सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीले पाउने अंश हकको प्रश्न
- जेष्ठ १८, २०८३
महामारीबीच रूसी समाजवादी क्रान्तिको चर्चा
विश्वमा अचम्म किसिमले पुँजीवाद र समाजवादबीच द्वन्द्व तीव्र ढङ्गमा चर्किरहेको छ । यी दुईमध्ये मानव समाजका निम्ति कुन उपयुक्त या राम्रो व्यवस्था हो भन्नेबारे पुनः चर्को बहस चलेको लगभग एक सय वर्ष बित्दै छ । गत वर्षको नोभेम्बर–डिसेम्बरदेखि यो बहस सघनरूपमा सतहमा देखाप¥यो । जनस्तरमा यति व्यापक र विश्वव्यापी ढङ्गमा यस खालको बहस चलेको केही दशकपछि अहिले नै हो । कोभिड–१९ महामारीका कारण विश्व नयाँ सङ्कटमा फसिसकेपछि यो भिन्न खालको परिस्थिति तयार भएको हो । त्यसो त विश्वमा देखापर्ने आर्थिक सड्ढट, महामन्दीमा पनि समाजवाद र समाजवादी अर्थ व्यवस्थाबारे बहस चल्ने गरेको इतिहास छ । यस आधारमा यो पछिल्लो घटना अनौठो जरूर होइन !
संरा अमेरिका, बेलायत, ब्राजिल, स्पेन, इटाली, फ्रान्स र अन्य युरोपेली मुलुकमा महामारी अनियन्त्रित ढङ्गमा फैलियो । भारतीय जनता पनि त्यही दुर्भाग्य भोग्न बाध्य छन् । दसौँ लाख मानिस सङ्क्रमित भए । हरेक देशमा हजारौँ र लाखौँ मानिसको ज्यान गयो । पुँजीवादी व्यवस्थाले विकास चरमचुलीमा पु¥याएको दाबी गरिएका ती देशका जनताले स्वास्थ्य उपचार समेत पाएनन् । तिनले आफूलाई सबैभन्दा असुरक्षित ठाने । सरकारहरूले स्वास्थ्य क्षेत्रमा आवश्यक बन्दोवस्त मिलाउन सकेनन् । ती पूर्णरूपमा असफल साबित भए । फलस्वरूप हाहाकार मच्चियो । सङ्कटको बेला सरकारले असली रूप देखाएरै छाडेको जनताले अनुभव गरे । पुँजीवादी व्यवस्थामा अन्तरनिहीत खराबीकै कारण दुःख पाएको जनता महसुस गर्दै छन् । ज्यान जानेहरूको कुरा एउटा भयो भने ज्यान जोगिनेको अवस्था पनि बडो कारूणिक र नारकीय बन्दै गइरहेको खबरहरूले प्रस्ट बताउँदै छ । लाखौँ–लाख मानिसले रोजगार गुमाए । खानसमेत पाएनन् । रोगले भन्दा भोकले मानिसको ज्यान जान थाल्यो । पुँजीवादी व्यवस्थाको दोष र शासकवर्गको दुष्ट मतिकै कारण ती देशका कामदार जनता स्वास्थ्य सुविधा, काम, सामाजिक सुरक्षाको माग गर्दै सडकमा उत्रिँदै छन् । शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र राख्ने समाजवादी सोचको पक्षमा लाग्दै छन् । जनताको सुख–सुविधामा बेवास्ता गर्ने शासकहरूलाई सत्ताबाट फ्याँकेर दण्डित गर्दै छन् । त्यसको सुरुआत संरा अमेरिकाबाट भयो र ट्रम्पको पराजय तथा सत्ता बहिर्गमन त्यही क्रममा भयो भन्नु अतिशयुक्ति नहोला ¤ यो सिलसिला जरूर यतिमै सीमित हुनेछैन ।
१०३ औँ अक्टोबर समाजवादी क्रान्तिको वार्षिकी मनाउने क्रमसम्म आइपुग्दा विश्वको आर्थिक, सामाजिक तथा राजनीतिक परिस्थिति भिन्न भइसकेको दिउँसोको घाम जत्तिकै छर्लङ्ग छ । रूसी अक्टोबर क्रान्तिको औचित्य, महत्व एवम् गरिमा आज झनै बढेको सर्वत्र महसुस गरिइँदै छ । एक शताब्दी नाघिसक्दा पनि त्यो गौरवशाली क्रान्तिको सन्देश आजसम्म गुञ्जिरहेको छ । यो पटक झनै बढी गुञ्जियो । कोभिड–१९ ले विश्व आतङ्कित बनिरहँदा, जनताको जीवन अत्यन्त कष्टकर बनिरहँदा र लाखौँ–लाख मानिस जीवन–मरणको दोसाँधमा पुगिरहँदा न्यायपूर्ण समाज, समतामूलक नयाँ समाज, मानवीय समाजको शङ्खघोष भएको दिनको स्मरण स्वाभाविक हो । आपत–विपतमै मानिसले विगतमा गुमेका आफ्ना सुख–सुविधा अझ बढी सम्झने गर्दछन् । त्यस अर्थमा पनि रूसी अक्टोबर क्रान्ति अविस्मरणीय बन्यो । यो वर्ष कामदार जनता अझ बढी उच्च भावनाका साथ अक्टोबर क्रान्ति दिवस मनाउँदै छन् । क्रान्तिका सफलता र उपलब्धिको सगौरव बखान गर्दै छन् ।
लेनिनको सम्झना–लेनिनको देन
महान् नेता लेनिनले अक्टोबर क्रान्तिमार्फत एउटा दरिलो मान्यता स्थापित गर्नुभयो । त्यो हो – अर्को फरक समाज पनि सम्भव छ । विश्व बदलिन सम्भव छ । त्यसका निम्ति मजदुरवर्गको एकता र क्रान्ति आवश्यक छ । पुँजीपति वर्गलाई परास्त गरी कामदार जनताको शासन सत्ताको स्थापना यही जुनीमा सम्भव छ ।
लेनिनको कुशल तथा भरपर्दो नेतृत्व पाएरै रूसी मजदुर–किसान र बौद्धिक समुदाय विद्रोहका निम्ति तयार भए । तत्कालीन जारशाहीलाई फ्याँकेर नयाँ जार प्रतिस्थापित गर्न या स्वीकार्न ती तयार भएनन् । कोही जार बन्ने या बनाउने उद्देश्य पनि थिएन । बरु बहुसङ्ख्यक शोषित–पीडित मजदुर–किसानलाई शासनसत्तामा पु¥याई सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्ने आमूल परिवर्तनको पक्षमा दृढतापूर्वक खडा भए । विश्वकै निम्ति त्यो समाजवादी क्रान्तिको विजय अभूतपूर्व घटना थियो । मानव समाजको इतिहासमा त्यो एउटा युगान्तकारी घटना थियो । रूसी अक्टोबर समाजवादी क्रान्तिको सौन्दर्य या उपलब्धि यही नै थियो । युगौँ–युगदेखि दबाइएका बहुसङ्ख्यक जनता आफ्नो भाग्यको मालिक आपैm बने । देश र देशको ढुकुटी कसैको बपौतीमा सीमित बनेन । सामन्त र पुँजीपति वर्गले चरम शोषण गरी आर्जन गरेको सम्पत्ति देश र जनताकै बन्यो । ‘मानिसले मानिसमाथि गर्ने शोषण’को अन्त्य भयो । दासता अवैध गरियो । मानिस मुक्त भए । रूसी जनताले स्वतन्त्रता, शान्ति र समृद्धिसहितको नयाँ जीवन पाए । अक्टोबर क्रान्तिले विश्व हल्लायो । सामन्त र पुँजीपतिवर्गको मृत्यु–घण्टा बजायो । पृथ्वीमा नयाँ युगको आरम्भ भएको दिन थियो, रूसी क्रान्ति विजयको दिन ।
रूसी समाजवादी क्रान्तिको अर्को अत्यन्त सुन्दर पक्ष भनेको त्यो रूसी सरहदमा मात्र सीमित भएन । त्यो क्रान्तिको नगरा यति जोडतोडले बज्यो कि विश्वका कुना–काप्चासम्म सुनियो ! युरोप, एसिया, अफ्रिका, ल्याटिन अमेरिका जागी उठे । कुनै पनि भूभाग अप्रभावित भएर बस्न सकेन । धेरैधेरै देशहरू उपनिवेशबाट मुक्त भए । रूसी क्रान्तिको तोपको गडगडाहटसँगै एसियाको विशाल भूभाग र जनसङ्ख्या भएको देश चीन बिउँझियो । चिनियाँ जनताले माक्र्सवादजस्तो अत्याधुनिक तथा अपराजेय हतियार पाए । जापानी उपनिवेशवाद र साम्राज्यवादी देशहरूविरूद्ध लड्न चिनियाँ जनता तम्तयार भए । अर्को एसियाली मुलुक भारत र भारतीय जनतासम्म त्यसको सन्देश पुग्यो । माक्र्सवादी विचारको शक्तिशाली हतियारबाट सुसज्जित हुन थाले, अल्याख मानिसहरू । समाजवादी तरङ्ग रूसबाट नेपालसम्म पुग्न भने ३० वर्ष लाग्यो । युरोप र एसियामा समाजवाद स्थापनाको लहर चल्यो । ल्याटिन अमेरिका विद्रोहको लागि तयार भयो । सिङ्गो पृथ्वी समाजवादी क्रान्तिले उज्यालो बन्यो । जिउँदो–जाग्दो बन्यो । इतिहासमा पहिलोपटक मानव समाजले मुक्तिको सास फे¥यो ।
तसर्थ, विश्वका कामदार जनता आज फेरि लेनिनप्रति श्रद्धा अर्पण गर्दै उहाँका विचार तथा योगदानको चर्चा गर्दै छन् । लेनिनले निर्माण गर्नुभएको सोभियत समाजवाद आज जिवित नरहे पनि लेनिनको विचार अजर–अमर छ । विश्वका विभिन्न देशका समाजवादी सरकारहरूले अक्टोबर क्रान्ति दिवसको स्मरण गरे । रूसी समाजवादी क्रान्तिले माक्र्सवादलाई आधारभूमि प्रदान गरेको र समाजवाद जस्तो वैज्ञानिक तथा उन्नत व्यवस्था स्थापना गरी विश्वसमक्ष एउटा नयाँ दृष्टान्त पेश गरेको भनी गौरवको अनुभव गरे । पुँजीवादी तथा साम्राज्यवादी व्यवस्थाले मानव समाज र सिङ्गो पृथ्वीकै ध्वंस गरिरहँदा जोगाउने एउटै मात्र उपाय समाजवादी क्रान्तिको बाटो हो भन्नेबारे छलफललाई निरन्तरता दिए ।
अक्टोबर क्रान्ति दिवसको हावाले समेत नछोएको ‘कम्युनिस्ट’ यता सरकारमा रहेको नेकपा नाउँको दलका नेताहरूले भने ७ नोभेम्बर अर्थात् गत शनिबार बालुवाटारमा शीर्ष नेताहरूले भेटघाट गरेर गालीगलौजपूर्ण संवाद गरेको खबर बाहिर आयो । देशको अत्यन्त संवेदनशील ठाउँमा दुई घण्टासम्म चलेको स्तरहीन संवाद, आरोप–प्रत्यारोपले ती भित्री तहसम्म कति कुहिसकेका छन् भन्ने सार्वजनिक भएको पर्यवेक्षकहरूले अनुभव गरे । विचार, सिद्धान्त, आन्दोलन र जनहितका बारे ती चिन्तित छैनन् र देशको भविष्यबारे छलफल गर्दै छैनन् । बरु पद, कुर्सी, सत्ता र भागबण्डाको निर्लज्ज झगडामा व्यस्त छन् । ७ नोभेम्बरजस्तो पवित्र दिनमा समेत घृणित गतिविधि गर्न अप्ठ्यारो मानेनन् । जनताबीच ‘कम्युनिस्ट’ नाउँकै बदनाम गर्ने कुकर्म गर्न त्यस दिनसमेत छोडेनन् । अरू ३६४ दिन त कम्युनिस्ट आचरण देखाउन सकेनन् सकेनन् त्यो एक दिनसमेत कम्युनिस्टको निम्नत्तम धर्म निर्वाह गर्न ती चुके ।
अक्टोबर क्रान्ति दिवस मनाउनु त कता हो कता, ‘नेकपा’ नाउँको ‘जालीफटाहाहरूको जमात’ ले सरकारी मुख्यालयमा जम्मा भएर अनैतिक, गैरजिम्मेवार र जनभावनामाथि खेलबाड गर्ने कुकर्म दोहो¥याए । त्यस दिन ती अझैे् बढी नाङ्गिए । नाङ्गिने क्रम तीव्ररूपमा जारी छ । अब त ….लाई भन्दा देख्नेलाई लाज भो !
ओली–दाहाल ख्रुश्चेभको बाटोमा
नेकपाभित्र यतिखेर चुल्ठाचुल्ठी मात्र होइन एकले अर्कोको घाँटी रेट्ने तहमा घरझगडा पुगेको बुझ्न गा¥हो छैन । विगत एक वर्षदेखि यो असैद्धान्तिक घृणित खेल प्रस्ट ढङ्गमा चल्दै छ । हिजो वर्नस्टिनको बाटोमा हिँडेको संशोधनवादी एमाले र ट्राट्स्कीको बाटोमा हिँडेको अराजकतावादी भारतीय ट्रोजन घोडा ‘माओवादी’ मिलेर बनेको ‘नेकपा’ आज ख्रुश्चेभ हुँदै गोर्भाचोभको बाटोमा हिँड्दै छ । ती नियोजितरूपमा नेपालको कम्युनिस्ट तथा वामपन्थी आन्दोलन समाप्त पार्न निर्लज्ज ढङ्गमा उत्रिरहेका छन् । माओ त्से तुङ्ग विचारधारा छोडिसकेका तिनले लेनिनको नाउँ भने अझै झुन्ड्याइरहेका छन् । यद्यपि, रूसी अक्टोबर समाजवादी क्रान्तिको भावनाबाट ती धेरै अगाडि नै विचलित भइसकेका थिए । त्यो दिन त्यति टाढा छैन जुन दिन निर्वाचनमा मत प्राप्त गर्नकै निम्ति राखिएको ‘माक्र्सवाद–लेनिनवाद’ र ‘कम्युनिस्ट’ नाम ‘कर्पोरेटहरू’ र ‘विदेशी प्रभुहरू’ को आदेश या इच्छाबमोजिम चुनाव जित्नकै निम्ति र सरकारमा पुग्नकै निम्ति एकदिन नराम्ररी मिल्काउने छन्, कुनै शङ्का छैन ! सिद्धान्तच्यूतले जेसुकै नाम राखून् आखिर तिनले क्रान्तिलाई धोका दिनेछन् । जनतामाथि विश्वासघात गर्नेछन् । दृश्यमा त्यही देखिइँदै छ । अनुभवले त्यही भन्छ । तर, यो पनि सत्य हो कि रातो झन्डा बोकी क्रान्तिकारीको भेषमा आएर रातो झन्डाकै विरोध गर्ने र क्रान्तिविरोधी गतिविधिमा लाग्नेहरूलाई जनताले नराम्ररी दण्डित गरेका छन् र सदाको लागि बिदा दिएका छन् ।
इतिहासमा कलङ्कित पात्र बन्ने या के ? विदेशीको बुई चढेर नेपालीमाथि शासन गर्न तम्सेका र फेरिफेरि घोडा चढ्ने विस्तारवादीहरूको रहर पूरा गरिदिन मरिमेटेर लागिरहेका खलपात्रहरूले बेलैमा आफ्नो भाग्यको फैसला गरून् ! अहिलेलाई योभन्दा धेरै नभनौँ ! अस्तु !
Leave a Reply