सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
यतिबेला सारा नेपाली जनता कोरोना सङ्क्रमणको महामारी र त्यसलाई रोक्न गरिएको बन्दाबन्दीबाट प्रताडित छन् । कोरोना भाइरसको महामारीबाट जोगिने सबैभन्दा मुख्य उपाय भनेको घरमै अलग्ग बस्नु र बाहिर आउनैपरेमा सुरक्षाका उपाय अपनाई होसियारी र सचेततापूर्वक हिँड्नुमात्र हो । तर, सुरक्षाका उपाय अपनाएपछि पनि विभिन्न कमजोरीले कोरोना भाइरस सङ्क्रमित हुनपुग्छौँ । हुन त कोरोना सङ्क्रमित हुँदैमा मृत्यु नहुने कुरा धेरै विद्वान र विज्ञहरूले दाबी गरिरहेका छन् । कोरोनाबाटै मृत्यु हुनेको सङ्ख्या विश्वमा शून्य दशमलव १ प्रतिशतमात्र छ । मृत्यु भएका अन्य व्यक्ति कोरोनासँगै पहिले नै निमोनिया, मधुमेह, उच्च रक्तचाप, मृगौला, मुटुरोग र हाइपोथाइरोडिजम र क्यान्सर आदि गम्भीर रोगबाट ग्रसित भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले भदौ १६ गते जारी गरेको विज्ञप्तिमा समेत नेपालमा कोरोनाबाट मात्रै मृत्यु हुनेको सङ्ख्या १० रहेको उल्लेख गरेको छ । युरोपेली राष्ट्रमध्येको इटलीले पीसीआर परीक्षण नै बन्द गरिसकेको छ । विश्वका २२ राष्ट्रले लकडाउनै गरेनन् । तर, त्यसो भन्दैमा हामीले रोगप्रति लापरबाही अपनाउन मिल्दैन । हाम्रो देश र समाजमा गम्भीर र दीर्घरोगीहरूको सङ्ख्या कम छैन । ती सबैमा कोरोना सङ्क्रमण भएमा मृत्युदर निकै बढी हुनसक्छ । उमेर बढी भएका बाजेबज्यै र कम उमेरका केटाकेटीहरूमा सङ्क्रमण भएमा उपचार गर्न निकै कठिनाइ आउने र सङ्क्रमणसमेत व्यापक हुनसक्ने भुक्तभोगी चिकित्सक र स्वास्थ्यकर्मीहरू बताउँछन् । त्यसैले कोभिड–१९ लाई सामान्य रुघाखोकीमात्र हो भन्दाभन्दै पनि लापरबाही भने नगरौँ ।
Leave a Reply