भर्खरै :

ट्रम्पले अस्वीकार गरे जलवायु परिवर्तनको प्रभाव

वाशिङ्टन, १५ सेप्टेम्बर । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार विश्वव्यापी तापमान वृद्धि आफैँ ठीक ठाउँमा आउने दाबी गरेका छन् । क्यालिफोर्नियामा पश्चिमी संरा अमेरिकामा फैलिएको डढेलोले पु¥याएको क्षतिबारे बुझ्ने क्रममा उनले त्यस्ता विनाशकारी डढेलो र जलवायु परिवर्तनमा कुनै सम्बन्ध नभएको बताए ।
नोभेम्बर महिनामा हुने निर्वाचनको प्रचारप्रसारको क्रममा साक्रिमेन्टो पुगेका ट्रम्पसमक्ष स्थानीय अधिकारीहरूले गर्मी महिनाको सुरुदेखि लागेको सो क्षेत्रमा अहिलेसम्मकै सबभन्दा ठूलो आगोले कम्तीमा ३५ जना मानिसको निधन भएको पनि जानकारी दिए ।

विज्ञानमाथि ट्रम्पको प्रश्न
“हेर्दै जानुहोस्, अब चिसो हुनथाल्नेछ”, ट्रम्पले भने ।
“तपाईँको दाबीसँग विज्ञान सहमत होस् भनी कामना गर्न चाहन्छु”, क्यालिफोर्नियाको प्राकृतिक स्रोत विभागका प्रमुख वेड क्रोफुटले ट्रम्पको भनाइप्रति प्रतिक्रिया जनाए ।
राष्ट्रपति र उनको सरकारले ठूला डढेलोको लागि सरकारी अधिकारीमाथि दोष थोपर्ने गरेका छन् । सहजै आगलागी हुने बाक्लो जङ्गललाई पातलो नबनाउँदा आगलागी हुने गरेको उनीहरूको दाबी छ ।
ट्रम्पले भने, “डढेलो हुन नदिन वन व्यवस्थापकहरू प्रभावकारी हुन जरुरी छ ।”
“एउटा रुख ढलेपछि त्यसलाई सुक्न १८ महिना लाग्छ । त्यसपछि त्यो सलाईको काँटीजस्तै हुन्छ । ती रुखमा सजिलै आगो सल्किन्छ”, ट्रम्पले अधिकारीहरूसमक्ष भने ।
ट्रम्पले यसो भन्न केही मिनेटअघि मात्र राष्ट्रपति निर्वाचनमा उनका प्रतिस्पर्धी जो बाइडेनले ट्रम्पलाई ‘जलवायुमाथि आगजनी गर्ने मान्छे’ को आरोप लगाएका थिए । बाइडेनले ट्रम्प राष्ट्रपति पदमा निर्वाचित हुनु वातावरणको निम्ति ठूलो सङ्कट हुने बताए ।

“यदि तपाईंले जलवायुमाथि आगजनी गर्ने मान्छे’ लाई अर्को चार वर्षको निम्ति ह्वाइट हाउसको तालाचाबी सुम्पे अमेरिकाभरि आगजनी भए केको आश्चर्य हुन्छ र ?” अमेरिकामा फैलिरहेको डढेलोको जिम्मेवारी बहन गर्न ट्रम्प असफल भएको भन्दै बाइडेनले भने ।
“हामीलाई विज्ञानप्रति सम्मान गर्ने र जलवायु परिवर्तन र क्षतिको वास्तविकता स्वीकार्ने राष्ट्रपतिको खाँचो परेको छ”, उनले भने ।
अगस्ट महिनायता संरा अमेरिकाको ओरेगन, क्यालिफोर्निया र वाशिङ्टन राज्यमा भएको आगलागीले १६ लाख हेक्टर क्षेत्रफलमा फैलिसकेको छ । डढेलोले हजारौँ जनताको घर नष्ट गर्नुका साथै कम्तीमा ३५ जना मानिसको निधन भइसकेको छ ।
आगोको कारण सो क्षेत्रको हावा पुरै हानिकारक धुँवा र तुँवालोले भरिएको छ । यसले आकाश पुरै सुन्तला र हल्का कालो रङको देखिएको छ । वायु प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । त्यसै त नोबेल कोरोना भाइरसको कारण जनस्वास्थ्यमा गम्भीर असर परेको बेला वायु प्रदूषणको कारण जनजीवन थप समस्यामा परेको छ ।
डढेलोग्रस्त क्यालिफोर्नियामा केही घण्टा बिताएर ट्रम्प अरिजोनामा आयोजित चुनावी सभामा सहभागी बनेका थिए ।
आगजनीको मूल कारण जलवायु परिवर्तन भएको बताउँदै आएका क्यालिफोर्नियाका गभर्नर गभिन न्युसमले ट्रम्पसँग भेटेका थिए । वन व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने ट्रम्पको सुझाव उपयुक्त भएको भने पनि उनले समस्याको मूल कारण निकै ठूलो भएको बताए ।
“तातो अझ बढिरहेको छ । सुख्खा अझ फैलिरहेको छ । हामी विज्ञानलाई विश्वास गरौँ । प्रमाण आफँै बोलिरहेको छ । जलवायु परिवर्तन वास्तविक हो । त्यसैले आफ्नो परिणाम देखाइरहेको छ”, उनले भने । मङ्गलबार डढेलोले प्रभावित क्षेत्रको डेमोक्रेटिक दलको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसको भ्रमण गर्ने कार्यक्रम छ । उनले ट्वीटरमा ट्रम्पले प्रमाणको उपेक्षा गरेको र जलवायु परिवर्तनले निम्त्याएको सङ्कटलाई अझ गहिरो बनाएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *