भक्तपुर नगरपालिकाको २० औँ नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिद्वारा प्रस्तुत आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम
- असार ७, २०८३
नेकपा फुटे पनि नफुटे पनि, नेकपाका नेताहरूबीचको अन्तरकलह चर्के पनि नचर्के पनि अलग अलग पार्टी नेतृत्व गरेर नेकपाका अध्यक्ष बनेका केपी ओली र पुष्पकमल दाहालको कारण देश बर्बाद बनेको छ । झन्डै दुईतिहाइ मत प्राप्त गरे पनि नेकपाको सरकारले न त देश राम्ररी हाँक्न सकेको छ न त माक्र्सवाद र लेनिनवादको पथप्रदर्शक मान्ने नेकपाले कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम गरेको छ । राहतको अनुभूति दिन नसक्ने प्रधानमन्त्री ओली र कम्युनिस्ट सिद्धान्तको आचरणविपरीत अघि बढ्ने दाहाल के असक्षम भएनन् ?
केपी ओली र दाहालको अन्तरविरोध या नेकपाभित्रको उत्पन्न राजनीतिलाई राजनीतिक विश्लेषक कृष्ण खनालले त नेकपाको निर्माण दुई पार्टीको एकीकरण होइन दुई नेताको सम्झौतामात्र भने । चुनावमा बहुमत ल्याउने र सरकारको नेतृत्व गर्ने उद्देश्य नै नेकपाको रहेको हुँदा शीर्ष नेताहरूबीचको विवाद चरमोत्कर्षमा पुगेको हो । केपी ओली पक्षधर नेताहरू पार्टीका कार्यकारी अध्यक्ष दाहाल पक्षधरले पार्टी नहेरेको, खालि सरकारको खुट्टा तान्ने काम गरेको बताउँछन् भने दाहाल पक्षधर नेताहरू सरकारले पार्टीको परामर्शविना, पार्टीको निर्णयविना ओलीले मनपरी निर्णय गरेको टिप्पणी गर्छन् । यसरी एकले अर्काेलाई कमजोरी देखाएर आफूलाई असल, सक्षम ठान्ने काम नेकपाका शीर्ष नेताहरूले गरिरहेका छन् ।
नेकपाका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाभित्रको वर्तमान समस्या अन्तरविरोधजस्तो देखिए पनि विभिन्न स्वार्थ नै रहेको विचार पोखे । पार्टीभित्र सङ्कट उत्पन्न भएको स्वीकार्नु, दुई अध्यक्षबीचको विवाद पटक–पटक चर्केर चरमोत्कर्षमा पुग्नुको अर्थ नेकपाको उद्देश्य सिद्धान्त र विचारअनुसार राजनीति नगरी सत्तास्वार्थमै केन्द्रित रहेको प्रस्ट हुन्छ । सारमा केपी ओलीले सरकारको नेतृत्व गरेर र दाहालले पार्टीको अध्यक्ष बनेर पुँजीवादी राजनीति गरिरहेका छन्, पुँजीपति वर्गको सेवा गरिरहेका छन् । यो कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारविपरीत छ । नेकपाको यही झूटको खेतीले गर्दा देश बर्बादीको खाडलमा फसेको छ ।–
Leave a Reply