भर्खरै :

बत्तीमुनि अँध्यारो

 
बुद्धको विचार धर्म हो कि दर्शन भन्नेमा ठूलो विवाद छ । धर्म भए पनि दर्शन भए पनि यसको एउटा सुन्दर र प्रशंसनीय पक्ष भनेको जातीय व्यवस्थाप्रतिको अनास्था हो । तर, धेरैलाई थाहा नहुन सक्छ–बुद्धको जन्म भएको शाक्य राज्य कपिलवस्तु जातीय विभेदको कारण नै पतन हुन पुगेको थियो ।
पहिले सिन्धु घाटीको नगर सभ्यता, त्यसपछि ग्रामीण वैदिक सभ्यताको पतनपछि ईशापूर्व छैटौँ शताब्दीमा १६ महाजनपद अस्तित्वमा रहेकोमा सबै इतिहासकारबीच सहमति छ । यहीबेला उदय भएका बुद्ध र जैन दर्शनसँग सम्बन्धित अङ्गुत्तर निकाय तथा भगवतीसूत्रजस्ता रचनाहरूबाट १६ महाजनपदबारे जानकारी प्राप्त गर्न सकिन्छ । यी महाजनपदमा सर्वाधिक महत्वपूर्ण मगध महाजनपद त्यसपछि कोशल, अवन्ति र बज्जि चर्चित छन् ।
महाजनपदमध्ये शक्तिशाली कोशल तथा मगधबीच दोहोरो वैवाहिक सम्बन्ध थियो । कोशल नरेश प्रसेनजीतले मगधकन्या विवाह गरेका थिए भने मगध राज्यमा हर्यक वंशका संस्थापक राजा बिम्बिसारले कोशल राजकुमारी महाकोशलादेवीसँग विवाह गरेका थिए । बिम्बिसारको हत्या गरेर उनका छोरा अजातशत्रुले राज्य हत्याएपछि अवध नरेश प्रसेनजीतको मगध राज्यसँग सम्बन्ध बिग्रनुका साथै लामो समयसम्म युद्धसमेत भएको थियो । अन्त्यमा राजा प्रसेनजीतले आफ्नी छोरी बाजिराको विवाह अजातशत्रुसँग गरिदिएर दुई राज्यबीचको सम्बन्धमा सुधार भएको थियो ।
साना–साना आठ कुलहरूको सङ्घ मिलेर बनेको बज्जि महाजनपदलाई विश्वको पहिलो गणतन्त्रात्मक राज्य मानिन्छ । त्यहाँ वंशजको आधारमा स्वतः राजा बन्ने पद्धति नभएर निर्वाचित व्यक्ति राजा बन्ने प्रजातान्त्रिक व्यवस्था थियो । तर, यो प्रजातन्त्रमा सर्वसाधारण जनता सहभागी हुन पाउँदैनथे । राजा चुन्ने तथा चुनिने दुवै अधिकार जनप्रतिनिधि वा कुलीनहरूलाई मात्र थियो । राजा कार्यपालिका प्रमुख हुन्थे र सहायकहरू नियुक्त गर्थे । गम्भीर विषयमा बहुमतले नभएर सर्वसम्मतले निर्णय गथ्र्याे ।
बज्जि महाजनपदका आठै सङ्घका आ–आफ्नै राजधानी थिए । तर, सम्पूर्ण सङ्घको राजधानी भने वैशाली थियो । शाक्य, कोलीय, मोरीय, बुली, लिच्छवी, विदेह, भग्ग, कालामआदि बज्जि महासङ्घका कुलवा सङ्घ थिए । शाक्यको राजधानी कपिलवस्तु थियो जुन वर्तमान तिलौराकोट भएको ऐतिहासिक प्रमाणहरूले पुष्टि गरेको छ । आजभन्दा लगभग २५ सय वर्ष अघि शाक्य राजा शुद्धोधनकी गर्भवती रानी मायादेवी चलनअनुसार बच्चा जन्माउन माइत देवदह जान लागेकी थिइन् । बाटोमा पर्ने लुम्बिनी बाटिकामा ई.पू. ५६३ मा उनले एक तेजश्वी बालकलाई जन्म दिइन् । बालकको सिद्धार्थ नाम रह्यो । चाँडै नै मायादेवीको निधन भएकोले सिद्धार्थको लालनपालन उनकी सानिमा तथा विमाता प्रजापति गौतमीबाट भयो । गौतमीले पालनपोषण गरेकोले सिद्धार्थलाई गौतम भनिएको हो । शाक्य कुलमा जन्मेका कारण उनलाई शाक्यमुनि पनि भनिन्छ ।
सिद्धार्थले २९ वर्षको उमेरमा गृहत्याग गरे जसलाई बौद्ध दर्शनमा महाभिनिष्क्रमण भनिन्छ । ६ वर्ष तपस्या गरी ३५ वर्षको उमेरमा उनले ज्ञान प्राप्त गरेर बुद्ध बने । बुद्ध बनेपछि सर्वप्रथम उनले सारनाथमा प्रवचन दिएर धर्मचक्रप्रवर्तन गरे । इ.पू. ४८३ मा ८० वर्षको उमेरमा महापरिनिर्वाण प्राप्त नभएसम्म उनले निरन्तर प्रवचन दिइरहे, आफूले प्राप्त गरेको ज्ञानको अविरल प्रचार गरिरहे । उनको दर्शनबाट, प्रवचनबाट प्रभावित भएर धेरै उनका शिष्य बनेर बुद्ध सङ्घमा आबद्ध भए । लाखौँ मानिस उनका अनुयायी बने । उनको कीर्ति चारैतिर फैलियो ।
बुद्धको लोकप्रियता बढेसँगै जनसाधारणदेखि सम्भ्रान्तवर्गमा समेतमा शाक्यकुलप्रतिको आकर्षण झन् बढ्न गयो । कपिलवस्तुका शाक्यप्रति विशेष श्रद्धा बढ्न गयो । कुलीन वर्गले शाक्य कन्यासँग विवाह गर्ने चाहना देखाउन थाले । कोशल नरेश प्रसेनजीतलाई पनि कपिलवस्तुकी शाक्य कन्या विवाह गर्ने रहर जाग्यो र उनले सोही आशयको सन्देश कपिलवस्तु पठाए । बहुविवाह सामान्य मानिने त्यो युगमा राजा–महाराजा, सामन्त, धनीमानीले एकभन्दा बढी विवाह गर्थे । राजा–महाराजा त कूटनीतिक हिसाबले र राजनीतिक सन्तुलन कायम राख्ने उद्देश्यले समेत एकभन्दा बढी विवाह गर्थे । तसर्थ प्रसेनजीतले शाक्य कन्या विवाह गर्ने चाहना राख्नु आश्चर्यको विषय थिएन । बरु शाक्यले प्रसेनजीतलाई आफू बराबरको नठान्नु भने समस्याको विषय बन्यो ।
प्रसेनजीतलाई हिन्दू ग्रन्थहरूमा रघुवंशी र बौद्ध ग्रन्थहरूमा इछ्वाकुवंशी क्षेत्रीय भनिएको छ र पनि शाक्यहरू उनको कुललाई आफू बराबरको ठान्दैनथे । तथापि उनको प्रस्ताव अस्वीकार गरेर कोशलजस्तो शक्तिशाली राज्यसँग शत्रुता बढाउने पक्षमा पनि कपिलवस्तु थिएन । राजा शुद्धोधन असमञ्जस्यमा परे । अन्ततः महानाम नामक शाक्यवंशी भारदारले ‘सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने’ उपाय अपनाए । दासी नागमुण्डाकी सुन्दरपुत्री वासभखत्तियालाई आफ्नी कन्या बताएर उनको विवाह प्रसेनजीतसँग गरिदिए । यो कुरो कपिलवस्तुमा मात्र सीमित रह्यो । यता प्रसेनजीत भने शाक्य कन्यासँग विवाह गरेर आफूलाई धन्य सम्झे । उनैबाट जन्मेकी छोरी बाजिराको विवाह अजातशत्रुसँग गरिदिए भने छोरा विडुडभलाई उत्तराधिकारी बनाए ।
राजकुमार बिडुडभलाई पुराणहरूमा क्षुद्रक भनिएको छ । सानो छँदा जब उनी मामाघर कपिलवस्तु जान्थे, उनीभन्दा जेठासँगमात्र उनको परिचय गराइन्थ्यो । आफूभन्दा ठूलालाई विडुडभले ढोग्नैप¥यो, ढोग्थे वा दर्शन गर्थे । उनीभन्दा साना भनेर कसैलाई परिचय गराइन्नथ्यो । त्यसैले मामाघरमा उनलाई ढोग्ने वा दर्शन गर्ने कोही निस्कँदैनथे । केटाकेटी भए पनि उनलाई यो कुरा याद भएको थियो तर कारण भने पत्ता लगाउन सकेका थिएनन् ।
एकपल्ट विडुडभ मामाघर गएको बेलामा बुद्धको पनि कपिलवस्तु आगमन हुने भएछ । स्वभावैले बुद्धले त्यहाँ प्रवचन दिने भए । तसर्थ प्रवचन दिने मण्डप वा प्रवचनस्थल तयार पारिँदै थियो । खेल्दाखेल्दै विडुडभ प्रवचनस्थलमा पुगेछन् । बुद्धले प्रवचन दिने पवित्र स्थानमा दासीपुत्रले टेकेर अपवित्र बनाइदिएको भन्दै उनलाई त्यहाँबाट अपमानपूर्वक हटाइयो र त्यो ठाउँलाई पुनःलिपपोत गरेर चोख्याइयो । यस घटनाबाट विडुडभ मर्माहत भए तर केही गर्न सकेनन्, चुपचाप अपमान पचाए । त्यस घटनापछि उनको मनमा बदलाको भावना पलायो ।
यस विषयमा अर्को भनाइ पनि प्रचलित छ । अलि ठूलो भएपछि एकपल्ट विडुडभ मामाघरबाट घर फर्कँदै थिए । केही वर आइपुगेपछि आफ्नो कुनै सामान छुटेको सम्झना आयो र उनले अ·रक्षकलाई सामान लिन मामाघर पठाए । उनको मान्छे दरबारमा पुग्दा ‘दासीपुत्रले खाएको भाँडा, दासीपुत्र बसेको ठाउँ’ भनेर खिसिट्यौरी गर्दै दूधले पखालेर चोख्याउने काम हुँदै रहेछ । यो देखेर विडुडभको दूत किंकर्तव्यविमूढ भए । फर्केर आएपछि उनले राजकुमारलाई सम्पूर्ण विवरण सुनाए ।
आफ्नी आमा कुलीन शाक्य कन्या नभएर दासी भएको सत्यसँग साक्षात्कार भएपछि विडुडभ अत्यन्त दुःखी भए । सानैदेखि मामाघरमा आफूमाथि हुने भेदभावपूर्ण व्यवहारको अर्थ बल्ल बुझे । आफ्ना पितामाथि शाक्यहरूले ठूलो षड्यन्त्र गरेको ठहर गरे । उनलाई पनि शाक्यकुललाई लिएर अभिमान थियो । उनको गर्व चकनाचूर भयो । क्रोधले प्रतिशोधको भावना उत्पन्न गरायो र कपिलवस्तु तथा शाक्यवंशको संहार गर्ने उनले प्रण गरे । पहिल्यैदेखि उदण्ड स्वभावका विडुडभ फर्केर राजधानी श्रावस्ती आएपछि बाबुसँग विद्रोह गरे । वास्तवमा उनका बाबु नै छलको शिकार भएका थिए । यस धोकाको लागि आमालाई जिम्मेवार ठह¥याएर उनलाई धिक्कारे ।
प्रतिशोधको भावना जति बलियो भए पनि विडुडभ त्यतिखेर कमजोर थिए । परिस्थिति उनको अनुकूल बन्दै थियो भने प्रतिकूलतालाई अनुकूल बनाउने खेल पनि उनले थालिसकेका थिए । वृद्ध राजा प्रसेनजीत राजकाजबाट विमुख हुँदै बुद्धको अनुयायी बनिसकेका थिए । बुद्धले श्रावस्तीमा धेरै समय बिताएका मात्र नभएर सबैभन्दा बढी प्रवचन पनि यहीँ दिएका थिए । अतः राजाको धेरै समय बुद्धको प्रवचन सुनेर विहारमै बित्न थालेपछि बिस्तारै दरबारमा विडुडभ बलिया हुँदै गएका थिए ।

विडुडभले आफ्नो प्रतिशोध पूरा गरे । यसले उनलाई मानसिक सन्तुष्टि पनि दिलायो होला । तर, यसको फाइदा न उनले लिन पाए न उनको राज्य कोशलले । कपिलवस्तु विनाश र शाक्यको संहार गरेर फर्कने क्रममा अचिरावती (राप्ती) नदीमा आएको बाढीले बगाएर उनको दुःखद अन्त्य भयो । तर, केही इतिहासकारको मतअनुसार उनको श्रावस्ती दरबारमा भएको भीषण आगलागीमा परेर मृत्यु भएको हो ।

यसबीच राजा प्रसेनजीतका विश्वासपात्र सेनापति बन्धुल मलको हत्या भयो । यो घटनाबाट राजा बडो दुःखी भए । अझ बन्धुलका भतिजा कारायणले आफ्ना काकाको हत्यामा राजाकै हात भएको शड्ढा गरे र यसको बदला लिने उद्देश्यले विडुडभलाई बाबुविरुद्ध भड्काउन थाले । प्रिय मित्रसमेत रहेका बन्धुलकोे हत्याले विक्षिप्त प्रायः भएका ८० वर्ष नाघिसकेका वृद्ध राजा प्रसेनजीतमा राज्यप्रति रहेको अलिअलि मोह पनि समाप्त भयो । अनि त उनी लगभग सम्पूर्ण समय विहारमै बिताउन थाले ।
राजा कमजोर भएको बेलामा बाह्य आक्रमण र आन्तरिक षड्यन्त्र हुनु स्वाभाविकै हो । कोशल राज्यमा पनि यही भयो । विडुडभको विद्रोहको आगोमा घिउ थप्दै मन्त्री दीर्घाचरणले ‘यसरी राज्य चल्दैन, अब राजालाई राज्यच्युत गरेर सही व्यक्तिलाई राजा बनाउनुपर्छ” भनेर उक्साए । बाबुलाई बन्दी बनाउने कुरा विडुडभले पहिले त आँट्न सकेनन् । तर, छिट्टै राजा बन्ने लोभले पितृमोहमाथि विजय प्राप्त ग¥यो । फलस्वरूप बाबुलाई बन्दी बनाएर ल्याउने आदेश दिएर सैनिकलाई विहारमा पठाएर मौकाको फाइदा उठाउँदै मन्त्री दीर्घाचरणको भरोसामा कोशलको राजासिंहासनमा विराजमान भए ।
यता राजा प्रसेनजीतलाई पक्रन आएको सैनिकले उनलाई भगाइदिने विचार ग¥यो । उसैको सहयोगमा प्रसेनजीत ज्वाइँ अजातशत्रुको शरणमा जाने विचारले मगधको राजधानी राजगृहतिर लागे । दुर्भाग्यवश उनीपुग्दा नगर प्रवेश गर्ने द्वार बन्द भइसकेछ र द्वारपालले बिहान नभई कुनै हालतमा द्वार नखोल्ने अड्डी लिएको कारण खुला आकाशमुनि रात बिताएका राजा प्रसेनजीतको बिहान उठ्दा मृत्यु भइसक्छ ।
अब कोशल राज्य पूर्णरूपले विडुडभको हातमा आयो । यिनलाई राज्य चलाउने अनुभव थिएन, मनमा क्रोध र प्रतिशोधको भावनामात्र थियो । उत्ताउलो भएर कपिलवस्तुमाथि आक्रमण गर्ने उद्देश्यले विशाल सेना तयार गर्न थाले । यसै पनि शाक्य राज्य कमजोर भइसकेको थियो । राज्यको उत्तराधिकारी घरबार, राजपाठ त्यागेर बुद्ध भइसकेका थिए । आफ्नै गृहनगरमा त्यसैको उत्तराधिकारी चिवर धारण गरेर भिक्षाटन गर्दै हिँडेको देखेका वृद्ध राजा शुद्धोधनमा पनि राजपाठप्रति मोह हराउँदै गयो । त्यसमाथि बुद्धले पुत्र राहुललाई समेत आफ्नो अनुयायी भिक्षु बनाएपछि त उनी अत्यन्त मर्माहत भएका थिए । आफ्ना उत्तराधिकारीलाई नै राज्यको मोह नरहेको देखेपछि राजा शुद्धोधन पनि बुद्धका उपासक बने । उनको निधन भएपछि केही समय शाक्य राज्य महानामले सम्हालेका थिए ।
त्यही समयमा विडुडभ विशाल सेनासहित कपिलवस्तुमा आक्रमण गर्न भनेर हिँडे । तर, उनलाई महात्मा बुद्धले सम्झाइबुझाइ फिर्ता पठाइदिए । यो प्रक्रिया तीन पटकसम्म चल्यो । उनले बुद्धको वचन राखेर सेना फिर्ता त गराए तर उनको मनमा दन्केको प्रतिशोधको आगो भने निभेको थिएन । मामाघरमा ‘दासीपुत्र’ भनेर आफूलाई भेदभाव गरेको, होच्याएको, खिसी गरेको बिर्सनै सकेनन् । अन्त्यमा बुद्धको ध्यान अन्तै मोडिएको मौका छोपेर विडुडभले शाक्य गणराज्यमाथि भीषण आक्रमण गरे । छानीछानी शाक्यहरूको नरसंहार गरे । सुन्दर र समृद्ध कपिलवस्तुलाई ध्वस्त बनाइदिए ।
यसरी विडुडभले आफ्नो प्रतिशोध पूरा गरे । यसले उनलाई मानसिक सन्तुष्टि पनि दिलायो होला । तर, यसको फाइदा न उनले लिन पाए न उनको राज्य कोशलले । कपिलवस्तु विनाश र शाक्यको संहार गरेर फर्कने क्रममा अचिरावती (राप्ती) नदीमा आएको बाढीले बगाएर उनको दुःखद अन्त्य भयो । तर, केही इतिहासकारको मतअनुसार उनको श्रावस्ती दरबारमा भएको भीषण आगलागीमा परेर मृत्यु भएको हो । यसरी उत्तराधिकारीविहीन भएको कोशल राज्य सबैभन्दा नजिकको हकवालाको नाताले मगध नरेश अजातशुत्रको कब्जामा गयो ।
यसप्रकार कपिलवस्तुको शाक्य राज्य शाक्यमुनि बुद्धको पालामा नै ध्वस्त भएको देखिन्छ । बुद्ध दर्शनले जातपात मान्दैन, जातको आधारमा भेदभाव गर्दैन । वास्तवमा त्यो बेलामा हिन्दू धर्ममा विकृति बढ्दै गएको ब्राह्मणवाद र जातीय भावनाको कारण धर्म सर्वसाधारणको पहुँचभन्दाबाहिर पुगेको थियो । धार्मिक कार्य भन्नाले उपासना, पूजापाठ नभएर यज्ञ–यज्ञादि जटिल विधि बन्न पुगेको थियो । यसैले कारण समानताको सिद्धान्तमा आधारित सरल बुद्ध दर्शनप्रति सर्वसाधारणको आकर्षण बढेको थियो । तर, उनै बुद्धको जन्मथलो, उनीको पैतृक वंशको विनाश नै जातीय विभेदको कारण उत्पन्न घृणा र त्यसले उत्पन्न गराएको बदलाको भावनाले भयो भने यसलाई बत्तीमुनिको अँध्यारो नभनेर के भन्ने त !
अहिले पनि शाक्यमुनि बुद्धका अनुयायीहरू मानवताको कलड्ढको रूपमा रहेको कथित ठूलो जात र सानो जात भन्ने भावनाको घेराबाट बाहिर निस्कन सकेको देखिन्न, जुन बुद्धले जातीय व्यवस्थाको विपर्यस्त दर्शन प्रतिपादन गरेथे, उनैका धर्मावलम्बीले उनको दर्शनको मर्मविपरीत भावना राख्छन्, व्यवहार गर्छन् भने यसलाई बत्तीमुनिको अँध्यारो नै त भन्नु पर्ला नि ?
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *