भर्खरै :

सङ्घर्ष नगर्ने कम्युनिस्ट !

नेकपाका नेताहरू कम्युनिस्ट सिद्धान्त र विचारले नभिजेसम्म, सिद्धान्त र विचारको राजनीति नभएसम्म र सच्चा कम्युनिस्ट नभएसम्म नेकपाभित्र पद, पैसा र भागबन्डाको राजनीति भइरहन्छ । सैद्धान्तिक राजनीति छोडेर शक्ति, पद र पैसाको आधारमा राजनीति गर्ने दलका नेता, मन्त्री र सांसदहरूमा कम्युनिस्ट पार्टी बलियो बनाउने, कम्युनिस्ट आन्दोलन अघि बढाउने होइन आ–आफ्नो गुट–उपगुट बलियो बनाएर पालैपालो प्रम या मन्त्री बन्ने या त्यस्तै अन्य उच्च पद पाउनेतर्फ प्रतिस्पर्धा भइरहेको छ । गुट उपगुट बलियो बनाएर प्रतिस्पर्धाको नाउँमा पदमा पुग्ने चाहना या विचार कम्युनिस्ट पार्टीको होइन । तर, एमाले र एमाओवादी मिलेर बनेको नेकपाका नेताहरूमा यस्तै चरित्र देखिएको छ । यसकारण नेकपाले देश र जनताको मुहार फेर्दैन, फेर्नेतर्फ लाग्दैन ।
पुँजीवादी बन्दोबस्तको सरकारमा सामेल हुनु या नेतृत्व गर्नु नै नेकपाको उद्देश्य रहेको छ । नेकपाले सरकारको नेतृत्व गरेपछि अब सङ्घर्ष र आन्दोलन आवश्यक छैन, अब कसको विरुद्धमा लड्नु छ र प्रतिस्पर्धाबाटै जितेर शासनमार्फत सुधार गर्ने मनसाय नेकपाकै अध्यक्ष या प्रमले फुकेपछि सङ्घर्षबाट भाग्ने नेकपा कसरी सच्चा कम्युनिस्ट पार्टी बन्छ ? तर, पनि नेकपाका एकथरी नेताहरू बेलाबखत समाजवादउन्मुख संविधान र समाजवादबारे खोक्छन् । त्यो खोकाइ ओली पक्षको मनपरीतन्त्रको विरोध गरेर अरू नेता तथा कार्यकर्ताहरू आफ्नोतर्फ तान्ने प्रयासस्वरुप भएको देखिन्छ । नेकपाका शीर्ष नेताहरूको विवाद चरमोत्कर्षमा पुग्नु पनि यसकै दृष्टान्त हो ।
हाल नेकपाका केन्द्रीय नेताहरू कोही ओली पक्षको विरोधमा त कोही दाहालको पक्षमा खुलमखुला विरोध गरिरहेका छन् । आफ्नै नेताहरूको कारण सरकार र पार्टीको बदनाम भइरहेको, सरकार र पार्टी सञ्चालनमा समस्या भइरहेको आरोप एकले अर्काेलाई लगाइरहेका छन् । त्यो आरोप प्रत्यारोप नेकपा किन कम्युनिस्ट आचरणअनुसार अघि बढेन र समाजवादउन्मुख हुँदै समाजवाद ल्याउन के कस्ता पूर्वाधार तयार गर्नुपर्छ भन्नेतर्फ केन्द्रित छैन । एकातिर नेकपाका नेताहरू नेकपा कुनै हालतमा फुट्दैन भनिरहेका छन् भने अर्काेतिर एकले अर्काेलाई पार्टी फुटाउने जाल रचिरहेको भनिरहेका छन् । नेकपाभित्रको यो कचिङ्गल सुखी नेपाली र समृद्ध देश बनाउनेतर्फ उन्मुख छँदै छैन ।
पार्टीका शीर्षदेखि केन्द्रीय नेताहरूको अभिव्यक्ति, तर्क र विचारविमर्श सुन्दा विधिवतरूपमा एमाले र एमाओवादी नदेखिए पनि व्यवहारतः एमाले र एमाओवादी अलगिएको अनुभूति सर्वसाधारण जनताले पनि गरिसकेका छन् । नेताहरू एमाले र एमाओवादीका भनी प्रस्ट चिनिसकेका छन् । अब एमाले र एमाओवादी भएर होइन नेकपा भएर काम गर्न केही मध्यमपन्थी नेताहरू लागे पनि यथार्थमा त्यो देखिरहेको छैन । नेकपाका शीर्ष नेताहरूबीच आएको सैद्धान्तिक र वैचारिक विचलनले आजभोलि पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको अनुहारमा चमक देखिँदैन । अनुहारमा उमङ्ग, उत्साह, जोश र जाँगर देखिएको छैन । सच्चा कम्युनिस्ट बन्न नसक्दा, कम्युनिस्टको सिद्धान्त र विचारलाई अघि बढाउन नसक्दाको कारण उनीहरूको मन पोलेको हो, अस्थिर मनको कारण छटपटिएको हो । छटपटाहट मन र विचारले दिशा निर्देश गर्नसक्दैन, देशको नेतृत्व गर्नसक्दैन । यही कारण नेपालको स्थिति डामाडोल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *