भर्खरै :

सम्झना नेता हो चि मिन्हको ः चर्चा “जेल डायरी” को

भियतनामी जनताका प्रिय नेता हो चि मिन्हलाई उपनिवेशवाद तथा साम्राज्यवादविरोधी योद्धाका रूपमा विश्वका न्यायप्रेमी तथा युद्धविरोधी जनता चिन्दछन् । भियतनामी जनताको मुक्तिका निम्ति उहाँको त्याग, तपस्या र बलिदान आज पनि त्यत्तिकै गौरवका साथ स्मरण गरिन्छ । उहाँको सरलता, सादा जीवन, देशप्रेम तथा क्रान्तिकारी विचारबारे छलफल आज पनि चलिरहेकै छ । उहाँले दिनुभएको एक सच्चा क्रान्तिकारी र सच्चा कम्युनिस्टको परिचय आज पनि बेजोड दृष्टान्त मानिन्छ । विश्व साम्राज्यवादविरोधी आन्दोलन का. हो चि मिन्हको चर्चाविना अपूरो अधूरो रहने निर्विवाद छ । का. होको आभाकै कारण आज विश्वसमुदायमा भियतनामले बेग्लै तेज पाउँदै छ । भियतनामी जनतालाई बेग्लै प्रतिष्ठा मिलिरहेको छ । भियतनाम र भियतनामी जनताले पाएको मुक्ति, स्वतन्त्रता, स्वाभिमान, गौरवमा का. होको योगदान, मेहिनतको सुगन्ध अद्यापि अनुभूत गर्न सकिन्छ ।

गत सेप्टेम्बर २ का दिन भियतनामी जनताले ७५ औँ स्वतन्त्रता तथा मुक्ति दिवस मनाए । समाजवादी गणतन्त्र भियतनामको स्थापना सन् १९४५ को सेप्टेम्बर २ मा भएको थियो । का. होको निधन २ सेप्टेम्बर १९६९ मा भएको थियो । भियतनामको इतिहासमा २ सेप्टेम्बर स्मरणीय दिन हो । भियतनामी क्रान्ति, भियतनामी जनताको सङ्घर्ष र का. हो चि मिन्हको सम्झनामा विविध गतिविधि भएका खबरहरू आइरहेका छन् । विभिन्न देशका नेताले भियतनामी जनतालाई बधाई दिए । नेता होको योगदान, व्यक्तित्वको स्मरण गरे । का. होको ५० औँ स्मृतिमा भाववूर्ण श्रद्धाञ्जली अर्पण गरे । क्युवाली नेता का. फिडेल क्यास्ट्रोले का. होप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँको निधनपश्चात् पनि नयाँ बिउ र ऊर्जा बनेर अन्तिम विजयसम्म मार्गनिर्देश गरिरहने विश्वास व्यक्त गर्नुभएको आज पनि उत्तिकै स्मरणीय छ । का. होको भावना सदा जीवित रहने, क्रान्तिकारी परम्पराले निरन्तरता पाइरहने विश्वास धेरैले व्यक्त गरे ।
भियतनामको राष्ट्रिय महत्वको दिनको सेरोफेरोमा क्रान्तिकारी नेता का. हो चि मिन्हको ‘जेल डायरी’ (Prison Diary) बारे चर्चा गर्नु सान्दर्भिक होला !

का. हो भियतनामको सीमा पार गरी महत्वपूर्ण चिनियाँ मित्रहरूसँग गुप्त ढङ्गमा भेट्न जाने क्रममा सन् १९४२ को अगस्ट २९ को दिन चीनको क्वाङ्सीमा गिरफ्तारीमा पर्नुभयो । सन् १९४३ को सेप्टेम्बर १० का दिन झन्डै चौध महिनापछि रिहा हुनुभयो । १४ महिनाको जेल बसाइको क्रममा नै जन्म भएको थियो विश्वविख्यात कृति ‘जेल डायरी’ । बन्दीगृहमा प्रहरीको आँखा छलेको अभियोग नलागोस् भनेर उहाँले चिनियाँ भाषामा लेख्न थाल्नुभएको थियो । भियतनामी भाषामा अनुवाद गरी सन् १९६० मा प्रकाशित भयो । त्यसपछि अङ्ग्रेजी, फ्रान्सेली, रसियाली, जर्मनियाली, हङ्गेरियाली, हिन्दी र अरू थुप्रै भाषामा प्रकाशित भयो । भियतनामी विदेशी भाषा प्रकाशन गृहले अङ्ग्रेजी भाषामा यस कृतिको चौधौँ संस्करण प्रकाशन गरिसकेको छ ।
एकजना दुब्लो मान्छे भियतनामको सीमा पार गरी चीनतिर लाग्दै थिए । उनी अत्यन्त सामान्य लुगामा थिए । झट्ट हेर्दा साधारण किसान देखिन्थे !उनीतिर कसैको किन ध्यान जान्थ्यो र ? तर, जब प्रहरीले त्यो अत्यन्त साधारण देखिने मान्छे भियतनामी देशभक्त जनताका प्रतिनिधिको नाताले चुङ्किङमा एउटा महत्वपूर्ण भेटघाटका निम्ति जान लागेको थाहा पाए तब उनी साधारण व्यक्ति होइनन् भन्ने पक्का भयो र पक्राउ गरे । यसरी त्यो अत्यन्त अपत्यारिलो व्यक्ति अर्थात् का. हो पक्राउ पर्नुभएको थियो । सुरुमा चिङ्सी जेलमा कैद हुनुभयो भने त्यसपछि तुरुन्तै उहाँलाई नानिङ्मा लगियो । त्यहाँबाट पनि क्विलिन र अन्तिममा लिउचाओको जेलमा उहाँलाई सरुवा गरियो ।
एउटा जेलबाट अर्को जेलमा लगिइँदाको अनुभूति उहाँले एउटा कवितामा मार्मिक ढङ्गमा व्यक्त गर्नुभयो । प्रहरीहरू एउटा सुँगुरलाई पालैपालो बोक्थे भने कैदी अर्थात् मान्छेलाई भने हात बाँधेर हिँडाउँदै थिए । यो तीखो व्यङ्ग्य, विरोधाभासलाई कवितामा प्रस्तुत गर्नुभयो । का. होका यी चार–चार लाइनका छोटा कविताले जेलभित्रको दैनिक भोगाइ र अनुभूतिलाई प्रस्तुत गर्दछ । सङ्क्षिप्तमा उहाँले भावपूर्ण अभिव्यक्ति दिनुभएको छ । सरल भाषामा स्पष्ट सन्देश दिन, व्यङ्ग्य प्रहार गर्न र हँसाउन समेत उहाँले मेहिनत गर्नुभएको प्रस्ट छ ।
अर्को एउटा कवितामा उहाँले कैदी जीवनको भोगाइ प्रस्तुत गर्नुहुँदै प्रश्न तेस्र्याउनुभएको छ । हात खुट्टा बाँधिएको छ भन्दैमा चरीले गाएका मीठा गीत र फूलहरूको सुगन्धको आनन्द लिन के कसैले छेक्न – रोक्न सक्छ र ? यसरी कम शब्दमा गम्भीर विषयमा गहिरो भाव तथा सन्देश दिनुहुन्छ । यही नै का. होका कविताको विशेषता हो ।
जेलको कठोर जीवन, त्यो पनि पराई भूमिमा, जन्मभूमिबाट निकै टाढा र आफ्ना कामरेडहरूबाट पनि टाढा ! त्यो एकान्त जेल जीवनमा का. होसँग सहारा या साथीको नाउँमा आफ्नो थोत्रो भइसकेको एउटा कापीबाहेक अरू केही थिएन । त्यही कापीमा दैनिक अनुभवलाई कविताको रूप दिई उतार्न थाल्नुभयो ।

वीर भियतनामी जनताले फ्रान्सेली उपनिवेशवाद, जापानी उपनिवेशवाद र संरा अमेरिकी साम्राज्यवादविरुद्ध लडेका लडाइँको इतिहास बुझ्न ‘जेल डायरी’ ले मद्दत पु¥याउँछ । का. हो को सङ्घर्षशील व्यक्तित्व, सरल जीवनशैली, उद्देश्यप्रतिको दृढता, समर्पणभाव, धैर्य र सृजनशीलताबारे बुझ्न नपढी नहुने एउटा कृति हो – जेल डायरी । यस पुस्तकको भियतनामी मूल्य ९० हजार पर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला! कविताहरू अङ्गे्रजी, चिनियाँ र भियतनामी तीन वटै भाषामा दिइनाले धेरैभन्दा धेरै विदेशी पाठकहरूले समेत अध्ययनमा सहजता अनुभव गर्नेछन् ।

जम्माजम्मी चार लाइनका सय वटा यी कविताहरू एक बन्दी, क्रान्तिकारी योद्धा, कम्युनिस्ट नेताको सङ्क्षिप्त जीवन अनुभूति हुन् भन्दा फरक नपर्ला ! संस्मरण, इतिहासका पृष्ठहरूमा बरु केही झूट मिसिने सम्भावना अस्वीकार गर्न सकिन्न तर यी कविताका पङ्ति वास्तविक अनुभवको सार भएको एक भियतनामी लेखक दाबी गर्छन् । लेखक फान न्हूयन भन्छन् – “यो सानो डायरीले कुनैपनि विस्तृत आत्मसंस्मरणले भन्दा पनि बढ्ता प्रभावकारी ढङ्गमा रचनाकारलाई चिनाउन मद्दत पु¥याउँछ ।” का. होको जीवन खुला पुस्तकसरि भइसकेको बताउँदै लेखक फान भन्छन् – “हो चि मिन्हजस्ता नेताको जीवनमा सार्वजनिक र व्यक्तिगत जीवनको बीचमा कुनै किसिमको गोप्य ढोका छैन ।” उनी विश्वस्त हुँदै अगाडि भन्छन् – “कुनैपनि आत्मसंस्मरणका मोटा पुस्तकले भन्दा यो सानो डायरीले अझ बढी राम्रो ढङ्गमा चिनाउनेछ ।”
का. होले कठोर यातना सहँदै कविता लेख्नुभयो । अनिद्रा, भोक–प्यास, कठ्याङ्ग्रिने चिसो भुलेर कविता लेख्नुभयो । ठिँगुरा हालिँदा समेत कविता लेख्नुभयो । आत्मविश्वास, सच्चाइको विजयप्रति आशावादी हुनुभयो । अनुहारमा कहिल्यै मुस्कान खाली भएन । शत्रुलाई ‘यो बेग्लै धातुको मानिस’ भन्न बाध्य पार्नुभयो । ‘जेल डायरी’ ले त्यही वास्तविकता प्रतिविम्बित गर्दछ । साथै, पचासको दशकको चिनियाँ जेलको दृश्य पेश गर्दछ । अत्यन्त प्रतिकूल परिस्थितिमा लेखिएका कविता हुनाले पनि विश्वका धेरैले अभिरुचिपूर्वक पढे, ‘जेल डायरी’ । यी कवितालाई क्वाट्रेन्स (Quatrains) र ताङ्ग कविता (Tang Poems) भनिन्छ ।
‘जेल डायरी’ को प्रथम कविता ः
“यो शरीर जेलमा कैद छ
तर, यो भावना कैद गर्न असम्भव
एउटा महान् उद्देश्य हासिल गर्न
यो भावना सयर गरोस् माथि, अझ माथि ।”
दुनियाँका कुनै पनि तानाशाहले भौतिक शरीर कैद गरे तापनि विचारलाई बन्धक बनाउन नसक्ने दाबी गर्नुहुन्छ, का. हो ! अर्को कवितामा नेता हो भन्नुहुन्छ –
“कविता वाचन मेरो सौखको विषय होइन
तर झ्यालखानामा अरू के नै गर्न सक्छु र ?
यो लामो समय कविता लेखेरै बिताउनेछु
कविता गाएरै स्वतन्त्रताको पर्खाइमा बस्नेछु ।”
प्रकृतिमा नियमित देखिने दृश्य, उतार–चढाव, वरपरका घटनासँग जोडेर स्वतन्त्रताप्रतिको आफ्नो विश्वास र न्यायको विजयको सुनिश्चितताबारे आफ्नो दृढ अडान राख्नुभएको छ । उहाँका कवितामा जीवनलाई हेर्ने सकारात्मक कोण पाइन्छ । हास्य रस र व्यङ्ग्यको यथोचित सम्मिश्रणले उहाँका कविता जीवन्त बनाएको अनुभूत हुन्छ । प्रतीक र विम्बहरूको प्रयोग हरेक कवितामा पाइन्छ । का. हो भन्नुहुन्छ –
“आकाशमा काला–सेता बादल स्वतन्त्र मडारिरहेछन्
यहाँ पृथ्वीमा स्वतन्त्र मानिस झ्यालखानामा कैद छ !”
अर्को एउटा कवितामा उहाँ लेख्नुहुन्छ –
“पहाडमा मेरो बाघसँग जम्काभेट भयो तर केही हानी भएन
वस्तीमा मानिससँग भेट भयो, म जेलमा जाकिएँ !”
यसरी उहाँ समाजको विडम्बनापूर्ण स्थिति उदाङ्ग्याउनुहुन्छ । सिपालु किसिमले व्यङ्ग्य वाण हान्नुहुन्छ । भियतनामी देशभक्त जनताका एक प्रतिनिधिलाई विदेशी भूमिमा जेलमा कोचेर कस्तो आतिथ्य दिएको ? कस्तो स्वागत सत्कारको परम्परा ! उहाँ बडो रोचक घोचक तरिकाले आफ्नो विरोधको आवाज राख्नुहुन्छ । आपत्ति जनाउनु हुन्छ ।
‘जेलको खाना’ शीर्षक कवितामा उहाँ लेख्नुहुन्छ ः
“हरेक दिनको खानामा एक कचौरा रातो–खैरो खाना†
न तरकारी, न नुन, न त थोरै झोल नै !”
यस कवितामा जेलभित्रको दयनीय स्थिति उदाङ्गो पारिएको छ । उहाँ ठाउँ – ठाउँमा भोक, प्यास र अमानवीय व्यवहारबारे वर्णन गर्नुहुन्छ ।
‘चन्द्रमाको उज्यालो’ मा का. हो भन्नुहुन्छ –
“झ्यालतिर गएर चन्द्रमाको उज्यालो हेर्छु
बारहरूलाई नाघेर चन्द्रमा कवितिर टोलाइरहेछ ।”
उहाँको उच्च कल्पनाशीलता र जीवनप्रतिको सकारात्मक दृष्टिकोण यस कवितामा पनि प्रस्ट अनुभव गर्न सकिन्छ ।
एउटा कवितामा का. हो जेलमा दैनिक आधी बाल्टिन पानीमात्र उपलब्ध गराइने बताउनु हुन्छ । चिया पकाए मुख धुनलाई पानी नहुने र मुख धोए चिया पकाउन नपाइने भनी आफ्नो कारुणिक स्थितिबारे बताउनुहुन्छ ‘पानी राशन’ शीर्षकको कवितामा ।
एउटा कवितामा जेल सरुवा गर्न ५३ किमी हिँडाएर लखतरान भइसकेपछि सुत्ने ठाउँ नभएर दुर्गन्धित शौचालयको छेवैमा सुत्न बाध्य पारेको बताउनुहुन्छ । यसले उहाँको भोगाइ क्षमता अर्थात् सहनशीलता देखाउँछ । ‘आफैलाई सुझाव’ कवितामा उहाँ भन्नुहुन्छ –
“चिसो र हिउँदको प्रतिकूलताविना
वसन्तको न्यानोपन र सौन्दर्य असम्भव
दूर्भाग्यले मलाई सतायो त के भो
मेरो प्रतिबद्धता झन् बलियो बनाइदियो ।”
एउटा कवितामा उहाँले हिउँदको चिसोमा समेत सिरक र डसना उपलब्ध नगराइएकाले अनिँदै रात बिताउन बाध्य भएको कष्टपूर्ण रातबारे वर्णन गर्नुभएको छ । यद्यपि, उहाँले कहीँकतै निराशाको छनकसमेत देखाउनुभएन । बरु उच्च मनोबलका साथ सामना गर्ने र सुन्दर भविष्यको अवश्यम्भावितामा अडिग भएर बस्ने धैर्य र साहस ठाउँ – ठाउँमा अभिव्यक्त भएको पाइन्छ । त्यसकारण, हरेक शब्द – शब्दमा क्रान्तिकारी जोश, उत्साह, ऊर्जा दौडिरहेको अनुभूत हुन्छ ।
का. हो चि मिन्ह स्वतन्त्रताको हननलाई खराबीमध्येमा महाखराबी मान्नुहुन्छ । एउटा सामान्य भालेले समेत नयाँ बिहानीका निम्ति बास्ने व्यावहारिक उदाहरण दिनुहुँदै सचेत मानवले त्यसबाट शिक्षा लिन जरुरी भएको विचार राख्नुहुन्छ ।
‘कैदी जुवाडेको मृत्यु’ कवितामा आफूसँगै सुत्ने जुवाडे कैदी भोक र कठ्याङ्ग्रिने चिसोका कारण हाड–मासु भएर मरेको क्षणको चित्रण गर्नुभएको छ । यो कविताले का. होको कष्टपूर्ण जेल जीवनबारे अनुमान लगाउन सहज बनाइदिन्छ ।
‘एक साथीलाई सम्झँदा’ कवितामा उहाँ लेख्नुहुन्छ –
“त्यो दिन तिमी मसँगै नदी किनारमा पुग्यौ
“कहिले फर्कन्छौ ?” – “धान पाकेपछि ।”
अहिले अर्को बाली लाउन खेत खन्न थालिएको छ
म भने अझै् पराई भूमिमा कैदी जीवन भोग्दै छु ।”
मानिसलाई कठिनाइ, दुःख, कष्टले नै परिपक्व, परिष्कृत र पराक्रमी बनाउने अनुभव सुनाउनुहुन्छ, का. हो । ‘बिहानीको सूर्य’ कवितामा कविको आशावादी दृष्टिकोणसँग साक्षात्कार गर्ने अवसर मिल्छ । उहाँ भन्नुहुन्छ –
“बिहानीको किरण झ्यालखानामा छिर्छ
धुवाँ हराउँछ, कुहिरो विलुप्त हुन्छ
जीवनको सासबाट आकाश ढाकिन्छ
र, कैदीहरूको अनुहारमा मुस्कान छाउँछ ।”
‘भियतनाममा उथलपुथल’ कवितामा आफूभित्रको विद्रोही मानिसलाई उभ्याउनुभएको छ, नेता होले । का. हो प्रस्ट शब्दमा भन्नुहुन्छ –
“दासताभन्दा मृत्यु स्वीकार्य ! देशैभरि यही भावना
विद्रोहको झन्डा सगौरव फहरिरहेछ फेरि
अहो, यस्तो बखत कैदी हुनुपर्ने कति दुःखदायी !
युद्धमा होमिन मुक्त हुन पाएको भए !”
यस कविताबाट उहाँको विद्रोही मन, उद्देश्य परख गर्न सकिन्छ । सपना, विपना या जुनसुकै बेला किन नहोस् उहाँको एउटै मात्र उद्देश्य भियतनामको मुक्ति र भियतनामी जनताको स्वतन्त्रता थियो भन्ने बुझ्न यी केही शब्द नै पर्याप्त छन् ।
‘कैदी भाग्न खोज्छ’ कवितामा आफूमा ‘स्वतन्त्रता’ बाहेक अर्को सोच या उद्देश्य नभएको प्रस्ट पार्नुहुन्छ । ‘चार महिना बितेछ’ कवितामा का. होले चार महिनासम्म जेलमा राम्ररी सुत्न नपाएको, चरम अभाव व्यहोरेको, लुगा फेर्न र नुहाउनसमेत नपाएको उल्लेख गर्नुभएको छ । आफूलाई चार महिनाको कैदी जीवनले दस वर्ष बुढ्यौली थपेको अनुभव व्यक्त गर्नुभयो । तर, शारीरिकरूपमा कष्ट भएपनि विचार र भावनामा कुनै समस्या या कमजोरी पटक्कै नआएको पनि प्रस्ट्याउनुभयो ।
प्रकृतिमा आउने मौसम परिवर्तनले कैदीको दैनिक जीवनमा खासै फेरबदल नल्याउने बरु उसले एउटै कुरा मनमा राख्छ, त्यो हो स्वतन्त्रता । यही भाव ‘शरदको प्रभाव’ मा कविजी व्यक्त गर्नुहुन्छ अर्थात् जेलमुक्त हुने दिनमा लेखिएको कविताको अन्तिमतिर का. हो भन्नुहुन्छ –
“हर्षले मानिसको मन गद्गद् हुन्छ र ब्रह्माण्ड पनि
तीतो पछि मीठो आउँछ, प्रकृतिको नियम यही हो नि !”
‘जेल डायरी’ ले विश्व साहित्यमा बेग्लै महत्व राख्दछ । एक उपनिवेशवाद तथा साम्राज्यवादविरोधी जोधाहाका रचनाहरू कठोर जेल जीवनमा कोरिएका पङ्क्तिहरू, लड्दालड्दै रगतले लेखिएका मुक्ति र स्वतन्त्रताका गीतहरू नै ‘जेल डायरी’ हो ! एक मुक्तियोद्धा, स्वतन्त्रताका सिपाहीले बाहेक मुक्ति र स्वतन्त्रताको गीत लेख्ने, गीत गाउने अरू कसलाई पहिलो अधिकार होला ? ती गीतमा जति सौन्दर्यको रसास्वादन अरू कुन चाहिँमा गर्न सकिएला ? यी कविता कठोर क्षणमा जन्मेका कोमल कुसुम हुन् भन्नु उपयुक्त होला ! झन्डै आठ दशक अगाडि लेखिएका यी पङ्क्ति हिजोआज झन् सान्दर्भिक भएको प्रतीत हुन्छ ।
वीर भियतनामी जनताले फ्रान्सेली उपनिवेशवाद, जापानी उपनिवेशवाद र संरा अमेरिकी साम्राज्यवादविरुद्ध लडेका लडाइँको इतिहास बुझ्न ‘जेल डायरी’ ले मद्दत पु¥याउँछ । का. हो को सङ्घर्षशील व्यक्तित्व, सरल जीवनशैली, उद्देश्यप्रतिको दृढता, समर्पणभाव, धैर्य र सृजनशीलताबारे बुझ्न नपढी नहुने एउटा कृति हो – जेल डायरी । यस पुस्तकको भियतनामी मूल्य ९० हजार पर्छ भन्दा धेरैलाई आश्चर्य लाग्ला! कविताहरू अङ्गे्रजी, चिनियाँ र भियतनामी तीन वटै भाषामा दिइनाले धेरैभन्दा धेरै विदेशी पाठकहरूले समेत अध्ययनमा सहजता अनुभव गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *