भर्खरै :

कम्युनिस्टहरू अग्रगामी र क्रान्तिकारी हुन्छन्

“कम्युनिस्टहरूको हृदय विशाल हुनुपर्छ । ऊ इमानदार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ । आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्छ ।” यो भनाइ विश्व सर्वहारा वर्गका गुरू माओ त्सेतुङको हो । हो, कम्युनिस्टहरू दूरदर्शी हुनुपर्छ, दृढ हुनुपर्छ, लोभीपापी हुँदैनन्, लोभलालचमा फस्दैनन् । कम्युनिस्टहरू दल ठूलो कि सानो भनी हेर्दैनन् । सही या गलतको नापो दल ठूलो र सानोको होइन । दल ठूलो हुँदैमा सही र सानो हुँदैमा गलत हुने होइन । ठूलो त पहिले पञ्चायत पनि थियो । तर, शासन सञ्चालन गरेको ३० वर्षपछि पञ्चायत अन्त्य भयो । हाल सरकारमा रहेको ठूलो र शक्तिशाली भनिएको दल पनि १०–१५ वर्षपछि अर्कै स्थितिमा परिणत हुनेमा शङ्का छैन ।
नेकपाका नेता, मन्त्री र सांसदहरू कम्युनिस्टको सिद्धान्त र विचारअनुसार लागेकै छैनन् । उनीहरूको उद्देश्य र चाहना सरकारमा जानु हो, सरकारमा जान ठूलो दल बनाउनु हो । सरकारमा सामेल भएर सरकारका विभिन्न निकायमा पार्टीका नेता र कार्यकर्तालाई पोस्नु हो, जिल्ला–जिल्लाबाट राजधानी छिरेका नेता तथा कार्यकर्तालाई आर्थिक सहयोग गर्दै देशको राजस्व सिध्याउनु हो । नेकपाका नेता, मन्त्री र सांसदहरू कार्यकर्तालाई अनुशासित बनाउने, परिवर्तनकामी बनाउनेतर्फ प्रशिक्षित गर्दैनन् । हालका नेकपाका नेताहरूले पहिले पनि अरू पार्टी फोड्ने, पार्टी कार्यकर्ता भाँड्ने काम गरेका थिए । यस्तो काममा नेकपाका नेता, मन्त्री र सांसदहरू अहिले पनि लागेका छन् ।
कम्युनिस्टहरू अग्रगामी र क्रान्तिकारी हुन्छन् । सिद्धान्त र विचार छोड्ने या लागू नगर्ने दल सच्चा हुनैसक्दैन । नेकपा सरकारमा सामेल भएपछि, सरकारको पटक–पटक नेतृत्व गरेपछि के कुनै एउटा मौलिक काम भएको छ ? सबै खालका शोषण र थिचोमिचो अन्त्य गर्नेतर्फ नेकपाले के पाइला चालेको छ ? बरू नेकपाले आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गरिरहेका दलविरूद्ध झूटको खेती गरिरहेको छ । उनीहरूको बाटोमा तगारो हाल्ने काम गरिरहेको छ । सरकारको नेतृत्व गर्न पाउनु नै नेकपाको अन्तिम उद्देश्यजस्तो ठानिएको छ । सरकारमा बसेरै, रहेरै समाजवादी व्यवस्था ल्याउने चाहना राखेको छ । यो कम्युनिस्टको सिद्धान्त र विचारविपरीत काम हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *