भर्खरै :

निडर र इमानदार किसान कार्यकर्ता श्रीप्रसाद प्रजापति

अगुवा किसान कार्यकर्ता श्रीप्रसाद प्रजापतिको जन्म पिता पूर्णकुमार प्रजापति (पुन्क्वार) र माता केशरी प्रजापतिको कोखबाट वि.सं. २००३ चैत १९ गते भक्तपुर नगरपालिका वडा नं. ४ बोलाछेँ तालाक्व टोलमा भएको थियो ।
किसान आन्दोलनमा प्रत्यक्ष र परोक्षरूपमा सहभागी हुने क्रममा उहाँ वि.सं. २०२८ साल माघ महिनामा हरिभक्त कुसाथाको उपस्थितिमा भएको किसान भेलाबाट क्रान्तिकारी किसान सङ्घ प्रारम्भिक समितिको संस्थापक उपाध्यक्ष चुनिनुभयो, सो समितिको अध्यक्ष ललितबहादुर प्रजापति हुनुहुन्थ्यो ।
शारदा रात्री स्कूलमा कक्षा १० सम्मको औपचारिक अध्ययन गर्नुभएका श्रीप्रसाद प्रजापति शारीरिकरूपमा दुब्लो–पातलो भए पनि शत्रुको अगाडि कहिल्यै नझुक्ने एक निडर किसान कार्यकर्ता हुनुहुन्थ्यो । किसान नेताहरू बुद्धिकुमार गोसाई र ज्ञानबहादुर न्याईच्याईबाट प्रशिक्षित उहाँ बाली काट्ने आन्दोलनमा सक्रिय रहनुभयो । राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयमा भएका आन्दोलन, जुलुस प्रदर्शन, आमसभा र पर्चा वितरणजस्ता पार्टीका गतिविधिमा उहाँ सरिक हुनुहुन्थ्यो । वि.सं. २०३५ सालमा उहाँले नेपाल मजदुर किसान सङ्गठन (पार्टी) को तात्कालीन भक्तपुर नगर वडा नं. १४ को इन्चार्ज भएर स्थानीय पार्टी गतिविधिको नेतृत्व गर्नुभयो । समस्यासँग जतिसुकै जुझ्नु परे पनि उहाँले कहिल्यै हिम्मत हार्नुभएन । उहाँ भन्नुहुन्थ्यो, “निःस्वास्र्थी निडर हुन्छ । हामीले गल्ति गरेका छैनौँ भने किन डराउने ? आखिर जीत सत्यकै हुन्छ, जनताकै हुन्छ ।”
२०३५÷३६ सालतिर उहाँलाई क्षयरोग लाग्यो । उहाँले घरमा काम गर्न सक्नुभएन । घरको आर्थिक अवस्था त्यति राम्रो नभएकोले उहाँको बुबाले पुख्र्यौली माटोको भाँडो बनाउने काम गरेर जेनतेन घरव्यवहार चलाउनुपर्ने अवस्था आयो । उहाँको घरको आर्थिक समस्या बढ्दै गयो । छोराछोरी सानै थिए, श्रीमती पनि आँखाको समस्याबाट पीडित हुनुहुन्थ्यो । पैसाकै समस्याले उहाँको उपचार हुनसकेको थिएन । अन्ततः उहाँ दृष्टिविहीन हुनुभयो । परिस्थिति उहाँको लागि एक किसिमको परीक्षा नै जस्तो थियो तर उहाँ रत्तिभर बिचलित हुनुभएन । किसान समितिका साथीहरूको मद्दत एवम् सहयोगबाट उहाँलाई थोरै राहत भएको थियो ।
उहाँ निडर र इमानदार कार्यकर्तामात्र होइन राजनैतिक र सैद्धान्तिक सुझबुझ भएका स्पष्ट वक्ता पनि हुनुहुन्थ्यो । आफ्नो लक्ष्यप्रति निष्ठावान र आशावादी हुनुहुन्थ्यो । राजनीतिक कारणले वर्गशत्रुहरूबाट पटक–पटक हमला हुँदा पनि उहाँ अलिकति पनि बिचलित हुनुभएन । उहाँ भन्नुहुन्थ्यो, “वर्गीय लडाइँ यहीँ सकिने छैन, तिमीहरूलाई हामीले नसके हाम्रा छोराछोरीले बदला लिनेछन् ।” उहाँ सहयोगी पनि हुनुहुन्थ्यो । आफ्नो क्षमताभन्दा ठूलो समस्यामा अगुवा किसान नेताहरू बुद्धिकुमार गोसाई र ज्ञानबहादुर न्याईच्याईसम्म पु¥याएर किसानको समस्यामा उहाँ सहजीकरण गर्नुहुन्थ्यो ।
२०३५÷३६ सालको आन्दोलनको दबाबबाट २०३६ साल जेठ १० गते जनमतसङ्ग्रह घोषणा गर्न तत्कालीन सरकार बाध्य भयो । जनमतसङ्ग्रहमा उहाँ बहुदलको पक्षमा प्रचारप्रसारमा लाग्नुभयो ।
किसान आन्दोलनमा उहाँको उल्लेखनीय योगदान छ । २०२८ सालमा तालाक्वमा स्थापना भएको किसान समितिको प्रभाव भक्तपुर नगरपालिका (साविक १४ वडा) मा मात्र नभई साविक ११, १२, १३, १४ र १५ वडामा पनि रह्यो ।
उहाँ सामाजिक गतिविधिमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँ एकीकृत हाकुज्या प्रजापति समाजको संस्थापक उपाध्यक्ष भएर सक्रिय हुनुभयो । उहाँ ज्याथा गणेश दाफा भजनमा पनि सक्रिय हुनुहुन्थ्यो । उहाँका १ श्रीमती, ३ छोरा र ३ छोरी हुनुहुन्छ ।
यसरी देश र जनताको सेवा तथा सङ्गठनको काममा लाग्ने श्रीप्रसाद प्रजापतिको कार्तिक ४ गते असामयिक निधन भयो । उहाँको निधन भए पनि उहाँका अनुकरणीय योगदानहरू सम्झँदै अपुरा लक्ष्य पूरा गर्न नयाँ पुस्ता अग्रसर हुनुपर्ने देखिन्छ । मृतक प्रजापतिप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *