भर्खरै :

महामारीले चरम गरिबीमा बाँच्ने बालबालिका बढ्दो

काठमाडौँ । कोभिड–१९ महामारी सुरू हुनुअघि संसारभर ६ जना बालबालिकामध्ये एक जना चरम गरिबीमा रहेको र महामारी यता परिस्थिति अझ खराब भएको विश्व बैङ्क र संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) ले बताएको छ ।
सब–सहारन अफ्रिकी क्षेत्रमा दुईतिहाइ केटाकेटी एक दिनमा औसत १.९० अमेरिकी डलरमा मुस्किलले जीविकोपार्जन चलाइरहेका परिवारमा बस्दै आएको उनीहरूले बताएका छन् । औसत १.९० भन्दा न्यून अमेरिकी डलरमा बाँच्ने परिवारलाई अन्तर्राष्ट्रियरूपमा चरम गरिबी मान्दै आएको छ । दक्षिण एसियामा चरम गरिबीमा बाँच्ने बालबालिकाको सङ्ख्या १८ प्रतिशत भएको तथ्याङ्कले देखाएको छ ।
सन् २०१३ देखि २०१७ को बीचमा संसारमा चरम गरिबीमा बाँचिरहेका बालबालिकाको सङ्ख्या संसारभर केही घटेको थियो । तथापि, युनिसेफ र विश्व बैङ्कले त्यो सुधारलाई कुनै प्रगति मान्न नसकिने र पछिल्ला वर्षमा प्रगति निकै धिमा गतिमा अघि बढिरहेको बताएको छ । कोभिड–१९ महामारीपछि अवस्था अझ खस्केको र त्यसको आर्थिक प्रभाव अझ गहिरो हुने बताइएको छ ।
विश्व बैङ्क र युनिसेफको विश्लेषणअनुसार संसारको कुल जनसङ्ख्यामा बालबालिकाको हिस्सा एकतिहाइ भएको र तीमध्ये आधा बालबालिका चरम गरिबीमा बाँच्न बाध्य छन् ।
सामान्यतः १८ वर्षभन्दा मुनिका मानिसलाई बालबालिकाको रूपमा व्याख्या गरिन्छ । सन् २०१७ को वयस्कको तुलनामा चरम गरिबीमा बाँचिरहेका बालबालिकाको सङ्ख्या दोब्बर थियो । त्यत्तिबेला १७.५ प्रतिशत बालबालिका र ७.९ प्रतिशत वयस्कहरू चरम गरिबीको रेखामुनि थिए । विकासशील देशका ५ वर्षमुनिका २० प्रतिशत बालबालिका चरम गरिबीको रेखामुनिको परिवारमा हुर्किरहेका छन् । सन् २०२० को वसन्तमा १४९ देशमा सर्वेक्षण गरी ग्लोबल मोनिटरिङ डाटाबेसले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
महामारीको कारण अवस्था सन् २०१७ को तुलनामा अझ खस्केको सहज अनुमान गरिएको छ ।
द्वन्द्वग्रस्त र कमजोर देशमा बाल गरिबी बढी भएको देखिएको छ । ती देशहरूमा ४० प्रतिशत परिवार चरम गरिबीको रेखामुनि रहेका परिवारमा हुर्किरहेका छन् । अरू देशमा त्यस्ता बालबालिकाको झन्डै १५ प्रतिशत छन् ।
तथ्याङ्क विश्लेषणमा चरम गरिबीको अवस्थामा बाँचिरहेका बालबालिकामध्ये ७० प्रतिशतभन्दा बढीको परिवारको मूल काम कृषि भएको देखाएको छ ।
चालु कोभिड–१९ सङ्कटले बालबालिका, महिला र बालिकाहरूमा अझ बढी प्रभाव पारेको र अहिलेसम्म लैङ्गीक समानताको क्षेत्रमा हासिल भएका उपलब्धि गुम्ने जोखिम रहेको युनिसेफ र विश्व बैङ्कले जनाएको छ ।
गरिब र कमजोर वर्गमाथिका यस्ता समस्या समाधान गर्न सामाजिक सुरक्षाको भूमिका निकै महत्वपूर्ण हुने उनीहरूले बताएका छन् । धेरै देशहरूले सामाजिक कार्यक्रमका परिधिलाई अझ फराकिलो बनाउन सके तत्काललाई कोभिड–१९ ले निम्त्याएका समस्या र दीर्घकालीनरूपमा समग्र समस्याको समाधान सम्भव हुने बताइएको छ । केही देशले त्यसतर्फ चालेका कदम निकै अल्पकालीन र अपुग भएको उनीहरूको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *