भर्खरै :

फोहोर पैसाले इमानदारीमा दाग नलगाऔँ

सत्तारुढ दल नेकपाले आफ्नो पार्टीका पूर्णकालीन कार्यकर्तालाई तलब दिने चर्चाले नेपाली जनतालाई सजग बनाएको छ । त्यसै त सत्तामा जाने राजनीतिक दलहरूबाट राज्यकोषको दुरुपयोग हुने गरेको छ । राज्यकोषको दुरुपयोग गरी पार्टी कार्यकर्ता पाल्ने गरेको कुरा कसैसामु लुकेको छैन । त्यसमाथि अब नेकपाले आधिकारिकरूपमै पार्टी कार्यकर्तालाई तलब दिने छलफल गर्दा जनताले स्वभावतः प्रश्न उठाएका छन्ः कार्यकर्तालाई दिन पैसा कहाँबाट आउँछ ? यदि त्यसरी बाँडिने पैसा राज्यकोषको नभए त्यसरी बाँड्न कहाँबाट पैसा आउँछ ? के नेकपाले पुँजीपति वर्ग, व्यापारी र ठेकेदारसँगै पैसा उठाएर कार्यकर्ता पाल्न लागेको हो ? नेकपाका एक जना अध्यक्ष प्रचण्डलाई घरमा बस्न दिएकै आधारमा ठेकेदार शारदाप्रसाद अधिकारीले देश लुटिरहेको छ । सरकारको बदनाम गरिरहेको छ । अब के नेकपाले शारदाप्रसादहरूसँग पैसा उठाएर आफ्ना कार्यकर्ता पाल्न खोजेको हो ? नेकपाको संरक्षण पाएको एकै जना ठेकेदारले यति धेरै लुट्नसक्छ भने कार्यकर्ता पाल्न पैसा दिएको आधारमा अरु कैयौँ शारदा प्रसादहरूलाई देश र राज्यकोष लुट्ने मार्गप्रशस्त गर्न खोजेको देखिन्छ ।
नेकपा नामले कम्युनिस्ट हो । तर, यसले मूलतः दलाल पुँजीपति वर्गकै सेवा गरिरहेको छ । त्यसकारण उसले पार्टी कोषमा बटुल्ने पैसा जनताको सुक्का र रुपैयाँ होइन, बरु सुटकेस र ब्रिकेसमा आउने पैसा हो । सत्तासीन दलका नेताहरूको घरमा चुनावताका यस्तो ब्रिफकेस र सुटकेसको घुइँचो लाग्ने गर्छ । त्यही पैसा खर्च गरी चुनाव जित्छन् शासक दलका नेताहरू । सत्तासीन भइसकेपछि नेताहरूबाट सुटकेस र ब्रिकेसको भाडा असुल्ने गरेका छन् । नेकपाले आज कार्यकर्ता पाल्ने पैसा पनि यसरी ब्रिफकेसमा आउने हुनसक्छ । यसबाट आम जनता र नेकपाकै कार्यकर्ता पनि सचेत हुन जरुरी छ । नेकपाका इमानदार व्यक्तिहरूले पनि पैसा पाउने बित्तिकै मुखमा बुझो लगाउन मिल्दैन । फोहोरी पैसा लिएर आफ्नो इमानदारीमा दाग लगाउने काम नेकपाका कोही नेता कार्यकर्ताबाट हुनुहुन्न ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *