ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
एक बेलायती लेखक लुडविक एफ स्टिलरको पुस्तक ‘मौन क्रन्दन’ (दि साइलेन्ट क्राइ) लाई लेखक समरले मूल्याङ्कन गर्न खोजेका छन् । सन् १८१६ मा बेलायती साम्राज्यवादसँग सुगौलीमा नेपालको सम्झौता भएपछि सन् १८३९ मा भीमसेन थापाको हत्याबारे आफ्नै विश्लेषण गरेका छन् लेखक स्टिलरले । स्टिलरले सुगौली सन्धिपछि नेपालका ग्रामीण जनताका पीडाबारे उल्लेख गरेका छन्, भीमसेन थापाको शासनको उनको छुट्टै मूल्याङ्कन छ ।
सुगौली सन्धिपछि गाउँका नेपाली जनता अर्थात् किसानको पीडालाई प्रस्तुत गर्नुको अर्थ नेपालले बेलायती साम्राज्यवादको विरोधमा युद्ध गर्नु हुने थिएन भन्ने हो ।
यदि बेलायती आक्रमणको विरोध नगरेको भए नेपालले आत्मसमर्पण गर्नुपर्ने थियो र नेपाल स्वतः भारतको एक अङ्ग बन्ने थियो । साथै बेलायती साम्राज्यवादीहरूले धेरै वर्षपहिले नै ल्हासा कब्जा गर्नसक्थे, सन् १८४० को अफिम युद्धमा बेलायत हार्नुपर्ने थिएन र चीनको ठूलो भूभाग आफ्नो कब्जामा पर्ने थियो ।
स्टिलर नेपाली जनता (किसान) को निम्ति राजा, भाइ–भारदार, सरकारी कर्मचारी र सेना पाल्नु गार्हो काम थियो तर नेपाली जनताले विद्रोह गरेनन् भन्ने अर्थ लगाउँछन् । तर, सत्य के हो भने गरीबिबाटै क्रान्ति हुँदैन, त्यसो हुँदो हो त हरेक दास विद्रोह एउटा क्रान्तिमा फेरिन्थ्यो । बेलायती क्रान्तिभन्दा पहिले पनि त्यहाँका जनता (किसान) ले राजा, रजौटा, चर्च (धर्माधिकारीहरू) सामन्त र जमिनदारहरूलाई बोक्नुपर्दथ्यो । फ्रान्सेली क्रान्तिभन्दा पहिलेको स्थिति पनि त्यस्तै थियो । बेलायती राजा चर्च र सामन्तहरूको अत्याचारको विरोधमा पुँजीपति वर्गले उदार सामन्त, मजदुर र किसानहरूको नेतृत्व गर्दैै पुँजीवादी क्रान्ति ग¥यो । फ्रान्सेली राज्यक्रान्तिको आधार पनि त्यही थियो । अमेरिकी क्रान्तिको बेला नेताहरूसमेत दास मालिक थिए ।
बेलायती साम्राज्यवादले उपनिवेशहरूलाई लुट्न पाउने भए बेलायतका तल्लो वर्गलाई बढी शोषण गथ्र्याे र विद्रोह बरोबर हुन्थ्यो । सन् १८४८ सम्मको ‘मागपत्र’ को मजदुर आन्दोलनपछि स्थिति झन् प्रस्ट भयो । सुगौली सन्धिपछि बेलायतले नेपाली गोर्खालीहरू लगेर अङ्ग्रेजविरोधी विद्रोहहरू दबाउने काममा लगायो ।

‘मौन क्रन्दन’ को सार नेपाली जनता भीमसेन थापाको विरोधमा उठ्नुपर्ने थियो – उठेनन् भन्ने हो । यसकारण, भीमसेन थापाको हत्या र अङ्ग्रेजहरूको उद्देश्यअनुसार भएको कोत पर्व औचित्यपूर्ण भएको हो भन्ने पुष्टि गर्न खोजेका हुन्– लेखक स्टिलरले ।
स्टिलरको आँखामा अर्थात् बेलायती साम्राज्यवादीहरूको आँखामा भीमसेन थापा राजखानदानका व्यक्ति थिएनन्, भाइभारदार र सेनासमेत भएर पनि उनले जनजीवन सुधार्ने काम गरेनन्, आफू सत्तामा रहिरहन लडाइँपछि पनि सेनाको सङ्ख्या घटाएनन् यसकारण उनी एक ‘अवसरवादी’, खालि रणबहादुर शाहका ‘अङ्गरक्षक’, ‘चलाख प्रशासक’ होइनन्, थापालाई राजनैतिक व्यक्तिको रूपमा लिँदैनन् ।
सत्य के हो भने भीमसेन थापाले भारतका ६ सय साना–ठूला राज्यहरूलाई अङ्ग्रेजहरूले गुलाम बनाएको हुँदा नेपालले अङ्ग्रेजहरूलाई रोक्नुपर्ने देखेका थिए । प्रम थापाले ‘युद्ध अवश्यम्भावी’ देखेका थिए । भीमसेन थापाले बेलायती आक्रमणविरुद्ध लड्न चीनका बादशाह र भारतका राजाहरूलाई समेत पत्र लेखेका थिए । ती पत्रहरूमध्ये एउटा पत्र ग्वालियरका राजाले अङ्ग्रेजहरूलाई पु¥याइदिए । ग्वालियरको राजदरबारको सम्बन्ध नेपालको राणा परिवार अथवा पशुपति शमशेरसँग छ । यसरी अङ्ग्रेजहरूको आँखामा भीमसेन थापा आँखाको कसिङ्गर बने ।
स्टिलरको विचारको अर्थ सुगौली सन्धिपछि नेपालले सेना घटाएको वा सेनालाई तम्तयार नराखेको भए बेलायती साम्राज्यवादले नेपालमा आक्रमण गर्ने थिएन । यसबारे ‘भीमसेन थापाका आफ्नै भतिजा उजिरसिंहले उनलाई सन्धिवार्ता गरेकोमा असहमति देखाएका थिए । व्यक्तिमात्रै होइन नेपाली शासकहरूका कतिपय भाइ–भारदारहरू अङ्ग्रेजहरूसँग युद्ध गर्नु हुन्न भन्ने पक्षमा थिए । आफ्नो खेमाभित्रै शत्रुको पहुँच नभएसम्म विदेशीले एकैबाजी हमला वा लडाइँ गर्दैन । यो राजनीति एवम् लडाइँको पहिलो पाठ हो ।
स्टिलरले पुस्तकमा पृथ्वीनारायण शाहप्रति आफ्नो झुकाव देखाउन खोज्नुको कारण पृथ्वीनारायण शाहले क्रिश्चियन धर्म प्रचार गर्ने अङ्ग्रेजहरुलाई नेपालबाट निकाला गरेको र धर्म स्वीकार गर्ने नेवारहरूलाई समेत भारतको सीमा राम नगरतिर धपाएको उनलाई थाहा नहुने कुरै थिएन । बेलायती साम्राज्यवादका समर्थक नेपाली नयाँ पुस्तासँग पनि स्टिलरको सम्बन्ध भएमा आश्चर्य मान्नुपर्ने छैन । भीमसेन थापाको नामदेखि नै दिक्क मान्ने मानिसको कमी छैन । सङ्घर्ष गरेर देशलाई जोगाउने भावना र प्रवृत्ति मन नपराउने व्यक्तिहरू आज पनि समाजमा होलान् ।
भीमसेन थापाको जस्तो दूरदृष्टि साधारण कर्मचारीमा हुँदैन । अङ्ग्रेजहरूले उनको योजनाको भेउ पाउन नसकेकै कारण षड्यन्त्रको सहारा लिएर हत्या गराएको हुनसक्ने कुरामा शङ्का नगरे हुन्छ । बेलायती र अन्य साम्राज्यवादीहरूले एसिया, अफ्रिका र लाटिन अमेरिकी देशभक्तहरूलाई पिँजडामा राखेर युरोप लगेको र तिनको टाउको उतै लगेका अनेक उदाहरणहरू छन् ।
आजको युगमा पनि एमसीसीमा हस्ताक्षर गर्ने देशविरोधीहरू देशमा छन् भने उतिबेला भीमसेन थापालाई शत्रुको हातमा सुम्पनु कुन ठूलो कुरा होला ?!
Leave a Reply