सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
नेपालको इतिहास नेपालीहरूले भन्दा पहिले विदेशीहरूले लेख्न सुरु गरेका हुन् । देशको जेठो विश्वविद्यालय विदेशी विश्वविद्यालयहरूको तुलनामा धेरै कान्छो हुनाले यसलाई अन्यथा मान्न सकिन्न । यसबाहेक हिजोकै भारदारी खलकका यो वा त्यो पक्षका सन्तानले आफ्नो पुर्खाको धारबाट इतिहास लेख्नु नेपाली इतिहास लेखनको समस्या हो । बाबुराम आचार्यलगायत अनेक मुर्धन्य नेपाली इतिहासकारसमेत यस प्रवृत्तिबाट अछुता छैनन् । इतिहासलाई अर्थ–राजनीतिक वा सामाजिक कोणबाट भन्दा पनि कोरा विवरणको रूपमा मात्र प्रस्तुत गर्नु नेपाली इतिहासकारको अर्को कमी वा कमजोरी हो । (तथ्य सङ्कलनको आफ्नै महत्व पनि छ ।) यी तीनवटै दृष्टिबाट माथि पर्नाले विदेशी इतिहासकारलाई बढी विश्वाससाथ पढिन्छ । लुडविग एफ. स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (The Silent Cry) यिनै अर्थमा गम्भीर छ ।
त्रिभुवन विश्वविद्यालयमा नेपाली इतिहासको अध्ययन, अनुसन्धान र प्राध्यापन गरेका पादरी स्टिलर अमेरिकी मूलका नेपाली नागरिक थिए । उनले पृथ्वीनारायण शाहदेखि जङ्गबहादुर राणासम्मको अवधिबारे चार पुस्तक लेखेका छन् । ‘मौन क्रन्दन’ उनको तेस्रो कृति हो । यसमा स्टिलरले सन् १८१६ देखि १८३९ सम्मको नेपालीहरूको विश्लेषण गर्ने जमर्को गरेका छन् । सन् १८१६ मा सुगौली सन्धि भएको थियो भने १८३९ मा भीमसेन थापाको निधन भएको थियो । पुस्तकले मूलतः दुई विषयको विवेचना गरेको छ । एक, सुगौली सन्धिपछि ग्रामीण नेपालीहरूले भोगेका पीडा र उनीहरूका आकाङ्क्षा । दुई, भीमसेन थापाको शासनकाल र उनको मूल्याङ्कन । तथापि लेखकले पहिलो विषयलाई नै पुस्तकको मूल कथ्य मानेका छन् ।
स्टिलरको विचारलाई क्रमशः राखौँ । एकीकरणताकाको नेपालको भूराजनीति निकै विभाजित थियो । नेपाली पहाड र नदीहरूले छुट्याएका ससाना राज्यका अर्थतन्त्र, समाज, संस्कृति र राजनीति उस्तै विभाजित थिए । यस जटिलतालाई पृथ्वीनारायण शाहले खासगरी जागिर प्रथा र हुलाक सेवाका माध्यमले चिर्दै एकीकरण अगाडि बढाए । पश्चिमतिर लाग्दै जाँदा सैन्य खर्च बढ्यो । खर्चको जोहो गर्न तराईको जमिन फाँडेर खेतीपाती गराइयो । तराईमा धेरै भारदारका जागिर र बिर्ताहरू थिए । भारदारी एकताका दृष्टिले तराईले निर्णायक अर्थ राख्न पुग्यो । नेपाल–कम्पनी युद्धमा तराई गुमाउनुपर्दा नेपाल दरबारमा उठेको असन्तोष यसकै परिणाम थियो । देश टुक्रिनसक्ने आशङ्का थियो ।
स्टिलरले भीमसेन थापाको रगत र हैसियतलाई पाएसम्म छोएका छन् । जस्तोः उनी भीमसेनलाई फगत रणबहादुर शाहका ‘अङ्गरक्षक’ देख्छन् । त्यसपछि उनलाई विभिन्न अवसरको ‘उपयोग गर्दै’ मुख्तियार बनेको देख्छन् । कम्पनीसँगको युद्धलाई ‘अनिवार्य’ ठान्ने व्यक्ति देख्छन् । कुनै युद्ध नलडेका ‘जनरल’ देख्छन् । भारदारहरूबीच चलखेल गर्दै सत्तामा स्थापित हुने ‘चलाख प्रशासक’ देख्छन् । अन्ततः स्टिलर भीमसेन थापालाई ‘अवसरवादी’ भन्न पुग्छन् । यहाँनिर स्टिलरको नियत स्पष्ट हुन्छ । उनी आफैँले स्वीकारेका छन्, ऐतिहासिक तथ्यहरूलाई जता पनि घुमाउन सकिन्छ । तसर्थ, यहाँ ‘नियत’ शब्द अतिरञ्जनापूर्ण नहोला ।
दरबारमा अङ्ग्रेजहरूसँग युद्ध चालू राख्नुपर्ने खेमा पनि उत्तिकै बलियो थियो । तर, भीमसेन थापा कम्पनी सरकारका गभर्नर जनरलसँग कुटनीतिक सम्पर्कमा गए । उनले अङ्ग्रेजहरूका सीमाङ्कनसम्बन्धी नौलो अवधारणा बुझे । सोहीअनुरूप नेपालको अडान सुझबुझपूर्वक राख्दा अङ्ग्रेजबाट तराईको धेरैभन्दा धेरै भूमि फिर्ता लिन उनी सफल भए । यससँगै भीमसेन थापा नेपालको स्वाधीनता जोगाउन सफल भए । सुगौलीपछि नेपालका समस्याहरू झाँगिदै गयो । दरबार र भारदारीबीच आफ्नो बलियो पकड नहुनाले उनले सेनाको आड लिएर आफ्नो स्थान सुरक्षित गरेका थिए । यसका लागि उनले युद्धपछि अनावश्यक सेनाको सङ्ख्या कायम राखे । युद्धपछि नेपालमा नयाँ भूमि नथपिएकोले सीमित जागिर र बिर्तामा भारदारहरूले सन्तोष मान्नुपर्ने भयो । आफ्ना जागिर नगुमाउन नै सेनाले भीमसेन थापालाई साथ दियो । भारदार, सेना र भीमसेन थापाको आपसी स्वार्थका कारण देशमा एउटा जमेको र गतिहीन प्रशासनको स्थापना भयो । यस प्रशासनको मुख्य उद्देश्य बढीभन्दा बढी राजस्व सङ्कलन गर्नु थियो । जनतालाई दिइने कानुनी उपचारसमेत आम्दानीको स्रोत बन्न पुग्यो । हरेक विषयलाई राजस्व वा भारदारी फाइदा बेफाइदाका आँखाले हेर्न थालियो । यसले गर्दा जागिर वा बिर्तामा ग्रामीण जनता वा किसानहरू पिल्सिँदै गए । राजस्व बढाउन नै किसानमैत्री अधियाप्रथाको ठाउँमा नगद तिरो बुझाउनुपर्ने कुतप्रथा लागू गरियो । यसबाट किसानहरू ऋणको कुण्डमा डुब्दै गए । कतिपय किसान बाँधा वा दासको अवस्थामा झरे । काठमाडौँमा घर भएका जागिरदार वा बिर्तावालहरूको रोबरवाफमा भने कुनै कमी आएन । देशको भूभाग विस्तार नहुँदा जागिरदारहरूबीच निराशा, असन्तोष, असुरक्षा र अविश्वासको भुङ्ग्रो भित्रभित्र सल्किरहेको थियो । त्यसमा राजा राजेन्द्र शाहकी जेठी रानीले खेल्दा भीमसेन थापाको अवसान भयो । यो आगो कोतपर्वमा गएर विस्फोट भयो । अर्कोतिर किसानहरूको मर्का बुझ्ने स्थानीय प्रशासन, न्याय र आर्थिक अवसरहरू जनताका माग र आर्तनाद थिए । जनताका ती क्रन्दन सुनेको भए नेपाली जनता एक राष्ट्रमा अँगालिन पुग्ने थिए । आज नेपाल राज्य बने पनि एउटा राष्ट्र बन्न नसकेको स्टिलरले औँल्याएका छन् । विकेन्द्रीकरण र सबै जातिका नेपालीहरूको (सहिष्णुतामा नभई) आपसी सम्मानमा आधारित भाइचारा नै नेपाली राष्ट्र निर्माणका आधार हुने लेखकको ठम्याइ छ । (सहिष्णुताको स्वभाव प्रभुत्वपूर्ण हुने लेखकले मिहीन विश्लेषण गरेका छन् ।) यस यात्रामा इतिहासका कमजोरीबाट सिकेर एक राष्ट्र निर्माणको जिम्मेवारी वहन गर्नुपर्ने वर्तमान नेपाली शिक्षितजनको दायित्व भएको लेखकको ठहर छ अर्थात् एउटा मानवतावादी भाकामा लगेर स्टिलरले पुस्तक टुङ्ग्याएका छन् ।
पुस्तकको परिधि फराकिलो छ । यस्तो फराकिलो दायरामा स्टिलर घुमिफिरी तत्कालीन मुख्तियार भीमसेन थापासँग ठोक्किन पुग्छन् । भीमसेन थापाबारे छुचो भाषा प्रयोग गर्न उनले कतै पनि कन्जुस्याइँ गरेका छैनन् । तर, यसलाई छोप्न उनले हुनसम्म कोसिस गरेका छन् । पुस्तकको यो पक्ष खट्रकिनेमात्र होइन शङ्कास्पद पनि छ । सुरुमै हामीले नेपाली इतिहासकारका कमजोरीबारे छोटो चर्चा गरेका थियौँ । नेपाली इतिहासकारहरूका जस्तै विदेशीका पनि आफ्ना पूर्वाग्रह हुनु स्वाभाविक छ । नेपाली पूर्वाग्रहका कमजोरीबारे उल्लेख गर्दा स्टिलरले आफ्नो दृष्टिकोण प्रस्ट राखेका छन् । इतिहासमा वर्तमानका समस्याहरूको जरा खोतल्ने प्रयास गरिनुपर्छ भन्ने सदासयलाई स्टिलरले इतिहास लेखनको मूलमन्त्र मानेका छन् । तथापि, केही विश्लेषणमा स्टिलरलाई आफ्नो गोरो छालाले धोका दिएको छ । पृथ्वीनारायण शाहको रगतप्रतिको सुषुप्त लगाव पुस्तकको अर्को सोचनीय पक्ष हो ।
महान् अगुवाहरूले देशलाई माथि उकासेका थिए भने किन हामीकहाँ गरिबी र अशिक्षा कायम छन् ? नेपाली सपुतहरूबारे इतिहासकारहरूका धारणामा स्टिलरले प्रश्न गरेका छन् । निश्चय नै इतिहासको निर्मम आलोचना नगरी कुनै पनि पुस्ता अगाडि बढ्न सक्दैन । तर, इतिहासको कदर गर्न नसक्नु अर्को गल्ती हुन जान्छ । इतिहासलाई इतिहासकै आँखाले हेर्न उत्तिकै आवश्यक छ । भीमसेन थापा सामन्ती नेपालका नेता थिए । यसर्थ, सामन्ती अर्थतन्त्र, राजनीति र संस्कारभन्दा माथि उठ्न नसक्नु उनको युगीन सीमा थियो । त्यस्ता सीमाबाट संसारका कुनै पनि राजनेता मुक्त छैनन् । अब्राहम लिङ्कनले दासमोचनको घोषणा गरेको सय वर्षपछि अमेरिकामा रङ्गभेदविरुद्ध सङ्घर्ष उर्लिएकै थियो । आज पनि अमेरिका उत्तिकै जातिवादी वा फासीवादी छ । त्यहाँ स्टिलरले जोड दिएको ‘राष्ट्रिय एकता’ मौलाइसकेको छैन । (यसै पनि आजको युग राष्ट्रवादको नभई अन्तर्राष्ट्रवादको हो ।) यसमा लिङ्कनलाई दोष लगाउनुभन्दा पनि तत्कालीन उत्तर र दक्षिण अमेरिकी वर्ग संरचनामा जानुपर्छ । फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको नारा अक्टोबर क्रान्तिमा आएर वर्गीय ‘स्वतन्त्रता, समानता र भ्रातृत्व’ का रूपमा साकार भयो अर्थात् सुन्दर नै लागे पनि यस्ता नाराको वर्गीय स्वरूप हुनु कठोर वास्तविकता वा वैज्ञानिकता हो । तसर्थ, भीमसेन थापाजस्ता विभूतिहरूबाटै सबै समस्या हल हुनुपथ्र्यो भन्नु ऐतिहासिक भौतिकवादी दृष्टिले अत्युक्ति हुन जान्छ ।पुस्तकको आरम्भदेखि नै स्टिलरले भीमसेन थापाको रगत र हैसियतलाई पाएसम्म छोएका छन् । जस्तोः उनी भीमसेनलाई फगत रणबहादुर शाहका ‘अङ्गरक्षक’ देख्छन् । त्यसपछि उनलाई विभिन्न अवसरको ‘उपयोग गर्दै’ मुख्तियार बनेको देख्छन् । कम्पनीसँगको युद्धलाई ‘अनिवार्य’ ठान्ने व्यक्ति देख्छन् । कुनै युद्ध नलडेका ‘जनरल’ देख्छन् । भारदारहरूबीच चलखेल गर्दै सत्तामा स्थापित हुने ‘चलाख प्रशासक’ देख्छन् । अन्ततः स्टिलर भीमसेन थापालाई ‘अवसरवादी’ भन्न पुग्छन् । यहाँनिर स्टिलरको नियत स्पष्ट हुन्छ । उनी आफैँले स्वीकारेका छन्, ऐतिहासिक तथ्यहरूलाई जता पनि घुमाउन सकिन्छ । तसर्थ, यहाँ ‘नियत’ शब्द अतिरञ्जनापूर्ण नहोला ।
भीमसेन थापासम्बन्धी स्टिलरको दृष्टिकोणलाई जाँचौँ । भीमसेन थापा जन्मले कुलीन घरानाका थिएनन् । स्टिलरले भनेझैँ दरबारमा उनको उति पहुँच थिएन । तर, राज्य विस्तारमा एकोहोरिएका नेपालीहरूमध्ये उनले नै भारतीय उपमहाद्वीपमा अङ्ग्रेजहरूको कब्जाकारी नीतिबारे बुझेका थिए । नेपालमाथि अङ्ग्रेजहरूले आँखा गाड्नेछन् भनी सैनिक तयारी गर्नु उनको दुरदृष्टि थियो । इतिहासले उनको अनुमान पुष्टि गरेको छ । भारतका झन्डै ६ सय सानाठूला राज्यहरू अङ्ग्रेजका गुलाम हुँदा नेपालले युद्धको चुनौती सामना गरेरै आफ्नो स्वतन्त्रता जोगायो । स्टिलरले बाह्य परिस्थितिलाई बेवास्ता गरेका छन् वा देशी राज्य निल्ने अङ्ग्रेज नीतिकै कारण नेपाली तयारी सुरु भएको उल्लेख गरेका छैनन् । बरु ‘भीमसेन थापाले अवश्यम्भावी देखेको युद्ध’ भनेका छन् । यसो गर्दा लर्ड हेस्टिङ्स सजिलै चोखिन पुगेका छन् । त्यस्तै पुस्तकमा हडसनका तानाबाना र तिनलाई सघाउने नेपाली घरानाहरूसमेत पर्दा पछाडि लुक्न पुगेका छन् । कठघरामा भीमसेनलाई उभ्याइएको छ । लर्ड वेलेज्लीको ‘संरक्षण नीति’ वास्तवमा कब्जा नीति हो भनी बुझ्ने भीमसेन थापा र रणजित सिंह दुईजनामात्र उपमहाद्वीपका ‘राजनेता’ थिए भनी स्वयं अङ्ग्रेजहरूले कबुल गरेका छन् । तर, ‘वैज्ञानिक’ बन्दै स्टिलरले भीमसेनलाई फगत ‘प्रशासक’ मा झारेका छन् । संसारको इतिहासमा दरबारी षड्यन्त्र र भारदारी तानाबाना सामन्ती राजनीतिसँग जोडिएकै हुन्छन् । नेपाल यसबाट कसरी अछुतो हुनसक्ला ? भीमसेन थापाले शक्ति राजनीतिमा हिस्सा लिनु यस अर्थमा स्वाभाविक थियो ।
स्टिलर नेपाल र नेपालीप्रति बढी झुकेको देखाउँछन् । तर, उनको झुकाउ ‘दया’ बन्न पुगेको छ । यो गोरो छालाको स्वभाव हो । अङ्ग्रेजहरूले नेपालमाथि आक्रमण गर्ने थिएनन् । यसकारण नेपाल फटाफट जनताको जीवनस्तर उठाउनपट्टि लाग्नुपथ्र्यो भन्ने उनको विचार छ । अङ्ग्रेजहरूले नेपालमाथि आक्रमण गर्नेछैनन् भन्ने कुनै सन्धिवार्ता भएको थिएन । साथै लर्ड कर्जनको ‘हिमाली संरक्षित राज्यहरूको शृङ्खला’ को सिद्धान्तपछि मात्र आएको हो । (यो नीति आजका नेपालीहरूलाई त स्वीकार्य छैन भने त्यसबेलाका सफल लडाकुहरूलाई कसरी स्वीकार्य हुनसक्थ्यो ¤) हिजोसम्म राज्य विस्तारमा रहेको देश युद्धपछि एकाएक युद्धको मानसिकताबाट उम्किन सक्दैनथ्यो । युद्ध अगाडि बढाउनुपर्ने धारणा भएका शक्तिशाली भारदारहरूको कमी थिएन । भीमसेनका आफ्नै भतिजा उजिरसिंहले उनलाई सन्धिवार्ता गरेकोमा होच्याएका थिए । त्यसैले भीमसेन थापाले सैनिक महत्वाकाङ्क्षालाई समन गर्न आँट्न नसक्नु स्वाभाविक थियो । त्यसमाथि केही वर्षअघिसम्म निरन्तर सफल भइरहेको र आत्मगौरवले जुर्मुराएको भारदार समूह अङ्ग्रेजहरूको कृपामा बसेर देश निर्माणमा कसरी जुट्न सक्थ्यो ? त्यो पनि त्यस्तो सामन्ती कालमा जहाँ जनकल्याण राज्यको प्राथमिकता वा कर्तव्यभित्र पर्ने गर्दैनथ्यो । साथै, सेनाको बढ्दो सङ्ख्याकै कारण भीमसेनलाई अवसरवादी भन्न मिल्दैन । स्टिलरले कोत पर्वको विस्फोटका लागि धेरै अघि मरेका भीमसेनको शासनकाललाई जिम्मेवार ठह¥याएका छन् । यसरी सोच्दा सैनिक वृद्धिका लागि उनीअघिका बहादुर शाह हुँदै लहरो पृथ्वीनारायण शाहसम्म पुग्न सक्छ । हिमालपारि आक्रमण गर्न बहादुर शाहले अङ्ग्रेजहरूसँग सन्धि गर्न पुगेका थिए र अङ्ग्रेज प्रतिनिधि नक्सलाई काठमाडाँैमा राख्न मञ्जुर गरेका थिए । त्यस्तै पृथ्वीनारायणले यहाँसम्म पुगेपछि राज्य विस्तार रोक्नुपर्छ भनी कुनै सीमा तोकेका थिएनन् । त्यसबाट सेनाको सङ्ख्या निरन्तर बढ्ने स्वाभाविक थियो र समस्या पनि थपिने भए । यस हिसाबले भीमसेन थापा स्वयं तत्कालीन सामन्ती समाजका एक व्यक्ति हुनाले बेलायती साम्राज्यवादप्रति सचेत थिए । सामन्त व्यवस्थाका उनी एक देशभक्त पात्र देखिन्छन् । उनको देशभक्तिमा अङ्ग्रेजहरूसमेत कायल भएको पाइन्छ । जमेको पानी मैलो भएजस्तै उनको प्रशासनका अनेक कमीकमजोरी र विकृति हुनु स्वाभाविक हो । बेलायत घुमेर आएका जङ्गबहादुर राणाले त नेपालमा मुलुकी ऐनजस्तो अघोर दक्षिणपन्थी कानुन लागू गरेका थिए भने भीमसेन थापाबाट ठूलो अपेक्षा गर्नु समसामयिक परिवेशभन्दा धेरै टाढा गएको ठहरिन्छ । बरु स्टिलर स्वयंले भीमसेनको प्रशासनले किसानको दुर्दशा नचाहेको आरोप लगाएका छन् । भीमसेन थापा स्वयं देशको आर्थिक र सामाजिक परिस्थितिको स्रोतबारे जानकार थिए कि थिएनन् भनी यकिनसाथ भन्न नसकिने स्टिलरले बताएका छन् ।
जङ्गबहादुरपछिको इतिहासले नेपाललाई लर्ड कर्जनकै नीतितर्फ लगेको स्पष्ट छ । अङ्ग्रेजहरू भारतबाट फर्के । तर, भारतीय शासकहरूको मनमस्तिष्कबाट कर्जन फर्केका थिएनन् र फर्केका छैनन् । यस कोणबाट हेर्दा, अङ्ग्रेज प्रतिनिधि हडसनमाथि बन्देज लगाउने भीमसेनको प्रयासलाई साहस नभनेर के भन्ने ? अङ्ग्रेज साम्राज्यवादीहरूलाई एसियाबाट भगाउने उनको सोच कसरी प्रशासकवृत्ति मात्र हुनसक्छ ? त्यस्तै आफ्नी श्रीमतीको बेइज्जतीको खबर मात्रले आहत भई आत्महत्या गर्ने व्यक्तिको चरित्र र नैतिक बलमाथि कसरी शङ्का गर्न सकिन्छ ? यस हिसाबबाट पनि स्टिलरको पुस्तकमा गरिएको भीमसेन थापाको चित्रण सही मूल्याङ्कन होइन । कताकता साना देशमा ठूला सोच वा काम हुनसक्दैनन् भन्ने गोरो मानसिकताबाट नै स्टिलरको दृष्टिकोण प्रस्ट भएको देखिन्छ । उनले नेपालको अशिक्षा र गरिबीलाई पनि सोही कोणबाट हेरेका छन् । नेपाल सधैँ गरिब र अशिक्षित रहेको भए यहाँ विश्व सम्पदाहरू कसरी उभिएका हुन्थे ? ग्रामीण नेपालको उत्थानको लागि भीमसेनले हिम्मत गरेका भए स्टिलरले भनेजस्तै जनहितमा धेरै काम गर्नसक्थे । तर, त्यस्तो हिम्मत उनीपछिका राणा र शाहहरूले पनि गर्नसकेनन् । वर्तमान पुँजीवादी व्यवस्थाले समेत सो समस्या हल गर्नसक्दैन भन्ने स्पष्ट भइसकेको छ । नेपाली युवालाई अङ्ग्रेज सेनामा लगाउने हडसनको ‘वैज्ञानिक बुद्धि’ बाट निस्केको उपायले कालान्तरमा नेपाली गरिब गुरुवालाई बहुराष्ट्रिय कम्पनी वा विदेशी पुँजीका दास तुल्याइदिएको छ । आज नेपालको गरिबी, अशिक्षा र सांस्कृतिक बेमेलहरू विदेशीहरू चलखेल गर्नमा ‘हडसनको हात’ थियो भन्ने वर्तमान नेपालको नयाँ पुस्ताले बुझ्दै छ ।
स्टिलरको मिहिनेत खेर भने गएको छैन । साँच्चै भन्ने हो भने नेपाली जनताका समस्याहरू चर्काउने भन्दा पनि हल गर्ने कोणबाट यसप्रकारका पुस्तक कमै लेखिएका छन् । पुस्तकमा स्टिलरले अघि सारेका कैयन् सुझावहरू आज पनि मननीय छन् । यस पुस्तकबाट पाठकले नेपाली जनताका दुःखको उद्भवबारे प्रशस्त जानकारी पाउन सक्छन् । तत्कालीन नेपालका शासक र शासितलाई उत्तिकै महत्व दिएर लेखिएको हुँदा ‘मौन क्रन्दन’ ओजिलो बन्न पुगेको छ । आर्थिक, राजनीतिक र सांस्कृतिक कोणबाट अध्ययन गरिएको हुँदा पुस्तक कोरा इतिहास बन्ने दोषबाट मुक्त छ । पुस्तकले युद्धपछिका २३ वर्षहरूको गहकिलो तस्वीर उतारेको छ र वर्तमान नेपालका समस्याहरूसँग त्यसलाई केही हदसम्म जोडेको छ । सन् १९७९ मा प्रकाशित यस पुस्तकमा चर्चा गरिएका धेरै समस्या यथावत छन् । तसर्थ यो पुस्तक अद्यापि पठनयोग्य छ । पुस्तकको पछिल्लो संस्करण बजारमा उपलब्ध छ ।
Leave a Reply