भर्खरै :

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १४ प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक विजयराज तिमल्सिना

जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – १४ प्रहरी वृत्त कालिमाटीका प्रहरी निरीक्षक विजयराज तिमल्सिना

भदौ २३ गतेको दिन म सिंहदरबार दक्षिण गेट अगाडि पिकेट ड्युटीकोे रूपमा खटिएको थिएँ । भदौ २४ गते बिहान अन्दाजी ८ः०० बजेको समयमा का.म.न.पा वडा नं. १४ कलङ्की चोकमा केही आन्दोलनकारीहरूले टायर बाली प्रदर्शन गर्न लागेको भनी प्रहरी कन्ट्रोल रुमबाट सञ्चार सेटमा जानकारी प्राप्त हुन आयो । बिहान ९ः०० बजेपछि प्रदर्शनकारीहरू बढ्दै गई ५०००/७००० सङ्ख्या पुगेको थियो । भीड उग्र बन्दै प्रहरीलाई आक्रमण सुरु गरेका हुन् । प्रहरीले २३ गते बानेश्वरमा गोली हानी मारेको हो, यिनीहरूलाई पनि मार्नुपर्छ, जिउँदै आगो लगाउनुपर्छ भन्दै प्रदर्शनकारीहरू घरेलु हतियारसमेत बोकी आएका थिए । प्रहरी कन्ट्रोल रुम भद्रकालीबाट सञ्चार सेटमा धेरै बल प्रयोग नगर्ने, लात् राउन्ड गोली नहान्ने, थप मानवीय क्षति हुन नदिन संयम भई कार्य गर्ने निर्देशन भयो ।
अराजक भीडले प्रहरी प्रभाग कलङ्कीको भवनमा प्रहरी कर्मचारीहरूलाई भित्रै थुनी बाहिरबाट आगजनी गरेका हुन् । प्रहरी कर्मचारीहरू जिउँदै जल्ने अवस्था आएपश्चात् प्रहरीले अश्रुग्यास तथा लाठीचार्ज गरेको हो । कलङ्कीमा रहेको नापी कार्यालय र मालपोत कार्यालयमा समेत आगजनी गरेका हुन् । उक्त समयमा कलङ्कीमा १० हजार बढीको सङ्ख्यामा प्रदर्शनकारीहरू आएका थिए । उनीहरूले घरेलु हातहतियार, पेट्रोल बम बोकेका थिए । कलङ्की चोकमा रहेको सशस्त्र प्रहरी बल चुपचाप बसी गाडीबाट समेत ननिस्किएर आफ्नो बेसतर्फ भागेपछि हामीहरू बिस्तारै कालिमाटी वृत्तको सुरक्षाको लागि फर्केका हौँ । कालिमाटी प्रहरी वृत्त अगाडि पुग्दा कार्यालय गेट अगाडि ४०००/५००० को सङ्ख्यामा प्रदर्शनकारीहरूले प्रहरी वृत्तको चारै तर्फबाट घेरा हाली ढुङ्गामुढा, इँटा, पेट्रोल बम हानिरहेका थिए । बाटोमा र प्रहरी कार्यालयमा भएको आगजनीबाट चारैतर्फ धुवाँको मुस्लो निस्किएको थियो । बालाजु स्वयम्भु तर्फबाट मोटरसाइकल तथा मिनीभ्यानहरूमा हातहतियारसहित प्रदर्शनकारीहरूले सबै प्रहरीलाई मार्नुपर्छ भनी नाराबाजी गर्न थाले ।
मसमेतको प्रहरी टोलीलाई बाटोमा चारैतर्फबाट ढुङ्गामुढा भएको थियो । हामीहरूले पटक–पटक थप मद्दत माग्दासमेत आफू सुरक्षित रहनु, अन्य सुरक्षा निकायहरूबाट थप मद्दत आउन सक्दैन भनी जानकारी पाएका थियौँ । राति ७ः३० बजेको समयमा १०० भन्दा बढी मोटरसाइकल र सशस्त्र प्रहरीको ट्रकमा चढी आएका प्रदर्शनकारीहरूले गेटमा रहेको ट्रक ठोक्काइ गेट भत्काउने प्रयास गर्दा हामीहरूले अश्रुग्यास तथा लाठीचार्ज गरी रोकेका हौँ । प्रायः गरी लागूपदार्थ सेवनकर्ता, कलङ्की बल्खु क्षेत्रमा यातायात काउन्टरमा काम गर्ने, भरियाको रूपमा काम गर्ने व्यक्तिहरू, सुकुमवासी बस्तीका व्यक्तिहरू, कवाडीमा काम गर्ने भारतीय मूलका व्यक्तिहरू र प्रहरी हिरासतबाट भागेका थुनुवाहरू हुन सक्ने अनुमान गरेको छु । यस कार्यालयबाट सर्टगन र गोलीहरू लुटिएको थियो । सर्टगन पछि फेला पारिसकिएको छ । गोलीहरू भने हालसम्म फेला परेको छैन ।
नेपाल प्रहरी हेल्थ क्लव भृकुटीमण्डप, काठमाडौँमा कार्यरत प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेल
भदौ २३ गते थप मद्दतको लागि संसद् भवनतर्फ जाँदा बाटोमा भिडभाड भएको र संसद भवनमा करिब ११ः३० बजेको समयमा पूरै प्रदर्शनकारीहरूले चारैतिरबाट संसद् भवन घेराउ गरेर ढुङ्गामुढासमेत गरेका थिए । नेपाल आर्मीको टोली संसद भवनतर्फ सुरक्षा दिन आउँदै गर्दा बाटोमा नै प्रदर्शनकारीहरूले रोकिरहेको भन्ने सञ्चार सेटमा आएको थियो । अन्दाजी १५ः०० बजेको समयमा भीडलाई नियन्त्रण दिन भनी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रमुख जिल्ला अधिकारी र भिक्टोरसँगै रहेर सञ्चार सेटबाट घुँडामुनि गोली चलाउने स्पष्ट आदेश दिइएको सञ्चार सेटमार्फत सुनिएको थाहा पाएँ । अन्दाजी २०ः०० बजे थप मद्दतको लागि भनेर फेरि बानेश्वर वृत्तमा खटाइएको हुँदा स्थिति सामान्य नभएसम्म त्यही रहने आदेश भएकोले त्यही बसेको र करिब २१ः४५ बजेको समयमा हाम्रो टोलीलाई नक्साल फिर्ता बोलाएको थियो ।
भदौ २४ गते प्रदर्शनकारीहरू हो—हल्ला गर्दैैं रानीपोखरीबाट मेट्रोको कार्यालय सिंहदरबार आसपासमा समेत रहेको र सरकारी कार्यालयहरू तोडफोड तथा आगजनी भइरहेको देखेर नेपाल पुलिस हेल्थ क्लव भृकुटीमण्डपमा पनि तोडफोड आगजनी हुन सक्ने सम्भावना भएको हुँदा सुरक्षाको हिसाबले पुलिस हेल्थ क्लवको पेरिमिटरमा रहेको मूल गेटसमेत बन्द गरी हेल्थ क्लव र गेस्टबाट दिने सुविधा बन्द गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *