नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
प्रजातान्त्रिक जनगणतन्त्रको कोरियाली मजदुर पार्टी देश र जनताप्रति समर्पित छ । त्यस पार्टीले जनता नै सबथोक सम्झेर सङ्घर्ष ग¥यो । व्यापक जनताको हितको निम्ति लड्नु नै पार्टीको लक्ष्य ठान्यो । कोरियाली मजदुर पार्टी व्यापक जनताको पूर्ण स्वाधीनता साकार पार्ने पार्टी हो । यो पार्टीले खोक्रो आश्वासन बाँड्दैन, जनताको लागि व्यवहारिक काम गर्छ । देशमा देश र जनताको लागि फुस्रो गफ गर्ने नेता, मन्त्री र सांसदहरू होइन जिम्मेवारीपूर्वक आफ्नो पद र आचरण पालना गर्ने इमानदार, निःस्वार्थी, देश र जनताको सेवा गर्ने नेता, मन्त्री र सांसदहरूको खाँचो हुन्छ ।
सत्तारुढ पार्टीले जनताको इच्छा र मागको सम्बोधन गर्नुपर्छ । यसले सही दिशा र नीति अँगाल्नुपर्छ । पार्टी बलियो बनाउनुको अर्थ आफ्ना नेता, सांसद र कार्यकर्ताहरू पोस्न होइन, दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न होइन, भ्रष्टाचारी, कालाबजारी, कमिसनखोर र अपराधीहरूको संरक्षण गर्न होइन । देश र जनताको सेवा गर्ने बलियो पार्टीले त भ्रष्टाचारी, बलात्कारी, कालाबजारी, अपराधीहरूलाई जेलमा कोच्छ, कडा कारबाही गर्छ र गलत कार्य नगराउन खबरदारी गर्छ । सरकारले विषम परिस्थितिको बेला, सङ्कटको बेला सङ्कटमा परेका जनताको सेवा गर्नुपर्छ । पार्टी देश र जनताको सेवा गर्न नै हो । तर, यहाँ सत्तारुढ दलको काम पैसा कमाउनु रहेको छ, भागबन्डा पाउनु रहेको छ । पद पाएपछि हसुर्ने काम के पदको दुरुपयोग होइन ?
कोरियाली जनता आफ्नो पार्टीलाई राजनीतिक पथप्रदर्शकको रूपमा विश्वास गर्छन् । पार्टी नेतृत्वको विश्वासमा रहेर कोरियाली जनता कुनै पनि साम्राज्यवादी शक्तिसँग सङ्घर्ष गर्न अघि सर्छन् । कोरियाली मजदुर पार्टी हामी जनताको सेवा गछौँ भनेर लागेको छ । पार्टीले जनताप्रति विश्वास गर्छ, जनता पनि पार्टीको विश्वास गर्छन् । व्यापक जनताको यस्तै सहयोग, साथ र समर्थनले अजय शक्ति प्राप्त हुन्छ । अजय शक्ति प्राप्त पार्टी र जनताले आन्दोलन या सङ्घर्षमा सफलता प्राप्त हुन्छ । यही कारण कोरियाली मजदुर पार्टी विश्वका शक्तिशाली संयुक्त राज्य अमेरिकासँग झुक्नुपरेन । साम्राज्यवादी देश अमेरिकासँग दृढतापूर्वक लड्ने आँट प्रजग कोरियाले ग¥यो, गरिरहेको छ । हो, समाजवादी शासकहरू साम्राज्यवादी र वर्गशत्रुविरुद्ध लड्न सक्षम हुनुपर्छ, सक्षम भइरहेका छन् । साम्राज्यवादी शक्तिलाई कमजोर नबनाइएसम्म विश्वमा शान्ति छाउने छैन, सार्वभौम र स्वाधीन देशहरू धुक्कका साथ जिउन सक्ने छैन ।
अहिले विश्वमा स–साना मुलुकहरू संयुक्त राज्य अमेरिका र उसका पिछलग्गू देशहरूबाट आक्रान्त छन् । यसरी आक्रान्त बनाउने, अरू देशमा अनेक सहयोगको पोको बाँडेर खेल्ने मैदान बनाउने विस्तारवादी देश र साम्राज्यवादी देशको पछि नेपाल सरकार लागेको छ । अमेरिकासँग नेपालले गरेको एमसीसी सम्झौताले सहयोग त पाउँछ । तर, एमसीसी सम्झौताभित्र गुलियो पोतेको विष छ । त्यो सहयोग नेपाली भूमिलाई उपयोग गर्ने दाउमात्र होइन, सहयोगभित्र नेपाललाई भुलाएर देशलाई कमजोर बनाउने षड्यन्त्र पनि रहेको छ । देशलाई कमाइ खाने भाँडो बनाउने सत्तारुढ दल कहिल्यै प्रजातन्त्रवादी र समाजवादी पार्टी हुनेछैन । सत्तारुढ दलका नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू न दलप्रति जिम्मेवार छन्, न त माक्र्सवाद र लेनिनवाद तथा जनताप्रति विश्वास गर्नलायकका छन् ।
Leave a Reply