भर्खरै :

असहाय, अपाङ्ग, अशक्तको जीवन सुनिश्चित गर्नु सरकारको दायित्व

भोक, रोग र शोकले कुनै नेपाली मर्नु नपर्ने शङ्खघोष भएको नेपालको सहर बजारका चोक, सडक, मन्दिर र धर्मशालाजस्ता पेटीहरूमा रात बिताउनेहरू जताततै देखिन थालेका छन् । अक्सर ती व्यक्तिहरू असहाय, टुहुरा, बालबालिका, घर परिवार छोडेका वृद्धवृद्धाहरू परेका छन् । कति असहाय, अपाङ्ग, अशक्त, अन्धा, दुर्घटनाका कारण हात खुट्टा नचलेका, नभएका नेपालीहरू दिउँसो यताउति डुली, मागी कुनै खुला स्थानमा रात बिताउँछन् । कसैको सहारा नपाएका ती असहाय, अशक्त व्यक्तिहरूले कसैले दिएको भरमा जीवन गुजार्छन् । उनीहरूको बस्ने कुनै ठेगान हुँदैन । कहिले उनीहरू भोकभोकै जीवन काट्छन् र भोकै जहाँतहीँ पल्टेर बस्छन् ।
उनीहरू कहिल्यै नुहाएका हुँदैनन् । लुगामात्र होइन अनुहार नै कालो मैलो भइसकेको हुन्छ । लुगा फाटेर च्याटिएको हुन्छ । उनीहरू जहाँतहीँ दिसा पिसाब गर्छन् । उनीहरूको जीवन सुरक्षा गर्ने जिम्मा कसको ? उनीहरूको खानपिन गर्ने, लाउने, खुवाउने व्यवस्था कसले गर्ने ? के उनीहरूको दुर्दशा हेरेर सरकार मौन बस्ने ? कुनै पनि नागरिक नाङ्गो भोको हुनुपर्दैन भन्ने सरकारको ध्यान कता ? खान, लाउन, सुत्न, उपचार गर्न नपाउने ती दीन दुःखीहरूको व्यथा कसले बुझ्ने ? के नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको अन्तरकलह थामथुम भएपछि दीन दुःखीहरूको पीडा हट्छ, दुःखको आँसु पिइरहेका व्यक्तिहरूले सुखको स्वास फेर्न पाउँछन् ? के कम्युनिस्टहरूको देशमा यसरी दयनीय जीवन बिताउन बाध्य हुन्छ ? धनी बन्न काम गर्नु, भात त सरकारले खुवाउँछ भन्ने प्रम ओलीको महावाणी के लोकपत्यारको लागि मात्र हो ? दीन दुःखीहरूको जीवन सहज बनाउन, सुनिश्चित गर्न के सरकारले विचार गर्नुपर्दैन ?
लोकको कल्याण गर्ने सरकारले प्रदेश, जिल्ला, नगर र गाउँहरूमा वृद्धाश्रम खोल्नुपथ्र्याे । असहाय केन्द्र खोल्नुपथ्र्याे तब सडक पेटीमा कष्टकर जीवन बिताउनु पर्दैनथ्यो । मागी मागी जीवन बिताउनु पर्दैनथ्यो । अर्ध नग्न अवस्थामा रहनु पर्दैनथ्यो । जहाँतहीँ रात बिताउनु पर्दैनथ्यो । घुमन्ते जीवन बिताउनु पर्दैनथ्यो । जहिल्यै, जुनसुकै बेला घाम पानी सहेर, हावा हुरी बतास सहेर असुरक्षित जीवन बिताउनु पर्दैनथ्यो । उनीहरूको जीवन सुरक्षा र सुनिश्चित गर्नको निम्ति समाजसेवी, बुद्धिजीवी र सचेत नागरिकहरूको पनि ध्यान जानुपर्छ । घाँटीमा सुनको सिक्री झुन्ड्याउने, करोडौँको भवनमा ऐøयासी जीवन बिताउने, उच्च पदमा रहेर गाडीमा कुड्ने व्यक्तिहरूको भोका नाङ्गा जनताको सेवामा के कुनै भूमिका हुदैन ? करोडौँको व्यापार व्यवसाय गर्नेहरूको कुनै जिम्मा हुँदैन ?
सडकमा घुमन्ते जीवन बिताएर अरूको भरमा बाँचिरहेका प्रत्येक दीन दुःखीहरूको निम्ति कुनै काममा लगाउने या व्यवस्था गर्नेतर्फ राज्यले सोच्नुपर्छ । जो सबल छन्, काम गर्नसक्ने हैसियत राख्छन् उनीहरूलाई कुनै कामको जिम्मेवारी दिने या काम दिने, बालबालिकाहरूको निम्ति पठनपाठनको व्यवस्था गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । उनीहरूलाई सही मार्गमा हिँडाएर नयाँ जीवन प्रदान गर्ने बाटो अवलम्बन गर्नुपर्छ ।
बाटैमा खाने, बाटैमा सुत्ने र बाटैमा फोहर गर्ने काम अन्त्य गर्नुपर्छ । यसको उपाय भनेको वृद्धाश्रम खोल्नु हो । अनाथालय खोल्नु हो, सडक बालबालिहरूको निम्ति छुट्टै विद्यालय खोल्नु हो । ती संस्थाहरू खोल्न सरकार अग्रसर हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *