भर्खरै :

बोलिभियामा पुनः वामपन्थी राष्ट्रपति

दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा अक्टोबर १८ का दिन सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पुनः वामपन्थी राष्ट्रपति निर्वाचित हुनुभएको छ । गत वर्षको नोभेम्बर महिनामा भएको दक्षिणपन्थी सैनिक विद्रोहपछि बनेको सङ्क्रमणकालीन सरकारले तीन महिनाभित्र सम्पन्न गर्नुपर्ने निर्वाचन एक वर्षपछि मात्र जनताको दबाबमा गराएको हो । निर्वाचन अपेक्षाकृत नै सरकार पक्षद्वारा धाँधली गरिएको र पक्षपातपूर्ण थियो तर अत्यधिक बहुमत जनताको मत ‘समाजवादउन्मुख आन्दोलन पार्टी’ (मास) प्रति नै पुष्टि भयो । मास पार्टीका उम्मेदवार एवं पूर्वराष्ट्रपति इभो मोरोलस सरकारका अर्थमन्त्री लुइस आर्से राष्ट्रपतिमा र पूर्व विदेशमन्त्री एवं आदिवासी नेता डेभिड चोकाह्वान्का उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मास उम्मेदवारहरू आर्से र चोकाह्वान्काको विजयले गत वर्ष नोभेम्बरमा दक्षिणपन्थीहरूले लगाएको निर्वाचन धाँधली भएको आरोप नितान्त गलतसिद्ध भएको छ र त्यसैको बहानामा गरिएको सैनिक विद्रोह औचित्यहीन ठहर भएको छ ।
बोलिभियाको सर्वोच्च निर्वाचन परिषद्ले २३ अक्टोबरका दिन घोषणा गरेको अन्तिम मत परिणामअनुसार आर्से ५५.१० प्रतिशत मतका साथ निर्वाचित हुनुभएको हो । प्रमुख प्रतिद्वन्द्वीका रूपमा नागरिक समुदाय गठबन्धन (सीसीए) का उम्मेदवार कार्लोस मेसाले ३२ प्रतिशत र अर्का उम्मेदवार अति दक्षिणपन्थी नेता लुइस फर्नान्डो कामाचोले १४ प्रतिशत मत प्राप्त गरेका छन् । निर्वाचन परिषद्का अनुसार ७३ लाख ३२ हजार ९२६ सूचीकृत मतदातामध्ये ६४ लाख ८३ हजार ८९३ जनाले मतदान गरेका थिए जुन कुल मतदाता सङ्ख्याको ८८.४ प्रतिशत हुन आउँदछ । यति धेरै प्रतिशत मत खसेको बोलिभियाको इतिहासमा पहिलोपटक र ल्याटिन अमेरिकाभरिकै इतिहासमा दोस्रो पटकको उल्लेखनीय घटना मानिएको छ ।
१३० सदस्यीय सिनेटका एक तिहाइ सिटका लागि सिनेटरहरूको निर्वाचनसमेत भएको निर्वाचनमा मास पार्टीका उम्मेदवारहरू बढी विजयी भएका छन् र संसद्को दुवै सदनमा मास पार्टीको अत्यधिक बहुमत पुगेको छ ।
गत वर्ष अक्टोबरमा भएको निर्वाचनमा तत्कालीन लोकप्रिय राष्ट्रपति एवं मास पार्टीका नेता इभो मोरालेस स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएको थियो तर नोभेम्बरमा दक्षिणपन्थी पार्टीहरूलाई साथ दिएर सेना र प्रहरीको नेतृत्वले विद्रोह गरेपछि मोरालेसले देशमा गृहयुद्ध हुन नदिन राजीनामा दिनुभएको थियो । त्यसको तीनमहिनाभित्रै अर्को राष्ट्रपतीय निर्वाचन हुनुपर्ने भए पनि जियानिन एनेजको नेतृत्वमा रहेको सङ्क्रमणकालीन सरकारले विभिन्न बहाना बनाउँदै एक वर्षपछि मात्र निर्वाचन गराएको हो ।
निर्वाचन परिणाम आएपछि हाल छिमेकी देश अर्जेन्टिनामा निर्वासनमा रहनुभएका पूर्वराष्ट्रपति मोरालेसले ट्वीट गर्दै भन्नुभएको छ – मासले स्पष्ट विजय पाएको छ । मास पार्टीले आफ्नो प्रतिवद्धता पूरा गरेको छ, हामी पुनः दसौँ लाखको सङ्ख्यामा पुगेका छौँ । निर्वाचनमा दसौँ लाख बोलिभियाली जनताले शान्तिपूर्वक मतदानमा भाग लिए र देशको बहुराष्ट्रिय प्रजातन्त्रप्रति आफ्नो समर्थन पुष्टि गरे । सङ्क्रमणकालीन सरकार र सेनाले जनमतको कदर गर्नुपर्छ ।”
राष्ट्रपतिमा निर्वाचित नेता लुइस आर्सेले बोलिभियाली जनताले प्रजातन्त्र पुनःस्थापना गर्न र देशलाई फिर्ता लिन सफल भएको बताउँदै आफूहरूले सबैको लागि शासन गर्ने र घृणारहित तवरले परिवर्तन ल्याउने बताउनुभएको छ ।
शान्तिपूर्ण सत्ता हस्तान्तरणको आशा
निर्वाचन शान्तिपूर्वक सम्पन्न भएर निर्वाचन परिणाम आइसके पनि सत्ता हस्तान्तरण सहज र शान्तिपूर्णरूपमा हुनेमा अझै धेरै आशङ्का छ । साम्राज्यवादी संरा अमेरिकाका शासक वर्गको समर्थनप्राप्त कथित सङ्क्रमणकालीन सरकार र सैनिक नेतृत्वले निर्वाचित राष्ट्रपति र जनताका प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्न आनाकानी गर्न सक्छन् । सत्ता हस्तान्तरण नै गरे पनि छोटो अवधिमै पुनः सैनिक विद्रोहको सम्भावनालाई पनि इन्कार गर्न सकिन्न किनभने बोलिभियाको इतिहास नै सैनिक विद्रोह र त्यसविरूद्ध जनसङ्घर्षले भरिएको छ ।
सहज रूपमा सत्ता हस्तान्तरण भएमा नोभेम्बरको आधाआधीमा आर्सेले आफ्नो कार्यकाल सुरू गर्ने देखिएको छ । सर्वोच्च निर्वाचन परिषद् –टीएसईका अध्यक्ष साल्भाडोर रोमेरोले कार्यपालिका र व्यवस्थापिका दुवैमा नोभेम्बरको मध्यदेखि निर्वाचित सत्ताले जिम्मेवारी थाल्ने बताउनुभएको छ ।
विपक्षी पार्टी र नेताहरूले समेत निर्वाचनको मतपरिणाम र मास पार्टीको स्पष्ट विजय स्वीकार गरिसकेको हुनाले सत्ता हस्तान्तरणमा आनाकानी नहुने धारणा पनि बलियो छ ।
दक्षिणपन्थी नेता एवं नागरिक समुदाय गठबन्धनका उम्मेदवार कार्लोस मेसाले निर्वाचनमा मास पार्टीको जीत र आफ्नो हार स्वीकार गर्दै भनेका छन् – “पहिलो भएका उम्मेदवार र सीसीएका उम्मेदवारको मतअन्तर धेरै फराकिलो छ । प्रजातन्त्रमा विश्वास गर्ने जो कोहीलाई यस निर्वाचनमा विजयी को बने भन्ने कुरा स्पष्ट छ । एक पटकको जीत सधैँका लागि जीत र एक पटकको हार सधैँका लागि हार हुने गर्दैंन ।”
सैनिक विद्रोहबाट आएकी अन्तरिम राष्ट्रपति जियानिन एनेजले पनि मास पार्टीको जीतलाई स्वीकार गर्दै आर्से र चोकाह्वान्कालाई बधाई दिएकी छिन् । “हामीसित अझै आधिकारिक मतगणनाको परिणामले मास पार्टीले स्पष्ट बहुमत पाएको देखिएको छ । म विजयी उम्मेदवारहरूलाई बधाई दिन्छु र उहाँहरूलाई प्रजातन्त्र दिमागमा हालेर बोलिभियामा शासन गर्न अनुरोध गर्दछु ।”, एनेजले ट्वीट गरेकी छिन् ।
पुनः समाजवादतिर बोलिभिया
निर्वाचन परिणामपछि बोलिभिया समाजवाद वा दक्षिणपन्थ कतातिर अघि बढ्ने छ भन्ने प्रश्नको हल मिलेको छ । राष्ट्रपति निर्वाचित नेता आर्सेले आफ्नो सरकारको पहिलो कार्य कोरोना महामारी र विभिन्न कारणले भोकमरीमा परेका जनताका लागि सहयोग प्याकेज र सुरक्षित तवरले रोजगारको सृजना हुने बताउनुभएको छ । आर्सेले भन्नुभयो – “हाम्रो पहिलो कार्य गरिबहरूका लागि सहयोग र न्यूनतम ब्याजदरमा कर्जा सहयोग हुनेछ । पछि क्रमशः हाम्रो निर्वाचन प्रतिवद्धतापत्रमा उल्लेख गरिएका जनहितका योजनाहरू लागू गर्दै जानेछौँ ।”
सङ्क्रमणकालीन सरकारले पूर्ववर्ती मोरालेस सरकारले लागू गरिरहेका कैयौँ निर्धन उत्थान कार्यक्रमहरू स्थगन र खारेज गर्नुकासाथै सरकारी खानी र उद्योगधन्दाको निजीकरणमा जोड दिएको थियो । बोलिभियाको संसद्ले कोरोनाभाइरस महामारी र लकडाउनबाट पीडित जनतालाई सहयोग गर्ने प्रस्ताव र योजना पारित गरिसकेको थियो तर सङ्क्रमणकालीन सरकारले त्यसलाई लागू गर्न आलताल गर्दै आएको थियो ।
अलमाग्रोलाई आईसीसीमा घिसार्ने
गत वर्ष नोभेम्बरमा भएको निर्वाचनमा तत्कालीन राष्ट्रपति इभो मोरालेस र मास पार्टीले धाँधली गरी निर्वाचन जितेको भन्दै निर्वाचन पर्यवेक्षण गरेको अमेरिकी राज्य सङ्घ –ओएएस टोली र त्यस सङ्गठनका महासचिव लुइस अलमाग्रोले विज्ञप्ति जारी गरेको थियो । त्यही विज्ञप्ति मोरालेस सरकारविरूद्ध आन्दोलनका नाममा दक्षिणपन्थीहरूद्वारा सडक हिंसाको कारक बनेको थियो र त्यही कथित आन्दोलन सैनिक विद्रोहका लागि बहाना बनेको थियो । पछिबाट ओएएस वा कसैले पनि निर्वाचनमा कुनै तवरले पनि कतै धाँधली भएको प्रमाण सार्वजनिक गर्न सकेन । ओएएसको प्रतिवेदन स्वयम् तथ्यहीन, सत्यलाई तोडमरोड गरिएको र झूटो सूचनामा आधारित भएको समीक्षा कयौँ स्वतन्त्र अध्ययन संस्थाहरूले गरिसकेका छन् । सडक हिंसा, सैनिक विद्रोह र सैनिक विद्रोहविरूद्धको जनआन्दोलनका क्रममा सयौँ बोलिभियालीहरूको ज्यान गएको थियो । बोलिभियाको राजनीतिक अस्थिरता र हिंसाका लागि ओएएसका प्रमुख अलमाग्रो र संरा अमेरिकाको हस्तक्षेप नै मूल कारण थियो । त्यसैले पूर्वराष्ट्रपति एवं मास पार्टीका अध्यक्ष इभो मोरालेसले अलमाग्रोविरूद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत–आईसीसीमा मुद्दा हाल्ने र उनलाई आईसीसीमा घिसार्ने बताउनुभएको छ ।
नेता मोरालेस र आर्सेले अलमाग्रोसित ओएएसको महासचिव पदमा रहने नैतिक आधार र वैधानिकता समाप्त भइसकेको बताउँदै तत्काल राजीनामा माग गर्नुभएको छ ।
“यदि अलमाग्रोसित कुनै वैधानिकता बाँकी छ भने त्यो भनेको अविलम्ब राजीनामा गर्ने मात्र हो । निश्चय नै उनीमाथि मुद्दा चलाइनुपर्छ र सजाय गरिनुपर्छ ताकि ल्याटिन अमेरिकी र क्यारिबियाली राज्यहरूले आफूलाई अलमाग्रो र उसको टिमले थप हानी पु¥याउन नसकोस् । तिनीहरूले कतै पनि जनमतको र जनताका इच्छाहरूको कदर गरेका अभिलेख छैनन् । लुइस अलमाग्रो र म्यानुयल गोञ्जालेसको कदमका कारण मानव अधिकारको व्यापक हनन र मानवताविरूद्धको अपराधसमेत बोलिभियामा भए । हामी ती सबैका लागि आईसीसीमा तिनीहरूविरूद्ध मुद्दा चलाउन रिट दायर गर्नेछौँ ।” मोरालेसले भन्नुभयो ।
पूर्वराष्ट्रपति मोरालेसले आदिवासी सङ्गठनहरूसँगै आफूले अलमाग्रो र ओएएसको उनका साथीहरूको टोलीमाथि आईसीसीमा मुद्दा चलाउन लागेको स्पष्ट पार्नुभयो ।
अमेरिका भाग्ने तयारीमा दक्षिणपन्थीहरू
यसैबीच सैनिक विद्रोहमा प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गरेका दक्षिणपन्थी नेताहरू र सरकारी अधिकारीहरू संरा अमेरिका भाग्ने तयारी गर्नमा लागेको आशङ्का छ । सङ्क्रमणकालीन सरकारले संरा अमेरिकी प्रशासनसित ३५० वटा स्थायी बसोबासको अधिकारसहितको प्रवेशाज्ञा माग गरेको घटनाले त्यस्तो आशङ्का भएको हो ।
संरा अमेरिकाको एनबीसी न्यूज नेटवर्कका टम ब्रुकले जियानिन एनेजले ३५० वटा प्रवेशाज्ञाको लागि पत्राचार गरेको अमेरिकी राज्य विभागको भिसा वितरण कार्यालयको हवाला दिँदै समाचार लेखेका छन् । त्यस्तो प्रवेशाज्ञाको माग राष्ट्रपति लुइस आर्से क्याटेकोराको सरकारले मुद्दा चलाउन र कैद गर्न सक्ने आशङ्काको आधारमा गरिएको अनुमान छ । ‘भाग्ने समय ?’ शीर्षकमा उक्त समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ । एनेज नेतृत्वको सरकारले मास पार्टीलाई कमजोर पार्न र सत्तामा फर्कन नदिन अनेक षडयन्त्र र दमन गरेको थियो तर जनताको प्रतिरोधका कारण फासीवादी सरकारको हरेक कदम असफल हुँदै अन्ततः अक्टोबर १४ का दिन निर्वाचन गर्न बाध्य भएको हो । दक्षिणपन्थी र अतिदक्षिणपन्थीहरूबीच एकता हुन नसक्दा र मास पार्टीकै लोकप्रियताका कारण पुनः एक वर्षपछि समाजवादउन्मुख आन्दोलन पार्टी (मास) पुनः शक्तिमा आएको छ । दक्षिण अमेरिकी महादेशमै सबैभन्दा बढी आर्थिक वृद्धिदर कायम गर्दै विकासको पथमा लम्किरहेको देश बोलिभियामा एक वर्षको गत्यावरोधपछि पुनः आर्थिक विकास र सामाजिक कल्याणका योजनाको कार्यान्वयन सुनिश्चित भएको छ । मास पार्टीको सरकारले विगतमाभन्दा बढी सजग र सचेत भई क्रान्तिकारी कदम चाल्नेमा बोलिभियाली जनतामात्र नभई विश्वकै न्यायप्रेमी जनता आशावादी बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *