भर्खरै :

कम्युनिस्टको सही नापो ठूलो दल होइन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ठूलो दल हो तर सच्चा कम्युनिस्ट पार्टी होइन । कम्युनिस्टको नाममा कम्युनिस्टहरूलाई धोका दिने पार्टी हो नेकपा । नेकपाले सही नेतृत्व दिन नसकेकै कारण नेकपाका अध्यक्षद्वयबीचको आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको हो । अरू नेता, कार्यकर्ता, सांसदले दबाब नदिएको भए झन्डै पार्टी फुटेको थियो । नेकपाले सही नेतृत्व दिन नसकेकै कारण पार्टीभित्र गुट–उपगुटमा विभाजित भएको हो । नेकपा एक भए तापनि पार्टीभित्र ओली र दाहाल गुटमात्र होइन माधव नेपाल गुट र अन्य गुट देखिएका छन् । सिद्धान्त र विचार एकातिर कार्यव्यापार या गतिविधि अर्कोतिर गरिरहेको नेकपाको नेतृत्व र कार्यदिशा कसरी सही हुन्छ ?
नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई पूर्वएमालेका नेताहरूले राजधानीको खुला मञ्चमा एक नम्बरको भ्रष्टाचारी भनी उद्घोष गरेका थिए । पूर्वसञ्चारमन्त्री गोपाल बाँस्कोटा प्रेस खरिदको क्रममा करोडौँ रकमको कमिसनको घेरामा परेको थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालबारे कोरोना भाइरस उपचारसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा अनियमितताको प्रसङ्ग उठेकै हो । यही कारण स्वास्थ्य सेवा सामग्री ठेक्कामा लिन सेनालाई जिम्मा दिइयो । नेकपाका सचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फसेकै हुन् । नेकपाका सांसद महेश बस्ने सांसद अपहरणमा काण्डमा मुछेकै हुन् । यस्तै यस्ता खालका अधिकांश नेता र सांसदहरूको जमात हो नेकपा ।
नेकपाले न पार्टीलाई सही नेतृत्व दिन सकेको छ न त सरकारलाई राम्ररी सल्लाह दिन सकेको छ । पार्टीको परामर्शविना संसद विघटन भएकै हो । पार्टीभित्र छलफल नै नगरी सरकारले कति विधेयक ल्यायो, कति छलफल नै नभइकन फर्कायो । यी सबै घटना र क्रियाकलापले के नेकपाभित्र एक्लै व्यक्तिको हुङ्कार देखिएन ? प्रम ओलीमा व्यक्तिवादी चिन्तन हावी भएकैले अर्का अध्यक्ष दाहालले प्रमको राजीनामा मागेका हुन् । ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये कुनै एक पद छोड्न आग्रह गरिएको यथार्थ हो । नेकपामा प्रवेश गर्नेहरू नेकपा सही दल, सच्चा कम्युनिस्ट भएर गएका होइनन् । ठूलो दलको हैसियत जोडेर कति मानिसहरू पार्टीमा प्रवेश गर्छन् । यो गलत चिन्तन हो । यो गलत सोचाइ हो । नेकपा सच्चा कम्युनिस्ट पार्टी हो भने कम्युनिस्टको पार्टीले सिद्धान्त र विचारअनुसार आमूल परिवर्तनको निम्ति वर्गसङ्घर्षको बाटो आत्मसात गर्नुपर्छ । एमसीसी सम्झौता कुनै पनि सच्चा कम्युनिस्ट पार्टीले गर्दैन । कम्युनिस्ट पार्टीले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरेकै हुन्छ । कम्युनिस्ट पार्टीले देशभक्त कार्यकर्ता तयार गरेकै हुन्छ । तर, नेपालमा नेकपाको नेतृत्वमा बनेको सरकारले त्यस्तो कुनै काम गरिरहेको छैन । अनि नेकपा कसरी कम्युनिस्ट पार्टी हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *