भर्खरै :

संरा अमेरिका ‘बन्दुक’ र ‘ईश्वरको बरदान’ हो – नोम चोम्स्की

अमेरिकी समाजशास्त्री एवम् चिन्तक नोम चोम्स्कीले भनेका छन्, “अमेरिकाको लोकतान्त्रिक रूप शक्तिशाली मिडियाले बनाइदिएको हो भने सार फेरि पनि टु जी अर्थात् ‘गन’ र ‘गड’ ले नै बनाइदिएको हो । ट्रम्प त्यही सिक्काको मोहरा हुन् ।”
केही महिना अगाडि जर्ज फ्लोयड्को हत्या काण्डको विरोधमा अमेरिकी जनताले ‘ह्वाइट हाउस’ अर्थात् राष्ट्रपति भवन घेर्दै गर्दा राष्ट्रपति ट्रम्प राष्ट्रपति भवनको सुरक्षा कोठामा लुकेको एक चित्र छापिएको थियो – व्यङ्ग्यको रूपमा ! तर, जनताको आन्दोलन उर्लिएको देख्दा प्रहरी अधिकारीहरू समेत भन्दै थिए, “ट्रम्पले अहिले बोल्ने होइन, साम्य नपार्ने हो भने चुप लाग्नु बढी राम्रो हुनेछ ।”
अर्काे दिन ट्रम्प बाइबल हातमा लिएर तस्वीर खिचाउँदै थिए, ‘जिसस क्राइस्ट’ ले सबैको रक्षा गरून्’ भन्दै ।
तर, संसारका हरेक भौतिक वस्तु परिवर्तनशील भएजस्तै ईश्वरप्रतिको विश्वास पनि परिवर्तन हुँदै जाने रहेछ !
इटालीका फासीवादी नेता मुसोलिनीले झन्डै एक लाख अर्ध सैनिक युवाहरूलाई रोममा पैदल यात्रा गराउँदै शक्ति प्रदर्शन गर्दा क्याथोलिक चर्चका धर्मगुरुले मुसोलिनीलाई ‘विजय’ को ‘आशीर्वाद’ दिएका थिए । तर, सारा देश र जनताले ठूलो दुःख पाएपछि चर्चको त्यो विजयको ‘आशीर्वाद’ पनि सदा रहेन ।
अन्याय र अत्याचारको विरोधमा जनता उठेपछि मुसोलिनी, हिटलर र जापानका प्रधानमन्त्री तोजोको लास सडकमा देखियो, दोस्रो विश्वयुद्धले विराम लियो ।
असोजको तेस्रो हप्तामा ट्रम्पका परराष्ट्र सचिव पोम्पेओले चीनमा मानव अधिकार उल्लङ्घन भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि क्याथोलिक इसाइका सबैभन्दा ठूला धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेट्न अस्वीकार गरे । भ्याटिकन सिटीमा बस्ने पोपका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, “चुनावको बेला पोप कुनै नेतासँग घेटघाट गर्दैनन् ।” (नेपाल समाचारपत्र, १६ असोज २०७७) ।
कोरोना, ट्रम्प र डा. फाउसी
केही दिन अगाडि अमेरिकी राष्ट्रपति ट्रम्प पनि कोरोना भाइरसबाट सङ्क्रमित भए र तत्काल अमेरिकी सैन्य अस्पतालमा दाखिल भए । २–३ दिनपछि ट्रम्पले आफूले कोरोनामाथि विजय पाएको बताए र भने, “डराउनुपर्ने कुनै कुरा छैन ।” तर, २–४ चोटी ट्रम्पले मुखमा मास्क लाउन नपर्ने, सामाजिक दुरी पनि चाहिँदैन भन्ने जस्ता अभिव्यक्ति दिएका थिए ।
यसबारे अमेरिकी वरिष्ठ भाइरस विशेषज्ञ डा. एन्थोनी फाउसीले गत महिना राष्ट्रपति भवन ह्वाइट हाउसमा आयोजना गरिएको भेटघाट कार्यक्रमको आलोचना गरेका छन् । सो घटनालाई कोभिड–१९ फैलिनुसँग जोडेर हेरिएको छ । ह्वाइट हाउसको कोरोना भाइरस कार्यदलका सदस्यसमेत रहेका फाउसीले राष्ट्रपति ट्रम्पको आफ्नो उम्मेदवारी घोषणा गर्न आयोजित जमघट नै कोरोना सङ्क्रमण तीव्र हुनुको प्रमुख कारण भएको दाबी गरेका छन् । त्यसपछि ह्वाइट हाउसका दर्जनौँ कर्मचारीलगायत अन्य थुप्रै कोरोना सङ्क्रमणको सिकार भएका थिए (नेपाल समाचारपत्र, २५ असोज २०७७) । यसकारण, नेपालमा उद्योग–वाणिज्य सङ्घले आत्म दाह गर्ने धम्की दिँदैमा ‘लकडाउन’ हटाउनु अक्षम्य भएको प्रस्ट छ । हाम्रो देशको परिवेश हेरौँ, केही व्यापारीको हाहामा लागेर लाखौँ जनताको ज्यान जानबाट रोकौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *