भर्खरै :

चन्द्रागिरी नपामा अध्ययन गोष्ठी

काठमाडौँ, १३ असोज । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा सोमबार अनलाइन माध्यमबाट अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले पार्टीको विधान र कार्यक्रम पार्टीको विधान र कार्यक्रमअनुसार राजनैतिक कार्यकर्ताहरू क्रियाशील हुनुपर्दछ भन्नुभयो ।
छैटाँै महाधिवेशनबाट पारित पार्टीको तत्कालीन नीति जनताको प्रजातन्त्रलाई सातौँ महाधिवेशनबाट पनि निरन्तरता दिएको उल्लेख गर्दै उहाँले जनताको प्रजातन्त्रमा मजदुर किसानको नेतृत्वमा बुद्धिजीवी, प्रगतिशील देशभक्त, राष्ट्रिय पुँजीपति र उद्योगी व्यापारीको सरकार हुने स्पष्ट पार्नुभयो ।
उहाँले दलाल पुँजीपति वर्ग, किसान तथा जनताविरोधीहरू जनताको प्रजातान्त्रिक सरकारमा नअट्ने उल्लेख गर्नुभयो । नेमकिपा जनताको प्रजातन्त्र हुँदै दीर्घकालीन लक्ष्य समाजवाद र साम्यवाद प्राप्तिको सङ्घर्षमा अडिग रहेको बताउनुभयो ।
सचिव सुवालले संयुक्त राज्य अमेरिका महाशक्तिको अहम्ताले अगाडि बढे पनि पतोन्मुख अवस्थामा रहेको धारणा राख्नुभयो । पुँजीवादको पतन अवश्यम्भावी भएको उल्लेख गर्दै उहाँले विश्वमा समाजवादको झन्डा फहरिने निश्चित छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले शासक पार्टीहरूको सामन्ती र पुँजीवादी चरित्र कायमै रहेकोले देशमा भद्रगोल स्थिति आएको बताउनुभयो । उहाँले भन्नुभयो, “०४६ सालदेखि अहिलेसम्म २७ वटा सरकार परिवर्तन हुनु देशको दुर्गति हो, ती शासकहरू सजायका भागिदार छन् ।”
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डङ्गोलले पार्टीका कार्यकर्ताहरूले विधान र कार्यक्रम गहिरो ढङ्गले अध्ययन गर्नपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले संयुक्त राज्य अमेरिकाको साम्राज्यवादी नीतिविरुद्ध विश्वका न्यायप्रेमी जनता सङ्घर्षरत रहेको बताउनुभयो । उहाँले मोदी सरकार पनि फासीवादी सरकार हो भन्नुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका उपाध्यक्ष हरिशरण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा जितबहादुर महर्जन, रवीन्द्र महर्जन, पुनम महर्जन, अस्मिता महर्जन र शान्त महर्जनलगायतले पार्टीको दस्तावेजबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *