भर्खरै :

उद्योग वाणिज्यका मालिकहरूलाई एक खुलापत्र

लक्ष्मी र कुबेरका अवतारहरूलाई
धेरै धेरै सम्झना !
तपाईँहरू बरोबर बालुवाटारमा जानुहुन्छ र प्रधानमन्त्रीलाई बन्दाबन्दी (लकडाउन) हटाउन, नम्बर मिलाएर भए पनि ट्रिपर, ट्रक, पहेँला गाडीहरू, भारतमा ३०–३५ टनसम्म बोक्ने ट्रकहरू नेपालभरि चल्न दिन, लामो दुरीका बसहरू पनि चलाउन दिन दबाब दिँदै हुनुहुन्छ । तपाईँहरू ‘काठमाडौँ उपत्यकालाई कोरोना केन्द्र’ बनाउने उद्देश्य राख्दै अत्यन्त ‘रोचक’ र ‘परोपकारी काम’ गर्दै हुनुहुन्छ । ‘असोजयता १३ हजार ८० सङ्क्रमित थपिए । देशभरको कोरोना सङ्क्रमितमध्ये ५० प्रतिशत उपत्यकामा नै केन्द्रित भयो । (राजधानी, १७ असोज २०७७)
यो अत्यन्त ‘भलादमी’ र ‘परोपकारी’ काम हुँदै छ – उद्योग र व्यापारीहरूको तर्फबाट । भनिन्छ, पुँजीवादमा सरकार भनेको पुँजीपतिवर्गकै सञ्चालक समिति हो । केपी ओली र प्रचण्ड अब जनताका होइनन् तपाईँहरूकै आज्ञापालक भए भन्न पाइने भयो !?
‘१४ हजार नमुना परीक्षण गर्दा २७ सय २२ मा कोरोना’, ‘काठमाडौँ उपत्यकामा १६ सय ३८ लाई कोरोना’ । … पछिल्लो २४ घण्टामा पुष्टि भएका सङ्क्रमितमध्ये ६० प्रतिशतभन्दा बढी काठमाडौँ उपत्यकामा देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म काठमाडौँमा २१ हजार ६७३, ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ सङ्क्रमित छन् । (नयाँ पत्रिका, १७ असोज २०७७) क्षेत्रफलको हिसाबले यो सङ्क्रमित सङ्ख्या अत्यन्त धेरै हो ।
हाम्रा लक्ष्मी र कुबेरका प्रतिनिधिहरूले सम्झेका होलान् – उपत्यकाको आधा जनसङ्ख्या घटे पनि बाहिरबाट आउने नै छन्, घर – जग्गाका व्यापारीहरूलाई फाइदै होला ¤ गिट्टी, बालुवा, डन्डी–सिमेन्ट र निर्माण व्यवसायीहरूलाई फलिफाप नै होला ¤ सुन्दर भविष्य ¤?
‘दीर्घरोगी र वृद्धको सुरक्षा गरौँ !’, ‘२४ घण्टामै २ हजार ७२२ जनामा सङ्क्रमण’, सङ्क्रमणको जोखिम बढेको हुँदा ६० वर्षमाथिकालाई बाहिर ननिस्कन र जीवनशैलीमा परिवर्तन’ गर्न डा. शेरबहादुर पुनलाई सचेतनाको निम्ति धेरै धन्यवाद ¤ (नागरिक, शनिबार, १७ असोज २०७७)
हाम्रा लक्ष्मी र कुबेरका प्रतिनिधिहरूले सम्झेका होलान्–‘देशको मात्रै होइन संसारकै तीन भागको दुई भाग जनसङ्ख्या घटे पनि केही फरक पर्दैन ! विज्ञान र प्रविधिको विकासले उद्योगधन्दा, यातायात आदिको निम्ति अहिले हिजोजस्तो गरिब–गुरुवा, मजदुर– किसान चाहिँदैन, सबै स्वचालित यन्त्रहरूले गर्ने भएका छन्, धेरै जनतालाई किन दुःख दिने !’ सोच यही होइन त ओली र प्रचण्डको सरकार चलाउने तपाईँहरूको ? किनभने, हिजो निर्वाचनमा नेपाली काङ्ग्रेसलाई मत दिएजस्तै अहिले नेकपालाई दिएकै हो, मतदानमात्रै गुप्त हुने हो, लेनदेन त सबै विदेशी कुबेरहरूलाई पनि थाहा हुन्छ, अब कुनै कुरा गुप्त हुँदैन, हाम्रा नेपालीहरूमात्र ‘सहयोगी’, ‘निमित्त’ र ‘एजेन्ट’ हुन्छन् – अनि जलविद्युत्, योजना, प्राकृतिक र मानवीय स्रोत एवम् सेवा (चाहे त्यो पर्यटन होस् वा यातायात) सबै विदेशी मालिकहरूकै हुन्छ ।
अमेरिकी राष्ट्रपति ट्रुम्यानको एक जना राज्य सचिव अचिन्सनले क्रान्तिको कारण जनसङ्ख्या वृद्धि मान्थे र नयाँ माल्थस बनेका थिए । तर, कम जनसङ्ख्या अर्थात्, २०–३० लाख जनसङ्ख्या पुग्दा नपुग्दै अमेरिकी स्वतन्त्रता आन्दोलन (१७७५–८३) ले बेलायती साम्राज्यबाट त्यो नयाँ मुलुक मुक्त भयो । त्यसैले आज पनि ट्रम्प, बोल्सोनारो र मोदीको विचारमा तपाईँहरू हुनुहुन्छ भने ठूलो भूल हुनेछ । उद्योगधन्दा जनताकै उपयोगको निम्ति हो । किन्ने जनता भएनन् भने वा क्रय शक्ति जनताको ¥हास भएमा लक्ष्मी र कुबेरको पनि कुनै अस्तित्व रहने छैन । नेपाल–भारतको सीमा खुला छ । सुनिन्छ, विहारमा कोरोना फैलिँदै छ, ‘रोटी बेटीको हाम्रो सम्बन्ध’ छ, जनताको चेतनाको स्तर उस्तै छ । भारतको दिल्ली र बम्बईमा जस्तै हाहाकार हुने सम्भावना छ ।
दसैँ आउँदै छ, सामाजिक दुरी कायम भएन, खानपिनमा डाक्टरहरूको सल्लाह मानिएन भने दसैँपछि न खान न कुनै खर्च गर्न न त उपचार गर्न नै पैसा हुनेछ, न त आफू र आफन्त नै हुनेछौँ ¤ आज ट्रम्प पनि त कोरोनाबाट मुक्त भएनन् । केही अन्य देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू तथा अन्य ठूलाबडाहरूलाई पनि कोरोनाले छोडेन । यसमा लोभलालच, घमण्ड र सम्पत्तिको केही लाग्दैन जसरी लेखनाथको एक कविताले सचेत पार्छ,
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *