भर्खरै :

कोभिडको हटस्पट काठमाडौँ दोषीलाई सजाय आवश्यक

काठमाडौँ, १३ असोज । काठमाडौँ उपत्यका कोभिड – १९ को ‘हटस्पट’ बन्दै छ । देशभरि कोभिड पोजेटिभ भएका मध्ये ५० प्रतिशत यही देखिएको छ । विभिन्न देशमा गरिएको अध्ययनअनुसार बाक्लो जनसङ्ख्या भएको ठाउँमा कोभिड सङ्क्रमण बढ्दो छ । नेपालको बाक्लो जनसङ्ख्या भएको ठाउँ काठमाडौँ उपत्यका नै हो । काठमाडौँ खानेपानी, फोहरमैला, प्रदूषण र अपराधको कारण असुरक्षित छ । अब कोभिड पनि थपिएको छ । यसको दोषी तयारीबिना निषेधाज्ञा खुकुलो पार्न दबाब दिने कर्पाेरेटहरू (अर्बपति र खर्बपति उद्योगी–व्यापारी) हुन् भने त्यस्तो नाजायज दबाबलाई शिरोपर गर्ने सरकारका पार्टी र तिनका प्रधानमन्त्री, मन्त्री र नेताहरू हुन् ।
सरकारले केही खर्बपतिहरूको स्वार्थ हेर्ने कि व्यापक जनताको हित हेर्ने ? निश्चय नै व्यापक जनताको हित हेर्ने हो । बिनातयारी निषेधाज्ञा खुकुलो गरिनाले केही अर्बपति खर्बपति बन्लान्, साथै सरकारमा बसेकाहरूले केही कमिसन पाउलान् । कोभिड – १९ को महामारी यसैगरी फैलिए काठमाडौँ उपत्यकामा नै लाखौँ मृत्यु हुनेछन् । बाँचेका सङ्क्रमितहरूले पनि ठूलो क्षति भोग्नुपर्नेछन् ।
असारमा रोपाइँको निम्ति मल आवश्यक हुने हो । सरकारले भदौमा बङ्गलादेशबाट सापटीमा मल ल्याउने हल्ला ग¥यो तर ल्याउन सकेन । सरकार कर्पाेरेट, खराब ठेकेदार, भूमाफिया, गुण्डाहरूको चङ्गुलमा फसेको यसले पनि पुष्टि गर्छ ।
पाँच सयभन्दा बढी नेपाली स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित भए । एक अध्ययनअनुसार गुणस्तर पीपीई र स्वास्थ्य सामग्री नभएको कारण यो स्थिति उत्पन्न भएको हो । सरकारका मानिसहरूले कमिसन खाएर नै पीपीईलगायत स्वास्थ्य सामग्री खरिद गरेको हुँदा गुणस्तरहीन पीपीईको शिकार स्वास्थ्यकर्मी हुनुपरेको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले पीपीईको गुणस्तर परीक्षणको तयारी गरेको छ तर सरकारले आवश्यक निर्णय गरी जिम्मेवारी दिएको छैन । के सरकारका मानिसहरू कमिसन खान पाउने कार्यमात्र गर्ने हुन् ? यो प्रश्न तड्कारोरूपमा उठिइरहेको छ ।
काठमाडौँलाई कोभिडको हटस्पट बनाउने दोषी सरकार, गृहमन्त्रालय, स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालयका को–को हुन् सार्वजनिक गरिनु आवश्यक छ । दोषीलाई सजाय पनि आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *