भर्खरै :

संसारलाई उपनिवेशमुक्त बनाउन सोभियत सङ्घको योगदान अमूल्य

जुम्ला, २६ कार्तिक । नेपाल मजदुर किसान पार्टी जुम्लाले ‘अक्टोबर क्रान्ति’ दिवसको अवसरमा मङ्गलबार कार्यकर्ताहरूबीच अन्तरक्रिया कार्यक्रम ग¥यो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले अक्टोबर क्रान्तिले समाजवादी आन्दोलनलाई शक्तिशाली बनाउन उल्लेख्य योगदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालका कम्युनिस्ट हुँ भन्नेहरूले नेपालको कम्युनिस्ट आन्दोलनलाई अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादसामु आत्मसमर्पण गरेका छन् । नेमकिपा जनतालाई राजनीतिकरूपले सचेत गरी देशमा समाजवाद स्थापना गर्न सङ्घर्षरत छ ।”
उहाँले शिक्षा र स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम, उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण, ज्येष्ठ नागरिकको उचित हेरचाह गर्ने आदर्श निकेतनको व्यवस्था समाजवादी व्यवस्थाले गर्ने स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सल्लाहकार जयबहादुर शाहीले समाजवादी व्यवस्थाको स्थापना अपरिहार्य भएको उल्लेख गर्दै कुनै पनि शक्तिले समाजवादी आन्दोलनलाई पराजित गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा जुम्लाका कार्यवाहक अध्यक्ष राजेश्वर देवकोटाले नेमकिपाले नपालको कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देश गर्ने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा पूर्णलाल खत्री, यज्ञबहादुर बुढथापा, लालबहादुर बुढा, टेकबहादुर रोकाया र धर्मेन्द्र अधिकारीले पनि बोल्नुभएको थियो ।
कीर्तिपुरमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया
नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिले ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रियालाई निरन्तरता दिएको छ ।
१०३ औँ अक्टोबर क्रान्ति दिवससमेत जोडेर मङ्गलबार अनलाइनमा आयोजित कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले अक्टोबर क्रान्तिले विश्वभरका मजदुर वर्गलाई बिउँझाएको उल्लेख गर्नुभयो ।
अक्टोबर क्रान्तिले एसिया, अफ्रिका, ल्याटिन अमेरिकी जनतालाई मुक्तिको युद्ध लड्न उत्प्रेरित गरेको भन्दै उहाँले क्रान्तिको निम्ति एउटा क्रान्तिकारी कार्यकर्तासहितको क्रान्तिकारी पार्टी चाहिने उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले विचारधारात्मक सङ्घर्षमा सदा जोड दिनुपर्ने भन्दै क्रान्ति मुठीभर समझदार र बहादुर क्रान्तिकारीले मात्र गर्ने होइन भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय परिस्थितिको साथै देशका जनता पनि क्रान्तिको निम्ति तयार हुुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने विचार राख्नुभयो । उहाँले राजनीतिक गतिविधिमा खट्ने तर अध्ययनमा बेवास्ता गर्न नहुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा टोखाका शैलेष डंगोल, सुनयना महर्जन, रामचन्द्र महर्जनले आ–आफ्नो विचार राख्नुभएको थियो ।
दुवाकोटमा अक्टोबर क्रान्तिबारे प्रवचन
नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगु २ वडा एकाइ समितिको आयोजनामा बुधबार चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमा पार्टी तथा जनवर्गीय सङ्गठनका समर्थकहरूको भेला भयो ।
उक्त भेलामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सफल भएको चर्चा गर्दै नेपालका शासकहरू देश र जनताको हितमा काम नगरी पद र पैसाको लागि होडबाजी गरिरहेको बताउनुभयो । कृषिप्रधान देशमा कमिसन खानको लागि मल कारखाना स्थापना नगरेको उहाँले प्रस्ट पार्नुभयो ।
भेलामा नेक्राकिसङ्घ चाँगु नगर समितिका सचिव गणेशराम सुवालले नेकपाले सरकारमा गएर जनतालाई धोका दिँदै आएको प्रस्ट पार्नुभयो ।
चाँगु २ वडाका किसान सङ्घका अध्यक्ष गोविन्दराम सुवालको सभापतित्वमा भएको कार्यक्रममा कमला दाहाल र अमबहादुर खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *