सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
‘चिनियाँ जन-कम्युन’ पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले लेख्नुभएको र वर्कर्स पब्लिकेशनले २०६६ फागुनमा प्रकाशित गरेको हो । लेखकले यो पुस्तक सन् १९६०-६२ तिरै प्रकाशित गर्न चाहनुभएको तर ‘भियतनाम एक परिचय’ र ‘चीन भ्रमण’ माथि प्रतिबन्ध लागेकोले यसको प्रकाशन धेरै वर्षपछि सर्यो ।
सन् १९६० को चीन र सन् २०१० को चीनमा धेरै गुणा फरक भए तापनि चीनको प्रगतिको जग पुरानै भएको र चीन कसरी अगाडि बढ्यो भन्ने अध्ययनकै वियष भएको पुस्तकमा बताइएको छ ।
पुस्तकलाई तीन अध्यायमा बाँडिएको छ । पहिलो अध्यायमा पुरानो भूमि व्यवस्था, भूमि सुधार, पारस्परिक सहयोग दल, प्राथमिक सहकारी संस्था र अगाडि बढेको सहकारी शीर्षकका विषय समावेश छन् । दोस्रो अध्यायमा जन-कम्युन किन र कसरी ?, कम्युनमा सदस्यहरूको दैनिक बन्दोवस्त, प्रशासन र लोक-कल्याण, वितरण व्यवस्था, व्यक्तिगत सम्पत्तिको प्रश्न, परिवारको प्रश्न, कम्युनको गुण र आकार एवम् समाजवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण शीर्षकका विषयहरू छन् । तेस्रो अध्यायमा पेचिङको एक सहरी कम्युन, पश्चिमी झीलको लोक-कम्युनको एक फार्म, शाङ्घाईको जन कम्युन शीर्षकको विषय छ ।
सन् १९४९ को क्रान्तिभन्दा पहिले चीनको ७० देखि ८० प्रतिशत जग्गा जमिनदारहरू, राजा-रजौटाहरू र २० देखि ३० प्रतिशत जग्गा मध्यम वर्गको हातमा थियो । जमिनदार र राजा-रजौटाहरूसँग आँखैले हेरेर नभ्याउने जग्गा थियो । तर, गरिब किसानहरूको भने पाइला टेक्ने सम्मको पनि जग्गा थिएन । राजा-रजौटाले किसानको जमिन खोसेर आफ्नालाई बाँड्थे । जमिनदारलाई किसानले उब्जनीको ठूलो भाग कूतको रूपमा बुझाउनुपथ्र्यो । आखिरमा किसान आप्mनो घर-खेत, जहान, छोराछोरीलगायत सारा जमिनदारहरूलाई बेच्न बाध्य हुन्थ्यो । कैयौँ किसान यताउता भड्केर आत्महत्या गर्थे । किसानहरू एकातिर सामन्तहरूबाट र अर्कोतिर पुँजीपतिवर्गबाट पनि शोषित थिए ।
चिनियाँ क्रान्ति सम्पन्न हुनुपूर्व नै मुक्त क्षेत्रमा भूमि वितरण कार्य सम्पन्न भएको थियो । सन् १९४९ देखि १९५२ सम्ममा भूमि सुधार अथवा जग्गा वितरणको काम सिध्याइएको थियो । जग्गा वितरणले मात्र चीनको खेती समस्या समाधान भएन । बहुमत किसानहरूसँग साधारण कृषि औजारसमेत थिएन । अर्थात्, किसानसँग आफ्नो जिउको श्रम शक्तिबाहेक केही थिएन । औजारको कमी र श्रम शक्तिको सदुपयोग गर्न खेतीलाई समाजवादीकरण गर्न चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशनमा ‘पारस्परिक सहयोग दल’ स्थापना गरियो ।
पारस्परिक सहयोग दलले आफ्ना सदस्यहरूको खेतीका औजारको कमीलाई केही मात्रामा हल गरेर समयमै खेतको काम सिध्याउन समर्थ भयो । काममा निपुणता बढेर उत्पादनमा वृद्धि भयो र किसानहरूको आम्दानी पनि बढ्यो । सामूहिक श्रम र अव्यवस्थित (विकेन्द्रित) प्रबन्धको बीचमा उत्पन्न हुने अन्तरविरोधलाई यसले मात्रै समाधान गर्न सक्दैनथ्यो । अव्यवस्थित प्रबन्धमा सामूहिक श्रम राम्रोसँग सञ्चालन हुन सक्दैनथ्यो ।
उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व भएकोले काममा ल्याउन सक्ने गोरु, गधा आदि भएको अलि हुनेखाने किसानले बढी फाइदा उठाउँथ्यो । यसले वर्ग भेद अथवा आन्तरिक आर्थिक स्तरमा असमानता यथावत हुने भयो । यस प्रकारको अन्तरविरोध हटाउन पारस्परिक सहयोग दलभन्दा उचो किसिमको खेती उत्पादन सङ्गठनको आवश्यकता महसुस गरी ‘प्राथमिक खेती सहकारी संस्था’ को स्थापना गरियो ।
प्राथमिक खेती सहकारी संस्थामा केन्द्रित सामूहिक प्रबन्धको आधारमा व्यक्तिगत, सानो आकारको उत्पादनबाट ठूलो आकारको सामूहिक उत्पादनमा बदलियो । उत्पादनका साधनहरूको राम्रो र उचित प्रयोग गर्न सहज भयो । प्राथमिक खेती सहकारी पारस्परिक सहयोग दलभन्दा ठूलो आकारको भएकोले श्रम शक्तिको राम्रो प्रयोगको लागि योग्यताअनुसार कार्य विभाजनको सिद्धान्तलाई लागू गरियो । यसका साथै समाजवादी वितरण व्यवस्थाका कारण उत्पादनमा वृद्धि भयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङले किसानहरूलाई साना अर्ध-समाजवादी खेती सहकारी संस्थाहरू मिलेर ठूल-ठूला पूणर् समाजवादी खेती सहकारी संस्था बनाएमा बढी फाइदा हुन्छ भनेर ‘चीनको गाउँतिर समाजवादको लहर’ भन्ने किताबमा सङ्केत गर्नुभयो ।
सन् १९५६ मा अगाडि बढेको अथवा पूणर् समाजवादी सहकारी संस्थाको स्थापनाको आन्दोलन तीव्र गतिमा सुरु भयो । यस संस्थामा सन् १९५६ जूनसम्ममा ७ करोड ५४ लाख १० हजार अथवा ६२.२ प्रतिशत किसान परिवारले भाग लिइसकेका थिए । प्राथमिक सहकारीभन्दा समाजवादी सहकारी संस्था आकार र समाजवादी चरित्रमा अगाडि बढेको थियो ।
चिनियाँ जन कम्युनलाई चिनियाँ भाषामा ‘रेन-मिन कुंशो’ भन्दछन् । ‘रेन-मिन’ को अर्थ मानिसहरू र ‘कुंशो’ को अर्थ ‘ज्यासल’ भन्ने बुझिन्छ । चिनियाँ जन कम्युनको विशेषता भन्नु नै जन कम्युन एक तल्लो सामाजिक सङ्गठन हुनुका साथै राज्य-शासनको एक तल्लो अङ्ग हुनु हो ।
सन् १९५८ मा सुरु भएको जन-कम्युनमा केही महिनामा नै ७ लाख ४० हजार खेती उत्पादक सहकारीहरू मिलेर २६ हजार जन-कम्युन स्थापना गरे । स्थानीय किसानहरूको पूणर् स्वेच्छाले स्वतन्त्रपूर्वक स्थापना भएको जन-कम्युनमा १२ करोड घर परिवार सम्मिलित थिए ।
चिनियाँ जन-कम्युनमा सबै सदस्यहरूलाई खाने, लाउने, बस्ने, पढ्ने, स्वास्थ्य सुरक्षा, जाडोबाट बच्ने, विवाह, सुत्केरी र अन्तिम संस्कार आदि जीवनको तल्लो आवश्यकताहरूको राम्रो व्यवस्था बिना पैसाले अथवा निःशुल्क वितरणको बन्दोवस्त थियो । कम्युनको आप्mनै सामूहिक भान्साघर, अस्पताल, सेनेटोरियम (स्वास्थ्य निवास), क्लिनिक, स्कूल, पुस्तकालय, प्रसुति गृह, मनोरञ्जनका लागि क्लबहरू, सिनेमा हल र नाटक घरहरू, पार्कहरू हुन्थ्यो । सामूहिक लुगा सिउने र कपाल काट्ने बन्दोबस्त पनि कम्युनमै हुन्थ्यो ।
कम्युनमा चिनियाँ जनता आफ्नो देशमा समाजवादको निर्माणको लागि स्वेच्छापूर्वक सैनिकहरू जस्तै सङ्गठित होऊ, लडाइँको मैदान जस्तै काम गर, सामूहिक जीवन व्यतित गरको नारालाई समाजवादी तरिकाले कार्यरूपमा ल्याइएको हुन्थ्यो । पुँजीवादी देशहरूको उत्पादनका केन्द्रहरूमा लागू भए जस्तो आज्ञा र जबरजस्ती कसैमाथि थोपरिँदैनथ्यो ।
कम्युनहरूमा ‘हरेकलाई कामअनुसार’ भन्ने समाजवादी वितरण व्यवस्था प्रचलनमा ल्याइएको थियो । जसले धेरै काम गर्छ, उसले त्यति नै बढी पाउँछ, जसले काम गर्दैन उसले केही पनि अथवा खान पनि पाउँदैन भन्ने साधारण सिद्धान्तलाई कार्यरूपमा ल्याइएको थियो । तर, यो नियम काम गर्न नसक्ने, बूढा-बूढी, केटा-केटी, लुला-लङ्गडा, टुहुरा-टुहुरीहरूलाई लागू हँुदैनथ्यो । कम्युनको उत्पादनअनुसार वितरणको व्यवस्था हुन्थ्यो । उत्पादनको १० प्रतिशत राज्य सरकारलाई करको रूपमा दिएपछि बाँकी ३० प्रतिशत जन कल्याण, उपचार, बालोद्यान आदि लोक कल्याणको क्षेत्रमा लगाइन्थ्यो । १० प्रतिशत उत्पादन बढाउन कम्युनको कोषमा र ५० प्रतिशत कामअनुसारको नियमअनुसार कम्युनका सारा सदस्यहरूमा वितरण गरिन्थ्यो ।
कम्युनको विरोध गर्नेहरूको विषय भनेको व्यक्तिगत सम्पत्ति पनि थियो । पुँजीपतिवर्ग कम्युनमा व्यक्तिगत सम्पत्ति राख्न पाइन्न भनेर घाँटी सुकाएर कराउँथे । कम्युनमा आपूmले कमाएको जम्मै सम्पत्ति आपूmसँगै खुशीसाथ राख्न पाइन्थ्यो । तर, व्यक्तिगत सम्पत्तिको नाउँमा त्यस सम्पत्तिबाट आप्mनो फाइदाको निमित्त अरूको शोषण गर्न पाइँदैनथ्यो ।
मानिसले मानिसलाई शोषण गर्ने एउटा बलियो साधन उत्पादनका साधनहरू हुन् । जग्गा, जमिन र कलकारखानाहरू, खेतमा काम गर्ने औजार, जोतिने जनावरहरू आदि उत्पादनका साधनहरू हुन् । उत्पादनका साधनहरूमा व्यक्तिगत स्वामित्व रहेसम्म उत्पादनका साधन नहुने किसान – मजदुरवर्ग सधैँ उत्पादनका साधनका मालिकहरूद्वारा शोषित भइरहने हुँदा अर्ध-समाजवादी सहकारीले खेतीको समयमै उत्पादनका साधनहरूमा व्यक्तिगत मालिकत्व हटाउँदै लगेको थियो ।
विरोधीहरूले कम्युनले पारिवारिक जीवन नै खलबल्यायो भनेर सरासर झूटा कुराहरू प्रचार गर्थे । सामन्तवादी पितृसत्तात्मक परिवारमा आइमाईहरू घरेलु दासताको जाँतोमा पिसिएका हुन्थे । सामन्ती अनुाशासनको नाउँमा घरका सदस्यहरूले आफ्नो इच्छा, स्वतन्त्रता र व्यक्तित्वलाई तिलाञ्जली दिनु पर्दथ्यो । समाजवादी र प्रजातान्त्रिक संयुक्त पारिवारिक व्यवस्थामा युवा-युवती र अरू सबै परिवारका सदस्यहरूको अधिकारलाई सुरक्षित गरिएको थियो, जसलाई युवा-युवती र जनताले सहर्ष स्वागत गरेका थिए ।
कम्युनमा खालि समाजवादी स्वभाव मात्र भएको नभई चाहिए जति खानाको निःशुल्क वितरण, सबै जनताको स्वामित्व (सामूहिक सम्पत्तिमा), एउटै संस्थामा खेती, उद्योग, व्यापार, शिक्षा र संस्कृति, जनसेना र प्रशासकीय कार्य आदिले गर्दा चिनियाँ समाज साम्यवादी समाज भित्रिन चाहिने परिस्थितिहरू पनि विद्यमान देखियो । चिनियाँ समाज ‘हरेकलाई कामअनुसार’ को सिद्धान्तबाट ‘आवश्यकताअनुसार’ को वितरणको सिद्धान्त लागू हुँदै साम्यवादी समाजमा भित्रिनेछ । त्यसबेला चीनमा सहर र गाउँको फरक, किसान र मजदुर, बौद्धिक काम र शारीरिक काममा भेद देखिने छैन । अनि, चिनियाँ जनता साधनहरूको प्रचुरता भएको समाजमा भित्रिने छन् । त्यो आदर्श समाजको कल्पना धेरै वर्ष अगाडि साम्यवादका चिन्तक, प्रवर्तक, श्रमिक जनताका महान् नेता कार्ल माक्र्स र फ्रेडरिक एँगेल्सले गर्नुभएको लेखकले ‘चिनियाँ जन-कम्युन’ पुस्तकमा उल्लेख गर्नुभएको छ । पुस्तकको प्रकाशकीयमा उल्लेख गरिएझैँ ‘हाम्रा सहकारी संस्थाहरूले आफ्नो उपयोगिता र सार्थकतामा अझ बढी उपलब्धी हासिल गर्न प्रस्तुत पुस्तक सहयोगी हुने’ आशा गर्न सकिन्छ ।
Leave a Reply