भर्खरै :

उत्पादित सामान परीक्षण गर्नु आवश्यक

सरकार देश र जनताप्रति समर्पित नहुँदा, जनताका आधारभूत आवश्यकताबारे सत्तारुढ दलका नेता र मन्त्रीहरू संवेदनशील नहुँदा देशमा अनियमितता बढेको हो, भ्रष्टाचार बढेको हो, गुणस्तरहीन सामान बिक्री वितरण भइरहेको हो । अनियमित गर्ने, भ्रष्टाचार गर्ने, कालाबजारी गर्ने, पदको दुरूपयोग गरी अकुत सम्पति कमाउने नेता, मन्त्री, उच्चपदस्थ व्यापारीहरूलाई कारबाही नगरिएको कारण देशमा एकपछि अर्को समस्या विकराल बन्दै गएको हो । शङ्कर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित गुणस्तरहीन फलामका डन्डी (रड) बजारमा बिक्री वितरण भइरहेकोमा सरकारकै कमजोरी हो । सरकार संवेदनशील भएको भए कुन–कुन सामान कुन–कुन कम्पनी या संस्थाले उत्पादन गरिरहेको छ, बरोबर अनुगमन हुन्थ्यो, उत्पादित सामानको परीक्षण हुन्थ्यो र गुणस्तरीय प्रमाणित भएपछि मात्रै बजारमा वितरण गराइन्थ्यो । तर, त्यो हुन सकिरहेको छैन । यसको कारण गुणस्तरहीन रड बजारमा आयो । त्यही गुणस्तरहीन रड प्रयोग गरेर कतिले घर निर्माण गरिसके । गुणस्तरहीन सामान प्रयोग गरेर निर्माण गरिएका घरहरूको संरचना पनि कमजोर हुन्छ, कमजोर घरहरूको आयु स्वाभाविकरूपमा कम हुन्छ, सानातिना भूकम्प आए पनि ध्वस्त हुनसक्छ । त्यसबाट हुने धन जनको क्षतिको दोषी को ? कम्पनी कि सरकार ¤ क्षतिपूर्ति कसले तिर्छ ?
यसरी नै कोरोना भाइरस फैलिन नदिन प्रयोग गरिने स्यानिटाइजर पनि नक्कली भएको खबर प्रकाशमा आयो । परीक्षण नै नगरी भारतबाट भित्र्याइने रासायनिक मल पनि कहिले गुणस्तरहीन त कहिले तौल नपुगेको नेपालमा आइरहेको यथार्थलाई कसैले छोप्न सक्दैन । यसरी गुणस्तरहीन र नक्कली उत्पादन हुने र सामान भित्रिने त कति छन् कति ¤ अनियमितता र भ्रष्टाचारको त बयान गरेर साध्य छैन । सेक्युरिटी प्रिटिङ्ग प्रेसको छानबिनको प्रक्रिया अघि नबढेको समाचार प्रकाशमा आयो । सत्तारुढ दलका नेता र मन्त्रीहरूलाई पदको चिन्ता, माग र चासोबारे मतलब नराख्ने सरकार पनि कहिल्यै ‘जनप्रिय’ हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *