भर्खरै :

नेकपालाई झैँ अरु दललाई हेर्नु गलत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरेको गलत काम, गलत नीति र गलत विचारको दोष अरु कम्युनिस्ट पार्टीलाई पनि दिनु गलतै हो । नेकपालाई हेर्ने दृष्टिकोण अरु दललाई हेर्न मिल्दैन । माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक मानेर सोही विचारअनुसार नेकपा अघि नबढेको देखेर त्यहीँ आँखाले अरु दललाई हेर्नु उचित होइन । तर, देशका कति दल, नागरिक समाज, लेखक, बुद्धिजीवी र राजनीतिक विश्लेषकहरूले अरु कम्युनिस्ट पार्टीलाई पनि नेकपालाई झैँ हेरिरहेका छन्, देखिरहेका छन् । यो गलत हो । गतिविधिको आधारमा नेकपालाई माक्र्सवादी लेनिनवादी नदेख्नु अर्काे पाटो हो । उसकै गतिविधिको आधारमा अरु दललाई मुछ्नु या अरु कम्युनिस्ट पार्टीलाई माक्र्सवादी–लेनिनवादी आँखाले नहेर्नु उचित होइन ।
माक्र्सवाद विज्ञानसम्मत छ । माक्र्सवाद ऐतिहासिक भौतिक द्वन्द्ववादमा आधारित छ । वर्ग रहेसम्म वर्गसङ्घर्ष भइरहन्छ । श्रमजीवी वर्गको पक्षमा, श्रमजीवी वर्गको हितमा श्रमजीवी वर्गको नेतृत्वमा सरकार नरहेसम्म श्रमजीवी वर्गको हित सम्भव छैन । श्रमजीवी वर्गको प्रतिनिधित्व पुँजीवादी सरकार या पुँजीवादी दलले गर्दैन । पुँजीपति वर्गको बन्दोबस्तभित्र रहेर, पुँजीवादी वर्गको सरकारमा रहेर श्रमजीवी वर्गको हित हुँदैन । त्यसैले कम्युनिस्टहरू वर्गसङ्घर्ष गरेर सत्ता उल्टाउँछन्, उल्टाउन सङ्गठन गरिरहेका हुन्छन् । पुँजीवादी संसदमार्फत आमूल परिवर्तन सम्भव छैन । कसैले गर्न चाहे पनि गर्न सकिँदैन, गर्न दिइँदैन । आफूलाई कम्युनिस्ट भनिने नेकपाको नेतृत्वमा रहेको ओली सरकारले श्रमजीवी वर्गको प्रतिनिधित्व गरिरहेको छैन, गर्ने लक्षण देखिँदैन ।
नेकपाको हालको उद्देश्य बहुमतको नाउँमा पुँजीवादी सरकारको नेतृत्व गरेर पुँजीपति वर्गको हित हेर्ने हो, पुँजीपति वर्गको पक्षपोषण गर्ने हो । पुँजीवादी व्यवस्थाभित्र रहेर लामो समयसम्म शासन गरिरहनु नै नेकपाको लक्ष्य रहेको देखिन्छ । लामो समय शासन गरेर शोषित पीडित या विपन्न वर्गको हित होस् या नहोस् नेकपाको सरकारलाई मतलब छैन । यसकारण नेकपालाई बुद्धिजीवी, लेखक र राजनीतिक विश्लेषकहरू कम्युनिस्ट ठान्दैनन्, माक्र्सवाद र लेनिनवादलाई मार्ग निर्देशक मानेर काम गरिरहेको स्वीकादैनन् । नेकपा ठूलो पार्टी, सरकारमा रहेको पार्टी भनेर त्यही दृष्टिले अरु कम्युनिस्ट पार्टीलाई मूल्याङ्कन गर्नु ठीक हुँदैन । नेकपाका कति नेताहरू संसदीय या शान्तिपूर्ण माध्यमबाटै देशलाई आमूल परिर्वतन गर्न सपना बाँड्छन् । यो झूटको खेती हो । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार तोडमरोड गरी जनतामाझ झूटको खेती गर्नु विश्वासघात हो । विश्वासघाती काम छोड्नुपर्छ । देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *