भर्खरै :

रुख देखे काटौँ काटौँ लाग्ने !

“महेन्द्र सरकार सवारी हुँदा उहाँको हात्तीले यो रुखको हाङ्गा र पात निमोठेर लिएको मैले नै देखेको, यस्तो रुख पनि काट्न मिल्छ, कसरी हुन्छ बचाउन मिल्दैन ?” ८० वर्षका एक वृद्धले रिसाउँदै मनको बह पोख्नुभयो ।
“यो काब्रोको रुखको एउटा हाङ्गा त्यहाँ भएको द्वारतिर झुकेकोले त्यत्तिबेला काटिएको थियो, म जन्मेको मितिभन्दा पहिले नै हाम्रा बा र अर्को साथी मिलेर पनि अङ्गालो हाल्न सकेका थिएनन् रे यो रुखलाई ।” ७५ वर्षका ‘बाजे’ ले भन्नुभयो । म खेतबाट फर्कँदा यो रुख देख्दा दङ्ग पर्थेँ”, अर्को वृद्धले स्मरण गर्नुभयो । सँगै बस्नुभएका बाजेले भन्नुभयो, “यो रुखमा सयौँ बकुल्लाहरू बस्थे, गन्ध आउँथ्यो । उनीहरूको चल्ला देखेर मन फुरुङ्ग हुन्थ्यो ।”
एक जना बज्यैले थप्नुभयो, “शीतल पाउन म कहिलेकाहीँ दिउँसो यो रुखमुनि बस्थेँ ।”
यी र यस्तै स्मरणहरू बा, बज्यै, बाजेहरू थप्दै थिए, ठुटो हुने गरी काटिएको रुख हेर्दै । लाग्छ, उनीहरूको मन रोइरहेको छ । मैले पनि थपेँ, मलाई त यो घाटको मनोरम दृश्य, यो रुखमा बस्ने अनेक खालका चरा र बकुल्ला हेर्दा मनै आनन्द हुन्छ ।
कुरा हनुमानघाटको काब्रोको रुखको हो । नेपालभाषामा ‘पाने सिमा’ भनिने रै’छ । घाटतिर जाने बाटो सीधा हुने गरी भित्तो बनाउन घाट व्यवस्थापन समितिले काटेको रे ¤ धेरै मान्छेले काट भनेर काटेको रे ¤ छिमेकी देश भारतको बम्बईमा रेलको बाटो निर्माण गर्दा झन्डै बाटोमा परेको १५० वर्र्ष पुरानो बर्गड र पीपलको रुख नकाटी आफ्नो डिजाइनमा हेरफेर गरेर रेलको बाटो निर्माण भएको थियो । भारतको कोचीमा गगनचुम्बी घर बनाउने ठेकेदारले स्थानीयको आवाज सुनेर १०० वर्ष पुरानो आँपको रुख विधिविधानअनुसार नै ७५ मिटर पर सारिएको थियो । अहिले त्यो रुखमा फेरि आँप फल्न थालेको स्थानीय बताउँछन् । बेङ्गलोर, भारतमै १० वर्षमात्र पुरानो जामुनको एउटा रुख बाटो निर्माण गर्ने ठेकेदारले नजिकैको विद्यालयमा सारेका थिए । अस्ट्रेलियामै ब्ल्याक हिथ भन्ने ठाउँमा स्थानीय महिलाहरूको चर्को विरोध आएपछि बाटो दायाँ–बायाँका रुखहरू काटिएनन् ।

अरू देशमा एउटा रुख बचाउन टेको लगाउँछन्, बार लगाउँछन्, लाखौँ खर्च गर्छन्, मलजल गर्छन् । चीनमा त मान्छेमा सलाइन पानी चलाएजस्तै रुखमा सलाइन पानी र औषधि पनि हाल्छ एउटा रुख बचाउन । तर, हामी सहज हुने नाममा अनि काटौँ भनेको भरमा त्यस्तो बलियो, सुन्दर रुख काट्छौँ । काट्नेलाई कति पनि माया नलागेको होला । काट भनेर कति अविवेकी बनेको होला, भोलि रुखकै दाउरामाथि लाश राखेर जलाइन्छ भन्ने कसरी याद नआएको होला अथवा रुखको महिमा कसरी भुल्न सकेको होला, सम्झँदै शरीर अविगले काँप्न थाल्छ ।

नेपालमा पनि यस्ता उदाहरण धेरै छन् । जस्तैः काठमाडौँको बत्तीसपुतली क्षेत्रको एउटा रुख नकाटिकन बाटो घुमाइएको थियो । चीनको चिङ्हाइ प्रान्तमा एउटा राजमार्ग बनाउने डिजाइन नै परिवर्तन गरी ६,७०० वटा रुख काटेनन् । यस्ता उदाहरण अरू पनि धेरै होलान् । तर, हाम्रो ठाउँमा रुखको महत्व नबुझेर हो कि वा सोच नपुगेर हो ? मानिसहरू रुख काट्न उद्यत्त हुन्छन् । यो सोचको अन्त्य हुनुपर्छ ।
कुरा फेरि काब्रोकै गरौँ । इतिहास बोकेको संस्कृति र धार्मिक महत्व भएको काब्रोको रुख आज निरस बनेको छ । अर्को वर्ष बकुल्लाहरू बच्चा कोरल्न आउँदा त्यो रुखको हविगत देखेर उनीहरूको मन कस्तो होला ? उनीहरू कति स्तब्ध हुने होलान् । १५० वर्षभन्दा पुरानो यो रुख लाखौँ बकुल्ला र कागले बच्चा कोरलेर जीवन प्राप्त गरिसके होलान्, लाखौँ टन अक्सिजन उत्पादन गरिसक्यो होला । हामीले त्यस्तो करोडाँै रूपैयाँ बराबरको फाइदा प्राप्त गरिसक्यौँ होला ? करोडौँ रकम बराबरको आनन्द अनुभूति ग¥यौँ होला । त्यसको पनि लेखाजोखा गरिनुपर्छ ।
अरू देशमा एउटा रुख बचाउन टेको लगाउँछन्, बार लगाउँछन्, लाखौँ खर्च गर्छन्, मलजल गर्छन् । चीनमा त मान्छेमा सलाइन पानी चलाएजस्तै रुखमा सलाइन पानी र औषधि पनि हाल्छ एउटा रुख बचाउन । तर, हामी सहज हुने नाममा अनि काटौँ भनेको भरमा त्यस्तो बलियो, सुन्दर रुख काट्छौँ । काट्नेलाई कति पनि माया नलागेको होला । काट भनेर कति अविवेकी बनेको होला, भोलि रुखकै दाउरामाथि लाश राखेर जलाइन्छ भन्ने कसरी याद नआएको होला अथवा रुखको महिमा कसरी भुल्न सकेको होला, सम्झँदै शरीर अविगले काँप्न थाल्छ ।
काब्रोको रुखको औषधीय गुण छन् । जस्तैः बोक्रा ग्यास्ट्रिक र अल्सरको औषधि हो, चिप–चिप हुने पदार्थ टाइफाइड र झाडापखालाको औषधि हो, दाद र खटिराको लागि पनि अचुक औषधि हो यो रुख । अनि यो रुखको तोरीले शरीरमा ताजापन र बल दिन्छ र पेटको गडबडी पनि रोक्छ । यो रुखको नयाँ पालुवा त अचार बनाउन पनि मिल्छ । हनुमानघाटको छिपाः ताँको पश्चिमपट्टिको यो रुखको अनेक खालका महत्व छन् तर पनि सम्बन्धित व्यक्ति र संस्थाहरूले वनस्पतिविद्, वातावरणविद्, संस्कृतिविद् र सामाजिक व्यक्तित्वको सल्लाह लिएनन् । यसप्रति यो लेखक मनुवा अचम्म मान्दै छ ।
अरनिको राजमार्गको रुख केही महिनाअगाडि काटिएको थियो, अहिले हेर्दा त्यहाँको दृश्य कति कुरूप छ, बटुवाहरू पसिना चुहाउँदै हिँड्छन् आजभोलि । रुख देख्नेबित्तिकै काट्न मन लाग्ने मनोरोगको शिकार किन भएछन् सम्बन्धित पक्ष ? रुख काट्नैपर्ने थिएन, कमजोर हाङ्गामात्रै काटे पुग्नेमा वडा नं. ७ मा अवस्थित हनुमानघाटको काब्रोको रुख ठुटो हुने गरी काट्नु र सँगैको पीपलको रुख चाहिएभन्दा बढी काट्नु निन्दनीय छ । यो रुख यति महत्वपूर्ण छ कि यसैलाई पर्यटकहरूलाई देखाएर आम्दानी गर्न सकिन्छ । ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बीँड’ भनेको यही हो ।
भविष्यमा यस्ता घटना नदोहोरियोस् । कुनै पनि कार्य गर्दा सबै पक्षको छलफल र सल्लाह लिएरमात्रै कार्य अघि बढाए क्षति कम हुनेछ । यसबारे सोच्नु आवश्यक छ ।
 
 

कमलराज गोसाई                                                                                      (लेखक त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक हुनुहुन्छ ।)


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *