भर्खरै :

स्थिर सरकार हुँदैमा कम्युनिस्टको धर्म निर्वाह नहुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कम्युनिस्ट सिद्धान्त र विचार छोड्दैमा, कम्युनिस्ट आन्दोलन अगाडि नबढाउँदैमा नेपालको कम्युनिस्ट आन्दोलनले बिसर्जन लिन्छ कि भन्ने सोच दृष्टिदोषबाहेक अरू होइन । नेकपा कम्युनिस्टको सिद्धान्त विचारअनुसार अघि बढ्नुपर्छ, अघि बढ्दा जनता छिट्टै सङ्गठित र सचेत हुन्छन्, सिद्धान्तनिष्ठ हुन्छन् र परिवर्तनको पूर्वाधार तयार हुन्छ । तर, नेकपाले कम्युनिस्ट आचरण छोड्यो भनेर नेपालको कम्युनिस्ट आन्दोलन बिसर्जन हुँदैन । नेकपा नभए पनि, अघि नसरे पनि नेपालको कम्युनिस्ट आन्दोलन रोक्दैन, कम्युनिस्टको गतिविधि रोक्दैन । पुँजीवाद र समाजवादको भिन्नताबारे नेपाल मजदुर किसान पार्टीलगायतका अन्य दलहरूले जनतालाई सुसूचित पार्दै छन् ।
संसारका मुलुकमा बढिरहेको साम्राज्यवादी नीति र विस्तारवादी नीतिको विरोध भइरहेको छ, सभा सङ्गठन र प्रदर्शन भइरहेको छ । नेकपाको नेतृत्वमा रहेको सरकारले सुशासन दिन नसकेको यथार्थ हो । नेकपामा कम्युनिस्ट चरित्र हराउँदै गएको यथार्थ हो । सत्ताको नेतृत्व गरेर, सत्ताको वरिपरि रहेर सम्भ्रान्त वर्गको सेवा गर्ने कार्यशैली कम्युनिस्टको चरित्र होइन । पुँजीवादी व्यवस्थामा रहेर पुँजीपति वर्गको सेवा गरेर गरिब, निमुखा, विपन्न, श्रमजीवी वर्ग तथा शोषित पीडित जनताको सेवा हुँदैन न त शान्तिपूर्ण बाटो या पुँजीवादी सरकारमा गएर समाजवादी गणतन्त्र ल्याउन सकिन्छ ।
नेकपाका नेता एवं लेखक प्रदीप नेपालले सत्ताधारी नेकपाको अन्तिम लक्ष्य समाजवाद भए पनि नेकपाले क्रान्तिको बाटो नरोजेकोमा चित्त दुखाए । शेरबहादुर देउवाले निजीकरण गरेका कारखानाहरू केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री हुँदा किन प्रतिस्थापन गरिएन भनी लेखक प्रदीप नेपालले नेकपाका प्रमहरूलाई नेकाकै दाँजोमा राखे ।
कुनै पनि कम्युनिस्ट पार्टीले समाजवाद स्थापनाको मार्गचित्र कोरेकै हुन्छ, जनतामाझ सिद्धान्त र विचार प्रचार गरेकै हुन्छ । तर, नेकपाले त्यो काम गरेन, गरिरहेको छैन । बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहने चाहनामात्र नेकपाले राख्यो । ५ वर्ष एउटै सरकारले शासन गर्नु नै सरकारको सफलता होइन । ५ वर्ष शासन गर्दैमा कम्युनिस्टको धर्म निर्वाह गरेको मानिंदैन । यस हिसाबले नेकपाले नेपालको कम्युनिस्ट पार्टीलाई बलियो बनाइरहेको छैन, कम्युनिस्ट आन्दोलन मजबुत बनाएर समाजवादी गणतन्त्र स्थापना गर्नेतर्फ ध्यान दिइरहेको छैन । चुनावमा घोषणापत्र बाँडेर, पैसाको खोला बगाएर कुनै दलले बहुमत प्राप्त गर्दैमा त्यो कम्युनिस्ट पार्टी हुँदैन । केपी ओलीले पाँचै वर्ष शासन गरे पनि कम्युनिस्ट पार्टी मजबुत हुँदैन, कम्युनिस्ट आन्दोलन अघि बढ्दैन । तर, नेकपाको कमजोरी गलत र विचार अरू कम्युनिस्ट पार्टीको टाउकोमा थुपार्नु हुँदैन । त्यस्तो गलत दृष्टिकोण कुनै लेखक, बुद्धिजीवी र अन्य समुदायले नराखे हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *