भर्खरै :

सोभियत–क्युवा सम्बन्ध

  • कार्तिक १५, २०७७
  • ई राजदास श्रेष्ठ
  • विचार

सन् १९७० देखि १९७६ सम्म म सोभियत सङ्घमा अध्ययन गरी बस्दा सोभियत युवायुवतीहरूको शिरमा एउटा क्याप (टोपी) देखिन्थ्यो । प्रायः सबै युवा विद्यार्थीहरूको शिरमा टोपी (क्याप) मैले देखँे । मैले उत्सुकतावस भालेन्टिनालाई हाम्रो विवाह हुनुअगाडि नै सोधेँ, “किन तिमीहरू सबै एकै प्रकारको यो क्याप लगाउँछौ ? नीलो–हरियो खालको आर्मी रङको त्यो क्याप (स्ल्याप्का) सबै युवायुवतीको शिरमा देख्दा मलाई ज्यादै अचम्म लागेको थियो । जाडो महिना सकिएपछि र विशेष गरेर गर्मीमा सोभियत युवाहरू त्यो क्याप लगाउने गर्दथे ।
“त्यो क्याप हामी फिडेल क्यास्ट्रोको सम्मानमा लगाउँछौँ राज ।” भालेन्टिनाले भनिन् । रुसी भाषामा क्यापलाई स्ल्याप्का भनिन्छ ।
सन् १९६३ मा क्युवाका कम्युनिस्ट नेताले सोभियत सङ्घको भ्रमण गरेका थिए । त्यसबेलादेखि सोभियत जनताले विशेष गरेर युवायुवतीहरूले फिडेल क्यास्ट्रो र चेग्वाभाराले लगाउने जस्तो टोपी लगाउन थालेका थिए । यो एक हृदय छुने सोभियत जनताले क्युवाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोप्रतिको अभिव्यक्ति थियो र सोभियत सङ्घले क्रान्तिकारी क्युवासँग राम्रो सम्बन्ध राख्ने प्रयास ग¥यो ।
सुरूमा सोभियत सङ्घले क्युवाली नेता क्यास्ट्रोप्रति शड्ढाको दृष्टिले हेर्ने गरेका थिए । निकिता खुश्चेभले एउटा प्रमण्डल पठाएर बुझ्न खोजेका थिए, फिडेल क्यास्ट्रो को हुन् र उसको खास नियत र उद्देश्य के थियो । पहिले पहिले क्युवामा क्रान्ति हुनुपूर्व सोभियत नेताहरूले फिडेल क्यास्ट्रोलाई एक बुर्जुवा नेता र सम्भवतः अमेरिकी गुप्तचर विभाग सीआईएका एजेन्ट सम्झेका थिए ।
तर जब सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वाभाराको नेतृत्वमा क्युवामा अमेरिकी समर्थित बातिस्ता सरकारको विरुद्ध क्रान्ति गरेर सफलता हासिल गरे सोभियत नेताहरूको क्युवाप्रतिको चासो बढ्न थाल्यो र फेरि पनि सोभियत नेता खुश्चेभले आफ्ना सहयोगी मिकोयानलाई क्युवाको भ्रमणमा पठाए ।
यस भ्रमणबाट फर्केर तत्कालीन सोभियत सङ्घका प्रभावशाली नेता मिकोयानले ख्रुश्चेभलाई क्युवासँग सम्बन्ध जोड्न सल्लाह दिए र क्युवाली नेता क्यास्ट्रोलाई हरतरह सहयोग गर्न अनुरोध गरे ।
वास्तवमा सोभियत सङ्घ र क्युवाबीच द्वितीय विश्वयुद्धको बीचमा कूटनीतिक सम्बन्ध कायम भएको थियो । अमेरिकाको लागि तत्कालीन सोभियत राजदूत माक्सीम लित्भीनोभले क्युवामा सन् १९४३ मा क्युवाको राजधानी हवानामा आफ्नो कार्यालय खोलेका थिए । तत्कालीन क्युवाली राष्ट्रपति फुल्गेन्सिओ बातिस्ताले त्यही साल मस्कोको भ्रमण गरे । सोही भ्रमणमा सोभियत सङ्घले बातिस्ताको संयुक्त सरकारमा सामेल भएका क्युवाली कम्युनिस्टहरूसँग सम्बन्ध जोडे ।
लितमिनोभपछि सोभियत सङ्घका प्रभावशाली नेता आन्द्रेयी ग्रोमीको संयुक्त राज्य अमेरिका र क्युवाको लागि पनि राजदूत नियुक्ति भए यद्यपि सोभियत राजदूत ग्रोमीकोले क्युवाको भ्रमण कहिले पनि गरेनन् ।
दोस्रो विश्वयुद्धको अन्तपछि क्युवाली सरकारले क्युवाली कम्युनिस्ट पार्टीलाई एक्ल्याउन थाल्यो । सोभियत सङ्घसँगको कूटनीतिक सम्बन्ध पनि विच्छेद भयो । सन् १९५२ मा बातिस्ताको सरकारले हवानामा रहेको सोभियत दूतावास बन्द ग¥यो ।
पछि सन् १९५९ को जनवरी १ तारिखमा फिडेल क्यास्ट्रोको नेतृत्वमा क्रान्ति सफल भएर क्यास्ट्रो सत्तामा आएपछि फेरि सोभियत क्युवाली सम्बन्धले नयाँ रूप लिन थाल्यो । सन् १९६० को फेब्रुअरी महिनामा निकिता खु्रश्चेभले आफ्नो डेपुटी अनास्तसिया मिकोयानलाई क्युवाको भ्रमणमा पठाएका थिए । क्युवालाई आवश्यक इन्धन आपूर्ति गरिदिएर क्युवाको उत्पादन चिनी सोभियत सङ्घले किन्ने सम्झौता ग¥यो ।
सोभियत सङ्घसँग सम्बन्ध जोडेकोमा अमेरिकाले क्युवामाथि कठोर नाकाबन्दी गर्ने नीति अपनाउन थाल्यो र क्युवाको रक्षा गर्नु सोभियत सङ्घको लागि एक थप जिम्मेवारी हुन आयो । यसैको सिलसिलामा क्युवाली नेता फिडेल क्यास्ट्रोले सोभियत सङ्घको एक ऐतिहासिक औपचारिक भ्रमण गरे ।
सन् १९६३ को जून महिनामा यस ऐतिहासिक भ्रमणमा क्युवाली राष्ट्रपति फिडेलले सोभियत सङ्घको साइवेरियामा निर्मित जलविद्युत् आयोजना र सोभियत सङ्घले आफ्नो कृषि क्षेत्रमा गरेको विशाल योजनाहरूको अवलोकन गरेका थिए । आफ्नो देशमा पनि सोभियत सङ्घले गरेको अनुकरणीय कामहरूको अध्ययन गरी देशमा कृषि उत्पादन बढाउने धारणा उनले राखेका थिए । यही दिशा अपनाएर क्युवालाई समाजवादको बाटोमा लाने अठोट गरे । यस भ्रमणले सोभियत जनतामा विशेष गरेर सोभियत युवा जनतामा फिडेल क्यास्ट्रोको व्यक्तित्वको ठूलो प्रभाव परेको थियो । त्यसैबेलादेखि सोभियत युवाजगतले फिडेल क्यास्ट्रोको सम्झनामा फिडेल क्यास्ट्रोले लगाउनेजस्तै टोपी सारा सोभियत युवायुवतीले लगाएर हिँड्न थाले ।
 

One response to “सोभियत–क्युवा सम्बन्ध”

  1. Bal Chandra Shrestha says:

    Red salute dear Fidel Castro

Leave a Reply

Your email address will not be published. Required fields are marked *