अडिग क्युवा !
- जेष्ठ १३, २०८३
नेपालमा कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिँदै छ । ७७ जिल्लामध्ये ५२ जिल्ला उच्च जोखिममा परेको विज्ञहरूको मत छ । पाँच सयभन्दा बढी सङ्क्रमित सङ्ख्या भएको जिल्लालाई प्राथमिकता दिएर रोकथामको योजना बनाउने सरकारी दावी हावामा महल साबित भयो । सार्कका आठ देशमध्ये नेपालमै सबभन्दा बढी २९.१ प्रतिशत सक्रिय सङ्क्रमित सङ्ख्या पुग्यो । सक्रिय सङ्क्रमित दर बढेसँगै मृत्युदर पनि बढ्ने हो । तर, सरकार नेपालमा मृत्युदर नबढेको दाबी गर्दै छ ।
सरकारले सर्वसाधारणलाई कोभिड सङ्क्रमणबाट बच्ने सावधानी नअपनाए फेरि बन्दाबन्दी गर्र्ने चेतावनी दिएको छ । सरकारले जनहितको काम गरेर देखाउने हो । सर्वसाधारणलाई चेतावनी दिने होइन । निषेधाज्ञा खुकुलोसँगै मानिसको आउजाउ बढ्यो । नेपालका सहरमा मानिसको भीडभाड बढ्यो । काठमाडौँमा सबभन्दा बढी भीड भएकोले सङ्क्रमण पनि बढ्यो ।
कर्पोरेटहरूले मात्र फोनमार्फत कुम्ल्याउन सक्छन् । सर्वसाधारण मजदुर र गरिब जनता सशरीर उपस्थित भएर त्यही कर्पोरेटको काम गर्नुपर्ने हुन्छ । सङ्घीय सरकारसँग साधन र स्रोत छ । निजामति, सेना, प्रहरी सङ्घीय सरकारको खटनपटनभित्र पर्छ । यसकारण, सरकारले सर्वसाधारणलाई चेतावनी दिनु गलत हो । कर्पोरेटहरूको दबाबमा निषेधाज्ञा खुकुलो बनाउनु नै कोभिड सङ्क्रमित बढ्नुको कारण हो । सरकारले कुन – कुन कर्पोरेटहरूबाट दबाब आयो उनीहरूको नाम ठेगाना जनतालाई जानकारी गराउनु आवश्यक छ ।
सरकार कोभिड सङ्क्रमण ६० प्रतिशतभन्दा बढी भएको राजधानी काठमाडौँको व्यवस्थापन चुनौतीपूर्ण भएको आत्मसमर्पणवादी तर्क गर्दै छ । नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको हो । सरकारले निषेधाज्ञा खुकुलो गर्नुअघि भारतसँगको खुला सीमा बन्द गर्नुपथ्र्यो । सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरू र सरकारको उच्च तहका पदाधिकारीहरूले भीडभाड हुने कार्यक्रम गरेको तस्वीर सार्वजनिक भइरहेको छ । यसरी जनस्वास्थ्य मापदण्ड पालना नगर्नेहरूमा सर्वसाधारणभन्दा पनि सरकारकै उच्च पदाधिकारी भेटिन्छन् ।
कोभिड पोजिटिभ भएकाहरू सडकमा हिँडिरहेको सरकारले नरोके कसले रोक्ने हो ? सरकारले कोभिड परीक्षणको नतिजा चाँडो दिने, पोजिटिभ भएकालाई आइसोलेसनमा पु¥याउने, असाधारण सङ्क्रमितको उपचार गर्ने जिम्मा लिनुपर्छ । सङ्कटको बेला सरकार भाग्ने होइन । पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कोभिड पोजिटिभ भयो । सर्वसाधारण जनतामा सङ्क्रमण फैलिँदा उपदेश दिने सरकार अब के गर्छ ?
अमेरिकी राष्ट्रपति ट्रम्पको ह्वाइट हाउस प्रमको सरकारी निवास बालुवाटार, राष्ट्रपतिको सरकारी निवास शितल निवास, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाट र प्रमुख प्रतिपक्षी नेता नेकाका शेरबहादुर देउवाको बुढानिलकण्ठ निवासभन्दा आकारमा धेरै ठूलो छ । त्यहाँ बस्ने ट्रम्प कोभिड सङ्क्रमित भए । ट्रम्पले कोभिड सामान्य रुघाखोकी हो, आफै बिलाएर जान्छ, मास्क लगाउनु नपर्ने भनेका थिए । अन्ततः ट्रम्प कोभिड सङ्क्रमित भए ।
कोभिड सङ्क्रमणतर्फ नेपाल सरकारको बेवास्ता भइरहे ‘ठूलाबडा’ पनि सुरक्षित हुने छैनन् । सरकारले विगतको रुघाखोकीसँग कोभिड छुट्टयाउन गाह्रो हुने उपदेशमात्र दिने होइन, आफ्नो संयन्त्र प्रयोग गरी सामान्य रुघाखोकी र कोभिड छुट्टयाएर जनताको स्वास्थ्य सुरक्षा गर्ने हो । संयन्त्र नभए नेपालका विश्वविद्यालयहरूलाई आवश्यक सहयोग गरी संयन्त्रको विकास गर्ने हो । १ अर्ब ४० करोड जनसङ्ख्या भएको चीनको नेतृत्व र सरकारले आफ्ना जनतालाई कोभिडबाट सुरक्षित कसरी गरे भन्नेबारे नेपाल सरकारले सिक्नु आवश्यक छ ।
कोभिड सङ्क्रमितलाई कस्तो पीडा हुन सक्ला ?
अनुसन्धानकर्ताहरूले कोभिडको भाइरस २८ दिनसम्म सतहमा जीवित रहने पत्ता लगाएको खबर छ । कतिपय विज्ञले यसलाई अनावश्यक त्रास पनि बताए । कोभिड सङ्क्रमण धेरैका लागि सामान्य भएपनि केहीका लागि दीर्घरोग भएको छ । दीर्घ कोभिडका बिरामीलाई अलिकति हिँडेपछि थकान हुने, स्वास फेर्न गाह्रो हुने, सुख्खा खोकी लाग्ने, जोर्नी र मांसपेशी दुख्ने, सुन्न र देख्न समस्या हुने, टाउको दुख्ने, सुँघ्ने र स्वाद क्षमतामा कमी आउने, मुटु, फोक्सो, मिर्गौला र पेटमा समस्या आउने, डिपे्रसन, चिन्ता र स्पष्टरूपमा सोच्न नसक्ने आदि समस्या हुने विज्ञहरूको मत छ ।
इटालीको रोम अस्पतालमा उपचार गराएका १४३ बिरामीमध्ये ८७ प्रतिशतमा करिब दुई महिनासम्म थकानको महसुस भएको अनुसन्धानले देखाएको छ । बेलायतमा ४० लाख मानिसले प्रयोग गर्ने कोभिड सिम्प्टम ट्रयाकर एपले ३० दिनपछि पनि २१ प्रतिशत कोभिड बिरामीमा लक्षण देखिएको उल्लेख छ । सो खबरमा दुई प्रतिशतमा ९० दिनसम्म पनि दीर्घ कोभिड लक्षण देखिएको खबर छ । डब्लिनमा गरिएको एक अध्ययनअनुसार कोभिड सङ्क्रमण भएकालाई १० सातासम्म थकान भएको थियो र एकतिहाइ मानिस काममा फर्कन असमर्थ भए ।
विज्ञहरूका अनुसार लामो समयसम्म पखाला भए पेटमा भाइरस हुनेछ, सँुघ्ने शक्ति कमजोर भइरहे नसामा भाइरस हुनेछ । केही विज्ञहरूले कोभिड सङ्क्रमितको शरीरको प्रतिरक्षा प्रणाली पहिलेकै अवस्थामा नफर्किने पनि बताए । गतवर्षको अन्त्यतिरमात्र कोभिड भाइरस सार्वजनिक भएको हुँदा एक विज्ञले दीर्घ कोभिड एक वर्षसम्म पनि हुनसक्ने बताए । अत्यधिक थकान महसुस हुनेहरूलाई भविष्यमा सङ्क्रमण प्रवल हुने पनि मत छ । विश्व स्वास्थ्य सङ्गठनले कोभिडका कारण शरीरमा व्यापक असर पर्ने भएकोले निकै कम उमेरमा मुटुसम्बन्धी समस्या हुने चेतावनी दिएको छ । यो गम्भीर स्थिति अध्ययन गर्दा अमेरिकी राष्ट्रपति ट्रम्पले गत वर्षको सेप्टेम्बरमै हवाई टापुमा देखिएको कोभिडलाई लुकाएको विश्वलाई नै घात साबित भयो । गतवर्षको अक्टोबरको मध्यमा अमेरिकीले नै चीनमा पैmलाएको र चीनले डिसेम्बरको अन्त्यतिर पहिचान गरेपछि विश्वका जनता यो भाइसरबाट सतर्क भएका हुन् ।
कोभिड सङ्क्रमणको बेला सरकारले जनताको मानसिक स्वास्थ्यलाई ध्यान दिनु जरुरी छ । यतिबेला ध्वनि, धुवाँ, रसायन प्रदूषण फाल्ने उद्योगहरू बस्तीभन्दा निकै टाढा लानु आवश्यक छ । चाडपर्व र संस्कारलाई भीडभाडमा होइन घरभित्रै सिमित गर्नु आवश्यक छ । जनस्वास्थ्य प्रथम अनिमात्र अर्थतन्त्र नीति लागु हुनुपर्छ । सरकार कर्पोरेटहरूको पदचिन्हमा हिँड्नुहुँदैन । आधारभूत क्षेत्र कृषिलगायत खुला गरी मानिस आउजाउ हुने अन्य क्षेत्र बन्द गर्नु आवश्यक छ । तत्काललाई कोभिडबाट बच्ने उत्तम उपाय यही हो ।
२०७७ असोज २६
Leave a Reply