भर्खरै :

प्रतिस्पर्धाबाट आमूल परिवर्तन असम्भव

नेपाल सरकारले सुखी नेपाली र समृद्ध नेपालको नारा बोकेको छ । सुखी नेपाली समृद्ध नेपाल कुनै नेता या मन्त्रीले खोकेर हुने होइन । प्रण र प्रतिबद्धता जनाएर पनि त्यो इच्छा पूरा हुने होइन । सुखी नेपाली र समृद्ध नेपाल बनाउन सरकारले देशमा पूर्वाधार तयार गर्नुपर्छ । सोहीअनुसार नीति तथा कार्यक्रम बनाइनुपर्छ । तर, पँुजीवादी बन्दोबस्तमा रहेर सुखी नेपाली र समृद्ध नेपाल सम्भव छैन । आमूल परिवर्तनबिना सुखी नेपालीको नारा कागजमा मात्र सीमित हुन्छ । आमूल परिवर्तन भनेको पालैपालो शासन गर्ने व्यवस्था होइन । पुँजीवादी बन्दोबस्तको संविधान र ऐन–कानुनमा रहेर आमूल परिवर्तन हँुदैन । पानीजहाज चलेर, रेल गुडेर परिवर्तन हुने होइन, न त दुई चार वटा पुल बनेर या दुई चार किलोमिटर सडक पीच भएरै परिवर्तन हुने हो ।
प्रजग कोरियामा वैचारिक, प्राविधिक र सांस्कृतिक क्रान्ति भएको थियो । उक्त उद्देश्य पूरा गर्न सन् १९७५ मा कोरियाली जनताका प्रिय नेता किम जङ्ग इलले तीन क्रान्तिको रातो झन्डा आन्दोलन अघि सारेका थिए । विचारधारा, सिद्धान्त, प्रविधि र संस्कृतिका यी तीन उद्देश्य परिचालन गरेर क्रान्तिकारी, उत्पादन प्रक्रियामा यान्त्रिकीकरण र मजदुर वर्गको प्राविधिक, सांस्कृतिक स्तरको वृद्धि गरेर सिङ्गो समाजलाई बुद्धिजीवीकरण गरेर हरेक समुदायका सदस्यलाई कम्युनिस्ट बनाउने ध्येय प्रजग कोरियाले बोकेको छ । कम्युनिस्ट भनिने नेकपाको सरकार प्रजग कोरियामा भएको प्राविधिक, वैचारिक र सांस्कृतिक क्रान्ति मन पराउँदैन, प्रजग कोरियाको जस्तो शासन प्रणाली मन पराउँदैन । कम्युनिस्ट शैलीको शासन मन नपराउने नेकपाको सरकारले देशमा कसरी आमूल परिवर्तनको बाटो खोज्छ ? कम्युनिस्ट शासन या समाजवादी देशको शासन मन नपराउने नेकपा कसरी सच्चा कम्युनिस्ट हुन्छ ?
नेकपा समाजवादी विचारमा टेकेकै छैन, त्यस विचार प्राप्ति गर्न अभ्यासै गरिएको छैन । पुँजीवाद र सामन्तवादको पृष्ठपोषण गर्ने नेकपामा कम्युनिस्टको गुण अलिकति पनि छैन । नेकपाका नेताहरूले आफ्नो दलमा कम्युनिस्टको रङ्ग लगाएका छन्, कम्युनिस्टको रङ्गले पोटेका नेकपाका नेताहरूमा पुराना सामन्त र पुँजीवादी मान्यता हुनु अन्यथा होइन । नेकपामा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको प्रभाव पर्नु अस्वाभाविक होइन । त्यही भएर नेकपाका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कार्यकर्ताहरू समाजवादी सिद्धान्त र विचारले भिजेका छैनन् । नेकपाले वर्गसङ्घर्षको मूल्य र मान्यता पूरै छोडेको छ । आन्दोलन र सङ्घर्ष गर्ने अहिलेको समय होइन, प्रतिस्पर्धाबाट या निर्वाचनबाट जितेर शासन गर्नु नै अहिलेको आवश्यकता र माग हो भन्ने नेकपाको भनाइ हो । यो मान्यताले नेपाली सुखी र नेपाल समृद्ध हुनेछैन । यसको विकल्प आमूल परिवर्तन हो, आमूल परिवर्तन सङ्घर्ष र आन्दोलनले मात्र प्राप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *