भर्खरै :

डायरी

शम्भुप्रसाद तिवारी बितेको ६ महिना भयो । उनी नगरका एक समाजसेवी थिए । आफैँ पढेलेखेका र सुसंस्कृत व्यक्ति भएको हुँदा उनी आफ्नो बस्तीमा स्कुल, कलेज, पुस्तकालय, स्वास्थ्यचौकी आदि सङ्घसंस्था खोल्नमा सक्रिया रहे । समाजको निम्ति उनले झन्डै ३० वर्ष खाइनखाई सेवा गरे ।
ती संस्थाहरू स्थापना गर्नका निम्ति उनी नाता–गोता, छर–छिमेकी, गाउँ र सरकारका चिनजानका सबैको घरघरमा पुग्थे । उनी श्रमदान, चन्दा तथा भेलाको निम्ति सरकारसँग स्वीकृति लिन शिक्षा कार्यालय, शिक्षा विभाग र मन्त्रालय आदि कार्यालयहरू धाउँथे । बाटो बनाउन, बजुली, तार टेलिफोन, पानीलगायत पूर्वाधार र जनताका आधारभूत आवश्यकताका लागि निरन्तर सक्रिय थिए ।
अस्ति भर्खरजस्तै जन्मेका नयाँ पुस्ता शिक्षित भए, स्नातक र स्नातकोत्तर तहसम्म पढेका युवाहरू देखापरे । त्यो गाउँ नमुना बस्ती बन्यो । गाउँ र बस्तीका सबै साना–ठूलाबाट उनी ‘शम्भु जेठाबा’, ‘शम्भु काका’ र ‘शम्भु दाइ’ बाट सम्बोधित भए ।
झन्डै एक÷दुई वर्ष अगाडिदेखि शम्भुको उज्यालो मुखमण्डलमा बादल लागेको महसुस सबैले गरे । “के भयो काका ?” र “के भयो दाइ ?”, भनी जिज्ञासा राख्दा उनी जवाफ दिन्थे – “सबै ठीक छ, संसार यस्तै हो ।” कहिलेकाहीँ उनी एक्लै बस्दा लामा–लामा सुस्केरा हाल्थे र उनका मुखमा केही अनुत्तरित भावहरू खेलिरहेको अनुमान परिवारका सदस्यहरू पनि गर्थे ।
शम्भुप्रसादको देहान्तपछि गाउँ र बस्तीमा एक प्रकारको शून्यता छायो । स्कुल, कलेज र पुस्तकालय, स्वास्थ्य चौकी आदि सङ्घ–संस्थाको संरक्षक, अध्यक्ष र चन्दादाता जस्ता पदहरू खाली भए ।
त्यस्तो स्थिति देखेर समाजसेवीहरूको बैठकले शम्भुप्रसादको छोरो सुरेन्द्रप्रसादलाई पिताका पदहरूमा राख्ने सल्लाह गरे । सल्लाहअनुसार विद्यालय सञ्चालक समितिका सदस्य सचिव रामबहादुर श्रेष्ठ, कलेजका कोषाध्यक्ष कृष्ण थापा, पुस्तकालयका उपाध्यक्ष विनोद केसी र स्वास्थ्य चौकीका सञ्चालक समितिकी सचिव सङ्गीता कुसी उनको घरमा गए ।
बिहानको ९ बजेको थियो । सुरेन्द्रप्रसाद बर्खी बारेको सेतो लुगामा घरको आँगनमा घामताप्दै अखबार हेर्दै थिए । सङ्घ–संस्थाका पदाधिकारीहरू उनको आँगनमा पुगे र भलाकुसारी गर्न त्यहाँ राखिएका मेचहरूमा बसे ।
सुरेन्द्र शम्भुप्रसादका जेठा छोरा थिए । उनी एक बैङ्कका मेनेजर थिए । उनी धेरैजसो काठमाडौँमा नै बस्थे ।
इस्टकोट र टोपी लगाएका ६० वर्षका रामबहादुर श्रेष्ठले कुरा सुरु गर्दै भने, “सुरेन्द्र भाइ, बुबाले हाम्रो गाउँ बस्तीलाई विकास गर्नमा ठूलो योगदान गर्नु भो, हामी त्यसलाई कहिल्यै बिर्सनेछैनौँ । मानिस भएर जन्म भएपछि एक न एकदिन छोडेर जानैपर्छ सबैले, सधैँ गुण गरिरहन सक्दैन । योग्य पिताका योग्य पुत्रको रूपमा तपार्इँलाई हामीले चिन्दै आएका छौँ ।”
कोट र पाइन्ट लगाएका वर्ष ३५ जतिका कलेजका कोषाध्यक्ष कृष्ण थापाले थप्दै भने, “बुबाको योगदान अविस्मरणीय छ र बुबाको त्यस कामलाई छोराले निरन्तरता दिनु एउटा धर्मै हो भनी यहाँ आएका हौँ । समाजमा व्यक्तिको पनि महत्व हुन्छ । तपार्इँको बुबाकै नेतृत्वमा हामी यस बस्तीको विकास–निर्माण कार्यमा लाग्दै आएका हौँ ।”
सुरेन्द्रकी जहानले चिया ल्याइन् र पाहुनाहरूलाई चिया दिइन् ।
पुस्तकालयका उपाध्यक्ष विनोद केसी एक युवा हुन् । लेखपढ र सक्रिय भएकै हुनाले २५ वर्षे युवालाई सबैले सो पदमा राखेका थिए । उनले भने, “सुरेन्द्र दाइ, बुबाबाट हामीले धेरै सिक्यौँ । हाम्रो पुस्तकालयमा १५० जना सदस्य छन् । दिनको ५० जना सदस्य र आगन्तुकहरू अध्ययन गर्न र पुस्तक लिन आउँछन् । पुस्तकालयको कारण युवा पुस्तामा साहित्य र अरू क्षेत्रबारे रुचि जागेको हो र जानकारी पनि बढ्दै गएको छ । यसलाई चालु राख्नुपर्ने हुँदा सुरेन्द्र दाइ नै यसको संरक्षक बनिदिनुहुन अनुरोध गर्दैछौँ । यो मेरो मात्र प्रस्ताव होइन, पुस्तकालयमा बुबा बित्नुभएपछि यही विषयमा बरोबर सर–सल्लाह भएको छ । यहाँका जनताको यही भावना हो । दाइले हामीलाई बुबाले जस्तै नेतृत्व प्रदान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”
सुरेन्द्रले केही पनि बोलेनन्, उनको अनुहार मलिन थियो । बीच–बीचमा सुस्केरा हालेको सबैले अनुभव गरे ।
सङ्गीता कुसी नगरकै एक नर्स थिइन्, उनी स्वास्थ्य चौकीको सञ्चालक समितिको सचिव पनि थिइन् । ३० वर्षकी कुसी महिला गतिविधिमा पनि लाग्थिन् । तिनले मसिनो स्वरमा भनिन् –
“सुरेन्द्र दाइ, यो स्वास्थ्य चौकीले हाम्रो बस्तीलाई अस्पतालले जत्तिकै सेवा पु¥याएको छ । शम्भु काकाकै कारण धेरै जनताले स्वास्थ्य सेवा पाएका छन् । यसकारण, स्वास्थ्यचौकी र स्वास्थ्य सेवालाई चालु राख्न तपाईँको संरक्षकत्वको आशा गर्छौँ । यो स्वास्थ्य चौकी सरकारले स्थापना गरेको होइन, शम्भु काकाकै परिश्रमको फल हो । उहाँले नै जनताको घर–घरमा गई चन्दा उठाई स्थापना गर्नुभएको हो ।”
सुरेन्द्र एकछिन घोरिएर ‘एकैछिन’ पर्खन भन्ने हातले इसारा गरी घरभित्र पसे । २–३ मिनेटमा हातमा एउटा टिपोटको कापी लिएर उनी बाहिर आए । टिपोटको कापीको गाता बाक्लो थियो । त्यो शम्भुप्रसादको डायरी थियो । डायरीको बीच–बीचमा कागजको टुक्राले चिनो राखिएको थियो । सुरेन्द्रले चारै जनतालाई एक÷एक गरी हेरिसकेपछि टिपोटको पाना पल्टाउँदै भने, “यो बुबाको डायरी हो, यसलाई बुबाको इच्छापत्र भन्न पनि मिल्छ, दुई महिनाअगाडि मैले बुबाको दराजमा भेट्टाएँ र पढेँ । आज तपाईँहरूलाई पनि देखाउन उपयुक्त सम्झेँ ।” सुरेन्द्रको स्वर काँपेको थियो । उनको अनुहारमा दिक्दारी, चिन्ता र आश्चर्यको भाव मिसिएको थियो ।
डायरीलाई सङ्गीतातिर सार्दै चिह्नहरू देखाउँदै भने, “सङ्गीताजी, तपार्इँले यी पानाहरू पढेर सुनाउनुहोला ¤”
सङ्गीताले डायरी पढ्न सुरु गरिन्, “विद्यालय स्थापनाको पाँच÷सात वर्षपछि शिक्षकहरू एकापसमा प्रधानाध्यापक बन्न झै–झगडा गर्दा, आफ्ना दाजु–भाइहरू अयोग्य भएपनि शिक्षक बनाउन खोज्दा, स्कुलकै सहायकहरूले चक, डस्टर र घडीसमेत घर लैजाँदा, १० वटा फाइल किनेर २० वटाको बिल बनाउँदा र जिल्ला शिक्षा कार्यालयमा चाकडी, चुक्ली गरेर र घुस खुवाई अयोग्य शिक्षकहरू स्थायी हुने अनियमित काममा लाग्दा अनि योग्य र राम्रा शिक्षकहरू स्थायी नहुने वा बढुवा नगराउने काम आफ्नै शिक्षकहरूले गर्दा मलाई विरक्ति लाग्यो ।”
सङ्गीताले अर्को चिह्न लगाएको पाना पल्टाइन् र वाचन गरिन्, “कलेजको स्थापनाका ५ वर्षमै विद्यार्थीहरूको सङ्ख्या ३०० नाघ्यो । परीक्षाको परिणाम राम्रो थियो । छिमेकमा निजी कलेजहरू स्थापना भए तर तुलनात्मकरूपले ती कलेजहरूमा छात्र–छात्राहरूको सङ्ख्या कम थियो । कलेज स्थापनाको सातौँ वर्षसम्ममा छात्र–छात्राहरूको सङ्ख्या ५०० पुग्यो । निजी कलेजहरूले हाम्रो कलेजको प्राचार्यलाई महिनाको ३० हजार दिने र अन्य राम्रा प्राध्यापकहरूलाई २०–२५ हजार तलब दिई आफ्नोमा लिने निधो गरे । सानैदेखि आफैँले पढाएका र हुर्काएका ती युवाहरूले पैसाको निम्ति आफ्नो कलेजलाई अलपत्र पारेर छोडेर जाँदा म स्तब्ध भएँ । सोध्दा तिनीहरूले भने, “आफ्नो कलेजमा समयअनुसारको तलब हामीले पाएनौँ र हामी एउटै कलेजमा सधैँ दासजस्तै बस्न सक्दैनौँ ।” “शम्भु ठुल्बाले जस्तै समाज सेवाको नाममा त्याग गर्न सक्दैनौँ ।” सङ्गीता अल्मलिन् र अरूले पनि एकापसमा मुखामुख गरे ।
सङ्गीताले अर्को पाना पढ्न सुरु गरिन्, “स्वास्थ्य चौकीमा आएका असल र महँगा औषधीहरू बिरामीलाई नदिई कर्मचारीहरूले पसलमा बेच्दै गरेको थाहा पाउँदा मलाई सा¥है चित्त दुख्यो । राम्रै उद्देश्यले रोपेको बिरुवाको फल राम्रै हुन्छ भन्ने चिताएको थिएँ तर परिणाम फरक पाएँ । कहिलेकाहीँ मैले समाजसेवा आफूले गर्न नजानेको हो कि वा आफूले अरूको भाषा पो नजानेको हो भन्नेबारे मैले ठम्याउनै सकिनँ ।”
सबैले आपसमा मुखामुख गरे, सुरेन्द्र चुपचाप सबैको मनोभाव अध्ययन गरिरहेका थिए । सङ्गीताले अर्को पाना पल्टाइन् र वाचन गरिन्, “पुस्तकालयका केही पदाधिकारीहरूले राम्रा–राम्रा किताबहरू दर्ता नगरीकनै घरमा लगे । राम्रा–राम्रा अङ्ग्रेजी र नेपाली भाषाका शब्दकोशहरू, आफ्ना छोराछोरीहरूका निम्ति काम लाग्ने वा चाहिने जति पुस्तकहरू लगेर कहिल्यै फर्काएनन् । सबै ठाउँमा योग्य अयोग्य जस्तोसुकै भए पनि आ–आफ्नै मानिसहरू घुसाउन खोज्ने, आर्थिक लाभ लिन खोज्ने र आपसमा झगडा गर्ने प्रवृत्तिले मलाई बरोबर समाजसेवाप्रतिको भावनामा शङ्का र निराशा उत्पन्न गराउँथ्यो । कहिलेकाहीँ समाजसेवाबाट पश्चाताप पो हुने हो कि भन्ने मनमा त्रास पैदा हुन्थ्यो ।”
सुरेन्द्रले कापी आफ्नो हातमा लिए र भने, “पुँजीवादी व्यवस्थामा मानिसहरू पैसाकै निम्ति, नाफाकै निम्ति छोराछोरी र स्वास्नीसमेत बेच्छन्, सबै प्रकारका कुकर्म गर्छन् । सम्भवतः बुबालाई यो समाज व्यवस्था पुँजीवादी हो र यस समाजमा समाजवादी विचारले शिक्षित र सङ्गठित नभएका व्यक्तिहरू पैसाकै निम्ति मरिहत्ते गर्छन् भन्ने थाहा थिएन होला ¤ गल्ती कमजोरीहरू देखाएपछि आफ्ना संस्थाका पदाधिकारी र सदस्यहरूलाई आलोचना र आत्मालोचना गरेर आफूलाई सुधार्ने अवसरहरू दिनुपर्दथ्यो । बरोबर छलफल र बैठकहरू गरेर मनका मयलहरू सफा गर्नुपर्दथ्यो । त्यसो गरेमात्र संस्थाहरू सप्रने देख्छु । यसबारे तपार्इँहरू एकचोटि फेरि सोच्नुहोला, छलफल गर्नु होला र हामी एक हप्तापछि पुनः भेटौँला ¤” सुरेन्द्रको कुरा सुनेपछि सबैको मुखमा आशाका किरण देखापरे । “एक हप्तापछि हामी फेरि आउनेछौँ ।” – भन्दै एक÷एक गरेर सबै आँगनबाट फर्के । सुरेन्द्र शम्भुप्रसादको डायरी राख्न कोठातिर लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *