भर्खरै :

मधेसवादी नेताहरूलाई खुलापत्र !

प्रिय महन्त ठाकुरजी र
पुराना तराईका जनताको प्रतिनिधित्व गर्ने साथीहरू!
तराईमा बरोबर बोक्सीको नाममा यातना दिइएका घटना भइरहन्छन्, दाइजोकै कारण बुहारीहरूको हत्या भइरहन्छन्, साँवा रकममा शून्य थपेर गरिब जनताको घर–जग्गा हातपार्ने आदि घटनाहरू भइरहन्छन् । सडक, रेल, कलकारखाना, स्कूल–कलेजको हिसाबमा नेपालभन्दा विकसित भारतको नजिक रहेको नेपाली क्षेत्रका जनता तुलनात्मकरूपले प्रगतिशील हुनुपर्ने मानिसहरू अनुमान गर्छन् । तर, स्थिति अनुमानभन्दा फरक छ । यस्ता पुराना संस्कृति र संस्कारहरू बाँकी रहनुमा राजनैतिक दलका नेता, कार्यकर्ता, समाजसेवी, सरकार र पुराना ऐनकानुनहरू जिम्मेवार हुन्छन् ।
राजनैतिक परिवर्तनको अर्थ कुनै ठाउँका मानिस सरकारमा जानु, माथिल्ला प्रशासनिक पद, न्यायपालिकाका माथिल्ला पद र विधानपालिकामा पुग्नु होइन रहेछ भन्ने प्रस्ट हुँदै छ । समाजमा आमूल परिवर्तन नभएसम्म समाजका टाठा–बाठा, मध्यम वर्ग एवम् शोषक वर्गको मात्र हित हुन्छ भन्ने कुरा प्रस्ट हुँदै छ । पहाडका शोषक र सामन्तहरूजस्तै तराईका शोषक र सामन्तहरू पनि जनताको हित चाहन्छन् भन्ने प्रस्ट भइसकेको छ ।
५ असोजको ‘नयाँ पत्रिका’ को अघिल्लो पृष्ठमै लेखियो, ‘बोक्सी बकाउन मध्यरातमा मन्दिरमा पञ्चायती कुटपिट गरी मलमुत्र खुवाइएकी महिला अस्पतालमा’, ‘गाउँमा मान्छे पोखरीमा डुबेको र चट्याङ लागेर मृत्यु भएको दोष दिँदै शिव मन्दिर परिसरमा महिलालाई कुटपिट गर्ने समाज कानुनसँग मात्र होइन, भगवानसँग पनि डराएन ।’
अर्को समाचार छ– ‘लकडाउनममा मात्रै मधेसमा १० महिलालाई बोक्सीका
आरोपमा दुव्र्यवहार’, ‘७० वर्षीया महिलालाई बोक्सीको आरोपमा कुटपिटपछि गोबर खुवाउने प्रयास ।’
तराईका एक नेता महन्त ठाकुरजीले भन्नुहोला, तराईमा त ममात्रै होइन अरू पनि नेताहरू छन् । तिनीहरूको नाम किन उल्लेख नगर्ने ? उमेर एवम् मृदुभाषीको हिसाबले लक्ष्मणलाल कर्णजीसँग पनि गुनासो गर्नु स्वाभाविक हो किनभने तपाईँहरूलाई बुद्धिजीवीहरूले पनि राम्रै आँखाले हेर्छन् ।
तर राजेन्द्र महत्तो, उपेन्द्र यादव, हृदयेश त्रिपाठी आदिलाई नयाँ कार्यकर्ताको रूपमा मात्र हेर्छन् ।
त्यसो त विजयकुमार गच्छदार, विमलेन्द्र निधी आदिलाई नेताभन्दा नेपाली काङ्ग्रेसका युवा नेताको रूपमा लिइन्छ ।
असोज ५ को पत्रिकामा भारतमा लाखौँ बालविवाह भएको समाचार छापिएको छ, (मजदुर दैनिक, २०७७ असोज ५) । भारतको स्वतन्त्रताभन्दा पहिले राजा राममोहन रायजस्ता समाज सुधारकहरूले बालविवाह र अन्य समाजका कुरीतिहरूको विरोधमा आन्दोलन गरेका थिए । रवीन्द्रनाथ ठाकुर, अन्य बङ्गाली समाजसुधारक एवम् सचेत व्यक्तिहरूले आफ्नो भाषा, साहित्य र संस्कृतिको उत्थान र विकासको निम्ति आफूलाई समर्पित गरेका थिए ।
तराईमा मैथिली, भोजपुरी र अन्य भाषा र साहित्यबारे गम्भीर साहित्यकर्मी र नेताहरू मौन रहेकैले प्रजातन्त्र र गणतन्त्र आए पनि सांस्कृतिक क्षेत्रमा कुनै परिवर्तन नआएको सत्य हो ।
महन्त ठाकुर र लक्ष्मणलाल कर्णजीजस्ता तराईका प्रभावशाली नेताहरूले आ–आफ्ना कार्यकर्तालाई बोक्सी, बालविवाह, दहेज, दहेजकै निम्ति छारीबेटीहरूमाथिको हत्याहिंसाजस्ता जघन्य अपराध, साँवा रकममा शून्य थपेर वा ठूलो ब्याजको कारण गरिब जनतालाई आत्महत्या गर्न बाध्य पार्ने घटनाहरू हुन नदिन सामाजिक र सांस्कृतिक आन्दोलन किन नगर्ने भनी प्रश्न गर्न चाहन्छ । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *