भर्खरै :

विश्वमा आतङ्क होइन शान्ति छर्नुपर्छ

अहिले संसारको ध्यान साम्राज्यवादी देश अमेरिकामा सम्पन्न निर्वाचन परिणामतर्फ खिचिएको छ । झूटको खेती गर्ने, जातिवादी, अहङ्कारी, आक्रमणकारी ट्रम्पको राष्ट्रपति निर्वाचनमा हार हुने राजनीतिक विश्लेषकहरूले पहिले नै अनुमान गरेका थिए । ट्रम्प हार भएमा एकक्षण विश्वका जनताले खुसी मनाए पनि, गलत व्यक्तिलाई अमेरिकी जनताले झापड दिएर सजाय दिए पनि नयाँ शासकले विश्वमा आतङ्क मच्चाउन छोड्ने छैन । राष्ट्रपति पदमा निर्वाचित हुने पक्का भएका डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन पनि अर्काे नयाँ साम्राज्यवादी शासक हुनेमा शङ्का छैन । कुनै पनि साम्राज्यवादीहरू आक्रामक हुन्छन्, अरू देशलाई जुधाएर आफ्नो हतियार बेचेर फाइदा लिन्छन् ।
राष्ट्रपति घोषणामात्र हुन बाँकी भएका बाइडेन सच्चा प्रजातन्त्रवादी, मानव अधिकारवादी, शान्तिकामी हुन् भने उनले क्युवा, प्रजग कोरियामा लगाइरहेको नाकाबन्दी फिर्ता लिनुपर्छ । कुनै पनि स्वाधीन र सार्वभौम देशको अस्तित्व स्वीकार्न बाइडेन तत्पर हुनुपर्छ । यसअघि राष्ट्रपति ट्रम्पले अमेरिका विश्व स्वास्थ्य सङ्गठनबाट अलग हुने घोषणा गरे र उनले गरिरहेको आर्थिक सहयोग रोके । के बाइडेनले विश्व स्वास्थ्य सङ्गठनलाई गरिरहेको सहयोगमा निरन्तरता दिन्छन् ? ट्रम्पले भारतका प्रधानमन्त्री मोदीलाई उचालेर चीनसँग भिडाउने जाल रचिरहेका छन् । नेपालमा जसरी भए पनि सर्तसहितको एमसीसी सम्झौता लागू गराउन अमेरिकी प्रशासनले अरू देशमा झैँ नेपाली भूमिलाई पनि सेनाको परेड खेल्ने भूमि बनाउन दबाब दिइरहेको छ । ट्रम्पका यस्ता जालसाजीपूर्ण घटना र गतिविधि रोक्न के बाइडेन तयार हुन्छन् ?
शक्तिशाली अमेरिकाले विश्वमा आतङ्क मच्चाउन पाउँदैन । अमेरिका विश्वमा आतङ्क मच्चाउने देशको रूपमा परिचित छ । के राष्ट्रपति बाइडेनको सरकारले अमेरिका विश्वमा शान्ति फैलाउने देशको रूपमा चिनाउन सक्ला ? अमेरिकी प्रशासनले विश्वका दर्जनौँ मुलुकमा आफ्नो हतियारसहितको सेना तैनाथ गरिरहेको छ । अरू देशमा आफ्नो सेना तैनाथ किन गर्नुप¥यो ? के बाइडेनको सरकारले संसारका विभिन्न मुलुकमा तैनाथ गरेका सेना फिर्ता लेला ? आज संसारका मुलुकहरू अमेरिकी प्रशासनबाट असुरक्षित छन् । कुनै पनि बेला आफ्नो विचार नमिल्ने देशमा आक्रमण गर्न अमेरिका पछि पर्दैन, परेको छैन । यो विश्वले मूल्याङ्कन गर्दै आएको विषय हो ।
शक्तिशाली देशले त संसारमा शान्तिको सन्देश छर्नुपर्ने हो । हरेक देशको स्वाधीन र सार्वभौम देशको अस्तित्व स्वीकार्नुपर्ने हो । तर, अमेरिकी प्रशासनले अरू देशको प्रगति र विकास हेर्न चाहेको छैन । चीनले गरिरहेको प्रगति अमेरिकाले सहेको छैन । चीनको विरोधमा अमेरिकामात्र होइन, भारत पनि लागेको छ । अमेरिका र भारत मिलेर चीनको प्रगतिलाई रोक्न चाहेको छ । साम्राज्यवादी र विस्तारवादी देशले समाजवादी देशलाई नउठाउने अनेक षड्यन्त्र गरिरहेका छन् । समाजवादी देशको विकास र प्रगतिमा बाधा हाल्ने काम गरिरहेका छन् । के नयाँ नेतृत्वको अमेरिकी प्रशासन यी गतिविधिहरू रोक्नेतर्फ अघि बढ्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *