भर्खरै :

‘भगवान’ विरुद्ध विज्ञानको सङ्घर्ष

जब ‘भगवान’ निःशस्त्र भए !
सन् १७५२ जून महिनाको एक अपराह्न । संरा अमेरिकाको फिलाडेल्फिया सहरको आकाश घुर्मैलो थियो । पानी पर्न लागेको थियो, चट्याङ पर्लाजस्ता थियो, सहरका अधिकांश मानिस घरभित्र पुग्न दौडादौड गरिरहेका थिए । तर, बेन्जामिन फ्रान्कलिन यही अवसर पर्खँदै थिए । उनले यही समय चङ्गा उडाउन सबभन्दा राम्रो समय भएको निर्णय गरे । कुरो अचम्मको लाग्छ ।

बेन्जामिन फ्रान्कलिन

‘ईश्वर क्रुद्ध भएर आसुरी शक्तिमाथि घनले हिर्काउँदा चट्याङ पर्छ’ भन्ने मानिसको विश्वास थियो । फ्रान्कलिन यसै भ्रमलाई चिर्न चाहन्थे । उनी चट्याङ पर्दा बादलमा बिजुली प्रवाह हुने कुरा संसारलाई देखाउन चाहन्थे । त्यसैले उनी आँधीबेहरीकै पर्खाइमा थिए । रेसमको ठूलो चङ्गा, रेसमकै धागो, गाँजाको धागो, घरको ढोकाको साँचो, बिजुली चार्ज भर्ने सामग्री (लीडेन), धातुकै तार उनको प्रयोगका सामग्री थिए । आँधीबेहरीबीच फ्रान्किलिनले रेशमको चङ्गा उडाए । फ्रान्कलिन आफ्नो प्रयोगमा सफल भए, चट्याङ पर्दा बिजुली प्रवाह हुने कुरा प्रमाणित गरेरै छाडे । यसरी भगवानको एउटा भ्रम चिरियो । भगवान निःशस्त्र भए ।
बाइबलमाथि विज्ञानको विजय
आजभन्दा ४ सय वर्षअगाडि इटालीका खगोलविद्, गणितज्ञ तथा भौतिकशास्त्री ग्यालिलेअ ग्यालिलिले पृथ्वी सूर्यको परिक्रमा गर्छ भन्ने वैज्ञानिक प्रयोगद्वारा पुष्टि गरे । कपर्निकसको सूर्यकेन्द्रित सिद्धान्तलाई प्रमाणित गर्ने कार्य ग्यालिलेअ गरेका थिए । ग्यालिलेअ आफैले बनाएको टेलिस्कोपको प्रयोग गरेर उक्त तथ्य पत्ता लगाएका थिए । उनले सूर्यमा देखिएका धब्बा (सनस्पट) देखाई सूर्य क्षय हुँदै गइरहेको कुरा बताए । सूर्यलाई भगवानको रूपमा लिने चर्चलाई यो कुरा चित्त बुझ्ने कुरै थिएन । त्यो एकमानेमा ईश्वर अविनाशी छ भन्ने मान्यतामाथिको प्रहार थियो । कपर्निकसको सिद्धान्तप्रति चर्चले यसअगाडि नै असहमति जनाइसकेको थियो । ग्यालिलेअ पनि इसाई धर्मगुरुहरूको कोपभाजनमा पर्ने भए । तैपनि, ग्यालिलेअले कपर्निकसको सिद्धान्तको प्रचार गर्न छोडेनन् ।

ग्यालिलेअ ग्यालिलि

सन् १६१६ मा चर्चले उनलाई ‘कपर्निकसको समर्थनमा बोल्न बन्द गर’ भन्ने आदेश दियो । तर, उनी निर्भीक थिए । अनुसन्धान जारी राखे । रोमन क्याथोलिक अदालतले ग्यालिलेअलाई आजीवन जेल सजाय सुनायो । तर, उमेरको कारणले ग्यालिलेअलाई नजरबन्दमा राखियो । वास्तवमा ग्यालिलेअको सङ्घर्ष धर्मविरुद्ध विज्ञानको सङ्घर्ष थियो । बाइबलमाथि विज्ञानले विजय पाइछाड्यो ।
‘ब्रह्मा’ ले हावा खाए
इसाई धर्मको ‘पवित्र’ ग्रन्थ बाइबलमा ईश्वरले सृष्टिको सिर्जना एकै सातामा गरेको उल्लेख छ । बाइबलका अनुसार ईश्वरले पहिलो दिन सूर्य र पानी, दोस्रो दिन आकाश बनाए । त्यस्तै तेस्रो दिन धर्ती र समुद्र बनाइए । त्यसपछि धर्तीमा रुखबिरुवा रोपियो । पाँचौँ दिन समुद्रमा बस्ने जीवजन्तु र आकाशमा उड्ने पक्षी र छैटौँ दिनमा मान्छे बनाइयो । सातौँ दिन आइतबार परेको थियो, ईश्वरले आराम लिए । त्यसैले आज पनि इसाई धर्म मान्ने देशहरूमा आइतबार बिदा मनाइन्छ ।
हिन्दु धर्मग्रन्थहरूका अनुसार ब्रह्माले सारा जगतको सृष्टि गरेका थिए । ब्रह्माको शरीरका विभिन्न अङ्गबाट विभिन्न जीवको उत्पत्ति भयो । एकदिन ब्रह्माले हीरा, मोती, पन्ना, सुन, चाँदीहरू पगाले । हरेक धातुको घोललाई मानिसको आकारमा उभ्याए । तर ब्रह्मालाई कुनै पनि आकृति उपयुक्त लागेन । अनेक प्रयोग गर्दागर्दैै ढिलो भइसकेको थियो । अन्तमा उनले शुद्ध माटोको एउटा मूर्ति बनाए र त्यसैमा प्राण फुकिदिए, मानिसको सृष्टि भयो । यही कथा हजारौँ वर्षदेखि भ्रम र अन्धविश्वास बनी मानिसको मस्तिष्कमा बसिरहेको छ । यस कथाले मानिसको जीवनमा माटोको महत्व दर्साउन खोजेको भन्नु त ठिक्कै होला । तर, यसरी नै मानिसको सृष्टि भयो भन्नु पूर्णतः अवैज्ञानिक छ । आजको विज्ञानले भन्छ, मानिस क्रमविकासको सिद्धान्तअनुसार २५ लाख वर्षअगाडि पृथ्वीमा उत्पत्ति भएको थियो ।

चाल्र्स डार्विन

वैज्ञानिक चाल्र्स डार्विनले विकसित गरेको जीव विकासको सिद्धान्तले बाइबललगायत विभिन्न धर्मग्रन्थहरूको खण्डन ग¥यो । डार्विनले संसारको यात्रा गरी अनेक जीवको अध्ययन गरे । उनले खासगरी ग्यालापागोस टापुहरूमा पाइने फरकफरक खालका फिन्च चराको अध्ययन गरे । उनले दक्षिण अमेरिकी महादेशबाट बसाइँसराइ गरी आएका ती चराहरू फरकफरक टापुका फरकफरक वातावरणअनुसार अनुकूलित (याडाप्टेसन) हुने क्रममा नयाँ प्रजातिका फिन्चहरूको क्रमविकास (इभलुसन) भएको बताए । यसलाई प्राकृतिक छनोटको सिद्धान्त भनिन्छ । मानिसले आलुको बिउ छान्दा राम्रा र पुष्टमात्र छानेजस्तै प्रकृतिले पनि असल, सुहाउँदो, उपयुक्त जीव छनोट गर्छ । प्रकृतिसापेक्ष हुर्किनसक्ने जीवको अस्तित्व रहन्छ, जीवनको सङ्घर्षमा सफल हुने जीव पृथ्वीमा बाँकी रहन्छन्, नसक्ने हराउँछन्, यही सङ्घर्षकै क्रममा नयाँ जीवको उत्पत्ति हुन्छ भन्ने सिद्धान्त डार्विनले पत्ता लगाए । करोडौँ वर्षको क्रमविकासको परिणामस्वरूप आज पृथ्वीमा लाखौं प्रजातिका जीव पाइन्छन् । क्रमविकासको सिद्धान्तले पृथ्वीका जीव कुनै भगवानले अलगअलग बनाएको नभएर हजारौँ वर्षको अवधिमा एक प्रजातिमा परिवर्तन हुँदै नयाँ प्रजातिको उत्पत्ति हुन्छ भन्छ । यसरी डार्विनले भगवानको सिर्जनालाई अस्वीकार गरे ।
‘भगवान’ लाई चुनौती
१९ औँ शताब्दीका वैज्ञानिक लुई पाश्चरले कीटाणु सिद्धान्त (जर्म थेअरी) पत्ता लगाए । उनले रोगका कीटाणु कुनै पदार्थमा आफसेआफ पैदा हुन्छ भन्ने धारणाको खण्डन गरे । उनले बाहिरबाटै प्रवेश गर्ने कीटाणुको सङ्क्रमणबाट कुनै सरुवा रोग लाग्छ भन्ने बताए । कुनै कीटाणुको वृद्धिको लागि त्यसको बाहिरी स्रोत अनिवार्य हुन्छ । यस कुराको पुष्ट्याइँको निम्ति पाश्चरले एउटा प्रयोग गरे । एउटा काँचको बोतलमा बेसरी पकाएर बनाएको मासुको झोल (सुरुवा) हाले । सुरुवा कीटाणु मर्ने तापक्रमसम्म तताइएको थियो । त्यसपछि हावा पनि पस्न नसक्ने गरी बोतलको मुख बन्द गरे । त्यो बोतलको सुरुवा धेरै दिनसम्म राखेर खोल्दा पनि जस्ताको तस्तै थियो । बाहिरबाट कीटाणु प्रवेश गर्न नदिँदा कुनै पनि पदार्थ धेरै समयसम्म शुद्ध र ताजा रहन्छ भन्ने प्रमाणित भयो । कुनै रोगको सन्दर्भमा पनि यही सिद्धान्त लागु हुन्छ । कुनै रोगको खास कारण हुन्छ, त्यो कारण पत्ता लागेपछि उपचार पनि गर्न सकिन्छ । कोही दुष्ट आत्मा वा भूतप्रेत लागेर रोग लाग्ने कुरा सत्य होइन भन्ने यसबाट पनि पुष्टि भयो ।

जोसेफ लिस्टर

पाश्चरको यही सिद्धान्तको आधारमा घाउ पाक्ने कारण पत्ता लगाए वैज्ञानिक लिष्टरले । १९ औँ शताब्दीको अन्त्यतिर आइपुग्दा पनि अस्पतालमा घाउ चिरफार गरेपछि पाक्ने समस्याको कारण चिकित्सकहरू चिन्तित थिए । घाउ पाक्न नदिन के गर्ने भन्ने विषयमा उनले हावामा भएका कीटाणुलाई घाउभित्र पस्न नदिने हो भने रोगीको घाउ सजिलै निको हुन्छ भन्ने पत्ता लगाए । लिष्टरले चिरफार गर्ने सामान कार्वोलिक एसिडमा डुबाएर सफा गर्न थाले । हावामा भएका कीटाणु पनि घाउभित्र पस्न नपाऊन् भनी रोगीको घाउ चिरफार गर्नुअघि कोठामा कार्वोलिक एसिडको वाफ छोड्न थालियो । त्यही औषधि राखिएको कपडाले घाउ छोपिन्थ्यो । यसबाट ठूला घाउचोट पनि छिटो निको भए । लिष्टरको आविष्कार पनि ‘भगवान’ लाई अर्को चुनौती बन्यो ।
रोग कुनै श्राप होइन
१९ औँ शताब्दीको मध्यतिर सूक्ष्म कीटाणुबाट नै भयङ्कर रोग लाग्ने कुरा मानिसलाई थाहै थिएन । कीटाणु मानिसको शरीरमा कसरी बढ्छन्, कसरी काम गर्छन् र ती एक मानिसबाट अर्कोमा कसरी सर्छन् भन्ने कुरा राम्ररी थाहा भइसकेको थिएन । तर, जर्मनीका वैज्ञानिक रबर्ट ककले हरेक रोगका बेग्लाबेग्लै कीटाणु हुन्छन् भन्ने विचार अघि सारे ।

लुइ पास्चर

यसैबीच १९ औँ शताब्दीको उत्तर्राद्धतिर एउटा नयाँ किसिमको रोग जताततै देखाप¥यो । ठूल्ठूला चिकित्सकहरू रोगको कारण पत्ता लगाउन जोडतोडले लागे । सन् १८८२ मा कक्ले एक खालको ब्याक्टेरिया (माइक्रोब्याक्टेरिअम ट्युबरकुलाइ) को कारण लाग्ने रोग पत्ता लगाए । त्यस रोगको नाम ट्युबरक्युलोसिस (टीबी) राखियो । कैयौँ दिनसम्म बाँदर, सुँगुर, खरायो र भ्यागुतोमा प्रशस्त प्रयोग गरेपछि यो रोगका व्याक्टेरिया हावाको माध्यमबाट मानिसको नाकमुख हुँदै शरीरभित्र छिर्ने र फोक्सोमा पुगेर क्षति पु¥याउने कुरा कक्ले नै पत्ता लगाए । टीबीका रोगीको लुगाफाटा, बिछ्यौना, खकार, रोगीले चलाएका वस्तुमा यो रोगका कीटाणु रहनसक्छन् र तिनै सामान चलाउने अरू मान्छेमा यो रोग सर्ने सम्भावना हुन्छ भन्ने कुरा उनले पत्ता लगाएका थिए । कुनै देवीदेवताको श्राप वा त्यस्तै कुनै अभौतिक कारणले यस्तो रोग लाग्ने होइन भन्ने कुरा विज्ञानले प्रमाणित ग¥यो ।
चाडपर्वबाट ‘भगवान’ निकालौँ
हिन्दू धर्म मान्ने नेपाली दसैँ पर्व मनाइरहेका छन्, तिहार पनि छिट्टै आउँदै छ । दसैँतिहार पर्वको सैद्धान्तिक आधार पनि काल्पनिक कथा (मिथक) नै हो, दसैँको भगवतीले महिषासुर वध गरेको कथा होस् वा रामले रावणमाथि विजय प्राप्त गरेको कथा वा तिहारको बलिराजा र यमदूतको कथा । ‘देउता’ को महिमा गायन गर्ने मुख्य विषयवस्तुमा आधारित कथा नै दसैँको सैद्धान्तिक आधार हो । दसैँलगायतका अनेक पर्वको जरामा धार्मिक अन्धविश्वास व्याप्त छ ।
आजभन्दा ४ सय वर्षअगाडि म्याकिअवेलीले शासकहरूले जनतालाई कलात्मक ढङ्गबाट फकाउन धर्म एउटा माध्यम हुनसक्ने बताएका थिए । जनतामाथि प्रभाव वा नियन्त्रण कायम गर्न धर्मलाई उपयोग गरियो, खासगरी पश्चिमा समाजमा । त्यसैले धर्मलाई माक्र्सले अफिमसँग तुलना गरे । म्याकिअवेली त राजा धार्मिक प्रवृत्तिका हुनुपर्छ भन्ने होइन, धार्मिक प्रवृत्तिको हुँ भन्ने भान पार्नुपर्ने तर्क गर्छन् । धर्मलाई हतियारको रूपमा प्रयोग गरेर शासकहरूले लामो समयसम्म शासन गरे । म ईश्वरको प्रतिनिधि हुँ, ईश्वरले मलाई शासन गर्न पठाएका हुन् भन्ने धेरै राजा, महाराजा वा बादशाह अस्तित्वमा आए । ती शासकहरूले धर्मगुरु वा पण्डितमार्फत ईश्वरले नै संसारको सिर्जना गरेको हो, ईश्वर अपरम्पार छ जस्ता विचारधाराहरू समाजमा बलात् थोपरे ।
देवताको नाममा कुनै निर्जीव वस्तुलाई दिइने पशुपन्छीको भोगलाई मासु खाने बहानामात्र भन्नु उपयुक्त हुन्न । अनावश्यकरूपमा हजारौँ पशुको बलि दिनु कुनै हिसाबले अर्थपूर्ण भन्न सकिन्न । ईश्वरको वन्दना गरेपछि सबै फल प्राप्त हुन्छ वा कुनै पूजाविधि गरेपछि कोही निरोगी हुन्छ वा आयु बढ्छ भन्ने कुरा अन्धविश्वासबाहेक अरू केही हुनसक्दैन ।
उत्पादनका साधन र उत्पादन सम्बन्धले कुनै पनि समाजको संस्कृतिको निर्माण हुने कुरा कार्ल माक्र्सले बताएका छन् । सामन्ती समाजको प्रतिबिम्ब दसैँतिहारमा पनि नभेटिने होइन । हो, दसैँतिहारले नेपाली समाज कृषिमा आधारित भएको भन्ने दर्साउँछ । दसैँतिहारमा हुने आफन्तसँगको भेटघाट, नाचगान, आराम, मिठोमसिनो खानपान नै यी चाडका बलिया पक्ष हुन् । आपसी प्रेम, सद्भाव वृद्धिको कसीमा पनि केही चाडपर्वहरू सार्थक पाइन्छन्, प्रकृतिको सम्मान तथा जैविक विविधताको महत्वबोध गराउने पक्ष पनि उत्तिकै महत्वपूर्ण छन् । यी सकारात्मक पक्षहरू जोगाउँदै सांस्कृतिक चाडपर्वबाट ‘भगवान’ नहटाइएसम्म हाम्रो समाजले अझै अग्रगति लिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *