भर्खरै :

शाम्भाला (साङ्ग्रिला) को खोजी

आज म तपाईँहरूलाई साङ्ग्रिला भनिने ठाउँको खोजीको कथा कहन्छु । धेरै अघिबाट मानिसहरूले शान्ति, स्वास्थ्य र खुशियालीको लागि साङ्ग्रिलाको खोजी थालेका थिए ।
वृत्तचित्र निर्माणको शिलशिलामा सन् २००२ बाट मैले छिङहाई–तिब्बत क्षेत्रमा विभिन्न यात्रा टोलीको नेतृत्व गर्न थालेँ । एक दसकभन्दा लामो अवधि मैले यस्ता यात्रा टोलीको नेतृत्व गरेँ । हाम्रा यस्ता यात्राले जलवायु परिवर्तन सङ्कटबारे ध्यानाकर्षण गर्न सकेको भन्दै नेसनल जियोग्राफिक वाटर एन्ड एयर कन्जरभेसन अवार्ड (नेसनल जियोग्राफिक जल तथा हावा संरक्षण पुरस्कार) समेत जित्न सफल भयो ।
साङ्ग्रिला शब्दको पहिलो प्रयोग सन् १९३३ मा प्रकाशित जेम्स हिल्टनको उपन्यास ‘लस्ट होराइजन’ मा भएको थियो । त्यो उपन्यास निकै चर्चित बनेको थियो । उपन्यासको आधारमा बनेको हलिउड चलचित्रले सन् १९३७ मा ठूलो ख्याति कमाउन सफल भएको थियो ।
एसियाली मिथक र साङ्ग्रिलाको अवधारणा
किन साङ्ग्रिला यति चर्चित भयो ? सन् १९१८ को फ्ल्यु महामारी पछि आएको वित्तीय सङ्कटले सबै कुरा छिन्नभिन्न भयो । आर्थिक महासङ्कटले पुँजी बजार, भौतिक संसार र सङ्कट सामना गर्नसक्ने पश्चिमा सरकारहरूको क्षमताप्रति मानिसको आशा सबै टुट्यो । त्यसपछि पश्चिमा संसारका मानिसहरू एसियाली मिथकीय संसारतिर आकर्षित हुनथाले । सद्भावपूर्ण समाजको परिकल्पनाको रूपमा साङ्ग्रिलाको अवधारणा चर्चित बन्यो । तिब्बती भाषामा साङ्ग्रिलाको उच्चारण शाम्भाला हुन्छ ।
एउटा यात्राको क्रममा हामीले अठारौँ शताब्दीमा छैटौँ पाञ्चेन लामाले लेखेको बौद्ध लिपि शाम्भाला सूत्र भेटायौँ । शाम्भाला खोजीको निम्ति त्यही सूत्र नै निर्देशिका हो । रोचक कुरा के हो भने त्यो सूत्रले साझा भविष्य बोकेको भविष्यको समाजको अवधारणाबारे चर्चा गर्छ ।
भविष्यको समाजको अवधारणाको रूपमा शाम्भाला समाजमा धन हुनेले धन नहुनेलाई सहयोग गर्ने गर्छ । सबैले प्रकृतिप्रति आदर गर्छ । त्यसको बदलामा प्रकृतिले पनि मानिसको संरक्षण गर्छ । स्वार्थ र लोभभन्दा माथि भावना र समर्पण हुन्छ ।

शाम्भालासम्बन्धी वृत्तचित्र बनाउने क्रममा बिताएको एक दसकले मैले छिङहाई–तिब्बत क्षेत्रका धेरै स्थानीय आदिवासी समुदायसँग भेटेँ । उनीहरू आफ्नो संस्कृति र वरपरको वातावरण संरक्षणको लागि निकै मिहिनेत गरिरहेको देखेँ । उनीहरूसँगको भेटमा मैले उनीहरूको संस्कृति प्राकृतिक संरक्षणसँग कति नजिकबाट गाँसिएको हुँदोरहेछ भनी अनुभव गरेँ । वास्तवमै उनीहरूको संस्कृति र धर्मका हरेक पक्ष नै वातारणमा आधारित र निर्भर हुने गर्छ । उनीहरूको विश्व दृष्टिकोणकै जगमा ती संस्कृति र धर्म बनेको पाएँ ।
उनीहरूको संस्कृति संरक्षणका अधिकांश प्रयास स्थानीय व्यापारसँग सम्बन्धित कार्यक्रमसँग जोडिएको मैले देखेँ । त्यस्ता स्थानीय व्यवसायले मानिसलाई आफ्नो संस्कृतिको सम्वद्र्धन गर्नुका साथै वातावरणको दिगोपनाको निम्ति पनि काम गर्न अभिप्रेरित गरिरहेको छ । त्यही क्रममा मैले ‘सांस्कृतिक दिगो विकास’ शब्दावलीको योग गरेँ ।
विभिन्न सामाजिक व्यवसायीहरूबाट सिकेर मैले तिब्बत स्वशासित क्षेत्रमा पर्या–पर्यटनसँग जोडिएका अतिथिगृहहरूको एउटा समूह गठन गरेँ । उनीहरू ल्हासाको पुरानो र ऐतिहासिक क्षेत्रका सम्पदाहरूको पुनः स्थापनामा संलग्न भए । उनीहरू पहाडी क्षेत्रमा अध्यात्मिक र सम्पदा क्षेत्रको संरक्षणमा पनि सक्रिय भए । ती सबै अतिथिगृहका कामदारहरू तिब्बतकै स्थानीयहरू हुन् । अतिथिगृहमा हिस्सेदारी भएका सबै व्यवस्थापनका सदस्यहरू पनि तिब्बतीहरू नै छन् । उनीहरूले मैले जानेको धेरै कुरा सिके । तर, आजभोलि उनीहरूले मैले जानेको भन्दा राम्ररी ती अतिथिगृहको व्यवस्थापन गरिरहेका छन् ।
संस्कृति र वातावरणमा समान दृष्टिकोण
सन् २००७ सम्ममा के यसरी नै सोच्ने मानिसहरू संसारमा अरू पनि छन् कि भनी खोजी गर्न मन लाग्यो । त्यसकारण, शाम्भालाको अवधारणा छिङहाई–तिब्बत क्षेत्रभन्दा बाहिर पनि सामाजिक व्यवसायको रूपमा विस्तार गर्ने निधो गरेँ । त्यही क्रममा दक्षिण एसियाको भ्रमण गर्ने क्रममा मैले भारत, पाकिस्तान, नेपाल र भुटानमा धेरै त्यस्ता स्थानीय समूहहरूसँग भेटेँ जसले वास्तवमै छिङहाई–तिब्बत क्षेत्रका जनताले जस्तै सोच्ने र काम गर्ने गरिरहेका छन् । व्यवसायमार्फत आफ्नो संस्कृति र सम्पदाको संरक्षणमा अग्रसर सामाजिक नेताहरूसँग मैले भेटें ।
स–साना व्यवसायको लागि लगानीको धेरै ठूलो समस्या हुँदैन । हाम्रो विश्व वित्त प्रणालीमा पुँजी बजारमा मात्र पैसा हुन्छ । सामान्यतः यो ऋणमा आधारित हुन्छ । विशेषतः ठूला प्राविधिक कम्पनीहरूले मात्र त्यहाँबाट लगानी झिक्न सक्छन् । त्यस्ता कम्पनीहरूले हिजोआज सामाजिक मिडियाको विकास गर्छ वा कुनै अनाकर्षक प्रविधि जसले सामाजिक स्वास्थ्य वा प्रकृतिलाई कुनै देन दिंदैन । बरु प्रायशः त्यस्ता प्रविधिले समाज र प्रकृतिलाई हानी पु¥याइरहेको हुन्छ ।
हामीले क्षेत्रीय सामाजिक व्यवसाय र सामुदायिक व्यवसायीलाई एकै विचारमा सहमत बनाउन हामीले ‘हिमालयन कन्सेनसस’ नामको एउटा आन्दोलनको थालनी ग¥यौँ । यो आन्दोलन मूलतः तीन वटा प्रमुख अवधारणामा आधारित छः पहिलो–सम्पदा र पहिचानको संरक्षण, दोस्रो–वित्तीय संरचनामा प्रमुख परिवर्तनसहित व्यवसाय र तेस्रो–वातावरणलाई प्राथमिकतामा राख्ने । सन् २०१४ देखि २०१९ मा नेपालमा सम्पन्न सम्मेलनहरूले चौथो क्षेत्र पनि थपियो ।
नेपालमा भएका सम्मेलनको क्रममा थपिएको समझदारी भनेको आर्थिक विपन्नता र मानिसको पहिचानको उपेक्षा नहुँदासम्म धर्म वा राजनीतिले मात्र कुनै द्वन्द्व निम्त्याउन सक्दैन । हामीले यो समझदारी संसारभरमात्र होइन, संरा अमेरिकामा पनि लागु भइरहेको देखिरहेका छौँ । संरा अमेरिकाका सडकमा अहिले फैलिरहेका अधिकांश प्रदर्शनहरू आर्थिक विपन्नता र जनताको पहिचानको सङ्कटको कारण फैलिरहेको छ ।

यसको निम्ति सबभन्दा राम्रो समाधान भनेको आर्थिक सम्पन्नताका तरिका र माध्यम प्रदान गर्नु, समुदायको संरक्षण, पहिचान र समुदायको सम्वद्र्धनको लागि स्थानीय तहमा व्यवसायको विकास गर्न समुदायमा लगानी गर्नुपर्छ । अरू बेलाभन्दा आज हिमालयन कन्सेन्सस संरा अमेरिकी सरकारको हिन्दप्रशान्त रणनीतिको प्रतिरोधको लागि आवश्यक अवधारणा बनेको छ ।
समस्या समाधानको निम्ति फराकिलो अवधारणा
भारत र चीनबीच सीमा क्षेत्रमा भएका विवादले पनि हिमालयन कन्सेन्ससको आवश्यकतालाई अझ बढाएको छ । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओका केही टिप्पणीले पनि यस्ता विवादहरू आइरहेको हो किनभने चीनलाई घेरा हाल्न संरा अमेरिकी हिन्द–प्रशान्त रणनीतिले यतिबेला सक्रियता देखाइरहेको छ । भारत सरकारले चीनका १८० भन्दा बढी चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाउनु पनि दुवै देशको हितमा छैन । चीनले परम्परागत र आधुनिक दुवै थरी औषधिको प्रयोग गरेर नोबेल कोरोना भाइरसमाथि विजय हासिल गरिसकेको छ । यतिबेला यस्तो अवधारणा अरू कुनै पनि समयभन्दा बढी भारतलाई खाँचो छ ।
निः सन्देह संरा अमेरिकाले नोबेल कोरोना भाइरस महामारी नियन्त्रण र रोकथाम गर्न न सक्षम नेतृत्व देखाउन सक्यो न क्षमता नै देखाउन सक्यो । बरु अमेरिकी राष्ट्रपति कार्यालयका नीति भाइरस फैलाउन थप मद्दत गरिरहेको छ ।
हरित प्रविधि र स्वास्थ्य सेवामा सहमति आवश्यकता
विशेषतः ग्रामीण तथा दुर्गम क्षेत्रमा हरित प्रविधि र स्वास्थ्य सेवाको लागि हिमालयन कन्सेन्ससका बढी आवश्यकता छ । डिजिटल आर्थिक संस्थामार्फत समुदायको सशक्तिकरणको लागि आर्थिक लगानी गर्नसकिन्छ । प्रविधिमा तर्कसङ्गत र रचनात्मक हिसाबले आर्थिक लगानी गर्नुपर्छ ताकि यसले सकारात्मक नतिजा दिन सकोस् । घृणा र द्वन्द्व फैलाउन तरिकाबाट लगानी गर्नु उचित होइन ।
प्रविधिको क्षेत्रमा भारत र चीनबीच सहकार्य गर्ने बेला आएको छ । एकले अर्कोलाई निषेध गर्नु दुवैको लागि हितकारी छैन । सामुदायिक सशक्तीकरण, प्रभावकारी स्वास्थ्य सेवा र हरित लगानीमार्फत अब्बल पूर्वाधार निर्माणमा दुई देशले सहकार्य गर्नुपर्छ ।
धितो बजारको मूल्यमा सभ्यताको उदय र पतन हुने गर्दैन । तर, पानीको पहुँचमा सभ्यताको उत्थान र पतन हुने गरेको छ । हिमालय हिमाली क्षेत्रका धेरै देशको लागि पानीको मूल स्रोत हो । त्यसकारण ती देशहरूले समस्याको समाधानको लागि काम गर्नुपर्छ, द्वन्द्व बढाउनको लागि होइन । हिमालयन कन्सेन्ससले हाम्रो साझा क्षेत्रमा वास्तविक शाम्भाला बनाउन सक्छ ।
स्रोत ः चाइना डेली
नेपाली अनुवाद ः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *