्लै हुँदा वा छतमा जाँदा मास्क खोलेर बस्न सकिन्छ । एक्लै हुँदा मास्क नलगाएकै राम्रो हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *