भर्खरै :

नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठक

काठमाडौंँ, १३ असोज । नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आयोजना भएको बैठकको नेपाल टोलीको नेतृत्व सहसचिव प्रकाश दाहालले गर्नुभयो ।
दुई देशबीच पारवाहन ढुवानी सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयन, व्यापार सहजीकरण, सीमा नजिक रहेका सीमा वारपार आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकासमा सहयोगलगायत विषयमा सहमति भएको मन्त्रालयले जनाएको छ । बैठकमार्फत रसुवाको टिमुरेमा जाँच स्टेसन–सुख्खा बन्दरगाह निर्माण गर्ने, १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्यवस्तुलाई चीनले नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्ने सहमति दिएको छ ।
यस्तै नेपालमा वनस्पति तथा पशुजन्यवस्तु जाँच गर्न चीनले सघाउने भएको छ । सोही अवसरमा स्याँफ्रुबेसी–रसुवा सडक स्तरोन्नतिमा चीनले सघाउने सहमति दिएको छ ।
नेपाल–चीनबीचको दुवै नाका सञ्चालनमा आउने भएको छ । बैठकमा नेपालले चीनलाई मुस्ताङको कोराला नाकामा एकीकृत सीमा जाँच स्टेसन बनाउन अनुरोध गरेको छ । किमाथांका र ओलांचुंगोलामा व्यापार पूर्वाधार बनाउन सम्भाव्यता अध्ययन पनि गरिने भएको छ । व्यापार बैठकमा नेपाल र चीनका ११–११ जना सहभागी थिए । चीनको तर्फबाट पेङ गाङले बैठकको नेतृत्व गरेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *