भर्खरै :

इदउल फित्र पर्वका बेला निर्वाचनको मिति घोषणा गर्नु दुःखदः

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) ले मुस्लिम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रअन्तर्गतको अन्तिम शुक्रबार ‘जुमा अल बिदा’को दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका महासचिव ईश्वर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पहिलो चरणको निर्वाचनअघिदेखि नै पार्टीले मुस्लिम समुदायको महान् पर्व इदउल–फित्रको समय पारेर निर्वाचनको मिति तोक्न नहुनेतर्फ सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ ।
संविधानत धर्मनिरपेक्ष राष्ट्रको मूल मर्ममा प्रहार गर्दै एक महिना लामो अवधिसम्म दिनभर निआहार बसी मनाइने पर्वकै समय पारेर जेठ ३१ गते निर्वाचनको मिति तय गरिएको थियो तर अहिले, त्यस मितिलाई अझ पछाडि सार्ने निर्णय गर्दासमेत मुस्लिम धर्मावलम्बीले मतदान गर्नै नसक्ने गरी ‘जुमा अल बिदा’ को दिन रोज्नु झनै खेदजनक विषय हो, विज्ञप्तिमा उल्लेख छ ।
गैर जिम्मेवार र मुस्लिम समुदाय विरोधी तथा सबै मुस्लिम समुदायका मतदातालाई मतदान गर्नबाटै बञ्चित गर्ने सरकारको यस्ता षडयन्त्रमूलक कदमप्रति घोर भत्र्सना गर्दै विज्ञप्तिमा सत्तारुढ दललाई यस्ता विषयमा विशेष संवेदनशीलता प्रदर्शन गर्नसमेत आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *