भर्खरै :

ट्रम्प पनि ‘ट्रम्प भाइरस’ सङ्‍क्रमित !

अन्ततः संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना भाइरस सङ्‍क्रमण भयो । शुक्रबार सङ्‍क्रमण  भएको खबर सुनियो, शनिबार लक्षण देखिएकोले अस्पताल भर्ना भएको समाचार प्रसारण भयो । ७४ वर्षका ट्रम्प वृद्ध भएकाले भोलिका दिनमा आईसीयूमा पुर्‍याइएको र भेन्टिलेटरमा राखिएको समाचार नआउला भन्न सकिन्न !
कोरोनाको विश्वव्यापी महामारीमा कुनै पनि देशका कसैलाई कोरोना सङ्‍क्रमण नहोस्– सबैको अपेक्षा यही हो । तर, विश्वमा केही यस्ता व्यक्ति पनि छन् जसलाई कोरोना सङ्‍क्रमण भए यसको जटिलता र गम्भीरता बुझ्ने थिए भन्ने धेरैलाई लागेको थियो । त्यस्ता व्यक्तिमा एक प्रमुख व्यक्ति डोनाल्ड ट्रम्प नै हुन् ।
कोरोना केही होइन, मास्क पनि लगाउनु पर्दैन, औलोको औषधीले यो च्वाट्टै हुन्छ भनेर उनले सबैलाई मूर्ख बनाउन खोजेका थिए । लकडाउन पनि नगरी कोरोनालाई ‘रातो कार्पेट’ बिछ्याएर लाखौँ अमेरिकीलाई ‘यमराज’को सिकार हुन मार्ग प्रशस्त गरेका थिए । संरा अमेरिकामा गत वर्षको सेप्टेम्बर अर्थात् चीनमा भन्दा एक महिना पहिले फैलिएको कोरोना सङ्‍क्रमण अहिले विश्वव्यापी महामारी बनेको छ । महामारीमा धेरै देशले नियन्त्रण र रोकथाममा सफलता प्राप्त गरेपनि संरा अमेरिका, भारतजस्ता केही देश असफल भएको स्पष्टै देखिएको छ । तर, ट्रम्पको नाफामुखी चिन्तन, जनस्वास्थ्यप्रति हदैको अपराधको कारण विश्वमा ‘हट–स्पट’ संरा अमेरिका नं. १ बनेको बन्यै छ भने भारत माथि उक्लँदै दुई नम्बरमा पुगेको छ । आज अमेरिकाका राष्ट्रपति त सङ्‍क्रमित भए भने भोलि भारतका प्रम मोदी पनि सङ्‍क्रमित भएको समाचार आउँदैन भनी कसले प्रत्याभूति दिनसक्छ ?
नेपालमा एउटा उखान प्रचलित छ – पाप धुरीबाट कराउँछ । ‘अमेरिकी भाइरस’ अर्थात् ‘ट्रम्प भाइरस’ लाई ट्रम्पले ‘चिनियाँ भाइरस’ र ‘उहान भाइरस’ भनेर निकै हल्ला गरेका थिए । ‘जो चोर उसैको ठूलो स्वर’ भन्नेझैँ एक नम्बरका फटाहा ट्रम्पले गोएबल्सको ‘झूटो कुरा सयपटक दोहोर्‍याए साँचो हुन्छ’ भन्ने नीतिलाई सफल बनाउन खोजेका थिए । तर, अमेरिकीहरूले नै त्यसलाई असफल बनाइदिएर कोरोना भाइरसलाई ‘ट्रम्प भाइरस’ भएको पुष्टि गरे । आज भाइरसबाट ट्रम्प स्वयम् सङ्‍क्रमित भएका छन् । यसैलाई ‘आगोसँग खेल्ने आगोमै डढ्छ, पानीसँग खेल्ने पानीमै  डुब्छ’ भन्दा अतिशयोक्ति हुँदैन ।
ट्रम्पका चेला बन्दै गएका नेपालको सत्ताधारी पार्टीका अध्यक्षद्वयले पनि नेपाललाई अमेरिकाकै नियति भोग्न बाध्य पारिरहेका छन् । काठमाडौँ उपत्यकाको घनाबस्ती आज देशकै ‘हटस्पट’ बनिरहेको छ । तर, नियन्त्रण र रोकथामको लागि ठोस र उपयुक्त समाधान खोज्नेतिर ध्यान दिनुभन्दा सरकार कुर्सीको ‘कुकुर झगडा’ गरेर उपत्यकावासीलाई ‘यमराजको शरण’मा जान बाध्य पारिरहेको छ । जनताको बेहालमा यिनीहरूको ‘बाँसुरी बजाइ’ बाट ट्रम्पप्रति अमेरिकी जनताको जस्तै हाम्रो पनि रिसको पारो चढ्दो छ । सरकार ‘बेसार पानी’ जस्ता कुरा गरेर नेपाली जनताको जीवनप्रति खेलबाड गरिरहेको छ । तर, खुसी भनौँ वा विडम्बना केपी ओली र पुष्पकमल दाहालको पीसीआर परीक्षण नेगेटिभ आएको छ ! उनीहरूको पोजिटिभ आएको भए कोरोना सङ्‍क्रमणको पीडा अनुभव गर्ने थिए र सायद हलुका गफ गरेर कोरोनासँग ठट्टा गर्न हुँदैन भन्ने बुझ्ने थिए कि ?! संसारमा यस्ता धेरै मान्छे छन् जसलाई ठेस नलागी चेत आउँदैन । ट्रम्प चेतिँदै होलान्, सत्ताधारी पार्टीका अध्यक्षहरू, मोदीलगायतको कहिले चेत आउने हो – अज्ञात छ !
कोरोनाबाट तपाईँ हामी जोकोही सङ्‍क्रमित हुनसक्छौँ । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदा अपनाउँदै सङ्‍क्रमित भएमा कसको के लाग्छ ? तर, अमेरिका, भारत, नेपालजस्ता केही देशका सरकारहरूले कोरोनालाई जानाजानी फैलन दिएका छन् । यस्तोमा ती सरकार प्रमुखहरू सङ्‍क्रमित हुँदा सहानुभूति व्यक्त गर्न पनि दश पटक सोच्न बाध्य पारेको छ । ‘खुच्चिङ’ भनौँ अमानवीय र अविवेकी होइन्छ, बडो अन्योल छ !
अस्पतालको खाटमा सुतिरहेका ट्रम्पलाई कोरोनासँग ख्यालठट्टा गर्दाको चेत कति आयो होला ? सम्भवतः सर्वत्र जिज्ञासा भएको होला ! तर, हाम्रो सरकार, मोदी जस्तालाई कोरोनाले त्यो मौका पनि दिएको छैन ! पीडित जनताको निम्ति सौभाग्य हो कि दुर्भाग्य ? चिन्तनको जिम्मा पाठकलाई …. ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *