शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
टुँडिखेलको देव्रे कुनामा एउटा आकाशे पुल छ । केही दिन भयो, ८० हिउँद नाघेकी एक आमै पछ्यौराको एउटा फेरो फैलाएर पुलको मुखमा भीख मागिरहेकी छिन् । गरिबीजन्य विवशताले कसरी अठ्याउँछ भने मान्छे लाचार भएर नुघ्न पुग्छ र भीख माग्छ । नत्र भीख त जोकोही मागिरहेका हुन्छन् । कसैले भन्छन्, कसैले भन्दैनन् । कसैले स्वीकार्छन्, कसैले स्वीकार्दैनन् ।
मान्छे आफ्नो जीवनको भीखशास्त्र लुकाउन पारङ्गत छ । यसको लागि उसले शब्दकोशमा अनेक शब्द उनेको छ । हाम्रो संविधानले जनतालाई दिने कबुल गरेको ‘अधिकार’ भीख नै त हो । कसैले त्यो भीख दिन्छन्, कसैले दिँदैनन् अथवा कसैले पाउँछन्, कसैले पाउँदैनन् । भनिन्छ, संविधानजनित भीख पाउन भीखप्रापकले सरकारलाई आफ्नो क्रयशक्ति काटेर भीख चढाउनुपर्छ । टुँडिखेलमा हात पसारिरहेकी ती आमालाई संविधानले बाँच्न पाउने अधिकार दिएको छ । तर, उनी त्यो अधिकार पाउन लायक छैनन् वा अधिकार दिने सरकार उनलाई त्यो अधिकार दिन नालायक छ । जेहोस्, सरकारको नालायकीबीच ती आमा भीख मागिरहेकी छिन् अथवा माग्न बाध्य छिन् किनभने मान्छे आफू भिकारी हुँ भनी झट्टै झुक्ने प्राणी होइन । गरिबी लाजलाग्दो विषय मानिन्छ । भीख पनि त्यस्तै हुन्छ ।
भीखशास्त्रबाट यो देशमा कोही अछुतो छैन । टुँडिखेलमा भीख मागिरहेकी आमाभन्दा दुई पाइला वरबाट आकाशे पुल सुरु हुन्छ । आजभोलि आकाशे पुलको घुम्तीमा एक जमात मान्छे रोज अडिरहेकै हुन्छन् । बेरोजगारीको महामारीबीच काठमाडाँै फुर्सदिला युवायुवतीहरू जम्मा पार्न सफल भएको छ । ती युवायुवतीलाई संविधानले रोजगारीको अधिकार दिएको छ । तर, सरकार नालायक भएपछि ‘अधिकार’ आफ्नो असलीरूपमा ओर्लिन बाध्य हुन्छ । सरकार रोजगारीको भीख दिन सकिरहेको छैन वा भीख दिन नालायक छ । जस्तो आकाशे पुल मुन्तिर बसिरहेकी आमाको पछ्यौरीमा कसैले पाँच दस रूपैयाँ हालिदिन्छन्, कोही हेर्दा पनि नहेरी बाटो लाग्छन् । उनीहरूलाई आफ्नै जीवनको भीख माग्दामाग्दै अरूलाई भीख दिने फुर्सद हुन्न वा ल्याकत हुन्न । बाटो हिँड्ने दोस्रोथरी बटुवाको हाल सरकारको छ ।
केही दिनअघि नेपालभरि हलचल ल्याउँदै एक ठूलो शरीरका तिरङ्गा महानुभाव त्रिभुवन विमानस्थलमा प्रकट भए । उनीसँग एक खुफिया टोली थियो । यो देशमा भीख दिनसक्ने ल्याकतका यसप्रकारका टोली बारम्बार आइरहन्छन् । कोही खुलेर आउँछन्, कोही खुफिया तवरले आउँछन् । भीखमै अडिएका खबरकागतहरू कुनैको आगमनमा बोल्छन्, कुनैकोमा बोल्दैनन् । ती खुफिया टोलीनायकले सरकार–नायकलाई भेट्छन् । अबेर रातसम्म सरकार–नायकको आयु लम्ब्याउने तथास्तुरूपी भीख दिएर खुफिया टोली फर्किन्छ । भीख माग्ने लाममा सरकार–नायकमात्र नभई धेरै राजनायकहरू पनि रहेछन् । भीखदाता केवल दुई दिन निकालेर निस्केकोले सबैलाई खुफिया भीख दिन भ्याउँदैनन् । यसउसले केही भीआईपी भिकारीहरूको मनमा खसखस हुन्छ ।
टुँडिखेलरूपी राजमञ्चमा केही दिनपछि अजीव दृश्यको छायाङ्कन हुँदैछ । त्यसको लागि अलि अगाडिदेखि राजमञ्चमा राजश्री तयारी हुँदै छ । सेनाका भीआइपीहरू चिल्ला कारमा सुरक्षादल र बलसहित भेला भइरहेका छन् । मैदानमा पैदल सिपाहीहरू लामबद्ध कवाजको तयारी गरिरहेका छन् । रिसल्लाहरू घोडालाई यता र उता दौडाइरहेका छन् । सङ्गीत टोलीले बाजागाजालाई दुई देशका राष्ट्रिय धुनमा रताउने कोसिस गरिरहेको छ । मञ्चमा राजकीय आभूषणमा ठाँटिएका जर्साब र कर्साबको चहलपहल छ । कोरोना भाइरसले संसारलाई व्याकुल तुल्याइरहेको बेला सरकार महोत्सवको तयारी गर्दै छ । मानौँ, कोरोनाले टुँडिखेललाई अभयदानको भीख दिएको छ ।
टुँडिखेलको दृश्य नेपाली भीखशास्त्रको निकै पेचिलो तर मलिलो नमुना हो । सरकार परम्परागतरूपमा भारत र नेपालबीच चलिरहेको भड्किलो भीखशास्त्र अक्षुण्ण राख्न कम्मरकसेर लागेको छ । तिरङ्गा सेना–नायक केही सातामा नेपाल आउँदै छन् । उनलाई सिम्रिकले रङ्ग्याउने वसन्तोत्सव छ कार्तिक २० गते । उनी भीख लिन आउँदै छन् वा दिन आउँदैछन्, आकाशे पुलमा उभिएर टुँडिखेलको लीला तयारी नियालिरहेको हाम्रो युवाजमातबीच खुलदुली छ । भीख लिन आउने व्यक्तिको तामझामपूर्ण स्वागत हुने चलन दुनियाँमा कहीँकतै छैन । दिन आउने हुन् भने के दिने हुन् त्यो जिज्ञासाको विषय हुन गएको छ । भीखको कत्रो आकार होला, कस्तो प्रकार होला भनी प्रश्न उठ्नु जायज छ । कम्तीमा खबरकागतमा छापिने आकारको त पक्कै हुनुपर्छ ।
तिरङ्गा सेना–नायक मुखाले छन् रे । उनी लुटलाई अधिकार भन्न सक्छन् रे । भीखदाता भएपछि लुटेराहरू राजश्री सम्मानका अधिकारी ठहरिन्छन् । भीखदाताले यता लिम्पियाधुरा हुँदै कालापानी हसुरे । उता आफ्नै भूमि र पानी हो भनी डकारे । नेपालीजन यता ‘डाँका पस्यो, गुहार’ भनी कराए । उता सेना–नायक सोचमग्न भए – भीख माग्नेले किन गुहार मागे ? गुहार माग्ने हैसियत त थिएन ? कतै षड्यन्त्र गरी कसैले हारगुहार गर्न त लगाएनन् ? उनी टुङ्गोमा पुगे । उनले आफ्ना शत्रु गने । देखे, सीमान्तमा कोही शङ्कास्पद छ । उतै देखाउँदै नायक साहेब कुर्लिए, ‘अरूको उक्साहटमा गुहार भन्ने ?’ आफ्ना अघिल्ला सेना र खुफिया नायककै हाराहारीमा आउने गरी उनी त्रिदेश सम्बन्धमा पोख्त देखिए ।
त्रिदेशदर्शी तिरङ्गी सेना–नायकमात्र होइन, उनको स्वागतको धुमधाम तयारी गर्ने हाम्रा देश–हँकुवाहरू पनि भीखशास्त्रका अनौठा पात्र हुन् । उनीहरू दुई हातले दुईथरी भीख थाप्छन् । एउटा, थोक भीख । अर्को, खुद्रा भीख । नेपाली नदी, पहाड, हिमाललाई धितो राखी अनेक कबुलियतनामामा ल्याप्चे ठोकेपछि पहिलो थरी भीख पक्का हुन्छ अथवा टुँडिखेलकी आमैजस्ता अनेक क्लान्त कर्णाली अनुहारको दुखान्त ङिच्याए पुुग्छ । थोक भीख आहाल खेल्न मिल्ने गरी बर्सिन्छ । अर्को थरी भीख थाप्न देश–हँकुवाहरू घर, सडक, पसल, पेटी जहाँतहीँ पुग्छन् । ‘नेपाली जात’ लाई ‘कर’ को दायरामा ‘गोलबन्द’ गर्छन् । यहाँ भीख ‘कर’ कहलिन्छ । भीखको यो घनचक्करमा आकाशे पुलका युवायुवती रनभुल्ल छन् । ‘कसैले जागिरको भीख दिए हुन्थ्यो ? बरु हाम्रै भीखबाट चल्ने यही छिर्केमिर्के सेनामै दिए पनि हुन्थ्यो ! सरकारलाई कर चढाउँथ्यौँ क्यारे !’ उनीहरू निधार खुम्चानमा छन् ।
खेलै खेलको जमघट हो टुँडिखेल ! टुँडिखेल छ र पो भीखशास्त्र जीवित छ ! टुँडिखेलको खेल कहिले बन्द हुने हो ? भीखशास्त्रको मन्डप कहिले उजाडिने हो ? ‘जुनकिरी बन्न नसकेका पुतली’ जमात आकाशे पुलको कुनामा प्रश्नसूचक निःश्वास छोडिरहेका छन् । टुँडिखेलकी आमा सरकारलाई भीख चढाउन बिहानदेखि भीख माग्ने कसरतमा छिन् । आजभोलि आमै एक्ली छिन् । नत्र एउटा कङ्काल शिशु काखी च्यापी थाली थाप्दै गरेकी एक हिन्दी नाबालिग पनि सँगै हुने थिइन् । कोरोनाको कष्टबीच आमाकी फुच्ची सखी गाउँ फर्क अभियानमा सीमापार गएकी छिन् रे ! धन्न…. !! तिरङ्गी सेनानीले नानीको अट्टहास सुन्नु परेको भए लैनचौरलाई धप्पै चैन हुने थिएन । आखिर विदेशी मञ्चमा स्वदेशी भीखशास्त्रको मञ्चन हेर्न कसलाई रहर होला ? फेरि सबै विदेशी हाम्रा स्वदेशी देश–हँकुवाहरूजत्तिकै लाज–पचुवा पनि नहुनन्, होइन र !? खसोखास त आमाकी सखी नै जानून् !
Leave a Reply