भर्खरै :

त्रिपालभित्र रेल

भारतको जयनगरबाट राष्ट्रिय ध्वजाबाहक रेल नेपालमा आएको केही दिनमै त्रिपालले छोपेर राखेको तस्वीरले धेरै नेपाललाई रुनु न हाँस्नु बनायो । रेल आएको देखेर खुसी भएका नेपालीहरूलाई पनि त्यो तस्वीर देखेर खिन्न बनायो । नेपालको विकास र समृद्धि त्यही रेलजस्तो रहेछ भनी धेरैले अनुभव गरे । केही दिनको रमाइलो, अनि पछि फेरि उही नाम्लो उही कुम्लो । पूर्ण तयारी नभई जात्रा गर्नमात्र रेल ल्याउन के जरुरी थियो र ? रेल ल्याएको भनी शासकले जुँगामा ताउ लगाउनमात्र रेल ल्याएर हल्ला गरिएको हो । पूर्ण तयारीसहित नियमित चल्ने भएपछि रेल ल्याएको भए जनता खुसी हुने थिए । अब त्यो रेल कति वर्षसम्म यसरी त्रिपालले छोपेर राख्ने हो ? त्रिपालले छोपेर राख्नुको सट्टा बनाएकै ठाउँमा केही समय राखेर पूर्ण सञ्चालनमा आउने अवस्थामा नेपालमा ल्याउनु बुद्धिमानी हो ।
मेलम्चीको पानी आउने भयो भनी यसअघिका शासकहरूले धेरै म्याद दिए । तर, अझै पनि पानी काठमाडौँका जनताले पिउन पाएका छैनन् । रेलको कुरा पनि मेलम्चीकै पानी हुन बेर छैन । रेल आउन यति वर्ष लाग्यो भने अब रेल सञ्चालन हुन कति लाग्ने हो ?
अहिलेको सरकार कुनै दिगो काम गर्नभन्दा सानो काम गरेर हल्ला गर्न बढी माहिर देखिएको छ । रेलको कुरा त्यस्तै हल्लामात्र हुने देखियो । सरकारले रेल सञ्चालनको निम्ति पूर्ण योजना बनाइ त्यसपछि मात्र रेल ल्याउनुपर्ने थियो । रेल ल्याएर त्रिपालभित्र लुकाएर राख्नुको के अर्थ भयो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *