भर्खरै :

कीर्तिपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया

काठमाडौँ, २ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा मङ्गलबार ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकको अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उडन्ते शैलीले गर्दा संसारको शक्ति सम्पन्न धनाढ्य मुलुकको अर्थतन्त्र ओरालो लागेको अवस्था छ, बेरोजगारी चरम अवस्थामा पुगेपछि दिनदिनै हजारौँ अमेरिकी जनता अकालमा मरिरहेका छन् भन्नुभयो ।
उहाँले पराजय हुँदाहुँदै पनि ट्रम्पले चुनाव हारेको स्वीकार नगर्नु प्रजातन्त्रलाई जीवन मूल्यको रूपमा आत्मसात नगर्नु हो, हठ र जिद्दी उनको विशेषता हो, यो पुँजीवादी र साम्राज्यवादी चिन्तन हो भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य राजवीर डंगोलले नयाँ पुस्तालाई राजनैतिक र सामाजिकरूपमा तयार हुन तालिम दिने र शिक्षा दिने कार्य निरन्तररूपमा गर्नुपर्दछ, ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक निरन्तररूपमा प्रकाशित हुनु पनि उदाहरणीय कार्य हो भन्नुभयो । उहाँले खोकना–बुङ्गमतीमा फास्टट्रयाकलगायतका परियोजना ल्याएर नेपाल सरकारले उपत्यकावासीलाई सताइरहेको छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले भक्तपुरमा साँढे धपाउने, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, भियतनाममाथि अमेरिकी साम्राज्यवादीको आक्रमणविरुद्धको आन्दोलन, सुस्तामाथि भारतीय अतिक्रमणविरुद्धको आन्दोलन गर्दै भक्तपुरका जनतालाई सचेत गर्ने, देशभक्तिको भावना विकास गर्ने कार्य नेपाल मजदुर किसान पार्टीले गरेको थियो भन्नुभयो ।
वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठले सोभियत सङ्घ (रुस) मा समाजवाद रहँदासम्म बाटोमा राखेको कुनै सामग्री हराउँदैनथ्यो, त्यहाँ पैसाको आवश्यकता खासै हुँदैनथ्यो, पढाइ, उपचार, आवास, भाडा सबै निःशुल्क थियो, पैसाको आवश्यकता नहुने भएको हुँदा त्यहाँ भ्रष्टाचार पनि हुँदैनथ्यो, चोरी, ठगी, छकाउने कार्य गरी कसैले खानु पर्दैनथ्यो भन्नुभयो ।
उहाँले सोभियत सङ्घका हरेक विद्यार्थीले आफ्नो पढाइ सकेपछि काम खोज्नुपर्दैनथ्यो, पढाइको सर्टिफिकेटअनुसार के र कहाँ काम गर्ने भनी कार्य गर्ने नियुक्तिपत्र पनि थम्याइन्थ्यो भन्नुभयो ।
नेमकिपा कीर्तिपुरका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा जितबहादुर महर्जन, कान्छाबाबु महर्जन र सुनैना महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *