भर्खरै :

गीत र सङ्गीतले अल्मल्याएका अर्थशास्त्रीको आत्मकथा

गीत, सङ्गीत र साहित्यप्रतिको लगाव
विगत लगभग दश–पन्ध्र वर्षको समयावधिमा सामान्य व्यक्तिदेखि सेलिब्रेटी, राजनीतिज्ञ, प्राध्यापक, अवकाश प्राप्त कर्मचारी, सेना प्रमुखदेखि व्यापारीहरूसमेतको अनुभव र आत्मकथा लेखिने क्रम बढेको छ । त्यसमा आमसरोकारका विषत्न्दा आफ्नै नितान्त व्यक्तिगत र पारिवारिक गनगन, अमुक व्यक्तिहरूप्रति आफ्नो रोष र कुण्ठा पोख्नेदेखि देशका महत्वपूर्ण घटनालाई पनि समेटिएको पाइन्छ । यही मेसोमा आममानिसको नजरमा अर्थशास्त्रीको रूपमा चिनिने विश्वम्भर प्याकुरेलको पनि आत्मकथा ‘आफैँलाई खोज्दा, केही छोपिएका केही उघारिएका’ शीर्षकमा हालसालै प्रकाशित भएको छ । लेखकले आफू २१ दिनसम्म कोमा अवस्थाबाट चामत्कारिकरूपमा नयाँ जीवन पाएपछि आफ्नो दुःख–सुखको कथा एक–एक जनालाई सुनाइ हिँड्न सम्भव नभएकोले आत्मकथा लेख्नुपर्ने प्रेरणा मिलेको चर्चा गरेका छन् ।
नेपालमा आफ्नो पेशा, विषय र व्यवसाय जे भए पनि गीत, सङ्गीत र साहित्यको साधना पनि सँगसँगै गर्नेहरू उत्तिकै भेटिन्छन् । केही अगाडिको पुस्ताको कुरा गर्ने हो भने बीपी कोइराला (राजनीतिज्ञ), तारणीप्रसाद कोइराला (राजनीतिज्ञ), नारायणमान बिजुक्छेँ (राजनीतिज्ञ), डा.राममान तृष्णित (चिकित्सक), डा. भोला रिजाल (चिकित्सक), वसन्त चौधरी (व्यापारी), नारायण आचार्य (पूर्वएसएसपी), डा. तीर्थबहादुर श्रेष्ठ (वनस्पतिशास्त्री), चिकित्सक डा.सरोज धिताल, नयाँ पुस्तामा भीमार्जुन आचार्य (कानुनविद्), महेशविक्रम शाह (एसएसपी), नवराज सिलवाल (एसएसपी) हरू साहित्य, गीत, सङ्गीतका पनि साधकहरू हुन् । अर्थशास्त्री विश्वम्भर प्याकुरेललाई पनि यही कोटीमा राख्दा केही फरक नपर्ला । गीत र सङ्गीतप्रतिको उहाँको लगाव र रुझान कति थियो भन्ने पक्ष यो पुस्तक प्रकाशित हुनुपूर्व नै उहाँको चिनेजानिएकै पक्ष हो भन्दा फरक नपर्ला । यदाकदा विभिन्न पत्रपत्रिकामा छापिने उहाँका लेखले उहाँ स्वरसम्राट नारायण गोपालको निकटको मित्र भन्ने जानकारी पाउँछौँ हामीजस्ता पाठकले । तर, यस आत्मकथाले लेखकको जीवनको त्यस पाटोलाई अझ छर्ल· पारेको त छँदै छ । यसबाहेक स्वरसम्राट नारायण गोपालबारे हामी सामान्य पाठकलाई अन्य धेरै जानकारी पस्केको छ । कलेजको वातावरणले आफू गीत र सङ्गीततिर आकर्षण भएको र ३४÷३५ सालसम्ममा नेपाली आधुनिक सङ्गीतको शिखरमा पुगिसकेका नारायण गोपाल, गोपाल योञ्जन, हरिभक्त कटुवाल तथा उदीयमान कलाकारहरू शम्भुजित बास्कोटा (जो लेखकका विद्यालयका विद्यार्थी हुन्), दीपक खरेल, दीप श्रेष्ठहरूसँग निकै हिमचिम भइसकेको थियो । पुस्तकका २३ अध्यायहरूमा धेरै अध्यायमा उनले गीत सङ्गीतमा आफ्नो संलग्नताको चर्चा गरेका छन् । एक–एक अध्याय त हरिभक्त कटुवाल, गोपाल योञ्जन र नारायण गोपालकै चर्चाको लागि छुट्याइएको छ ।

आफ्नो गल्ती र कमजोरीको स्वीकारोक्ति
लेखक प्याकुरेलले आफू र आफ्ना जीवनका भोगाइहरूबारेमा केही धक नमानी धेरै तीतामीठा कुराहरूको स्वीकारोक्ति पनि गरेका छन् जसलाई आत्मकथाको सबल पक्ष मान्नुपर्छ । आफू कुनै सेलीब्रेटी नभएको, जीवनका धेरै मोडहरूमा दुःख पाएका क्षण र अपहेलित हुनुपरेका पलहरू, केटाकेटीमा आफ्नो जन्मघर बर्दियाको गुलरियाबाट काठमाडौँमा पढ्न आउँदा काका योगनाथ प्याकुरेलको प्रायोजनमा पढ्दै हुर्किँदाका भोगाइहरूलाई सविस्तार प्रस्तुत गरेका छन् । साथै, स्कूले जीवनका उतारचढाव, किशोरावस्थाको विपरित लिङ्गप्रतिको आकर्षणदेखि कलेजको अध्ययन र प्राध्यापक हुँदासम्मका घटनाहरूको पनि बेलिविस्तार लेखकले गर्न भ्याएका छन् । यी सबै घटनाहरू पाठकको लागि रुचिकर नहुँदा नहँुदै पनि लेखकले त्यसबेलाको काठमाडौँको संस्कृति र जनजीवनका बारेमा थोरै भए पनि आफ्नो सम्झनालाई केही प्रस·मा पुनरावृत्ति गर्दा पाठकहरूलाई त्यतिबेलाको काठमाडौँको झझल्को दिन पुस्तक सफल देखिन्छ । भनिन्छ, धेरै लेखकहरू आफ्ना कमी कमजोरी लुकाउँछन् र आफूले गरेका एकाध राम्रा कामलाई आकाशै छुने गरी बयान गछ्र्रन् । पुरै आत्मकथामा आफैँलाई हिरो बनाएर घटनाहरू आफ्नै वरिपरि घुमाउँछन् । यो कमजोरीबाट पुस्तक टाढै देखिन्छ र आफूले गरेका विगतका केही त्यस्ता कमजोरीबाट नयाँ पुस्तालाई शिक्षा दिने उद्देश्यले लेखकले त्यस्तोे प्रसङ्गहरूको उल्लेख गर्नुलाई सकारात्मकरूपमा लिनुपर्छ । उदाहरणको लागि, अमेरिका पढ्न जानको लागि आवश्यक खर्च जुटाउन दौडधुप गर्दै गरेका लेखकले आफ्नो ९० सीसीको जापानी मोटरसाइकल पनि बिक्री गर्ने क्रममा पाएको पैसा बेलुकी साथीभाइसँग रमझम गरेको सुरमा सीधै सोल्टीको क्यासिनोमा हानिएर आधा पैसा त्यही झ्वाम पारेको घटनाप्रति लेखकले आफ्नो हदैको अपरिपक्वता भनी पछुतो गरेका छन् । यस घटनाबाट लेखकले आफूले सिकेको पाठलाई यसरी उल्लेख गरेका छन् ,“जवान भएर र डिग्री लिएरमात्र राज्य सञ्चालन सम्भव हँुदैन । सफल नेतृत्व, ज्ञान, साधना, कला, प्रतिबद्धता, इमानदारी र हिम्मत भएको एकजना साधारण व्यक्ति त्यसबेला सफल हुनसक्छ, जब ऊ आफ्नो व्यावसायिक यात्रामा सुरुदेखि नै आफ्नो उद्देश्यमा सचेत, परिश्रमी र अनुशासित हुन्छ ।” (पृष्ठ ९५)
राजनैतिक पार्टीमा युवा नेतृत्वको बहस भइरहेको वर्तमान अवस्थामा यो प्रसङ्ग सान्दर्भिक देखिन्छ । आफ्ना कमजोरी र गल्तीप्रति स्वीकारोक्ति गर्ने क्रममा लेखकले आफूले विश्वविद्यालयमा प्राध्यापनको कार्य थालनी गर्दा गम्भीर हुन नसकेको र प्राज्ञिकभन्दा गैरप्राज्ञिक कार्यमा बढी समय बिताएर १० वर्ष अनुत्पादक कार्य गरेर खेर फालेको कुरा लेखकले पछुतो मान्दै पुस्तकको धेरै अध्यायमा चर्चा गरेका छन् । त्यस्तै कमाएको जति साथीभाइसँग रमझम गरेर सिध्याउने आप्mनो बानीले आफैँलाई पटक–पटक धोका भएको चर्चा गर्दै आफू अर्थशास्त्रको विद्यार्थी भन्न आफैँलाई अप्ठेरो लागेको कुरा पनि लेखकले स्वीकारेका छन् ।
विश्वविद्यालयमा राजनीतीकरण
३२-३३ सालतिर नेपालको एउटै मात्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापन गर्न पाउनु भनेको लेखकका अनुसार ‘ठूलो मान, सम्मान र सान’ थियो । विद्यालय तहमा ६-७ वर्षको अध्यापनको अनुभव र अर्थशास्त्रमा स्नात्तकोत्तर गरिसकेपश्चात् विश्वविद्यालयमा अध्यापन गर्न तम्सेका लेखकले १० महिना प्रा.डा. एसके सिंहको अनुरोधमा अनौपचारिकरूपमा अध्यापन गरेर पनि नियुक्ति नपाएपछि घुमाउरो बाटो समात्न बाध्य भए । कलेज जीवनमा काङ्ग्रेसी राजनीतिमा लागेर जेलसमेत परेका लेखक त्यसबेलाका एक हस्ती पशुपति शमशेर राणालाई सेडा (सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एन्ड एड्मिनिस्टे«सन) मा भेट भइरहने नाताले उनीसँग नजिकिन बाध्य भए । आखिरमा एक अनौपचारिक टीम नै बनाएर राणालाई राष्ट्रिय पञ्चायतको चुनावमा सघाई जिताउन सफल भए । त्यसपछि शिक्षामन्त्री भएका राणाको सहयोग र साथमा विश्वविद्यालयमा नियुक्ति पाउन सफल भए । यस घटनाले पञ्चायतकालमा विश्वविद्यालय कति राजनीतीकरण र भनसुनको भरमा चल्थ्यो भन्ने तथ्य उजागर गर्छ ।
सक्षम, योग्य र राम्रा व्यक्तिहरूलाई होइन, हाम्रालाई प्राथमिकतामा राख्ने त्यतिबेलाको संस्कार आजपर्यन्त यथावतै भएको देख्दा राजनैतिक सिस्टम (पद्धति) भन्दा संस्कार कति प्रबल हुन्छ भन्ने प्रस्ट हुन्छ । यसैकारणले होला, विश्वविद्यालय आज पनि प्राज्ञिकभन्दा गैरप्राज्ञिक र राजनैतिक स्वार्थको घेराबन्दीमा छ । यसको असर व्यक्तिको मनोविज्ञानमा पर्नु स्वाभाविक हो । अमेरिकी विश्वविद्यालयबाट आफू दीक्षित भएपश्चात् नेपाल फर्कने सुरसार कस्दा लेखक सोच्छन्, “अब प्राज्ञिक समूहमा इज्जतसम्म राख्न अमेरिकी डिग्री पनि भइहाल्यो । कमसेकम मैले लिएको पेशाले गर्दा नेपाल फर्किएपछि १० वर्षभित्र अवश्य प्राध्यापक भइन्छ । अध्ययन–अनुसन्धानलाई सन्तुलन गर्न सकियो भने अन्तर्राष्ट्रियस्तरमा प्राध्यापकको पदले नै आफ्नो मूल्य पाउँछ ।” (पेज १२०) लेखकको यो सोचाइलाई सामान्यकरण नगरे पनि यस्तो सोचाइलाई त्यत्तिबेलाका प्राध्यापकहरूकोे प्रतिनिधि सोच भन्न सकिन्छ । यसले त्यत्तिबेला प्राध्यापनमा लागेका व्यक्तित्वहरू किन यस्तो आत्मकेन्द्रित र व्यक्तिवादी सोचमा रहन्थे ? ज्ञान कति प्रमाणपत्रमुखी रहेछ ¤ त्यस्तो दुःख–कष्ट भोगेर, तल्लोस्तरको काम गरेर विदेशमा पढाइ गरेर प्राप्त गरेको शिक्षा के नेपालको प्राज्ञिक समूहमा इज्जतसम्म राख्नको लागि रहेछ ? विदेशी विश्वविद्यालयको स्तर र हाम्रोमा के अन्तर भयो ? हाम्रामा के कस्तो कमजोरी रह्यो, यसलाई कसरी सुधार्न सकिन्छ भनेर उहाँहरूले चिन्तन गर्नुपर्ने होइन र ? लेखकको उक्त सोचाइलाई मनन गर्दा यस्ता धेरै प्रश्नहरू मन मष्तिकमा उब्जिन्छन् ।
देशका लागि बुद्धिजीवी र प्राध्यापकहरूको योगदान
नेपालका धेरै बुद्धिजीवी, प्राध्यापक तथा अनुसन्धाताको योगदान नेपालको विकास, नीति निर्माण, सार्वजनिक सरोकारका विषयमा हस्तक्षेप वा दबाब सिर्जना र चासो राख्ने कार्यमा तथा राजनीतिमा खासै योगदान देखिंदैन । आफ्नो पार्टीइतरका बुद्धिजीवी, विज्ञ वा दक्ष व्यक्तित्वहरूको खोजी–खोजी जिम्मेवारी सुम्पने संस्कार नहुनु एउटा कारण हुनसक्छ । अर्को भनेको उनीहरूको संलग्नता गैरसरकारी (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ–संस्थामा (आइएनजीओ) तथा विदेशी कम्पनीको लागि परामर्शदाता
(कन्सलट्यान्ट) भएर काम गर्ने–गराउने परम्परा पनि हो । लेखक प्याकुरेलले विभिन्न अध्यायमा चर्चा गरेका तथ्यहरूले पनि यस तथ्यको पुष्टि गर्दछ । सायद यही भएर हुनुपर्छ, अर्थशास्त्रीको रूपमा चिनिने विश्वम्भर प्याकुरेलको आत्मकथाको अन्ततिर २२ औँ अध्यायमा ‘केही प्रस· अर्थतन्त्रका’ मा उनले देशको अर्थतन्त्रबारेमा केही चर्चा गर्न भ्याएका छन् । हुन त यसको स्पष्टीकरण उनले पुस्तकको अन्तमा (पेज २३९) यसरी गरेका छन्, “आफ्नो सात दशक लामो जीवन यात्रामा दुई ओटा सत्य मैले अनुभव गरेको छु । एउटा, मेरो योगदानमा राज्यस्तरबाट हुने स्वीकृति मैले कहिल्यै पाइनँ । दोस्रो, गैरराज्य अर्थात् अन्तर्राष्ट्रिय सद्भाव हासिल गर्ने कुरामा कहिल्यै चुकिनँ । मैले इमानदारीसाथ जुन संस्थामा काम गर्दा अन्तर्राष्ट्रिय स्तरको मापदण्डअनुरूप जिम्मेवार पूरा गरेँ, ती संस्थाबाट म सधैँ पुरस्कृत भएँ । तर, स्वदेशमै गरिएका संस्थागत काममा भने मप्रतिको धारणा सरकारको सधैँ तटस्थ रह्यो ।”
कलेज जीवनमा काङ्ग्रेसी राजनीति गरे पनि लेखकलाई विश्वविद्यालयमा नियुक्ति पाउन पञ्चेमन्त्रीको कृपा चाहिने र २०४६ सालपछि काङ्ग्रेस पटक–पटक सरकारमा गएको बेला पनि उनले त्यस्तो केही जिम्मेवारी नपाउँदाको पनि गुनासा हुनसक्लान् । तर, काग्रेस सरकारले नै उनलाई श्रीलङ्काको राजदूत बनायो । अफसोच ! यो जिम्मेवारी भने उनको लागि सुखद भएन । नेपाल सरकारको मातहतमा रहेका हरेक क्षेत्र भत्ताभु· भएको मानिन्छ । यसरी भत्ताभु· भएका क्षेत्रमध्ये कूटनीति पनि एक हो । हालसालै भारतीय खुफिया सस्था ‘रअ’ का प्रमुखले हाम्रा प्रधानमन्त्रीलाई जसरी कूटनैतिक मर्यादा उल्लङ्घन गरेर भेट गरे त्यसले पनि यसलाई पुष्टि गर्छ । कूटनीतिजस्तो संवेदनशील विषयलाई हचुवा र गैरजिम्मेवारीपूर्ण तरिकाले सम्हाल्ने काम भइरहेको लेखक प्याकुरेलको निष्कर्ष हो । साँच्चिकै लेखकले दिएका विवरण साँचो हो भने विदेशमा रहेका नेपाली राजदूतावासहरू बन्द गर्दा पनि केही फरक नपर्ला । राजदूत र राजदुतावासलाई परराष्ट्र मन्त्रायलको एक शाखा अधिकृतिले सञ्चालन गर्ने, श्रीलड्ढामा अवस्थित राजदूतावासका कर्मचारीहरूको मूल्याड्ढन त्यहाँ राजदूतले होइन काठमाडौँको परराष्ट्र मन्त्रालयले गर्ने, दुई देशबीचको कैयौँ महत्वपूर्ण विषयमा छलफलको लागि परराष्ट्रमा सम्पर्क गर्दा महिनौँ केही जवाफै नआउने जस्ता विवरणले नेपालको कूटनीति क्षेत्रको हविगत यस पुस्तकले प्रस्ट पारेको छ ।
सारमा भन्दा, देशको नीति–निर्माण र अर्थतन्त्रका कुराहरू पुस्तकमा धेरै नभेटिए पनि जति जानकारी लेखकले उपलब्ध गराएका छन्, ती सबै मननयोग्य छन् । लेखकका नितान्त वैयक्तिक कुराहरूबाट उनले गरेका गल्ती र कमी–कमजोरीबाट पनि आजका युवा पुस्ताहरूले सिक्नसक्ने थुप्रै कुराहरू पुस्तकमा भेटिन्छन् । आफू संलग्न विभिन्न घटनाका तस्वीरहरू पुस्तकमा समावेश गरिएको छैन, गरिएको भए राम्रै हुन्थ्यो । भाषाशैली सरल र सहज छ ।
पुस्तकको नाम ः ‘आफैँलाई खोज्दा, केही छोपिएका, कही उघारिएका’
लेखक ः विश्वम्भर प्याकुरेल
प्रकाशक ः फाइनप्रिन्ट बुक्स
मूल्य ः रु. ३९६.००
पृष्ठ ः २४२

One response to “गीत र सङ्गीतले अल्मल्याएका अर्थशास्त्रीको आत्मकथा”

  1. Suresh says:

    So nice Book Summary.

Leave a Reply

Your email address will not be published. Required fields are marked *